केही मुठीभरका मानिसले नेपाली फिल्म उद्योग चलाईरहेका छन् :जीतेश प्रधान

सानोमा भुईमानै बसेर फिल्म हेर्ने गथ्यौँ

पोखरा न्यूज । पोखराका जीतेश प्रधान प्रवेशिका परीक्षा उत्रिर्ण भएपछि अध्ययनको लागि काठमाण्डौँ हानिनुभयो । काठमाण्डौमा उहाँका अंकल अन्टिको अफिस थियो । अफिसमा नेपाली फिल्मको पोष्टर डिजाइनको काम हुन्थ्यो । त्यतिबेलाको समयमा पोष्टर डिजाइन गर्ने एउटा मात्र ठाउँ उहाँका अंकल अन्टीको अफिस थियो । जहाँ नेपाली फिल्म क्षेत्रका मानिसको भीड सधै हुने गथ्र्यो । सोही ठाउँमा रहँदा नेपाली फिल्मी क्षेत्रलाई नजिकबाट चिन्ने, जान्ने मौका प्रधानलाई मिल्यो । विस्तारै नेपाली फिल्मी क्षेत्रप्रति उहाँको आर्कषण बढ्दै गयो ।

कक्षा १२ को अध्ययन पछि उहाँ पोखरा फर्कनुभयो । पोखरा आएपछि अडियो तथा भिडियोको होलसेल पसल सञ्चालन गर्दै उहाँ व्यवसाय क्षेत्रमा लाग्नुभयो । भिडियो सम्पादनको ज्ञान काठमाण्डौँ रहँदा भएकोले उहाँमा भिडियो सम्पादनतर्फ रुचि बढ्यो । त्यतिबेला उहाँलाई एमटिभीको सम्पादन शैलीले आर्कषण गरायो । विस्तारै उहाँले सम्पादन गर्न थाल्नुभयो । सम्पादन गर्न थालेपछि पोखराका फिल्म निर्मातासँग संगत हुन थाल्यो । अनि म्युजिक भिडियो सम्पादनबाट उहाँले औपचारिक यात्रा थाल्नुभयो । उहाँको सम्पादन गर्ने नौलो शैलीका कारण काम बढ्न थाल्यो । उहाँको व्यस्तता बढ्यो ।

उहाँ सम्पादन गरेर स्टुडियोमा मात्र नबसी सुटिङमा समेत जान थाल्नुभयो । विस्तारै क्यामेरा समेत चलाउन कस्सिनुभयो । आफूमा ज्ञान बढाउन अनलाइनमा उपलब्ध किताबहरु अध्ययन गर्न थाल्नुभयो । इन्टरनेट मार्फत उहाँले आफ्नो ज्ञानको दायरा बढाउदै लग्नुभयो ।

काम गर्ने क्रममा निर्देशकको कमी हुन थाल्यो । एउटा प्रोजेक्टमा निर्देशकको अभाव नै खड्कीयो । आठ वर्षको अनुभव हुँदै गर्दा त्यस समयमा उहाँलाई निर्देशनमा समेत हामफाल्नुपर्ने अवस्था आयो । यसरी सम्पादन, छायाकंन हुँदै निर्देशनको यात्रा समेत उहाँको शुरु भयो । त्यसपछि लगातार उहाँ सम्पादन, छायाकंन र निर्देशनमा व्यस्त हुनुहुन्छ । हाल पोखरा फिल्म सोसाइटीको अध्यक्ष समेतको जिम्मेवारीमा प्रधान हुनुहन्छ । यसपाली प्रधानसँग फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईंले फिल्म कतिको हेर्नुहुन्छ ?

मैले लामो र छोटा फिल्म गरे दिनमा कम्तिमा ३, ४ वटा फिल्म हेर्ने गर्छु ।

तपाईंको फिल्म हेर्ने माध्यम के हो ?

मेरो फिल्म हेर्ने पछिल्लो समयको माध्यम इन्टरनेट नै हो । सानो छँदा हलमा गएर फिल्म बढी हेरे ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

मलाई घर तथा हल दुवै ठाउँमा फिल्म हेर्दा रमाइलो लाग्छ । फिल्म हेर्न हलमानै जानुपर्छ भन्ने लाग्दैन । फिल्म राम्रो हुने पर्याे मोबाइलमानै हेर्दा नि फरक पर्दैन ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

