फिल्ममा फाइट भएको देख्दा डरले भाग्थे :अभिनेता पुष्पबहादुर खड्का

अब कन्टेनमा परिवर्तन गर्नुपर्छ,नेपाली फिल्मको मेकिङमा परिवर्तन आएको छ

पोखरा न्यूज । कैलाली जिल्लाको लम्किचुवामा जन्मिनुभएका नेपाली फिल्मका अभिनेता तथा म्युजिक भिडियोका व्यस्त मोडल पुष्पबहादुर खड्काको बाल्यकाल इन्डियामा बितेको थियो । ममी, ड्याडी इन्डियामा बस्नुभएकाले बालयकालका धेरै समय इन्डियामानै बित्यो । ७ कक्षामा पढ्ने बेलामा इन्डियाबाट नेपाल फर्कनुभयो । उहाँलाई बाल्यकालदेखिनै अभिनय र नृत्यमा रुचि थियो ।

पुष्प विज्ञापन तथा म्युजिक भिडियोमा अभिनय गरेपछि मात्र फिल्म क्षेत्रमा आउनुभयो । अझैपनि फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्नुभएका खड्काले दर्पण छायाँ २, मंगलम, दाल भात तरकारी र मारुनी मार्फत आफ्नो अभिनयको क्षमता प्रर्दशन गर्नुभयो ।

यसरी खड्काले अभिनय गरेका पाँच वटा नेपाली फिल्म प्रर्दशन भइसके । खड्काले अभिनय गरेको कृष्ण लीला फिल्म आगामी नयाँ वर्षमा प्रर्दशन गर्ने तयारी गरिएको छ । कृष्णलीला उहाँले अभिनय गर्ने सातौ फिल्म हो । उहाँको अभिनय रहने फिल्म चालबाज निर्माणाध्रीन अवस्थामा छ । दार्जिलिङको प्रोजेक्ट रहेको चालबाजको आधा सुटिङ बाँकी रहेको छ । हालै उहाँले अभिनय गरेको फिल्म तिम्रो मेरो साथको छायाकंन सकिएको छ । यो फिल्मको प्रर्दशन आगामी दिपावलीको अवसरमा गर्ने निर्माणपक्षको तयारी छ ।

खड्का फिल्ममा भन्दा म्युजिक भिडियोमा झनै व्यस्त हुनुहुन्छ । कोरोना महामारीको समयमानै झण्डै २ दर्जन म्युजीक भिडिओमा उहाँले अभिनय गर्न भ्याउनुभयो । हेमन्त शर्माको ‘के माया गर्न हुन्न’ गीतबाट म्युजिक भिडियोमा अभिनय गर्न थाल्नुभएका पुष्पले हालसम्म ७ सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएको छ । यसका अलावा उहाँ विज्ञापनमा गरेको अभिनय मार्फत समेत दर्शकमाझ परिचित हुनुहुन्छ । यसपाली अभिनेता तथा मोडल खड्कासँग फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छाँै ।

तपाईंले फिल्म कतिको हेर्नुहुन्छ ?

फिल्म त मैले सानैदेखि एकदमै धेरै हेर्थे । फिल्मको डान्स, फाइट देख्दा मेरो हात चल्थ्यो ।

तपाईंको फिल्म हेर्ने माध्यम के हो ?

मेरो बाल्यकाल इण्डियामा बित्यो । बाल्यकालका सुरुवाती दिनमा टेलिभिजन मार्फत फिल्म हेरे । हिन्दी फिल्म, हिन्दी गीत धेरै हेरिन्थ्यो । नेपालमा आइसकेपछि बल्ल हलमा गएर फिल्म हेर्न थाले । अहिले त नेपालमा कुनै पनि फिल्म छुटाउँदिन । नेपाली तथा हिन्दी फिल्म सकभर हलमानै गएर हेर्ने मेरो बानी छ ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

