स्थापित गायिका बन्नु नै मेरो सपना हो : गायिका पुर्णिमा लामा

रेडियोमा एकपटक सुनेको गीत याद गर्न सक्थे

पोखरा न्यूज । गायिका पु्र्णिमा लामाको जन्म धादिङ जिल्लाको गल्छिगाउपालिका ७ मछेडीगाउँमा भएको हो । अहिले उहाँको स्थायी बसोबास मछेडीखोलामा छ । लामाले हालसम्म तीनसय भन्दा बढी गीतमा आफ्नो आवाज भरिसक्नुभएको छ । उहाँका फूलभनुँ जिन्दगीलाई, तिम्रो एउटा झुटले, मुटु जलि खरानी भो, भाग्यलेनि छल्छ भन्थे, ओईलिएको फूल यो, आज मेरो जिन्दगानी, बन्दुक र गोली बोकेर झोला, एकपल्ट भनन तिमी मेरो बनन लगायतका गीत दर्शक श्रोताले धेरै रुचाए । उहाँ राष्ट्रिय सांगीतिक संघ, प्रस्तोता समाज, रोयल्टी संघ, लोक तथा दोहोरी प्रतिष्ठान लगायत विभिन्न सांगीतिक संघ संस्थामा आवद्ध हुनुहुन्छ । देश तथा विदेशमा आयोजना हुने सांगीतिक कार्यक्रममा पुगेर उहाँले आफ्नो प्रस्तुति राखिसक्नुभएको छ । सांगीतिक यात्राको दौरानमा उहाँले विभिन्न सम्मान तथा अवार्ड समेत हात पारिसक्नुभएको छ । पछिल्ला दिनमा नेपाली सांगीतिक क्षेत्रमा उहाँको चर्चा बढ्दैछ । उनै गायिका लामासँग हामीले सांगीतिक यात्राका बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईंको सांगीतिक यात्रा कसरी शुरु भयो ?

मलाई सानैदेखि गायनमा एकदमै रुची थियो । सोही कारण ९ वर्षको उमेरदेखिनै स्कुलमा आफ्ना साथीभाइमाझ तथा गाउघरमा हुने हरेक गायन प्रतियोगितामा सहभागिता जनाउथे । अर्को कुरा मेरो पारिवारीक माहोलपनि संगीतमय थियो । परिवारमा सबै सदस्यहरुमा संगीतप्रति सकारात्मक सोचाई भएकोले सांगीतिक यात्राको सुरुवात गर्न मलाई सहज भयो । सानै उमेरमा म आफ्नो गायन कलाको कारण गाउँघर छरछिमेक मात्र नभएर स्कुलमा साथीभाई माझ समेत परिचित थिएँ । त्यतिबेला सबैले माया र हौसला दिएर मलाई अझै यही क्षेत्रमा अगाडि बढ्न उत्पेरित गर्नुहुन्थ्यो । यसरी पाएको हौसलाले मलाई योे क्षेत्रमा केही गर्न सक्छु भन्ने आत्मविश्वास बढ्दै गयो । आफ्नो पढाई र गायनलाई एकसाथ अगाडि बढाउदै लगेँ । २०७२ सालमा दश कक्षासम्मको पढाईलाई पूरा गरी सांगीतिक क्षेत्रमा नै सुनौलो भबिष्य खोज्दै काठमान्डौ पुगेँ । यसपछि मैले फेरि आफ्नो पढाइसंगै गायनलाई निरन्तरता दिएँ । । यसरी नै मैले आफ्नो सांगीतिक यात्रालाई सुरु गरेँ । जुन अहिलेसम्म जारी छ ।

कस्ता गीत गाउन मनपर्छ ?

सानैदेखि सुगम संगीतमा एकदमै रुची थियो । मैले हरेक प्रस्तुतिमा यस्तै प्रकारको गीतहरु गाउथेँ । यस्ता गीत गाउँदा मलाई सहज लाग्थ्यो । अहिले मेरो आवाजमा रेकर्ड भएका गीतमा आधुनिक गीतहरु नै बढी छन् ।

बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?

बाल्यकालमा धेरै जसो गीतहरु मैले रेडियोबाट सुनेको याद आउँछ । किनकी त्यतिबेला अहिलेजस्तो टिभी मोबाईल अन्य संचारका माध्यमको सुविधा गाउँघर छरछिमेकमा एकदम कम थियो । घरका अरु सदस्यका अलावा साथीभाइर्, गाउँघरमा आफूभन्दा माथिका दाईदिदिहरुले गाएको गीत सुनेरनै गीत याद गर्थे । गीत संगीत प्रति एकदमै रुची भएर होला रेडियोमा एकपटक सुनेको गीत लगभग सबै याद गर्न सक्थे । त्यतिबेलाका गीतहरु मलाई नआउने र नसुनेको भन्ने कमै हुन्थे । अझैपनि बाल्यकालमा सुनेका गीतहरुको डायरी नै मस्तिष्कमा ताजै छ ।

तपाईंलाई मनपर्ने गायक तथा गायिका ?

