केपी ओलीले मलाई बहुमत दिलाएर छाडे : अध्यक्ष प्रचण्ड

पोखरा न्यूज । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले आफूलाई बहुमत दिलाएर छाडेको बताउनुभएको छ । पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले केन्द्रीय कमिटीको बैठकमा ओलीले आफ्नो कुर्ची हटाएर पार्टीका शीर्ष नेताहरूसँगै राखी बहुमतको पक्षमा पुर्‍याएको बताउनुभएको हो ।

उहाँले केन्द्रीय कमिटीको बैठक बस्ने बेलामा आफूले केही नराम्रो नगर्दा नगर्दै पनि ओलीले कुर्ची हटाएर वरिष्ठ नेताहरूको कित्तामा पुर्‍याएर आफूलाई बहुमत दिलाएको भन्दै ओलीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले केपी ओलीको नाम उल्लेख गर्दै भन्नुभयो, “तपाइले सबै जनता राष्ट्रप्रति गरेको घातका कारण तपाइको नजिक बस्दा अप्ठ्यारो लागेको थियो माधवजी, झलनाथ, नारायणकाजी, बामदेब सँग लगिदिनुभयो, मलाई उताको  कित्तामा पुर्‍याइदिनुभयो, मलाई बहुमत दिलाइदिनुभयो, धन्यवाद।”

भेलामा प्रचण्डले सर्वोच्च अदालतको फैसलाबाटै प्रतिनिधिसभा पुनः स्थापना हुने भन्दै नेता कार्यकर्तालाई ढुक्क हुन आग्रह समेत गर्नुभएको छ । सर्वोच्च अदालतले संविधानको सही व्याख्या गर्ने भन्दै अध्यक्ष प्रचण्डले संसद् पुनः स्थापना हुन्छ भन्नेमा आफूहरू विश्वस्त रहेकाले कार्यकर्तालाई पनि विश्वस्त हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “सर्वोच्चले संविधानको अक्षर,भावना र मर्मको व्याख्या गर्ने हो, आफूखुसी संशोधन गर्ने होइन । संविधानमा हुँदै नभएको व्याख्या गर्छ भन्ने मलाई पटक्कै विश्वास छैन, तपाईँहरू ढुक्क हुनुहोला संसद्को पुनः स्थापना भइछाड्छ ।” नेकपाका बहुमत केन्द्रीय सदस्यहरू आफूहरूको पक्षमा रहेको र सस्थापन पक्ष नै आफुहरु भएको भन्दै अध्यक्ष प्रचण्डले नेकपा दलको मान्यता आफूहरूले नै पाउने र चुनाव चिन्ह सूर्य पनि आफूहरूको नै हुने दावी गर्नुभयो ।

प्रचण्डले कसैले भन्दैमा एकता नबिग्रने बताउँदै आफू माधवको पक्षमा र माधव आफ्नो पक्षमा गएको भनेर भन्दा केही नबिग्रिने बताउनुभयो । आफूहरूले अहिले ओर्जिनल सहमति गरेको भन्दै प्रचण्डले पार्टी एकता पछि बसेको पहिलो स्थायी कमिटी बैठकबाटै ओलीले घच्याकघुचुक गर्न थालेको बताउँदै जालझेल गर्नेको पक्षमा कोही नहुने बताउनुभयो ।

पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन माथि घात गरेर बाटो बिराएर गएकाहरूलाई समेत गल्ती स्वीकार गरेर पार्टीमा फर्कन आग्रह गर्दै पार्टीलाई एकीकृत र गतिशील बनाउन आफूहरू लागि परेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“विधि,विधान र अनुशासनको पालना नगर्दा मात्र पार्टी कमजोर हुन्छ, अन्तर सङ्घर्षले पार्टी कमजोर हुँदैन । गुटवादी, व्यक्तिवादी र अहङ्कार त्यागौँ र पार्टीलाई एक ढिक्का बनाऔँ ।” नेता नेपालले सबै जना संविधानमा बाँधिएकाले संवैधानिक सर्वोच्चता भन्दा माथि नहुने उल्लेख गर्दै असंवैधानिक र अलोकतान्त्रिक प्रतिनिधिसभा विघटनको निर्णय अदालतले खारेज गर्ने बताउनुभयो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले संसदीय प्रणालीलाई ध्वस्त बनाएको उल्लेख गर्दै एकजुट भएर प्रतिगामी कदमलाई परास्त गर्नका लागि आफ्नो पार्टीले संयुक्त सङ्घर्षको पहल गरिरहेको बताउनुभयो । कम्युनिस्ट आन्दोलन र पार्टीलाई एकताबद्ध बनाउनुपर्ने प्रमुख दायित्व रहेको बताउँदै नेता श्रेष्ठले व्यक्तिगत स्वार्थका लागि संविधान मिच्न नपाइने भनाई राख्नुभयो । संवैधानिक अङ्गहरूले समेत कहीँ कतैबाट पनि दबाब र प्रभावमा परेर निर्णय गर्न नहुनेमा उहाँको जोड थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेल, सह इन्चार्ज यशोदा सुवेदी, प्रदेश कमिटीका सचिव श्रीमाया थकाली लगायतले प्रदेशमा पार्टी सङ्गठन सुदृढीकरण र संसद् विघटन विरुद्धको आन्दोलन प्रभावकारी बनाइने बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button