हलमा हेर्दा आँखाको लागि ‘भिजुल्ली’ राम्रो हुन्छ । अर्को कुरा हलको माहोल राम्रो हुन्छ । साथीहरुसँग हलमा जाँदा मनोरञ्जन गर्ने तरिका ‘मिक्स’ हुन्छ । कहिलेकाही सिरियस, आर्ट टाइपको फिल्महरु, सन्देशमुलक फिल्म छ भने घरमा बसेर हेर्दा अझै मज्जा आउँछ । किनभने घरमा बस्दा एक्लै भइन्छ । घरमा ठुलो टिभी छ । ठुलो टिभीमा हेर्दा हलमानै हेरे जस्तो हुन्छ । एक्लै हेर्दा ध्यान केन्द्रित गरेर हेर्न पाइन्छ । साथीसँग हेर्दा हल्ला हुनसक्छ तर घरमा एक्लै हेर्दा त्यस्तो हुँदैन । सोही कारण केही फिल्म घरमानै बसेर हेर्न मनलाग्छ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

बच्चामा टिभीमा फिल्म हेर्थे । फिल्ममा फाइट भएको देख्दा डरले भाग्थे, चिच्याउथे, रुन्थे । अझैपनि मलाई याद छ म रोयर भागेको । त्यतिबेला देखिनै मेरो फिल्म प्रति कनेक्सन थियो । सोही कारण अहिले फिल्मसँग जोडिएर आए भन्ने मनमा हुन्छ ।

हलमा हेरेको पहिलो फिल्म ?

हिन्दी फिल्म इन्डियामा हुँदा हेरे टिभीमा । हिन्दी फिल्ममा पहिलो फिल्म कुन हो हेरेको भनेर सम्झन सक्दिन । पछि होम थिएटरमा हेरे । अक्षय कुमार, सुनिल सेट्टीको फिल्म हेरेको सम्झन्छु । नेपाली फिल्ममा ‘साथी’ हो पहिलो मैले हेरेको । यो फिल्म इन्डियाबाट नेपालमा आएपछि कैलीलीको हलमा हेरेको थिए ।

मनपर्ने फिल्मी कलाकार ?

मलाई मनपर्ने फिल्मी कलाकार आर्यन सिग्देल र गौरी मल्ल हुनुहुन्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

अहिले नेपाली फिल्मको मेकिङमा परिवर्तन आएको छ । पुरानो धारमा बनाइएको केही फिल्मलाई दर्शकले साथ दिएका छैनन् । अहिले डिजिटल प्रविधिले गर्दा फिल्मी क्षेत्र ‘मोर्डनाइज्ड’ भएको छ । हाम्रो ‘लोकेसन रिच’ मात्र हलिउड, बलिउडको तुलनामा पुर्याउन सकिएको छैन । उहाँहरुको लगानी र हाम्रो लगानी हेर्दा हाम्रो जुन लगानीमा आउटपुट आइरहेको छ । कुनै फिल्म एउटै लेभलको समेत देखिन्छ । त्यसरी हेर्दा नेपाली फिल्ममा धेरै परिवर्तन भएको छ, विकास भएको छ ।

सुधार गर्नुपर्ने पक्ष ?

अब कन्टेनमा परिवर्तन गर्नुपर्छ । लवस्टोरी भन्नासाथ केटाकेटी मिल्यो छुट्यो टाइपको मात्र हुन भएन । हाम्रो नेपाली ऐतिहासिक परम्परा छ, इतिहास छ । त्यसलाई फिल्ममा ल्याउनुपर्छ । यहाँ थुप्रै प्रसिद्ध व्यक्तिहरु हुनुहुन्छ उहाँहरुको कन्टेन ‘वायोपिक’ फिल्म मार्फत ल्याउनुपर्छ । बलिउड, हलिउडमा यस्तो बढी देखिन्छ । हामीसँग थुप्रै त्यस्ता कन्टेन छन् जुन फिल्मको माध्यमबाट ल्याउन सकिन्छ । यसरी ल्याउनसके दर्शकले समेत नौलौ अनुभूति गर्न पाउँछन् ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

सानोछँदा फिल्म हेर्दा फिल्ममा अभिनय गर्ने रहर हुन्थ्यो । सानैछदाँ कोठाभित्र एक्लै चुकुल लगाएर नाच्ने गर्थे । नृत्य भनेपछि साह्रै हुरुक्क हुन्थे । गीत बज्यो भने मेरो जीउ चलिरहेको हुन्थ्यो । मलाई ठुलो भएपछि हिरो बन्नुपर्छ भन्ने मनमा आउथ्यो । स्क्रिनमा म आउन पर्छ म नाच्छु भन्ने सानैदेखि लाग्थ्यो ।

काम गर्न सजिलो फिल्म की म्युजिक भिडियो ?

