घान्द्रुकमा सिनेमा पर्यटन र साहित्य संवाद

मलाई हरर मुभीले भन्दा पुस्तकले तर्साउथ्यो : दीपकराज गिरी

पोखरा न्यूज । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको आयोजनामा सिनेमा संवाद एट घान्द्रुक कार्यक्रम सम्पन्न भएको छ ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने सुन्दर गाउँ घान्द्रुकमा देखिने सुन्दर हिमाललाई साक्षी राखेर भएको संवाद कार्यक्रम दुई सेसनमा गरियो । पहिलो सेसन थियो ‘सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना’ शीर्षकको । वक्ताको रुपमा हुनुहुन्थ्यो निर्देशक तथा कलाकार सुदर्शन थापा र पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई । सहजकर्ताको रुपमा पत्रकार वासुदेव मिश्र । यो सेसनमा यस अगाडि वक्ताको रुपमा तय हुनुभएका विजय लामा विशेष कारणवश संवाद कार्यक्रममा सहभागी बन्न सक्नुभएन ।

छलफलमा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले सिनेमाको माध्यमबाट पर्यटन क्षेत्रमा ठुलो सर्पोट मिलेको बताउनुभयो । पर्यटन क्षेत्रबाट एक्सपोजर हुन नसकेका कति ठाउँहरुलाई सिनेमा क्षेत्रले एक्सपोजर गरिदिएको उहाँको भनाई थियो । नेपाली सिनेमाले पर्यटन प्रर्वद्धन गर्न सघाएको बताउनुभएका उहाँले आगामी दिनमा पर्यटन क्षेत्रले सिनेमाक्षेत्रसँग सहकार्य गर्ने बताउनुभयो ।

निर्देशक तथा कलाकार सुदर्शन थापाले सिनेमाले पर्यटन प्रर्वद्धनमा सघाउ पुर्याएको बताउनुभयो । छायाँकंनको लागि विभिन्न ठाउँमा व्यक्तिगत रुपमा स्थानीयको सहयोग पाएपनि प्रशासनिक रुपमा सहयोग नपाएको उहाँको गुनासो थियो । केही ओझेलमा परेका सुन्दर ठाउँ सिनेमामा देखाइएको कारण चर्चामा आएको भनाई उहाँले राख्नुभयो ।

दोस्रो सेसनमा ‘सिनेमा साहित्यः सम्बन्ध र साझेदारी’ विषयमा छलफल भयोे । कलाकार दीपकराज गिरी, लेखक गनेश पौडेल, कवि भूषिता वशिष्ठ वक्ता रहेको सेसनको सहजकर्ता सञ्चारकर्मी समेत रहनुभएका सिनेमा निर्देशक दिनेश डिसी हुनुहुन्थ्यो । डिसीले हालसम्म नेपालमा साहित्यक कृतिमा आधारित १८ वटा सिनेमा निर्माण भएको दृष्टान्त पेश गर्नुभयो ।

संवाद कार्यक्रममा बोल्दै कलाकार दीपकराज गिरीले किताब पढ्न आफूलाई रुची नलाग्ने बताउनुभयो । ‘किताब भनेपछि असाध्यै तर्सने भाग्ने मेरो बाल्यकाल रह्यो । मलाई हरर मुभीले भन्दा पुस्तकले तर्साउथ्यो’ उहाँले भन्नुभयो । सिनेमाको मोहका कारण बाल्यकालमा धेरै पटक शिक्षकबाट पीटिएको उहाँले खुलाशा गर्नुभयो । ‘मेरो व्यागमा किताबको सट्टा सिनेमा हेर्दा काटिएको टीकटको अर्धकट्टी हुन्थ्यो’ गिरीले भन्नुभयो । एसएलसी तेस्रो पटकमा पास भएको बताउनुभएका गिरीले पुस्तकले अहिलेपनि तर्साउने बताउनुभयो । ‘म कुनै कुरा पढ्न भन्दा हेर्न र सुन्न मन पराउछुँ । सोही कारण एकदमै थोरै पुस्तक पढेको छु’ उहाँले थप्नुभयो ।

अर्कावक्ता लेखक गनेस पौडेलले चलेका साहित्यकृतिमा बनेका सिनेमा भन्दा कम चर्चामा आएका कृतिमा बनेका सिनेमाले तुलनात्मक रुपमा सफलता पाएको बताउनुभयो । नेपालमा बनेका सबै सिनेमा साहित्यमा आधारित भएर नै बनेको उहाँको दावी थियो ।

कवि भूषिता वशिष्ठले सिनेमाको संवादमा मौलिकता हुनुपर्ने बताइन् । साहित्यमा प्रयोग गरिएको भाषालाई दृश्यको रुपमा देखाउन अप्ठ्यारो हुनसक्ने उहाँको भनाई थियो । हाम्रो आफ्ना परिवेश सुहाउँदो संवाद सिनेमामा नभेटेको उहाँको भनाई थियो । ‘मलाई रोचक रोमाञ्चक र नौलो शैलीको नेपाली साहित्यको कथा हेर्न मनलाग्छ’ वशिष्ठले भन्नुभयो ।संवाद कार्यक्रमले पर्यटन क्षेत्र र चलचित्र क्षेत्रबीच सुमधुर सम्बन्ध स्थापित गर्नसहयोग पुर्याउने अपेक्षा चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले गरेको छ । कार्यक्रममा चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले समेत बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button