गुरुङ फिल्मको आर्कषण बढाउन बजार विस्तार हुनुपर्छ :भोजबहादुर गुरुङ

गुरुङ फिल्म समुदायमा मात्रै सीमित भयो कि भनेर समुदाय बाहिर जान खोज्दैछौ

पोखरा न्यूज । गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) का अध्यक्ष हुनुहुन्छ भोजबहादुर गुरुङ । २०५७ सालबाट फिल्मी क्षेत्रको यात्रा तय गर्नुभएका उहाँले गुरुङ तथा नेपाली फिल्ममा काम गर्नुभएको छ । मुनाल फिल्म प्रालिका सञ्चालक समेत रहनुभएको उहाँसँग हामीले फिल्मी तथा गुरुङ फिल्मसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईंले फिल्म कतिको हेर्नुहुन्छ ?

वास्तवमा आजभोलि फिल्म एकदमै कम हेरेको छु, धेरै हेनुपर्ने हो, व्यस्तताले त्यति हेर्न पाएको छैन ।

तपाईंको फिल्म हेर्ने माध्यम के हो ?

मलाई हलमा नै गएर फिल्म हेर्न मनपर्छ । सोही कारण हलमा नै हेर्छु । यसका अलावा फेस्टिभल, साथीभाइहरु जमगट गरेर समेत हेर्छु । घरमा वा अफिसमा फिल्म हेर्न लागे भने फोन आउने, साथीभाइ आउने गर्छन् एकटकले हेर्न पाइदैन त्यसैले मेरो फिल्म हेर्ने माध्यम भनेको हल नै हो, फिल्म फेस्टिभल भएको ठाउँमा गएर पनि हेर्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

पछिल्ला वर्षमा घरमा पुरा फिल्म हेरेको छैन, हलमा नै हेरको छु, हलमा साथीभाइसँग र परिवारसँग बढी हेर्छु । हलमा हेर्दा रमाइलो अुनभूति हुन्छ । भिडियो, अडियो, व्यागराउण्ड म्युजिक, लाइट इफेक्टहरु सबै महशुस गर्न पाइने भएको हुनाले हलमा हेर्दा छुट्टै आनन्द आउँछ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

सानोमा धेरै हिन्दी फिल्म हेरिन्थ्यो । हामीले साथीभाइ मिलेर १०, १० रुपैयाँ उठाएर टोलमा टिभी र डेक भाडामा ल्याएर रातभरि फिल्म हेथ्र्यौ । त्यो बेला एउटा हिन्दी फिल्म हामीले हेरका थियौ, नाम थियो ‘अन्दाज अपना अपना’ । यो अमिर खान र सलमान खानले अभिनय गरेको कमेडी बेसको फिल्म थियो । त्यो फिल्मका दृश्यले हामीलाई हाँसो लाग्यो । पछि साथीभाइ एक आपसमा हाँसेको देखेर फेरि हाँसो लाग्यो । यसरी हाँस्दाहाँस्दा आँशु नै झरेको थियो । त्यसरी रमाइलो गरेको याद अझै आउँछ । भुलेको छैन । फिल्मको दृश्य संवाद र सिक्वेन्स अझैपनि मन मस्तिस्कमा ताजा नै छ ।

हलमा हेरेको पहिलो फिल्म ?

हलमा कुन फिल्म पहिला हेरे भन्ने मलाई याद नै भएन ।

मनपर्ने फिल्मी कलाकार ?

शुरु-शुरुमा धेरै हिन्दी फिल्म हेर्ने भएको हुँदा सुनिल शेट्टी मनपर्याे । पछिल्लो समयमा अमिर खान, शाहरुख खान मनपथ्र्यो । नेपालीमा रमेश उप्रेती, राजेश हमाल, विपिन कार्की, दयाहाङ राई, बुद्धि तामाङ, खगेन्द्र लामिछाने मनपर्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

नेपाली फिल्मको सकारात्मक पक्ष धेरै छन् । सुरुवाती चरणमा धेरै नेपाली फिल्ममा बलिउडको प्रभाव देख्न्थ्यिो भने अहिले नेपाली मौलिकता देखाउन खोजिएको छ । आफ्नो देश, काल, परिस्थिति सुहाँउदो फिल्म बनाउने प्रयत्न भइरहेको छ, यो नेपाली फिल्मको पछिल्लो समयको सकारात्मक पक्ष हो ।

सुधार गर्नुपर्ने पक्ष ?