काम गर्नको लागि सजिलो म्युजिक भिडियो हो । म्युजिक भिडियो एउटा सानो प्लेटफम हो । फिल्म भनेको ठुलो प्लेटफम हो । मेरो अनुभब र भोगाई अनुसार म्युजिक भिडियो एउटा सानो प्लेटफम हो जसले ठुलो प्लेटफमलाई भेटाउन सक्छ ।

तपाईंले देखेको सपना ?

म भर्सस्टाईल आर्टिस्ट बन्न सकु जसले पछि फर्केर हेर्दा केही न केही पुष्प खड्काको नेपाली फिल्मी क्षेत्रमा केही योगदान छ भन्ने देखियोस् । यो काम गरेको थियो भन्ने छाप छोड्न मन छ ।मैले फिल्म मंगलम मार्फत किर्टिक्स अवार्ड पाए, नेसनल अवार्ड पाए । त्यस्तो लेभलको केही फिल्म दिन सके भने पछि फर्केर हेर्दा मलाई गर्व फिल होस् । केही महत्वपूर्ण अवार्ड पाउँ भन्ने मनमा छ ।

फुर्सदको समयलाई कसरी सदुपयोग गर्नुहुन्छ ?

प्रायःजसो जिम छोड्न मन लाग्दैन । दैनिक रुपमा जिम जान मनपर्छ । फुर्सदको समयमा वर्कआउट गरी राख्ने, आफूलाई फिजिकल्ली मेन्टेन गर्ने, फिल्म हेर्ने, किताब पढ्ने मात्र नभएर घुम्न निस्कने बानी छ । खाने, बस्ने, लगाउने जस्ता कुरामा समेत ध्यान दिन खोज्छु ।

कस्तो क्यारेक्टरमा काम गर्ने इच्छा छ ?

मेरो ईच्छा सबै क्यारेक्टरमा काम गर्ने छ । हुनत कथाले जन्माउने हो क्यारेक्टर । मलाई मंगलम देखिनै क्यारेक्टरको लोभ लाएको हो । अहिले कमेडी जनरा चलिराखेको छ, लभस्टोरी चलिराखेको छ, रियालिष्टिक आर्टिस्टीक मुभी चलिराखेको छ । पछिल्लो क्रममा एक्सन मुभीमा कम भएको फिल भएको छ । सानैदेखि म कराते प्लेयर समेत हो । त्यसैले एक्सन गर्न मन छ । गर्न सक्छु । त्यो प्याटर्न नहराहोस् भन्ने लाग्छ । धेरै च्वाइस हुँदा दर्शकले नि रमाइलो मान्नु हुन्छ ।

अबका योजना के छन् ?

कृष्णलिला फिल्म भर्खरै सकाएको छु । यो नयाँ वर्षमा रिलिज हुन्छ । अब त्यसको प्रमोसनमा व्यस्त हुनेछु । आगामी बैशाखमा नयाँ फिल्ममा साइन गर्नेछु । कृष्णलीला र तिम्रो मेरो साथको कारण केही समय म्युजिक भिडियोमा काम गरिन । अब फेरि म्युजिक भिडियोमा काम गर्छु ।

अन्त्यमा के भन्नुहुन्छ ?

कोरोनाका कारण सबै क्षेत्र प्रभावित बनेको छ । कोरोनाका प्रभाव फिल्म क्षेत्रमा झनै बढी प¥यो । यसरी फिल्म क्षेत्र फ्रिज भएको बेला केही निर्माताले आँट गरेर फिल्मको छायाकंन गर्नुभएको छ । केही निर्माताले प्रर्दशन गर्ने आँट गर्नुभएको छ । यो सबैको लागि प्रेरणा हुनसक्छ । अब सुरक्षित छ भन्ने सन्देश विस्तारै फैलिदैछ । हलमा फिल्म रिलिज गर्दा दर्शकले साथ दिए फिल्मकर्मीमा उत्साह थपिनेछ । म सबै दर्शकलाई हलमा गएर नेपाली फिल्म हेरेर साथ दिन आग्रह गर्छु । मैले अभिनय गरेको फिल्म कृष्णलीला नेपाली नयाँवर्षमा र तिम्रो मेरो साथ दिपावलीको अवसरमा प्रर्दशन हुँदैछ । सबै नेपाली फिल्मलाई माया गर्नुहोला । धन्यवाद ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button