बाल्यकालमा धेरैजसो स्वर सम्राट नारायण गोपाल, स्वर सामाग्री अरुणा लामासहित अन्जु पन्त, स्वरुपराज आचार्यको गित धेरै सुन्ने गर्थे । अझै अन्जु दिदीको गीतहरु त लगभग सबैजसो मलाई याद थियो । अहिले पनि छ । त्यो सानो उमेरमा कसैले मनपर्ने गायिका कोहो भन्दा मैले उहाँकै नाम लिने गर्थे । आजपनि उत्तिकै माया सम्मान छ उहाँप्रति ।

सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?

सांगीतिक क्षेत्रमा लागेर जिवन धान्न सकिन्छ सकिन्न भन्ने कुराको उत्तर सबै संगीतकर्मीको एउटै नहुन सक्छ किनकी सबैको फरक विचार हुनसक्छ । जस्तो आर्थिक हिसावले कसैलाई धेरै मजबुत बनाएको हुनसक्छ । कसैलाई जीवन धान्न धेरै गाह्रो पनि छ । त्यसैले जीवन धान्न सकिन्छ या सकिदैन भनेर भन्न सकिदैन ।

तपाईंले देखेको सपना ?

मैले देखेको सपना भनेको सांगीतिक क्षेत्रमा निरन्तर लागेर एउटा स्थापित गायिका बन्नु नै हो ।

नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा ?

नेपाली सांगीतिक क्षेत्रमा अवसर बढ्दैछन् । यदि म संगीत भन्दा बाहिरको जीवन जिएको भए पक्कै केही गुमाएको जस्तो हुन्थ्यो होला तर म सांगीतिक क्षेत्रमा लागेको र यहाँबाट पाएको उपलब्धिबाट सन्तुष्ट छुँ । मेरो लागि सांगीतिक क्षेत्रको सकारात्मक कुरा यही नै हो ।

नेपाली सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?

सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने त धेरै छन् जुन म भित्रपनि हुनसक्छ । हरेक कुरा सिक्दै जाने नै हो । त्यसैले मैले नै टीकाटिप्पणी गर्न त नमिल्ला तर पहिलेको तुलनामा विकृति धेरै नै आएको छ । यो कुरा सबैलाई अवगत भएको नै छ । मेरो व्यतिगत तर्फबाट भन्नुपर्दा सुधार ल्याउनुपर्ने जटिल पक्ष भनेको गीत संगीतमा प्रयोग हुने शब्दहरु नै हुन् जुन सहज तरिकाले सुन्न र गीतमा प्रयोग गर्न सकियोस् । सुधार गर्नुपर्ने यहीनै हो ।

आफूमा निखारता कसरी थप्दै आउनुभएको ?

निरन्तरको सांगीतिक माहोल अनि अग्रजहरुसंग काम गर्दै जाँदा आफुमा दिन प्रतिदिन संगीतको ज्ञान र निखारता थपिदै जादोरैछ । म मा निखारता यसरीनै थपिदै गएको छ ।

संगीत क्षेत्रबाट पाएको कुरा ?

सांगीतिक क्षेत्रमा धेरै पैसा, धेरै धन कमाउनु भन्दापनि नाम र दर्शकको मन कमाउन सकिन्छ । मैले संगीत क्षेत्रबाट पाएको कुरा नाम र दर्शकको मन नै हो ।

संगीत क्षेत्रबाट गुमाएको कुरा ?

यात्रामा उतारचढाबहरु आउँछन् त्यसलाइ कसरी व्यवस्थापन गर्ने भन्ने आफुमा भर पर्छ । केही गुमाएजस्तो महसुस् त मलाई संगीतले हुन दिएन किनकी जे रोजेँ त्यही पाएकी छु ।

अबका योजना के छन् ?

दर्शक श्रोता माझ निरन्तर सांगीतिक कोसेली पस्कदै अगाडि बढ्ने मेरो योजना छ ।

अन्तमा के भन्नुहुन्छ ?

मेरो सांगीतिक क्षेत्रको रुचीलाई स्वीकारेर साथ दिनुहुने मेरो बुवाआमा लगायत सम्पुर्ण परिवारप्रति आभारी छु । यसका अलावा सांगीतिक क्षेत्रको सुरुवातका दिनहरु देखि आजसम्म मलाई र मेरो प्रतिभालाई माया गरेर साथ दिनुहुने प्रिय दर्शक श्रोताप्रती सदैव नमन गर्दछु । यसरी नै सधैँ माया पाउने आशा छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button