मेरो जीवन जनताको निम्ति सर्मर्पित गरेको छुँ : विवेक देवकोटा

राजनीतिमा नयाँ पुस्ताको आर्कषण कम हुँदै गयो

पोखरा न्यूज । युवा नेता विवेक देवकोटाको जन्म कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका लुम्लेमा भएको हो । २०६० सालबाट विद्यार्थी राजनीति शुरु गर्नुभएका देवकोटाले विभिन्न कमिटीमा बसेर काम गरिसक्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी वैधानिक रुपमा विभाजन नभएपनि अहिले दुई समूह स्पष्ट रुपमा देखिएको छ । दुवै समूहबाट छुट्टाछुट्टै गतिविधि मार्फत कार्यकर्तालाई संगठित तथा जनताको साथ खोज्ने प्रयास भैरहेको छ । दुवै समूहले आफूहरु मुलधार भएको दावी गरिरहेका छन् ।युवा नेता देवकोटा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लाग्दै अहिले अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य तथा अनेरास्ववियु कास्कीको संयोजकको भूमिकामा हुनुहुन्छ । यसपाली देवकोटासँग उहाँको राजनीतिक यात्राको आरोह अवरोहसँगै अहिलेको राजनीतिक अवस्थाका बारेमा केही प्रश्न गरेका छौँ ।

तपाईंको बाल्यकाल अनि विद्यार्थी राजनीतिलाई सम्झनुन ?

निरक्षर बुबाआमाको कोखबाट मेरो जन्मभयो । सोही कारण बाल्यकालमा निकै कठिनाईको सामना गर्नुप¥यो । गरिबीको चरम पीडा भोगे । गरिबीको कारणले बाल्यकालमा पढ्नको निम्ति प्रेरणा मिलेन । स्कूल भर्ना समेत समयमा हुन सकिन । म ढिलोगरी स्कूलमा भर्ना भए । मेरो किशोर अवस्थाको जीवन चितवनमा बित्यो । पछि फेरि कास्कीको लुम्लेमानै फर्किए ।

लुम्लेको संगम माध्यमिक विद्यालयमा अध्ययन गरे । त्यतिबेला स्कूल भर्ना हुने, कपी किताब किन्ने पैसा, ड्रेस किन्ने पैसा मसँग थिएन । त्यही स्कूलमा पढाउने यमलाल देवकोटाको अगुवाईमा सबै कुराको व्यवस्था भयो । यमलाल देवकोटालेनै आज भन्दा १७ वर्ष अगाडि संगम माध्यमिक विद्यालय चन्द्रकोटमा अध्ययन गर्दा अनेरास्ववियुमा लाग्न प्रेरित गर्नुभयो । अनि यात्रा शुरु गरेको हुँ । त्यतिबेला विद्यालयमा अनेरास्ववियुको कास्की जिल्लाको नेतृत्वको टोली स्कूलमा गएको थियो । स्कूल कमिटीको अनेरास्ववियुको अध्यक्षमा बने । त्यसपछि निरन्तर अनेरास्ववियुको आन्दोलमा छु । मलाई कम्युनिष्ट बन्न प्रेरित गर्ने यमलाल देवकोटा अहिले हामीमाझ हुनुहुन्न । आफ्नो अखिल यात्राको सुरुवाती दिन सम्झदा गुरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।

हालसम्म कुन कुन कमिटीमा बसेर काम गर्नुभयो ?

अनेरास्ववियुको स्कुल कमिटी अध्यक्षबाट मेरो यात्रा शुरु भयो । कास्की जिल्लाको इलाका नम्बर १० अन्र्तगतको इलाका कमिटीको अध्यक्ष, क्षेत्रीय कमिटीको सदस्य, कोषाध्यक्ष हुँदै निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटीको अध्यक्ष, क्षेत्र नम्बर ४ क्षेत्रीय कमिटीको अध्यक्ष, अनेरास्ववियु कास्की जिल्ला कमिटीको सदस्य, दुईपटक सचिवालय सदस्य, सह–सचिव हुँदै अध्यक्षसम्मको जिम्मेवारी पूरा गरेको छु । म एमाले पार्टीको गाविस कमिटीको सदस्य, पार्टीकै निर्वाचन क्षेत्रीय कमिटीमा चुनावमै भाग लिएर २०६९ सालमा निर्वाचित सदस्य भएर काम गरे । पार्टीकै लुम्लेको इन्चार्ज भएर काम गरे । अनेरास्ववियु कास्की अध्यक्ष भएर झण्डै ६ वर्षको अवधि पुरा गरे । यसका अलावा विभिन्न आन्दोलन र रचनात्मक गतिविधिको नेतृत्व गरेको छुँ । विद्यार्थीका समस्या समाधानमा निरन्तर खटिए । संगठनमा सबै समय खर्चेको छु । अहिले परिस्थितिले कास्की जिल्लाको संयोजक छुँ । पार्टी एकता पछाडि संगठनमा त्यस्तै स्थितिको सिर्जना भएकोले विषम परिस्थितिमा नेतृत्व लिनुपर्ने अवस्था आयो ।

