फिल्मको पर्दामा बाघ देख्दा डर लाग्थ्यो : रामभक्त जोजिजु

सानोमा फिल्म हेर्न पैसा हुन्थेन

पोखरा न्यूज । गायक रामभक्त जोजिजुको जन्म २०२७ सालमा बुबा सन्त कुमार र आमा योगमाया जोजिजुको तेस्रो सन्तानको रुपमा पोखराको रानीपौवामा भएको हो । उहाँ सानैदेखी संगीतप्रेमी हुनुहुन्थ्यो । उहाँको साँगीतिक यात्रा त्यति सुखद भने थिएन । २०४३ सालबाट सांगीतिक यात्राको आरम्भ उहाँले गर्नुभयो ।

बिहान सबेरै उठेर गुरु लाक्पा लामा सँग संगीत सिक्न जानुहुन्थ्यो, बिहान छ बजे कलेज जाने, दश बजे स्कूल पढाउन जाने फेरी बेलुका ओपन हाउस रेष्टुरेन्टमा गीत गाउने त्यतिबेलाको दैनिकी थियो । यसरी शुरुवातका दिनमा उहाँले धेरै स्ट्रगल गर्नुभयो ।

उहाँले २०५१ मा रेडियो नेपालमा स्वर परीक्षा उत्रिर्ण गरी ‘समाल ती पाइलाहरु’ बोलको गीत रेर्कड गर्नुभयो । २०५५ मा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा ‘उडेर जुन छुन्छु भन्थे’ गीत गाएर उहाँ प्रथम हुनुभयो । यो गीतले उहाँको परिचयलाई फराकिलो बनायो ।

उहाँले २०५६ मा पहिलो एल्बम ‘सुमिलन गर हरिनाम’ बजारमा ल्याउनुभयो । २०५७ मा आधुनिक गीत समावेश गरी निकालेको एल्बम ‘भाग्य’ बाट उहाँको लोकप्रियता चुलियो । २०५८ मा लोक पप गीत समावेश गरी आएको एल्बम ‘लक्ष्य’ बाट श्रोताको राम्रो साथ पाउनुभएका उहाँले २०६२ मा पुनः भजनलाई समावेश गरी ‘चर्णार्मीत’ एल्बम पस्किनुभयो । २०६४ मा आफ्नी जीवनसंगीनी इतु जोजिजु सँगको युगल आवाजमा निकालेको एल्बम ‘छाँया’ बाट सफल युगल जोडीको रुपमा उभ्याउन सफल हुनुभयो ।

गीत गाउने मात्र नभएर राम्रो बाँसुरी बजाउने कला उहाँमा छ । सांगीतिक यात्राको शुरुवात बाँसुरी बजाएरै गर्नुभयो । उहाँले सांगीतिक क्षेत्रमा लागेर केही महत्वपूर्ण पुरस्कार हात पार्न सफल हुनु भएको छ । आफुले स्वर दिएका गीतहरुलाई समावेश गरी ‘रामभक्त जोजिजूद्वारा गाइएका गीतहरुको संगालो’ नामक किताब समेत प्रकाशन गर्नुभएको छ । सबै विधाका गीत गाउनसक्ने खुशी उहाँमा छ ।

पोखराबाट सांगीतिक यात्रा प्रारम्भ गर्नुभएका उहाँले साठीको दशक भने काठमाण्डौमा बिताउनुभयो । अहिले जन्मठाउँ पोखराबाटै आफ्नो यात्रालाई अगाडि बढाइरहनुभएको छ । कोरोना महामारीका समयमा समेत विभिन्न सांगीतिक कोसेली दर्शक श्रोतामाझ निरन्तर पस्कनुभयो । उहाँले संगीत क्षेत्रमा आउन चाहने नव प्रतिभाको लागि जे.ई. म्युजिक एकेडेमी तथा गीत रेकर्ड गर्नको लागि जे.ई. स्टुडियो पोखराको फूलवारीमा सञ्चालन गर्नुभएको छ । त्यहीबाट नयाँ पुस्तालाई संगीतको क्षेत्रमा अगाडि बढ्न उहाँले उर्जा थप्ने काम गरिरहनुभएको छ । यसपाली हामीले गायक जोजिजुसँग सांगीतिक क्षेत्र भन्दा भिन्न फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईंले फिल्म कतिको हेर्नुहुन्छ ?

पहिला सानोमा हेर्थे, आजकल त्यति समय हुँदैन फिल्म हेर्ने ।

तपाईंको फिल्म हेर्ने माध्यम के हो ?