बच्चामा पैसा कम हुनाले एउटा टिकटमा दुईजनाले फिल्म हेर्न जाने गथ्र्यौ । त्यतिबेला कल्पना सिनेमा हल थियो । हामी दोस्रो श्रेणीको अगाडि भुईमानै बसेर फिल्म हेर्ने गथ्र्यौ । कहिलेकाही सिटमानै बस्न पाउथ्यौ । पछि पोखरामा हलहरु थपिदै गए । हलसँगै दर्शकको संख्या समेत थपियो । टिकट काट्न ठुलै कष्ट गर्नुपथ्र्यो । टिकट काट्न लाइनमा बस्न नसक्नेले बढी पैसा तिरेर ब्ल्याकमा टिकट किन्थे । हामी साथीहरुको हुल बनाएर टिकट काट्न जान्थ्यौ । नेपाली फिल्म हेर्न ठुलो भीड हुन्थ्यो । टिकट काट्नको लागि पिटापिट नै गर्नुपर्ने अवस्था समेत हुने गथ्र्यो । कहिलेकाही प्रहरी र व्यारेकबाट फिल्म हेर्न निस्केको आर्मी आयो भने मात्र मानिसको लाइन मिल्थ्यो । नत्र सक्नेले लाइनमा बसेर टिकट काट्ने, नसक्नेले ब्ल्याकमा टिकट काट्ने गर्नुपर्ने अवस्था हुन्थ्यो ।अहिले भने अनलाइनबाट टिकट बुक गरेर मज्जाले मल्टिप्लेक्स हलमा फिल्म हेर्ने दिन आयो । तर त्यो बेलाको जस्तो नेपाली फिल्ममा दर्शकको संख्या भने गुमेको छ ।

हलमा हेरेको पहिलो फिल्म ?

मलाई याद आएसम्म ‘जय हनुमान’ भन्ने हिन्दी फिल्म हो । जुन फिल्म मैले कल्पना सिनेमा हलमा हेरेको थिए ।

मनपर्ने फिल्मी कलाकार ?

मलाई मनपर्ने फिल्मी कलाकार यही हो भन्ने छैन । जुन कलाकार फिल्ममा दिइएको भूमिकामा सुहाउँछ सोही कलाकार मलाई मनपर्छ । जस्तैः पशुपतिप्रसादको खगेन्द्र लामिछाने, जात्राको विपिन कार्की ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

पहिलाका फिल्ममा राम्रो भनेको आफ्नो स्थानीय कथा हुने गथ्र्यो । अहिलेका नेपाली फिल्मको राम्रो पक्ष भनेको प्राविधिक पक्ष हो । नेपाली फिल्मको प्राविधिक पक्षमा धेरै सुधार भएको छ ।

सुधार गर्नुपर्ने पक्ष ?

सुधार गर्नुपर्ने कुरा भनेकोनै हामीले कसरी कस्को कथा भन्छौ भन्ने कुरा नै हो । हामीले हाम्रो आफ्नो कथा भन्नुपर्छ । खाली अरुको फमुर्ला स्टोरीलाई मोडेर नेपालको परिवेशमा ढालेर कथा भन्ने शैली परिवर्तन गर्नुपर्छ । हाम्रो वरिपरि यति धेरै कथा छन् । तर एउटा, दुईवटा फिल्म मेकरले बाहेक अरुले यहाँका कथा देखेका छैनन् । जब मानिसले आफ्नो जस्तै कथा पर्दामा देख्छन् तब मात्र मानिस हलसम्म जान्छन् । उदारणको लागि छक्का पञ्जा फिल्मलाई लिन सकिन्छ । मानिसले देखेको भोगेको कथा छ र पो त्यत्रो व्यापार गर्न सफल भयो । नेपाली फिल्ममा कथा भन्ने शैलीलाई फिल्म निर्माताले छिट्टै सुधारगर्नुपर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

खै सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर मनमा कहिल्यै आएन । सायद लज्जालु स्वभावले गर्दा होला । अझैपनि क्यामेरा अगाडि आउन अप्ठ्यारो लाग्छ ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?

हाम्रो फिल्म उद्योग ‘टुल्स’को पछाडि दौडिएको मैले अनुभव गरेको छुँ । कन्टेनमा ध्यान दिएको पाइदैन । खाली कुनक्यामराले खिच्ने, लोकेसन खत्रा ठाउँमा गर्न पाए, विदेशमा छायाकंन गर्ने, हेलिकप्टर राख्ने आदि । तर कथामा नै काम हुँदैन । सोही कारण दर्शकले कथामा आफ्नो अपनत्व पाउँदैन । दर्शकले अपनत्व नपाउने फिल्मले सफलता पाउन गाह्रो हुन्छ । केही मुठीभरका मानिसले नेपाली फिल्म उद्योग चलाईरहेका छन् । जबसम्म सबैको सजिलै पहुँच नेपाली फिल्म उद्योगमा हुँदैन, तबसम्म राम्रा राम्रा फिल्म यो उद्योगले पाउन सक्दैन । सानो बजेटमा बनेका राम्रा राम्रा फिल्म छन् । प्राविधिक रुपमा खत्रा इकुप्मेन्ट नचलाएको होला तर कथाको रुपमा, कन्टेनको रुपमा राम्रो हुनसक्छ । यस्ता फिल्म देखाउने ठाउँ खोई कहाँ छ ? भाषागत फिल्म हरेक प्रदेशमा बन्छ त्यस्ता फिल्मलाई नियमित प्रर्दशन गर्ने ठाउँ छैन । जबसम्म यी कुराको हल हुँदैन फिल्म उद्योग अगाडि बढ्न सक्दैन । प्रगति गदैन । दर्शकको ध्यान तान्दैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button