अहिले के के जिम्मेवारीमा हुनुहुन्छ?

अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी नेकपाको अन्नपूर्ण गाउँपालिका कमिटीको सदस्य छु । यो अप्ठ्यारो परिस्थितिमा अनेरास्ववियु कास्कीको संयोजकको भूमिका समेत मलाई छ । केही दिनमा संयोजकको जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गर्दैछु

अहिले संगठन मार्फत के कस्ता काम गरिरहनुभएको छ ?

अहिले पार्टीमा पनि गम्भीर खालको संकट परेको छ । हामी संगठनको पुर्नगठन गर्ने, कमिटीहरु निर्माण गर्ने अभियानमा जुटेका छौ । हुनत पहिलाको जस्तो अवस्था छैन । संगठनका गतिविधि अगाडि बढाउनका निम्ति सहज भएको हुँदा संगठनको नेतृत्व हस्तान्तरण गर्ने र विभिन्न जिल्ला कमिटी मातहतका अनेरास्ववियुका सबै कमिटी निर्माण गर्ने अभियानमा हामी जुट्दैछौ । कास्कीको विद्यार्थी आन्दोलनलाई नयाढंगले अगाडि बढाउन हामीले खोजेका छौ । मलाई केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी अखिलले हालसालै दिएको हो । अनेरास्ववियुको आन्दोलनमा कहिले कार्यकर्ता कहिले नेता भएर निरन्तर काम गरेको छु । अब पार्टीतिर काम गर्ने रहर मेरो छ ।

संसद विघटन पछि अहिले देशमा भैरहेको गतिविधीले के संकेत गर्छ ?

एउटा अप्ठ्यारो मोडमा पुगेर प्रधानमन्त्रीले संसदको विगठन गर्नुभएको छ । संसदको विगठन पछाडि जुन गतिविधि भइरहेका छन् संकेत राम्रो छैन । पार्टी भित्र आन्तरिक विवाद सिर्जना गर्न खोजिएको छ । प्रचण्ड-माधव समूहले छुट्टै पार्टी गठन गरेर माधव नेपाललाई अध्यक्ष बनाएको छ । विदेशीहरु नेपालको आन्तरिक राजनीतिमा धुमिल बनाउने र नेपालको आन्तरिक परिस्थतिमाथि हस्तक्षेप गर्न खोजिरहेका छन् । उनीहरुको अस्वभाविक चासो ठिक हैन । संसद विघटन पछि भएका गतिविधिले राजनीतिक अस्थीरता निर्माण गर्ने संकेत गरेको छ । राजनीतिक अस्थीरता निर्माण गर्ने संकेत गर्नुको पछाडि संसदको विगठन मात्र नभएर यसको पछाडि स्थायी सरकारलाई टिक्न नदिनको निम्ति बन्दाको भोलिपल्ट देखि गरिएका टिकडमहरु छर्लङ छन् ।

सरकारकै नेतृत्व गरेको पार्टीको अध्यक्षको हैसियतले सहयोग गर्नुपर्ने मान्छेले असहयोगको नेतृत्व गर्दा समस्या आयो । उनीबाटै सरकारमाथी असहयोग भयो, सरकारमाथी हमला भयो । स्थायी सरकारलाई असफल बनाउन तथा यसकोे बाटो बीचमानै रोक्न विभिन्नखाले टिकडम गर्दा अहिले देशमा राजनीतिक अस्थीरता देखिएको हो । अस्थीरताको परिस्थितिलाई साम्य पार्नका निम्ति निर्वाचनको अपरिहार्यता छ । निर्वाचनबाट मात्रै बल्ल एउटा नेतृत्वले जनताको आदेश अनुसार के गर्ने के नगर्ने भन्ने सांगोपांगो लगाउन सजिलो हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो अप्ठ्यारो परिस्थिति सिर्जना भइसकेपछि जनताको अभिमत माग्नुको कारण पनि त्यही हो ।

