फिल्ममा अभिनय गर्ने रहर थियो, अवसर पाइएनः आनन्द राज बज्राचार्य

नेपाली फिल्मकर्मी सक्षम बन्दै गएको पाएको छु

पोखरा न्यूज । गायक आनन्दराज बज्राचार्यको जन्म पोखराको मोहरियाटोलमा भएको हो । बुबा प्रज्ञारत्न र मुमा चिनमाया बज्राचार्यको कान्छो सन्तान उहाँ बाल्यकालमा चञ्चले स्वभावका हुनुुहन्थ्यो । बुबा पनि सँगीतकार भएको कारण सांगीतिक क्षेत्रमा अगाडि बढ्न उहाँ हौसिनुभयो । त्यतिबेला उहाँले बुबासँग घरमा नै संगीत सिक्ने मौका पाउनु भएको थियो । स्कुलमा हुने विभिन्न कार्यक्रममा प्रायः गीत सुनाइहाल्ने बानी भएका उहाँले गाउने मात्र हैन राम्रो नाच्ने समेत गर्नुहुन्थ्यो ।

२०५२ सालमा देउराली क्लवमा आवद्ध साथीहरु मिलि देउराली व्याण्डको स्थापना गरे पश्चात उहाँको औपचारिक सांगीतिक यात्रा सुरु भयो । उहाँले रेकर्ड गरेको पहिलो गीत ‘रातको सपनीमा’ हो । २०५२ मा रेर्कड गरेको यो गीत त्यही वर्ष आएको देउराली व्याण्डको पहिलो एल्बम ‘अन्यौल’ मा समावेश थियो । उक्त समयमा व्याण्ड स्थापना गर्ने लहडनै चलेको थियो । क्लबमा आवद्ध अमृत गुरुङ्ग, भिम पुन, रत्नमान गुरुङ्ग, सुक गुरुङ्ग पढाइको शिलशिलामा काठमाण्डौ हानिनुभयो । उहाँहरुले उतै नेपथ्य व्याण्डको स्थापना गरेर यात्रा अगाडि बढाउनुभयो । बाँकी रहेका सदस्यले देउराली क्लवलाई नै देउराली व्याण्डको रुपमा स्थापीत गरेका थिए ।

२०५४ सालमा व्याण्ड मार्फत दोस्रो एल्बम ‘लुकीचोरी’ बजारमा आएको थियो । २०५६ मा निकालेको ‘अथाह’ नामक एल्बमबाट समेत यो समूहको लोकप्रियता बढेको मान्न सकिन्छ । आनन्दले भने २०५९ मा सोलो एल्बम ‘सुयोग’ लाई श्रोतामाझ पस्किनुभयो । पुनः २०६३ मा आनन्दले आफ्नै पहलमा देउराली व्याण्डको चौथो एल्बम ‘निरन्तरता’ मार्फत व्याण्डको निरन्तरता दिनुभएको थियो । २०६८ सालमा आफ्नो दोस्रो सोलो एल्बम ‘कन्टिन्युटि–२’ लाई बजारमा ल्याउनुभयो । उहाँको सोलो एल्बम ‘कन्टिन्युटि–३’ समेत दर्शक श्रोतामाझ आइसकेको छ ।

आनन्द राज बज्राचार्य, शान्त बज्राचार्य, तेज के.सी., मनिराज पुन, वसन्त थापा र राजेश बुद्धाचार्य मिलि देउराली व्याण्डको स्थापना भएको थियो । अहिले भने आनन्द राज बज्राचार्य व्याण्डबाट अलग भइसक्नुभएको छ । हाल व्याण्डलाई शान्त बज्राचार्य सहितको टिमले अगाडि बढाएको छ । पछिल्लो समयमा आनन्द सोलो गायनसँगै अगाडि बढ्न क्रियाशील हुनुहुन्छ । केही समय अगाडि मात्र उहाँले नयाँ गीत ‘मनलाई ढाँटी’ दर्शक श्रोतामाझ पस्कनुभएको थियो । उहाँले व्याण्ड र सोलो गरेर हालसम्म झण्डै ६ दर्जन गीतमा आफ्नो आवाज भरिसक्नु भएको छ । यसपाली हामीले उहाँसँग सांगीतिक क्षेत्र भन्दा भिन्न फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईले फिल्म कतिको हेर्नुहुन्छ ?
हेर्छु, म फिल्म ठिक ठिकै हेर्छु ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
पहिले–पहिले हलमा नै गएर हेरिन्थ्यो । हाल आएर घरमा नै यूट्यूव, नेटटिभी, डिजिटल मिडिया, टेलिभिजन(एलईडी)को माध्यमबाट हेर्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?
मलाई घरमा भन्दा हलमा फिल्म हेर्दा छुट्टै आनन्द र मज्जा लाग्छ । हुनत आजकल घरमा समेत रमाइलो नै लाग्छ । किनकि अहिले त घरमा पनि साउन्ड सिस्टम साथै भिडियो क्वालिटी राम्रो आउँछ । सोही कारण हलमा जाने मेसो सधैं नमिल्ने हुँदा फिल्म हलमा भन्दा घरमा नै धेरै हेरिन्छ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
फिल्म हेर्न मलाई सानैबाट एकदमै मन पथ्र्यो । म सानो हुँदा बाबासँगै फिल्म हेर्न जाने गर्थें । राम्रो फिल्महरु चल्यो भने बाबाले आज फिल्म देखाउन लान्छु भन्नु हुन्थ्यो अनि संगै लिएर जानुहुन्थ्यो । अलि ठूलो भएपछि साथीभाईहरुसँग ठूलो ग्याङ भएर फिल्म हेर्न गईन्थ्यो । ल साथी हो आज फिल्म हेर्न जाने है भनेपछि २०,२५ जना साथीहरु त्यसै भइहाल्थ्यो त्यसरी गुप्र बनाएर हेर्न गईन्थ्यो । पछि पछि भिडियोमा (भिसिआर) डेक र टि.भी.भाडामा लिएर साथीभाइहरु मिलेर पैसा जम्मा गरेर हेर्न थालियो । यसरी फिल्म हेर्दा रमाइलो लाग्थ्यो ।