सुधार धेरै गर्नुपर्छ । नेपाली फिल्मकर्मीले नेपालीकै टार्गेट गरेर सीमित दर्शकलाई मात्र लक्षित गरेर फिल्म बनाइरहेका छन् । अब बजार विस्तार गर्नुपर्छ । नेपाल बहुभाषी, बहुसंस्कृति भएको ठाउँमा बन्ने फिल्म विश्वबजारमा सजिलै बिक्न सक्छ । नेपाल सुन्दर दृश्यमा मात्र संस्कार, संस्कृतिमा धनी छ । यहाँ धेरै मौलिक कथाहरु छन् । ती कथाहरुलाई राम्रोसँग बुन्न सकियो भने अथवा बुनेर फिल्म बनाउन सकियो भने विश्वबजारमा यस्ले राम्रो स्थान पाउनेछ । अब नेपाली फिल्मकर्मीले मौलिक र देश सुहाउँदो फिल्म बनाउनुपर्छ । मसलेदारको मात्र पछि लाग्नु हुँदैन मौलिक तर्फ अझै प्रेरित हुनुपर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

सानोमा फिल्म हेर्दा घरमा त्यस्तै खालको अभिनय ऐनामा हेरेर गर्ने गर्थे । घाउँहरुको इफेक्ट अनुहारमा बनाएर ऐना हेर्ने मेरो बानी थियो । फिल्म हेर्दा मात्र नभएर हेरेपछि अभिनय गरेर आफ्नो रहर पुरा गर्न खोज्थे ।

गुरुङ फिल्मको अवस्था कस्तो छ ?

२०५२ साल बैशाख २३ गते प्रीतम गुरुङद्वारा लिखित पाते फिल्मबाट अहिलेसम्म आइपुग्दा गुुरुङ फिल्मले २५ वर्ष पार गरिसकेको छ । यो २५ वर्षको अवधिमा गुरुङ फिल्मकर्मीले फिल्म बनाउन मात्र सिके । अनुकरण मात्र गरे । हामीले सिकेका अनुभव धेरै प्रयोग गरिसक्यौ पनि । तर, फिल्म केवल समुदायमा मात्र सीमित छ । हामीले हाम्रो समुदायबाट बाहिर कसरी आम नेपाली तथा विश्वका फिल्मप्रेमीमाझ हाम्रो फिल्मलाई लैजाने भन्ने अझै सोचिरहेका छैनौ, र, पनि गुरुङ फिल्मले समाजमा पारेको सकारात्मक पक्षहरु धेरै छन् । तर गुरुङ फिल्म समुदायमा मात्रै सीमित भयो कि भनेर अब समुदाय बाहिर जान खोज्दैछौ ।

गुरुङ फिल्म क्षेत्रले आशातित सफलता पाउन नसक्नुको कारण ?

कारणहरु थुप्रै छन् । गुरुङ फिल्म पछिल्लो समयमा भेगिए रुपमा मात्र बनिरहेको छ । कुनै निर्माताले फिल्म बनाउनँदाखेरी आफ्नो गाउँठाउँ, आफ्ना आफन्त कलाकार आफ्नै मानिस हुनुपर्ने, आफ्नै बाझो खेतमा सुटिङ गर्नुपर्ने र निर्देशक तथा निर्माताको अन्तरसम्बन्ध राम्रो नहुनु गुरुङ फिल्मले सफलता पाउन नसक्नाका कारण हुन् । यस्तै तालिमप्राप्त कलाकाहरु नराख्ने र बजारको अध्ययन नगरिकन फिल्म बनाउने गरेको कारणले सोचेको मात्रामा फिल्मले सफलता पाउन सकिएको छैन । यि सबै कुराहरु हामीले अहिले महशुस गरिरहेका छाँै । धेरै मानिसले गुरुङ फिल्मकर्मीले पनि अर्काको नक्कल गरेर फिल्म बनाउने गर्नुहून्छ भन्ने आरोप गर्नुहुन्छ । गर्नपनि कतिपय फिल्मनिर्माता साथीहरुले त्यस्तै गर्नुभएको छ । अब यसरी हुँदैन ।

गुरुङ फिल्मको आर्कषण बढाउन के गर्नुपर्छ ?

गुरुङ फिल्मको आर्कषण बढाउन सर्वप्रथम बजार विस्तार हुनुपर्छ, पाटी प्यालेस, बैठककोठा, समाजघरमा मात्र सीमित हुनुहुदैन । हामीले बनाएका फिल्महरु गैर गुरुङलाई समेत लक्षित गरेर देशैभर रिलिज गर्नुपर्छ । म यहाँनेर के जोड्न चाहन्छु भने फिल्मको कुनै भाषा हुँदैन, यसको दृश्य भाषालाई सशक्त्त बनाएर, हाम्रो गुरुङकलाकारलाई राम्रो तालिम दिएर, राम्रो–राम्रो विषयवस्तुलाई अध्ययन अनुसन्धान गर्ने, अन्य विश्व बजारमा बन्ने फिल्ममा नसमेटिएको विषयवस्तुलाई कलात्मक ढंगले देखाउन सक्ने र आफ्नै मौलिकपन भएको बनाउन सकियो भने गुरुङ फिल्मको आर्कषण बढ्छ । त्यसरी बनाएका फिल्म विश्वबजारमा देखाउन सकियो भने विस्तारै गुरुङ फिल्मप्रति सबैको झुकाब बढ्दै जानेछ । फलस्वरुप आम्दानीमा वृद्धि हुनेछ । अनि लगानीकर्ताले लगानी सुरक्षित हुने भयो भनेर ढुक्कले लगानी गर्नेछन् ।

तपाईंको गुरुङ फिल्मतर्फको आगमन कसरी भयो ?