यसको समाधान के हुन सक्ला ?
यो अवस्थाको समाधान जनताको हातमा छ । प्रधानमन्त्रीले आफूले थेग्न सकुन्जेलसम्म व्यवस्थित गर्न सकिन्जेल वार्ता, छलफल तथा भेटघाटका माध्यमबाट परिस्थितिलाई सहज बनाउदै लानुभएको थियो । उहाँले गरेका प्रयत्न सबैको अगाडि छर्लङ छन् । जुन दिन बाट परिस्थिति पार्टीको बैठकबाट बाहिर गयो देशको सरकारको संसदको काबु भन्दा बाहिर गयो । विदेशी एजेन्सीले खेल्ने ठाउँसम्म पुग्यो । विदेशीको गोटी बन्ने तहसम्म नेताहरु पुगे त्यो दिननै अबच जनताको अभिमत माग्न जनता माझ जानुपर्छ, जनतालाई बुझाउनुपर्छ, अनुरोध गर्नुपर्छ जनताले प्रकट गर्ने मतको आधारमा नयाँ यात्राको थालनी गर्नुपर्छ भनेरेनै अप्रीय हुँदाहुँदैपनि यो निर्णय गर्न प्रधानमन्त्री बाध्य हुनुभयो भन्ने आम जनता, आम विद्यार्थीले बुझेका छन् ।

सोही कारण यसको समाधान जनताको हातमा छ । अहिलेको अवस्थालाई छिचोल्न तोकीएको मितिमा निर्वाचन हुन जरुरी छ । चुनाव पछाडि जनताको मतका आधारमा नयाँ कोर्ष शुुरु हुन्छ भन्ने लाग्छ ।

वैधानिक रुपमा पार्टी विभाजन भै नसकेपनि दुई पक्ष भएर आरोप प्रत्यारोपमा उत्रदा मत दिएर जिताउने मतदाता र कार्यकर्ताकै ठूलो पंक्ति निरास छन् यसले तपाईं जस्ता युवाको राजनीतिक यात्रा कता लग्ला ?

हो निरास छन्, वैधानिक रुपमा पाटी विभाजन नभएपनि दुई छुट्टटाछुट्टै पार्टीको गतिविधि शुरु भएको छ । नेकपालाई मत दिएर जीताउने मतदाता, जनताका बीचमा बाचा गरेका उम्मेदवार तथा पार्टीका कार्यकर्ता निरास छन् । हामी जस्ता युवाको राजनीतिक यात्रा निकै कठिन घडीमा छ । राजनीतिक धुव्रीकरण भइसकेपछाडि अब कम्युनिष्टको एउटै पार्टी बन्यो । देशको समृद्धिको यात्रा नयाँ शिराबाट अगाडि बढ्छ । हामी जस्ता युवाले राजनीतिमा हस्तक्षेत्र गर्नुपर्छ । राजनीति फोहोरी खेल हो भनेर अल्मलिने दिन सकिय नयाँ यात्रा शुरु भयो भन्ने कुरामा हामी उत्साहित थियौ । तर, यी गतिविधिले हामीलाई अप्ठ्यारोमा पारेको छ । निरास बनाएको छ । अहिलेको जेनेरेसनले के सही हो के गलत छ छुट्याउनुपर्छ ।बेठिक ठाउँमा प्रचण्ड माधव नेपालको कित्ता छ । पुराना नेताको पिछलग्गु भएर हिड्नु हुँदैन । युवा पुस्ताले धक्का दिएर नयाँ कोर्ष सिर्जना गर्नुपर्छ ।

पदको झगडामा देशलाई तहसनहस पार्ने नेतृत्वकै पछि पक्ष र विपक्ष बनेर लाग्नु भन्दा युवाले रचनात्मक दबाब दिनुपर्ने हैन र ?

