प्रधानमन्त्रीले अधिकार दुरुपयोग गरे-नेपाल

पोखरा न्यूज संवाददाता । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेकाले प्रधानमन्त्रीको पदमा बस्न लायक नरहेको बताउनुभएको छ ।

काठमाडौँमा आयोजित आफू पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको रुपमा अधिकारको दुरुपयोग गरेकाले पदमा बस्न लायक नभएको बताउनुभएको हो । अध्यक्षको कर्तव्य पालना नगरेका कारण पार्टी अध्यक्षको रुपमा पनि बस्न लायक नरहेको उहाँको भनाई छ । अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले संकटकाल लगाएर अथवा अन्य असंवैधानिक कदम चालेरै भएपनि ५ वर्ष प्रधानमन्त्री बन्न चाहेको उल्लेख गर्दै ओलीले चुनाव नगराउने बताउनुभयो ।

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिनेगरी अघि बढ्ने बताउनुभयो । देशको प्रगतिको लागि आन्दोलनका विकल्प नभएकोले आन्दोलनको ज्वारभाटा सृष्टि गर्ने उहाँको भनाई छ ।उहाँले पार्टीको आधिकारिकता र सूर्य चिन्ह कसैले खोस्न नसक्ने दावी गर्नुभयो । केपी शर्मा ओलीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेर अस्ताउँदो सूर्य चुनाव चिन्ह लिएको जिकिर गर्दै उहाँले केही ओलीको त्यही चुनाव चिन्ह हुने र आफूहरुको सूर्य चिन्ह कसैले खोस्न नसक्ने बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button