सांगीतिक क्षेत्रमा सम्झन लायक ईतिहास दिन मन छ : पूर्ण परियार

पोखरा न्यूज । गायक पूर्ण परियारको जन्म बागलुङ जिल्लाको बागलुङ नगरपालिका १२ अमलाचौरमा भएको हो । २०६१ सालमा प्रतियोगितात्मक दोहोरीमा भाग लिनु भएका उहाँले २०६३ सालबाट दोहोरी साँझमा आफ्नो प्रतिभा सुनाउन थाल्नुभयो ।

२०६७ सालमा ‘पीडा सहेर’ गीतको शब्द सिर्जना गर्नुभएका उहाँले २०६९ सालमा ‘चुरी छैंया छैंया’ गीतमा आवाज भर्नुभएको थियो । हालसम्म दुई दर्जन भन्दा बढी गीत पस्किसक्नुभएका उहाँका भन माया, खाडीमुलुक, बलेवामा हवाइजहाज, पुतली, मायाको फरिया, छोटो लुगा, फेसबुक बन्द गर लगायतका गीत दर्शक स्रोताले रुचाएका छन् । उहाँले शब्द लय सिर्जना गरेका गीत विभिन्न गायक गायिकाको आवाजमा समेत सुन्न पाइन्छ । उहाँ स्टेज कार्यक्रम सञ्चालनमा समेत अब्बल हुनुहुन्छ ।

गायक परियार हाल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको बरिस्ठ उपाध्यक्ष हुनहुन्छ । २०६३ सालमा प्रतिष्ठान बाग्लुङको सचिव हुनुभएका उहाँसँग प्रतिष्ठान बागलुङ जिल्लाको अध्यक्ष, धौलागिरि अञ्चलको महासचिव, गण्डकी प्रदेशको संस्थापक सचिव बनेर काम गरेको अनुभव समेत छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय सदस्य रहनुभएका उहाँ विभिन्न संघ संस्थामा सल्लाहकार तथा आजीवन सदस्य रहेर सामाजिक क्षेत्रमा उतिकै क्रियाशील हुनुहुन्छ । उहाँ यतिबेला नयाँ लोकदोहोरी गीतको तयारीमा हुनुहुन्छ । यसपाली हामीले गायक परियारसँग सांगीतिक यात्राका बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईंको सांगीतिक यात्रा कसरी शुरु भयो ?

म जन्मेको समाज र समुदायमा नै बाजागाजा र नांचगान भैरहने भएको हुंदा जन्मिंदै त्यो वातावरणमा जन्मेको भएर सायद रहर जागेको हुनु पर्छ । जन्मेको समाज र समुदायबाटनै सांगीतिक यात्रा सुरु भयो ।

कस्ता गीत गाउन मनपर्छ ?

मलाई लोकदोहोरी गीत जसमा समाज बोलिएको होस् त्यस्ता गीत गाउन मनपर्छ ।

बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?

रेडियोबाट नै धेरै सुनिन्थ्यो । पछिल्लो समय गीतसंगीत सुन्नका लागि एफएम रेडियो धेरै सुनियो ।

तपाईंलाई मनपर्ने गायक तथा गायिका ?

सबै नै राम्रो लाग्छ जसले नेपाली गीत संगीतमा नेपाली माटो सुहांदो सुगन्ध छर्दै आउनु भएको छ । सायद यति भनेपछी नामै उच्चारण गरें भने फेरि कसैलाई अन्याय हुन पनि सक्छ ।

सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?

गाह्रो त छ तर व्यावसायिक रुपमै लागेका केही कालकारहरुले यसैबाट जीवन चलाईरहनु भएको छ । संघर्ष भने बढीनै गर्नुपर्छ । हाम्रो नेपाली संगीत क्षेत्रले बलियो बजार बनाई सकेको छैन । कति बेला को कुन उचाईमा पुग्छ कति बेलाको गहिराईमा पुग्छ आंकलन नै गर्न सकिँदैन । त्यसैले अहिलेको यो महामारीले के सिकायो भने केही बैकल्पिक पेशा ब्यवसायसंगै चाहिने रैछ नत्र यो क्षेत्रले मात्रै गाह्रो हुनसक्छ ।

तपाईंले देखेको सपना ?

