खाजा खाने पैसा जम्मा गरेर फिल्म हेर्थे : चेतन राई

फिल्म हेर्दा अभिनय गर्ने रहर जाग्थ्यो

पोखरा न्यूज । सल्यान जिल्लामा जन्मनुभएका गायक चेतन राई यतिबेला जापानमा हुनुहुन्छ । जापान रहँदा समेत फुर्सदको समयमा संगीत सिर्जनामानै उहाँ व्यस्त हुनुुहुन्छ । उहाँले पप तथा आधुनिक विधाका गीत गाउनुहुन्छ । अहिले तेस्रो एलबम ‘स्टेप’ को तयारीमा जुटिरहेको उहाँले बताउनुभयो । यसको लागि गीत तयार पार्ने कार्य भइरहेको छ । एलबममा समावेश हुने केही गीत दर्शकश्रोतामाझ पस्किसक्नु भएको छ । केही गीत एलबमसँगै पस्कने तयारीमा उहाँ हुनुहुन्छ ।

उहाँको पहिलो एलबम सन् २०१० मा बजारमा आएको थियो । ‘सेभेन’ नामको यो एलबमले दर्शक श्रोतामाझ उहाँलाई त्यस समयमा परिचित गरायो । त्यसपछि सन् २०१५ मा दोस्रो एलबम ‘साउण्ड’ निकाल्नुभयो । दुवै एलबमबाट पाएको दर्शकको मायाका कारण अहिले तेस्रो एलमको तयारीमा उहाँ जुट्नु भएको हो । केही वर्षदेखि जापानमा बस्दै आउनुभएका गायक चेतन राईसँग नेपाल फर्किएर संगीतको क्षेत्रमा धेरै काम गर्ने हुटहुटीब बाँकी नै रहेको छ । यसपाली हामीले उहाँसँग सांगीतिक क्षेत्र भन्दा भिन्न फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईंले फिल्म कतिको हेर्नुहुन्छ ?

फिल्म धेरै नै हेर्ने बानी हो पहिला त, अब अहिले अलि कम भएको छ । विदेशमा भएर पनि होला । नेपालमा हुँदा धेरै फिल्म हेर्ने मानिस हो म । बच्चाको समयमा त झनै धेरै फिल्म हेरिन्थ्यो । घरबाट स्वीकृत नहुँदा समेत हेर्न मन लाग्थ्यो ।

तपाईंको फिल्म हेर्ने माध्यम के हो ?

प्रायः हलमानै गएर फिल्म हेर्ने बानी थियो । स्क्रिन प्रिन्ट राम्रो भएको सिडी मार्फत घरमा पनि हेरिन्थ्यो । अहिले प्रविधिको प्रयोग गर्दै युट्युब लगायतका माध्यमबाट समेत हेरिन्छ ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

हलमा तथा घरमा फिल्म हेर्दा धेरै अन्तर हुन्छ । हलमा गएर फिल्म हेर्दा नै रमाइलो हुन्छ । प्रविधिको प्रयोग र समयको व्यस्तताले घरमानै बसरे फुर्सदको समयमा फिल्म हेरिन्छ । हलको जस्तो अनुभव घरमा मिल्दैन ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

नेपालगञ्जको लक्ष्मी हलमा अगाडि बसेर फिल्म हेरको याद छ । पछि नेपालगञ्जबाट जन्मथलो सल्यानमा गइयो । त्यो समयमा सल्यानमा फिल्म हल त थिएन । तीनवटा भिडियो हल थिए । हाम्रो लागि फिल्म हलहरु भएको ठूलो बजार दाङ थियो । दाङमा समेत हाम्रो बसाइँ थियो । हामी स्कूलमा पढ्थ्यौ । परीक्षा सकिएका फुर्सदको समयमा दाङमा गइन्थ्यो । आफन्तपनि हुनुहुन्थ्यो र आफ्नो खेतबारी समेत उता भएकोले एकवर्षको लागि पुग्ने दाल चामल लिएर जाने चलन थियोे । त्यो मौकामा दाङ पुग्दा फिल्म हेरिन्थ्यो ।८, ९ कक्षा पढ्न थालेपछि एक्लै दाङ पुग्न थाले । परीक्षा सकिएपछि दाङ जान्छु । दाङ गएर हलमा फिल्म हेर्छु भन्ने मनमा योजना बनाउथे । स्कूल टाइममा घरबाट खाजा खाने भनेर पैसा दिनुुहुन्थ्यो त्यो जम्मा गरेर राख्थँे । हप्तामा एक रुपैयाँ, कहिलेकाही दुई रुपैयाँ त्यस्तो गरेर जम्मा गरेर एक वर्षसम्ममा ५० देखि १ सय रुपैयाँसम्म जम्मा गर्थे । त्यो बेला फिल्म हेरेको बाल्कोनी भन्थ्यो त्यसको ८ रुपैयाँ थियो । स्पेशलको ४ रुपैयाँ थियो । जम्मा गरेको पैसाले टिकट किन्ने ब्रेक टाइममा खाजा खान मनलाग्ने हुन्थ्यो ।

