लेखक व्यावसायिक हुन्छ भने लेखनको मर्म मर्छ : मोती भुजेल

पोखरा न्यूज । पोखरा-३३ भरतपोखरीमा जन्मिनुभएका मोती भुजेल पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष हुनुहुन्छ । हालै अध्यक्षमा चयन हुनुभएका भुजेलले योजना बनाएर आफ्नो कार्यकालमा पोखरेली युवा सांस्कृतिक परिवारलाई थप क्रियाशील बनाउन खोज्नुभएको छ ।

भुजेलको बाल्यकालदेखिनै साहित्य क्षेत्रमा रुचि थियो । उहाँले पचास कै दसकबाट केही कथाहरु लेख्ने गर्नुहुन्थ्यो । त्यसोत लेख्न भन्दा पनि कथा पढ्नमा उहाँको रुचि थियो । साठीसाल तिर आफ्नै कथा संग्रह उहाँले पाठकमाझ पस्कनुभयो । कथा संग्रह निकाले पछि र पोखरेली युवा सांस्कृतिक परिवारमा लागे पछि उहाँमा अझ बढी साहित्यमा रुचि बढ्यो । विस्तारै साहित्य क्षेत्रमा कलम चलाउने तथा पुस्तक पढ्ने जाँगर उहाँमा बढ्न थाल्यो । मुनाल स्टोर्स पोखरामा व्यवस्थापक भुजेल सामाजिक क्षेत्रमा समेत उतिकै सक्रिय हुनुहुन्छ । उहाँसँग यसपाली पुस्तक अध्ययनसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

पुस्तक कतिको पढ्नुहुन्छ ?

समय मिलेसम्म पढ्छु । तर इलेक्ट्रोनिक भर्सनले केही कमी आएको छ ।

कोर्षमा भएका पुस्तक र बाहिरी पुस्तक अध्ययन गर्दा हुने फरक ?

कोर्षको किताब भन्ने बितिकै परीक्षा दिनु पर्छ भन्ने मान्यता ले पढिन्थ्यो त्यो अचेल पढ्न पर्दैन । र, कोर्ष बाहिरका किताब मनोरञ्जन र समय खेर नफालौ भन्ने मनसायले पढिन्छ ।

तपाईंलाई मनपर्ने पुस्तक कुन कुन हुन् ?

पहिलो पटक मन परेको माक्सिम गोर्कीको ‘आमा’ उपन्यास हो जुन सेतो कृम कलरको गातामा थियो । त्यो किताब पढ्दै केही स–साना नोटहरु पनि लेखेको थिए । तर बिडम्बना आज भन्दा २० वर्ष अगाडि नै त्यो किताब हरायो डेरा सर्दा । दोस्रोमा सरुभक्त को ‘पागल बस्ती’ । मदनमणि दीक्षित को ‘माधवि’ । बेन्यामिन को ‘खबुज’ । भ्लादिमिर को ‘लोलिता’ मलाई मनपर्ने किताब हुन् । यसका अलावा मनपर्ने अरु पनि छन् सबै भन्न सम्भव भएन ।

तपाईलाई लेखन शैलीमा अब्बल लेखक को लाग्छ ?

लेखन कलामा नै आफ्नो जीवन दिनेहरुको लेखन कला मन पर्छ । तर त्यो समय अनुसार हुने रहिछ । कुनै बेला सरुभक्त को लेखन मनपथ्र्यो । साठीको दशकपछि खासै कोही छैनन् भन्दा अन्याय हुंदैन होला । किन कि व्यावसायिक रूपमा लेख्न थालेपछि लेखकको खासै महत्व मैले मान्दिन ।

लगातार कति समयसम्म पुस्तक पढ्नुहुन्छ ?

म लामो समयसम्म पढ्न सक्दिन तर केही नोट गर्दै पढ्छु र ब्रेक गर्दै पढ्दा पनि म बुझ्ने गरी पढ्छु । एकै रातमा फलानो पुस्तक पढे भनेर भन्न मलाई मन पर्दैन ।

तपाईं पुस्तक पढ्ने माध्यम ?

पुस्तक त किनेर नै पढिन्छ । किनेको पुस्तकको माया लाग्छ र अरुलाई दिने चलन पनि छैन मेरो । किन कि दियो भने फिर्ता नै दिदैनन् ।

पुस्तक अध्ययनसँग सम्बन्धित केही रमाइला वा नरमाइला अनुभव सुनाउनु ?

पुस्तक जब मनपर्छ भने पढेर नरमाइलो हुने कुनै त्यस्तो कुरै आउँदैन । तर बजारीया हल्लामा कुनै किताब पढ्दा नराम्रोसंग समय संगै पैसाको पनि बर्बाद भएको छ ।

पुस्तक किन पढ्ने ?

किन पढ्ने भन्ने ? किन खाने ? किन खेल्ने ? भने जस्तै हो । किताब नपढे फिल्म पढ्न मिल्दैन । आफ्नो आत्मा ज्ञानको लागि पनि पढ्नु पर्छ । कोर्षको किताब को कुरा अहिले गरेर हुन्न अहिले केहि बोल्न र सामाजमा केहि सिक्न पढ्नु पर्छ ।

नेपाली लेखकले पुस्तक लेख्दा के कुरामा ध्यान दिनुपर्छ ?

जब लेखक व्यावसायिक हुन्छ भने लेखन को मर्म मर्छ । पैसा कै लागि लेख्न भन्दा ब्यापार गर्दा हुन्छ । राम्रो लेख्नुहोस् पैसा भन्दा नि पुरस्कार जित्नुहोस भन्न चाहन्छु ।

पाठकले कसरी पुस्तक छनोट गर्ने र पढ्ने केही तरिका भन्नुन ?

पुस्तक छनोट गर्न पहिला जस्तो गाह्रो छैन । अहिले पुस्तक पसलमा गएर केही पेज पढेर मन परेम मात्रै किन्न पनि सकिन्छ । तर १७, १८ वर्ष पहिला मैले किताब किन्दा को कुरा किताब छान्नै न पाउने । जुन हे¥यो त्यो नै लिनुपर्ने नत्र पसले रिसाउथे । अहिले त्यस्तो छैन ।

अन्तमा पुस्तकप्रेमीलाई के भन्नुहुन्छ ?

कसैलाइ कसैको पढ्ने तरिका मनपर्छ भन्ने छैन । आअफ्नो तरिका बाट पढ्ने हो । पुस्तक प्रेमीलाई केही भन्नै पर्दैन उहाँ आफै बुझकी हुनुहुन्छ र त पुस्तक प्रेमी हुन्हुन्छ हैन र ?

 

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. म पनि पाठक हुँ ,तर लेखक बन्न सकिन ,दाजु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button