फिल्मको कथा साथीभाइलाई सुनाएर पैसा उठाउँथे : विकास सुवेदी

पोखरा न्यूज ।  पोखरा महानगरपालिका २४ कास्कीका विकास सु्वेदीले हालसम्म झण्डै पाँच सय म्युजिक भिडियो निर्देशन गरिसक्नुभएको छ । अञ्जु पन्तको आवाजमा रहेको गीत ‘तिमी आफै पग्लिएर’को भिडियोबाट म्युजिक भिडियो निर्देशनमा डेब्यु गर्नुभएका उहाँले भिडियो निर्देशनमा आफ्नो बेग्लै पहिचान बनाउन सफल हुन भएको छ । हालै सुवेदीको निर्देशनमा ‘सरला’ गीतको भिडियो तयार भएको थियो । सन्देशमुलक यो भिडियोबाट पुनः उहाँको चर्चा बढ्यो ।

सुवेदीको कथा, पटकथा तथा संवादमा यतिबेला फिल्म ‘प्रकाश’ निर्माण हुँदैछ । नेपाली फिल्म क्लासिक, पर्व तथा प्रसादमा एशोसियट डाइरेक्टरको भूमिका निभाउनुभएका सुवेदी ‘प्रकाश’ फिल्मको कार्यकारी निर्माता समेत हुनुहुन्छ ।
भिडियो र फिल्ममा मात्र नभएर उहाँ सञ्चार क्षेत्रमा समेत स्थापित भइसक्नु भएको व्यक्ति हो ।

पोखराको हिमचुली एफएमबाट उहाँले सञ्चार क्षेत्रको यात्रा आरम्भ गर्नुभएको थियो । त्यतिबेला उहाँले सञ्चालन गर्ने फिल्मी कार्यक्रम ‘सिनेआकाश’ चर्चामा थियो । रेडियो मार्फत मात्र नभएर टेलिभिजन कार्यक्रमको माध्यमबाट समेत उहाँले नेपाली सञ्चार क्षेत्रमा छुट्टै छाप छोडिसक्नुभएको छ । सुवेदीले ‘डकुमेन्ट्री’ मार्फत समेत आफ्नो क्षमता प्रर्दशन गरिसक्नुभएको छ । यसपाली उहाँसँग फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न गरेका छौँ ।

तपाईले फिल्म कतिको हेर्नुहुन्छ ?

सरदर महिनामा दुईओटा फिल्म त हेर्छुहोला । हुनत कथा वाचनका अनेकन बिधाहरु मध्ये त म सिनेमाभन्दा किताब बढी मन पराउँछु । कागजमा कथा पढ्दा हरेक शब्दमा आफू निर्देशक बन्न पाउने स्वन्त्रता हुन्छ । तर पनि बर्षभरि विश्व सिनेमामा चर्चा भएका फिल्म त नछुटाई हेर्छु ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?

सिनेमा हलमा हेर्नु जस्तो रमाईलो अन्त कहिँ लाग्दैन । वाध्यता के छ भने कहिलेकहिँ हामी कहाँ राम्रो फिल्म हलसम्म आइपुग्दैनन् । हेर्न त म घरमा बसेर समेत फिल्म हेर्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

सिनेमा आखिर कथा साझा गर्ने एउटा माध्यम हो तर ठूलो पर्दामा लाइट, साउन्ड अनि अँध्यारो कोठा मलाई एकदम मनपर्छ । कलाकार, निर्देशक र कथाकार बाहेक सयौँ प्राविधिकहरुको कामको अनुभूति गर्न हल नै चाहिन्छ जस्तो लाग्छ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