अहिले नेपालमा देखिएका मुलधारका पार्टीहरु छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायत । मुलधारका पार्टी ठूलो सर्घर्ष, त्याग बलिदानी, लामो आन्दोलनको ऐतिहासिक पृष्ठभुमीले निर्माण भएका छन् । यसमा धेरै पुस्ताले लगानी गरेका छन् । परिवर्तका निम्ती अतुलनिय योगदान गरेका छन् । यी पार्टीलाई त्यागेर पन्छाएर विरासतलाई भत्काएर, पार्टी संरचना तहसनहस पारेर नयाँ कोर्ष सुरु गर्नतिर लाग्नुभन्दा यिनै पार्टीहरु भित्र हस्तक्षेपकारी भुमिका कसरी निर्वाह गर्न सकन्छि युवाले सोच्नपर्छ । मुलधारका पार्टीको ऐतिहासिक विरासतलाई टेकेर राष्ट्रको नेतृत्व कसरी गर्ने, यि पार्टीको संरचनालाई स्वस्थ ढंगले कसरी सञ्चालन गर्ने, भौतिक सम्पत्तिलाई कसरी पारदर्शी राख्ने, नेतृत्वलाई राष्ट्रप्रति, जनताप्रति कसरी उत्तरदायी बनाउने भन्ने ढंगले सोचेर त्यसको नक्सा बनाएर युवाहरु हातमा हात काँधमा काँध मिलाएर लाग्नुपर्छ । यसरी लाग्न सक्ने हो भने बल्ल युवाहरुको जोश, सोच क्षमता देशको निम्ति प्रयोग भएको छ भन्ने देखिन्छ । नत्र असन्तुष्टि व्यक्त गरेर विद्रोह गरेर नयाँ पार्टी खोल्न खोजेर गन्तव्यमा पुग्न सकिदैन । अब युवा सधै नेतृत्वको पक्ष र विपक्ष बनेर लाग्नु भन्दा हस्तक्षेपकारी भुमिका निर्वाह गरेर नेतृत्व लिन अग्रसर हुनुपर्छ ।

दुई पक्षमा बिभाजन हुँदा कास्कीको राजनीतिमा कस्तो असर परेको छ ?

कास्कीका रहेका पुराना कम्युनिष्ट पार्टीका कार्यकता जो साविक एमाले, साविक माओवादी केन्द्रमा रहेका थिए । उनीहरु सबै कम्युनिष्ट एक ठाउँमा बस्ने वातावरण बन्यो भनेर खुशी थिए । तर अहिले आएको विभाजनले राजनीतिक सेन्टीमेट विग्रिएको छ । जनता तथा कार्यकर्ताको मिलेर गर्छन् भन्ने सोचाइ बदलिएको छ । यिनिहरु कहिल्यै सुध्रिदैनन् भन्ने मानसिकता पलाएको छ यो राम्रो संकेत हैन । यति हुँदाहुँदै कास्कीमा प्रधानमन्त्री ओलीपक्षमा बलियो जनमत छ ।

नयाँ पुस्ताको आकर्षण राजनीतिमा कस्तो देखिन्छ ?

राजनीतिमा नयाँ पुस्ताको आर्कषण कम हुँदै गएको छ । अहिले पछिल्लो समयको नयाँ पुस्ता जुन २० वर्षको उमेरको हाराहारीमा छन् । यो पुस्ता केपी ओलीको पक्षम रहेको देखिन्छ । ओलीको राष्ट्रवादी अडान, सीमाको विषयमा आवाज उठाएको, अरुको हेपाहका प्रवृत्तिको सधै विरोध गर्ने तथा भूमि फिर्ताको अगुवाई गरेकोले अहिलेको नयाँ पुस्ता ओली प्रति सकारात्मक रहेको पाएको छुँ । यो उर्जाले नयाँ पुस्ताको आर्कषण राजनीतिमा बढ्ने निश्चित छ ।

तपाईंले राजनीतिमा देखेको सपना के हो ?