आफू जन्मेको माटो र आफु हिंडेको यो बाटोमा भनौं या आफू लागेको कर्ममा केही सम्झना लायक ईतिहास दिएर छोडम भन्ने हो । हेरम समयले यो सफलता देला नदेला ।

नेपाली सागीतिक क्षेत्रका सकारात्मक कुरा ?

पछिल्ला केही बर्ष त यसले धेरै प्रतिभा उत्पादन ग¥यो । र, स्थापित पनि ग¥यो । खासमा हाम्रो सांगितिक उद्योग गजबको छ नि ! एउटै गीत चल्यो भने पनि मेला महोत्सव देश बिदेश गरेर अर्को एल्बम ननिकाल्ने बेला सम्म पुग्छ । अनि यसको लागि अरु देशमा जस्तो धेरै लगानी गर्न पर्छ जस्तो लाग्दैन । केवल नयाँ भिजन भयो भने चलिहालेको पनि छन् । र, बिना साधनै नगरी आएका कलाकारहरु समेत उस्तै परे चार दिनमै चम्किन बेर लाग्दैन । अर्को यो क्षेत्रलाई नेपाली दर्शक श्रोताले अत्यन्तै माया गरिदिनु हुन्छ ।

नेपाली सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?

यसको प्राबिधिक पक्षमा हामी पछि छौं । अहिले पनि गीत प्रकाशन गरे पछि यसको व्यावसायिक विधि छैन । रोयल्टी ब्यबस्थापनका लागि प्राबिधिक पक्ष भरपर्दो छैन । अर्को तर्फ यो क्षेत्रलाई राज्यको तर्फबाट कुनै बैधानिक व्यस्था गरिएको छैन । यस्ता धेरै सुधार गर्नु पर्ने पक्ष हुन । यसको सेन्सर गर्ने निकाय छैन जसले गर्दा कलाकारहरु बेला–बेला बिबादमा आइरहेका हुन्छौं हाम्रो सिर्जनाकै कारणले ।

आफूमा निखारता कसरी थप्दै अउनुभएको ?

निखारता निरन्तरताको उपज नै हो ।

संगीत क्षेत्रबाट पाएको कुरा ?

धेरै चीज पाएको छु, अहिले त यो क्षेत्र नै मेरो एउटा ठूलो परिवार जस्तो भैसकेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान मार्फत हिजो रेडियोमा सुन्न मात्र पाएका नामहरु आज संगै भएर दुःख सुःख साटने अवसर पाईरहेका हुन्छौ । त्यति मात्रै धेरै थोरै दर्शक श्रोता कमाईयो । यिनै अमुर्त सम्पत्ति कमाइयो सायद ।

संगीत क्षेत्रबाट गुमाएको कुरा ?

त्यस्तो ठूलो कुरा त केही गुमाइयो जस्तो लाग्दैन तर जीवनका उर्जाशिल उमेर यही क्षेत्रमा समर्पित गरियो जसका कारण स्थायी रुपमा जीवनयापन गर्न सकिने अरु अवसरहरुको बारेमा ध्यानै पुराउन सकिएन ।

अबका योजना के छन् ?

परिवार नै गीत संगीतमै भएकोले यसको निरन्तरताका पहिले भन्दा बेशी मेहनत गरेर लोकदोहोरी गीतको तयारी गर्दै छु । साथै आफ्नै युट्युब च्यानल छ त्यसका प्रत्यक्ष दोहोरीहरु रेकर्ड गर्ने त छंदैछ ।

अन्तमा के भन्नुहुन्छ ?

देशकाल परिस्थिति सुधार होस्, कोरोना महामारीको छिट्टै अन्त्य होस्,हरेक नेपाली ढुक्क संग बांच्न पाउने अवस्था बनोस् यदि त्यस्तो भयो भनेन कलाकारहरु नांच्ने आँगन बांच्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button