पोखरामा प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगिता हुने

पोखरा न्यूज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराको आयोजनामा प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगिता २०७७ आयोजना हुने भएको छ ।

यस अगाडि बृहत लोक सांस्कृतिक महोत्सवको रुपमा हुँदै आएको कार्यक्रमलाई गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको विशेष सहयोगमा प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगीता गर्न लागिएको हो । प्रतिष्ठान गण्डकीको पोखरामा उपलब्ध कार्यसमितिको हालै बसेको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

यसको लागि आगामी फागुन १ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेशका सबै जिल्लामा पुगेर प्रतियोगिता सञ्चालन गरिने भएको छ । यसरी प्रतियोगिता मार्फ हरेक जिल्लाबाट एउटा टिम छनोट गरिनेछ । यसरी छनोट भएको टिमका बीच फागुन २९ गते लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना दिवस ‘लोक दोहोरी दिवस’ अवसर पारेर फाइनल प्रतिष्पर्धा गराई सोही दिन पुरस्कार वितरणसहितको समापन कार्यक्रम गर्ने निर्णय गरेको छ । यो प्रतियोगितालाई व्यवस्थित बनाउन छिट्टै एउटा भेला आयोजना गर्ने गरि निर्णय भएको अध्यक्ष गुरुङले जनाउनुभयो ।

यो प्रतियोगीतामा प्रथम हुने टिमले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । यसैगरी द्धितीय हुने टिमलाई ७७ हजार ७ सय ७७ रुपैयाँ, तृतीय हुने टिमलाई ३३ हजार ३ सय ३३ रुपैयाँ र सान्त्वना हुने टिमलाई ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ । यसका साथै पुरुष तर्फ उत्कृष्ट गायक घोषित हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ र महिला तर्फ उत्कृष्ट घोषित हुने गायिकाले ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार स्वरुप पाउनेछन् ।

यसैबीच प्रतिष्ठान गण्डकी प्रदेशका संस्थापक सदस्य वरिष्ठ कलाकार धन बहादुर गायकको माघ १२ गते भएको दुःखद निधन प्रति प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले दुःख ब्यक्त गरेको छ । स्वर्गीय गायकको सम्झनामा पोखरामा क्रियशील विभिन्न संघ संस्थाहरु मिलेर माघ २१ गते बुधबार दिउँसो २ बजे लेकाली चुलो घर उत्तम चोकमा सामुहिक रुपमा श्रध्दाञ्जली सभाको आयोजना गर्ने निर्णय प्रतिष्ठान गण्डकीले गरेको छ ।

यसका साथै सस्थापक सदस्य गायकको स्मृतिमा बिभिन्न संस्था तथा ब्यक्तिको सहयोगमा स्व धनबहादुर गायक स्मृति श्रस्टा सम्मान कोषको स्थापना गर्ने निर्णयसमेत गरिएको अध्यक्ष सुरेन्द्र गुरुङ जानकारी दिनुभयो । प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखरा लोक संस्कृतिको संरक्षण र कलाकारको हकहितको लागि क्रियाशील बनिरहेको संस्था हो । यसको क्रियाशीलतालाई हेरेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको हालै सम्पन्न २० औँ वार्षिक साधारण सभामा गण्डकी प्रदेश समिति पोखरालाई पुरस्कृत गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button