हलमा हेरेको पहिलो फिल्म ?
हलमा हेरेको पहिलो फिल्म त मलाई याद छैन तर सायद मैले पहिलो पटक हेरेको नेपाली फिल्म हलमा नभइ कालिका मा.वि.रामबजारको चौरमा रातको समयमा सेतो पर्दा राखेर प्रोजेक्टरबाट हेरेको मलाई अलि अलि याद छ । म सानो नै थिएँ । त्यो फिल्म चाहिँ ‘आमा’हो ।

मनपर्ने फिल्मी कलाकार ?
पहिले–पहिले अमिताभ बच्चन साह्रै मन पथ्र्यो । पछि आएर संजय दत्त, मिथुन चक्रवर्ती मन पर्‍याे । अहिले आएर रीतिक रोशन मनपर्छ । नेपाली फिल्ममा श्रीकृष्ण श्रेष्ठ मनपथ्र्यो । अहिले भने प्रदिप खड्का, सौगात मल्ल मनपर्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
हाल आएर नेपाली फिल्मको सकारात्मक पक्ष भनेको स्तरोन्नति नै हो । भिजुअल क्वालिटी, साउन्ड सिस्टमहरुमा विकास भएको पाइन्छ । फिल्मको सबै काम नेपालमा नै हुन्छ सोही कारण नेपाली फिल्मकर्मी पछिल्लो समयमा सक्षम बन्दै गएको पाएको छु ।

सुधार गर्नुपर्ने पक्ष ?
जस्तो सुकै फिल्म भएपनि एउटा कथा चाहिँ वजनदार हुनुपर्छ । र, त्यो कथालाई सुहाउँदो क्यारेक्टर, गीत, नृत्य हुनुपर्‍याे । त्यसैगरी सिनेमा हलको पर्दा, साउन्ड सिस्टम, प्राबिधिक समेत अपडेटेड तथा फिल्म बुझेको हुनपर्छ । एउटा फिल्म हिट भयो भने सबैले त्यस्तै फिल्म बनाउने चलन छ त्यसलाई छोडेर विविधता खोज्न जरुरी छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
फिल्ममा अभिनय गर्ने रहर त हुन्थ्यो तर समय, अवसर पाइएन । म सानो छँदा एउटा प्रकाश थापाद्वारा निर्देशित डकुमेन्ट्रीमा सानो भूमिका अभिनय गरेको थिएँ । पछि अभिनय भन्दा संगीत तर्फ झुकाव बढी भयो र संगीत तर्फ लागे ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?
नेपाली फिल्मले मौलिक कथा संगीत अनि कलाकारको खोजी कार्य गर्नु जरुरी छ । नेपाली फिल्म क्षेत्र एउटा उद्योगको रुपमा बिकास भइसकेको छ । यहाँ बनेका केही फिल्महरु विश्व फिल्म फेस्टिभलमा समेत मनोनयनमा पर्न सफल भएका छन् । यसैमा लागेर कसैले करियर बनाएका छन् कसैले यसलाई नै पेशा बनाएर लगेका छन् । सोही कारण नेपाली फिल्मकर्मीहरु सक्षम बन्दै गएको पाएको छु । अन्तमा कोभिडको कारण थला परेको फिल्म क्षेत्रलाइ कसरी फेरि सक्रिय बनाउन सकिन्छ त्यो सबै हामी दर्शक, फिल्मकर्मी निर्माता, निर्देशक, कलाकार एकजुट भएर फिल्म उद्योगको लागि केही गर्ने सोचौं भन्न चाहन्छु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button