बाल्यकालमा कास्कीकोटदेखि २ घन्टा हिडेर पोखरा तेर्सापट्टीमा रहेको विध्यबासिनी हल, कल्पना हल तथा नयाँबजारमा रहेको दीपज्योति हलमा आइन्थ्यो । ती दिन सम्झदा अहिले रमाइलो लाग्छ । त्यतिबेला हलसम्म पुगेर फिल्म हेर्न पाउँदा संसार जितेको अनुभव हुन्थ्यो । हुन त म बाठो थिए । स्कूलबाट भागेर फिल्म हेर्दा खर्च भएको पैसाको हिसाब सोही फिल्मको कथा साथीभाइलाई सुनाएर उनीहरुबाट १, २ रुपैयाँ लिएर उठाउँथे । प्रायः म चौतारोमा बसेर उनीहरुलाई यसरी फिल्मको कथा सुनाउथे ।

हलमा हेरेको पहिलो नेपाली फिल्म ?

मैले हेरेको पहिलो फिल्म ‘जमीन’ हो । प्रकाश सायमीले निर्देशन गर्नुभएको यस फिल्ममा धिरेन शाक्य नायक हुनुहुन्छ । यो फिल्म हेरेपछिको रमाइलो घटना मसँग छ । फिल्ममा धिरेन शाक्यले एक मुक्का हान्दा ७ ओटा मुक्का हुन्थ्यो । त्यो फिल्म हेरेर आएर स्कूलमा धिरेन शाक्य हुन खोज्दा मैले नराम्रो गरि पिटाई खाएको छु । स्कूलमा फाइट हुँदा मेरो ७ वटा हात आएन नराम्रोसँग कुटाई खाईयो । तर पहिलो फिल्मले मीठो कुरा सिकायो त्यो के भने फिल्म, फिल्म जस्तो हैन जीवन जस्तो हुनुपर्छ ।

मनपर्ने फिल्मी कलाकार ?

विपीन कार्की मलाई मनपर्ने कलाकार हुनुहुन्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

अहिले नेपाली फिल्म बदलिने यात्रामा छन् । आजभोलि बल्ल नेपाली फिल्ममा नेपालको भूगोल र जीवन देखिन थालेको छ । सोही कारण नेपाली फिल्म आजकल नेपाली फिल्म जस्तो लाग्छ । हुन त यसरी निर्माण हुने फिल्म सिमित छन् ।

सुधार गर्नुपर्ने पक्ष ?

नेपाली फिल्म समय र दर्शकको माग अनुसार परिवर्तन हुँदै जानुपर्छ । वास्तविक फिल्डमा के हुन्छ भन्ने अनुभूतिको स्तरमा कन्टेन अझै आएको छैन, त्यसलाई ल्याउनुपर्छ । सर्वसाधरणले भोगेका कुराले स्थान पाएको छैन । फिल्ममा शक्ति हुन्छ, यसको दायरा फराकिलो हुन्छ, यसलाई मनन गरेर मात्र सबैले फिल्म निर्माण गर्नुपर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

अभिनयको रहर त भयो तर आँट आएन । आफुलाई बिर्सेर कुनै चरित्र बन्नु र त्यो निभाउनु सामान्य काम हुदै होइन । अभिनय रहरले गर्ने काम होइन त्यसको लागी ठूलो साधना चाहिन्छ । सोही कारण अभिनय गर्ने रहर मैले मनभित्र नै सिमित राखे ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?

हाम्रो समाजमा हजारौ कहानी छन् । जुन कुरा आजसम्म एक्सोपोज भएको छैन । हाम्रो माटोमा वास्तविक के घटना घटिरेहको छ भन्ने कमै ध्यान दिइएको छ । सोही कारण आज आएका अधिकांश फिल्मले हाम्रो जीवनलाई कनेक्ट गर्न सक्दैनन् । अब हाम्रो माटोमा रहेका वास्तविक कथालाई फिल्मकर्मीले स्थान दिनुपर्छ । यसैलाई ध्यान दिएर फिल्म ‘प्रकाश’ मा हाम्रो माटोमा रहेका वास्तविक कथालाई ल्याउन खोजेका छौँ । मेरो कथा, पटकथा तथा संवादमा निर्माण हुँदै गरेको यो फिल्मबाट दर्शकको माया पाउने विश्वास छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button