मोबाईल र हल हो ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

पहिला धेरै फिल्म कल्पना सिनेमा हलमा हेरियो । अहिले सुविधा सम्पन्न मल्टिप्लेक्स हलमा हेर्दा छुट्टै रमाइलो हुन्छ । धेरै मानिस हुन्छन्, त्यहाँको पपकन, कोक, कफी खादै हेर्न खुब रमाइलो हुन्छ । घरमा पहिले–पहिले टिभीमा हेरिन्थ्यो अहिले नहेरेर टिभी नै बिग्रीसक्यो । कहिलेकाँही मोबाइलमा हेरिन्छ । घरमा हेर्दा हलको जस्तो मज्जा त हुँदैन ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

सानोमा फिल्म हेर्न पैसा हुन्थेन । पैसा चोरेर हेर्न गइन्थ्यो । अनि आफूलाई फिल्मको हिरो सम्झिदै घरमा पछाडीबाट खुसुक्क पसिन्थ्यो । फिल्मको पर्दामा बाघ देख्दा डर लाग्थ्यो ।

सानो छँदा यस्तो सुनेको थिए– ‘कुनै गाउँंले फिल्म हेर्न गएछ । फिल्ममा बाघ देखिएछ । बन्चरोले त्यो बाघलाई हिर्काउंदा पर्दा नै च्यातिएछ । अनि त्यो मानिसलाई पुलिसले समातेर लग्यो रे’ । त्यो बेला दाइहरुलाई फिल्म हेर्न लगिदेउ न भन्दा बाघ आउँछ भन्थे अहिले त्यही कुरा याद आउँछ । हाँसो लाग्छ ।

एक चोटी सानो छंदा कल्पना सिनेमा हलमा भएको थिए । त्यतिबेला आफूसंग पैसा हुन्थेन । त्यतिबेला टिकट काट्ने भीडमा १० रुपैयाँ पाएको थिए । त्यो बेला हलमा सागर रन्जित र म गएका थियौ अनि घण्टे दाइलाई त्यो दश रुपैयाँ दियौँ । उस्ले स्पेशलमा राखिदियो । अनि दूध बरफ किनेर हामीलाई दियो । त्यो बेला निकै रमाइलो लागेको थियो । कहिलेकाही फिल्म दोहो¥याएर, तेह्राएर समेत हेरिन्थ्यो । दश नम्बरी भन्ने मनोज कुमारको फिल्म दस चोटी हेरियो होला ।

हलमा हेरेको पहिलो फिल्म ?

हलमा हेरेको पहिलो फिल्म बिनोद मेहेरा को ‘घर’ हो ।

मनपर्ने फिल्मी कलाकार ?

मनपर्ने फिल्मी कलाकार हिन्दीमा अमिताभ बच्चन र नेपालीमा राजेश हमाल हुनुहुन्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ? 

नेपाली फिल्मको सकारात्मक पक्ष भनेको नेपाली कलाकारहरुले आफ्नो कला निर्धक्क प्रस्तुत गर्न पाउँछन् । त्यसैगरी गीत सङ्गीत मा समेत नेपाली कलाकारहरुले अबसर पाउँछन् यो सकारात्मक पक्ष हो ।

सुधार गर्नुपर्ने पक्ष ?

सुधार गर्नुपर्ने पक्ष भनेको फिल्म चलाउन भल्गर सिन राख्ने गरिन्छ । त्यस्तो गर्नु हुँदैन । त्यस्ले त समाजलाई नकरात्मक पक्ष तिर धकेल्छ । फिल्मको कथा वस्तुलाई सुधार्नुपर्छ । फिल्म हेरेपछि दर्शकको मनमा उत्साह र जीवन अगाडि बढाउन उत्साह जगाओस् त्यस्तो फिल्मले समाजमा सकारात्मक प्रभाव पार्छ । यसमा फिल्म निर्माताले ध्यान दिनुपर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

सानोमा फिल्म हेरेर आएपछि आफुलाई हिरो नै सम्झिन्थे । खेल्ने चाहना नहुने कृुरा भएन, भैहाल्थ्यो । त्यस्तो अवसर त जुरेन ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?

फिल्मको लागि भनेर गीत गाइन्छ तर फिल्म बजारमा आउन नपाउंदै हराउँछ । गीत मेहनत गरेर गाईन्छ अनि फिल्म बजारमा नआईकन हराउंदा रिस उठ्छ । मैले भोगेको छु । फिल्ममा समावेश गरिएको गीत नेपाली फिल्मी बजारमा आउँछ भने मात्र गाउन लगाउनोस् नत्र गाउनको लागि दुःख नदिनुहोला भनेर निर्माता तथा निर्देशकलाई विशेष अनुरोध गर्दछु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button