मैले राजनीतिमा देखेको सपना र अहिले भइरहेका गतिविधिको कुनै छेउटुप्पो मिल्दैन । राजनीतिक फोरमको माध्यमबाट समाजको नेतृत्व गर्नेछु । विकास निर्माणको अगुवाई गर्नेछु म आफ्नो जीवन अरुका निम्ति समर्पण गर्नेछु । म अरुको लागि सोच्ने भएर निस्कन्छु । विकास निर्माणको अगुवार्य गर्न, जनताको सेवागर्ने सबैभन्दा उपयुक्त माध्यम राजनीतिक संगठन नै हो भन्ने निष्र्कष निकालेको थिए । अहिलेको अवस्था देख्दा मैले देखेको सपना पूरा हुनेमा शंका लाग्छ । तरपनि मेरो जीवन जनताको निम्ति सर्मपित गरेको छुँ ।

देखेको सपना कसरी पुरा होला ?

मैले देखेको सपना पुरा हुन धक्का दिनुपर्छ । पहिलो कुरा पार्टीको आन्तरिक सुदृढिकरणका लागि धक्का दिनुपर्छ । धक्का दिन सकेनौ भने कहिल्यै हाम्रा कुरा पार्टीको बैठकमा एजेन्डा बन्ने छैनन् । हाम्रा सपनाहरु पार्टीको चुनावी मुखपत्रमा सामेल हुने छैन । हाम्रो उर्जा र क्रियाशिलता कहिल्यैपनि समाजका निम्ति खर्च दिइनेछैन । सोही कारण पार्टीको संगठन भित्रै एकखालको बहस पैरवी सिर्जना गर्न जरुरी छ । तब मात्र हामीले देखेका सपना पुरा हुन्छन् ।

तपाईंले राजनीतिक यात्रा गर्दा भोगेका दुःखद क्षण ?

अनेरास्ववियुको आन्दोलनमा लाग्दा २०६२ सालको जेठतिर एउटा घटना घट्यो, तत्कालीन माओवादीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले मलाई कास्कीको वीरेठाँटीमा लगे । मैले उनीहरुले भनेको नमान्दा कुटपिट गरेर छाडियो । त्यतिबेला उनीहरुको कुटाईले मेरो हात भाचियो । हात भाचिएको कुरा पोखरा आएपछि बल्ल थाहा भयो । अहिलेपनि मेरो देव्रे हातको नाडी थोरै बांगो छ । अनेरास्ववियुको आन्दोलनको दौडानमा एउटा कार्यक्रममा ट्याक्सीमा ठोक्कीएर निधार फुट्यो । सोही कारण अहिलेपनि मेरो दाहिने आँखामा नपुरिने गरी खत देख्न सक्छ । आँखाको दृष्टिमा समेत समस्या भएको छ । आर्थिक रुपमा सक्षम नहुँदा भोगेका दुःखद क्षण अझ धेरै छन् ।

अन्त्यमा के भन्नुहुन्छ ?

जुन हिसाबले राजनीतिक अस्थिरता थियो । त्यसको अन्त्य हुन्छ । स्थायी सरकार बन्ने कोर्ष नेपाली समाजले पकडी सक्यो । पहिलाको जस्तो अस्तव्यस्तता नेपाली जनताले भोग्नुपर्ने छैन भन्ने विश्वास थियो । ती विश्वासमा तुषारापात भएको छ । त्यो विश्वासलाई जोगाउनका निम्ति विश्वास मर्न नदिन राजनीतिक स्थीरता चाहिन्छ । जसका लागि सही नेतृत्व केपीओली नै हुन सक्छन् भन्नेमा म दृढ छु ।
आम युवा, विद्यार्थी, आम कार्यकर्ता, आम पेशा व्यवसायी आम नागरिकलाइ अपिल गर्न चाहुन्छु अहिलेको परिस्थितिमा देशलाई माया गर्ने राष्ट्रलाई माया गर्ने विकासको अगुवाई गर्ने, देशको सीमाको रक्षा गर्ने, राष्ट्रियताको रक्षागर्ने जनताको भावना र मर्म बुझेको नेता केपी ओली हुनुहुन्छ । उहाँ यो देशमा राजनीतिक स्थीरता कायम गर्न चाहनुहुन्छ । मुलुकमा हुने खिचातानी, दलदलता मेटाउन समेत चाहनुहुन्छ । एकपटक पुनः सबैले साथ दिउ । यसको लागि मुलधारको नेकपामा आवद्ध हुन तितर बितर भएका सबैमा आग्रह गर्छु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button