नेपालकै उत्कृष्ट कलाकार बन्ने सपना छ : सजना बाँस्तोला

स्कूल जीवनबाटनै गीत गाउने गर्दथेँ

पोखरा न्यूज । गायिका सजना बाँस्तोलाको जन्म कास्कीको लेखनाथ खुदीमा भएको हो । २०७० सालबाट औपचारिक सांगीतिक यात्रा शुरु गर्नुभएकी बाँस्तोलाले आवाज भरेका गीतको संख्या एक दर्जन नाघिसकेको छ । ‘म त एफएममा बोल्ने मान्छे’ भन्ने गीतमा आवाज भरेर उहाँको सांगीतिक यात्रा प्रारम्भ भएको थियो । उहाँका रोइला गीत, दोहोरी गीत, लोक गीत, आधुनिक गीत हुँदै भजन समेत दर्शक श्रोतामाझ आइसकेका छन् ।

डाडागाउँकी राममाया, नखोजन भाउ, माया गर्दा नि नहुने, तनहुँ दोहोरी, जिन्दगीले धेरै कुदायो, मेरा घरका,ज्यान खायो तिम्रै पीरले, तिम्ले मेरो लागि ,गजल गीत कस्तो ठाउँमा राम राम बोलेको, को भएर के भयो लगायत उहाँको आवाजमा रहेका गीत हुन् । उहाँका केही गीत रेकर्ड मात्र भएका छन् । ती गीतलाई भिडियो निर्माण गरेर दर्शक श्रोतामाझ पस्कने उहाँको तयारी रहेको छ ।
हालै उहाँको आवाजमा रहेको ‘याद’ बोलको गीत सार्वजनिक भएको छ । याद उहाँ आफैले रचना गरेको गीत हो । गीतमा संगीत गायक विनोद बानियाँले भर्नुभएको छ । विनोद रसाइलीको संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियोमा सजना सँगै सुशील नेपालीको रोमान्स हेर्न पाइन्छ । म्युजिक भिडियोको निर्देशन सुशिलले नै गर्नु भएको हो । नयाँ गीत तथा भिडियोप्रति दर्शकको सकारात्मक प्रतिक्रियाले बाँस्तोलामा उर्जा थपिएको छ ।

सारेगमा इन्टरटेन्मेण्ट हाउसको प्रस्तुतिमा सार्वजनिक गरिएको म्युजिक भिडियोलाई महेन्द्र पराजुली र सफल पौडेलले छायांकन तथा सम्पादन गर्नुभएको हो । गीत गायिका बाँस्तोलाकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गायिका बाँस्तोला राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल तनहुँ जिल्ला कार्य समितिको सदस्य हुनुहुन्छ । उहाँले पोखरा टेलिभिजन तथा माछापुच्छ्रे एफएममा कार्यक्रम प्रस्तोताको रुपमा सञ्चारकर्म समेत गर्दै आउनुभएको छ । गायिका सजना बाँस्तोलासँग हामीले यसपाली सांगीतिक यात्राको बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईंको सांगीतिक यात्रा कसरी शुरु भयो ?

मलाई सानैबाट गीत संगीतमा रुचि थियो । सोही कारण स्कुल जीवनबाटनै गीत गाउने गर्दथे । स्कुलमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिदै जाँदा गाउन पे्ररित भए । सकारात्कमक प्रतिक्रिया आउन थाल्यो । त्यसपछि औपचारिक रुपमै सांगीतिक यात्रा शुरु गरे ।

कस्ता गीत गाउन मनपर्छ ?

विशेषतः आधुनिक समय अनुकुलका सबै गीत गाउन मनपर्छ ।

बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?

बाल्यअवस्थामा पढ्दै गृहकार्य गर्दा नजिकै रेडियो हुने गर्दथ्यो । सोही रेडियोमा मार्फत गीत संगीत सुन्ने बानी मेरो थियो । बढी मात्रामा गीत संगीत रेडियोबाटनै सुने ।

 

तपाईंलाई मनपर्ने गायक तथा गायिका ?

मलाई गायक गायिका सबै मनपर्छ । सबैजना आफ्नो ठाउँमा अब्बल हुनुहुन्छ । तर मलाई जुन गायक गायिकाको आवाजमा मिठाससँगै गीतमा भाव हुन्छ त्यस्ता गीत गाउने गायक गायिका विशेष मनपर्छ ।

सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?

सकिन्छ, धैर्यता र कटिबद्ध भएर लाग्यो भने जीवन धान्न अवश्य सकिन्छ ।

तपाईंले देखेको सपना ?

नेपालको उत्कृष्ट कलाकार बन्ने सपना छ । स्थापित कलाकार बनेर श्रोता दर्शकको मन मुटुमा बस्न सकुँ ।

नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा ?

नेपाली सांगीतिक क्षेत्रले नेपाललाई विश्व परिवेशमा चिनाउन सफल भएको छ त्यो नै नेपाली सांगीतिक क्षेत्रको सकारात्मक पक्ष हो भन्ने मलाई लाग्छ ।

नेपाली सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?

नेपाली सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष भनेको गीतमा हुने शब्द चयन र कलाकारको वर्गिकृत हुन जरुरी छ । यस्तो हुन सके नेपाली सांगीतिक क्षेत्रको महत्व झनै बढ्नेछ ।

आफूमा निखारता कसरी थप्दै आउनुभएको ?

हिजो म लोकगीत संगीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिए । आज सुगम गीत संगीतमा छुँ । त्यो नै मेरो लागि निखारता हो । नयाँ कुरा सिक्ने र आवाजमा निखारता ल्याउन निरन्तर साधना गरिरहेकी छुँ ।

अबका योजना के छन् ?

सांगीतिक यात्रालाइ निरन्तरता दिई एउटा सवल कलाकारको रुपमा नेपाली सांगीतिक फाटँमा स्थापित हुने योजना छ ।

अन्तमा के भन्नुहुन्छ ?

सबैले नेपालका कलाकारलाई उचित सम्मान गरौँ । यसको साथै अग्रज कलाकारले अनुज र नयाँ कलाकारहरुलाई माया र सद्भाव दिुनुपर्छ । नवोदित कलाकारलाई उचित अवसर दिनसक्ने हो भने श्रोता दर्शकको मन जित्नेछन् ।
अर्को कुरा मेरो नयाँ गीत याद हालै सार्वजनिक भएको छ । यो गीतको रचना म आफैले गरेकी हुँ । भिडियो समेत उत्कृष्ट बनाउने प्रयास गरेका र्छौँ । भिडियोको छायाकंन कास्की जिल्लाको अस्ताममा रहेको अन्नपुर्ण ईको भिलेज, पञ्चेबाजा म्युजियम, काहुँडाँडा र पामेलगायतका क्षेत्रमा गरिएको छ । गीत सुनेर, भिडियो हेरेर प्रतिक्रिया दिनुहोला । म निरन्तर सांगीतिक क्षेत्रमा लाग्नेछु । आगामी दिनमा समेत सबैले साथ दिनुहोला ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button