मेरो गुरुङ फिल्म क्षेत्रमा आगमनको पहिलो पाठशालानै रोधीघर हो । गाउँमा हुँदा रोधीघरमा नाचगान हुन्थ्यो । मैले सानैबाट नाच्ने बढी चासो राख्थे । कहिले-कहिले गाउँमा नाटकहरुमा पनि मैले भाग लिने गर्थे । २०५७ सालमा एसएलसी पास गरे भद्रकाली माध्यामिक विद्यालयबाट । भद्रकालीमा अध्ययन गर्दा समेत केही नाटकहरुमा मैले अभिनय गरे । २०५७ सालमानै मेरो भेट श्यामशुक्ला फिल्म प्रोडक्सनका सञ्चालक, निर्देशक घनश्याम लामिछानेसँग भयो । उहाँले प्रेम मिलन चलचित्र त्यो बेलामा निर्माण गर्दै हुनुहुँदो रहेछ । त्यसमा केही कालाकार चाहियो भनेर आव्हान गरिएको थियो । कलाकार हुने रहरका साथ मैले पनि आवेदन दिए । अवसर समेत पाए । प्रेम मिलन फिल्ममा खलनायको भूमिका मैले निभाए । यो फिल्ममा काम गर्दा धेरै फिल्मकर्मी र प्राविधिकसँग भेट्ने मौका पाए ।
सोही वर्षको दशैंमा प्रेम मिलनको सम्पादनमा जाँदा निर्देशक तथा सम्पादक ओमप्रकाश गुरुङसँग परम्परा फिल्म प्रोडक्सनमा भेट भयो । मेरो रुचि, मेरो उत्सुकता, फिल्मप्रतिको मेरो झुकाव उहाँले चाल पाइसक्नु भएको रहेछ । त्यही वर्ष लोकबहादुर गुरुङ, बेद बहादुर गुरुङले ‘हाम्रो गाउँघर’ भन्ने गुरुङ फिल्म सुटिङ ताङतिङ गाउँमा गर्नुभएको थियो । ओमप्रकाश गुरुङलाई थाहा थिएनकी मेरो गाउँ ताङतिङ हो भनेर । म दशैमा गाउँमा गएको थिए । गुरुङ फिल्म हाम्रो गाउँघर फिल्मको हाम्रै गाउँमा सुटिङ भैरहेको थियो । म पनि सुटिङ हेर्न गएको थिए । किनकी त्यस फिल्मम बहिनीहरुले अभिनय गर्दै थिए । त्यहिबेला ओमप्रकाश गुरुङले आफै क्यामेरा खिच्ने, आफैले कलाकारलाई अभिनय सिकाउने, आफै कन्टिन्युटी टिप्ने गर्नुभएको थियो । अरु साथी कोही थिएन ।

मैले दाइलाई देख्नै बित्तिकै नमस्ते भने । उहाँले तिम्रो गाउँ यही हो भन्नुभयो । मैले हो भने । अनि उहाँले मेरोे एसिस्टेन्ट कोही पनि छैन कन्टिन्युटी टिप्नलाई सहया मलाई सहयोग गरदेउन भन्नुभयो । शुरुमा मैले मलाई आइडिया छैन भने । उहाँले म सिकाउछु भन्नुभयो अनि मैले काम शुरु गरे । विभिन्न टेक्निकल कुरा थाहा पाए । एसिन्टेन्ट क्यामरा ट्रेकरको जिम्मा मैले पाएको थिए । त्यसपछि ओम प्रकाश गुरुङले मलाई अरु फिल्ममा समेत बोलाउन थाल्नुभयो । त्यसपछि डाँफे कलामा क्याप्टेन मिनबहादुर गुरुङसँग भेट भयो । परम्परा फिल्म प्रोडक्सनका केशबहादुर गुरुङसँग भेट भयो । तत्कालीन समयमा डिजिटल प्रविधिबाट पोखरामा छायाकंन सम्पादन गर्ने टिमवर्क फिल्म प्रोडक्सन त्यसको निर्देशक जसवन्तदेव श्रेष्ठ हुनुहुन्थ्यो उहाँहरुसँग काम गरे । त्यसपछि कहिले नेपाली फिल्म, कहिले गुरुङ फिल्म गर्दै निरन्तरता दिइरहेको छुँ । यो बीचमा धेरै काम सिके । ४, ५ वटा गुरुङ फिल्म निर्देशन गरिसकेको छु ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?

२०५७ साल देखि अहिलेसम्म फिल्म क्षेत्रमा लागिरहेको छु । यो क्षेत्रबाट नै परिवार पालेको छुँ, बाँचेको छुँ, काम गरिरहेको छु । मेरो आफ्नै मुनाल फिल्म प्रालि कम्पनी छ । सबैलाई नेपाली तथा गुरुङ फिल्मलाई माया गर्नुहोस् भन्छु ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button