हलमा हेरेको पहिलो फिल्म ?

नेपाली फिल्म ‘जुनी’ हेरेको कताकता मानसपटलमा याद आउँछ । हिन्दी फिल्ममा ‘हिरो’ फिल्मको याद आउँछ । हिरो फिल्मको गीतको बढी याद आउँछ ।

मनपर्ने फिल्मी कलाकार ?

एकदमै मनपर्ने भन्ने त हुनुहुन्न । धिरन शाक्य, अनमोल केसी, दयाहाङ राई, पल शाह, प्रदीप खड्का, दीपकराज गिरी, साहरुख खान, सलमान खानको अभिनय अरुको भन्दा मनपर्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

नेपाली फिल्ममा पहिला भन्दा धेरै सुधार भएको छ । अभिनय देखि प्रविधिसम्ममा सुधार भएको छ । पहिला नयाँ फिल्म हेर्दा पनि रिल झ्यार झ्यार हुने, हेर्दा पुरानो जस्तो लाग्ने हुन्थ्यो अहिले धेरै कुरामा सुधार भएको छ । अहिले नेपाली फिल्मको प्रिन्ट राम्रो छ । फिल्म राम्रो बन्न थालेका छन् । फिल्म हेर्नको लागि सुविधा सम्पन्न हल समेत खुलेका छन् । फिल्म सम्बन्धी पढेका, सिकेका व्यक्तिहरु आउन थाल्नुभएको छ यी नेपाली फिल्मका सकारात्मक पक्ष हुन् ।

सुधार गर्नुपर्ने पक्ष ?

विस्तारै सुधार हुँदै गएका छन् । देश समाजलाई सन्देश दिने खालको फिल्म भयो भने राम्रो हुन्छ । किनकी फिल्मले समाजमा प्रभाव पार्न सक्छ । मौलिक कथामा सन्देश छर्ने खालका फिल्म निर्माण गर्न तर्फ फिल्मकर्मीले ध्यान दिनुपर्छ । यसमा सुधार गर्न सकियो भने नेपाली फिल्मप्रतिको आर्कषण बढ्नेछ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

फिल्म हेर्दा अभिनय गर्ने रहर जाग्थ्यो । म गर्न सक्छु जस्तो मनमा हुन्थ्यो । विस्तारै त्यो रहर हराउदै गयो । अभिनय भन्दापनि गायन तिर यात्रा मोडियो । गायन तर्फनै लागे ।हुनत गोविन्द शाहीको ‘संसार आफ्नै’ भन्ने फिल्ममा एउटा गीत मैल संगीत गरेको थिए । ‘फूलै फूल छ यहाँ बसन्तमा’ बोलको गीतमा कम्पोजमा मलाई सूर्य रुम्बाले साथ दिनुभएको थियो । सनुप पौडेल र सवनम गुरुङले गीत गाउनु भएको थियो । त्यो फिल्मको हिट गीत बनेको थियो । यसरी अभिनय नभएपनि गीत कम्पोज मार्फत फिल्म क्षेत्रमा काम गर्ने अवसर पाए ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु

फिल्म मनोरञ्जनको राम्रो माध्यम हो । फिल्म हेरेपछि मनका तनाव घट्छन् । फिल्मले माइन्ड फ्रेस बनाउँछ । सन्देशमुलक फिल्म भयो भने अझै आनन्द आउँछ । हुनत व्यवसायिक रुपमा हेर्दा सन्देशमुलक फिल्म नचलेको हो की जस्तो लाग्छ । सोही कारण व्यवसायलाई मात्र लक्षित गरेर फिल्म निर्माण गरिरहेको पनि पाइन्छ । अब हामीले सन्देशमुलक फिल्म निर्माण गर्न उत्प्रेरित गर्नुपर्छ । यसरी बनेका फिल्मलाई माया गर्नुपर्छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button