नेपाली सांगीतिक क्षेत्रमा कला भन्दा चर्तिकलाको ब्यापार बढ्यो : सुमन श्रापीत

कलम चलाएर संसारकै ठूलो नोबेल पुरस्कार प्राप्त गर्ने सपना छ

पोखरा न्यूज । गीतकार सुमन श्रापीतको जन्म भारतको सिलोङमा भएको हो । उहाँ ६ वर्षको उमेरमा पुर्ख्यौली थाकथलो तित्याङ गाविस वडा नं.४ बाग्लुङमा फर्कनुभयो । जुन अहिले बाग्लुङ नगरपालिका वडा नम्बर ९ मा पर्छ । प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन बाग्लुङमा सकेर पढाइ र सांगीतिक तृष्णा बोकेर २० बर्ष अघि उहाँ पोखरा छिर्नुभयो ।

शुरु–शुरुमा गीतसंगीतमा रुचि भएपनि उहाँले पेशा पत्रकारिता बनाउनुभयो । पछि अन्य व्यापार व्यवसायमा समेत उहाँले हात हाल्नुभयो । तर व्यापार ब्यवसाय गर्दा गीत संगीतको पाटो ओझेल पर्न थालेको उहाँलाई महशुस भयो । अनि गीतसंगीतलाई छोड्न नसकेपछि व्यापार व्यवसायलाई ओझेल पार्नुभयो । अहिले पूर्ण रूपले गीतसंगीत सिर्जना र सांगीतिक गतिबिधिमै उहाँ लागिरहनु भएको छ । उहाँले हालसम्म झण्डै १६ सयको हाराहारीमा गीत लेख्नुभयो । उहाँले रचना गरेका गीत मध्ये दुई सयको हाराहारीमा गीत रेकर्ड भएका छन् ।

उहाँका रेकर्डेड गीत मध्ये मिलन अमात्यले गाउनु भएको ‘जसलाई मुटुको अंश’, उदित नारायण झा, दीप नारायण झा, अन्जु पन्त र प्रशान्त तामाङले गाउनु भएको फिल्म परदेशीको ‘सिरिमा सिरी बतासै चल्यो’, त्यसै गरी स्वरूपराज आचार्यले गाउनु भएको ‘मेरो धड्कन तिमी’ फिल्म जीवनलीलाको ‘कहिले ओराली झर्छ जिन्दगी’, फिल्म निशानीको झ्याउरे गीत ‘सोल्टी ज्यू’ र ‘अच्छा लेकिन क्या बात’ डासिन्ङ गीत ‘दीलराजा दीलरानी’, ‘यसपालीको तीज कत्ती रमाइलो’, ‘तारे भीर बुकी फुल्यो’, ‘मायाको फुर्लुङ’, ‘बदनाम गरेर’ आदि चर्चित बने । उहाँ विभिन्न वाङ्मयिक संघ संस्थामा आवद्ध हुनुहुन्छ । यसपाली हामीले गीतकार श्रापीतसँग उहाँकै सांगीतिक यात्रासँग सम्बन्धित रहेर केही प्रश्न सोधेका छौँ ।

तपाईंको गीत लेखन यात्रा कसरी शुरु भयो ?

मेरो बाबा इन्डियन लाहुरे हुनुहुन्थ्यो । हाम्रो ३०, ३२ घर कुरियाको गाउँ, जहाँ पहिलो पटक बाबाले रेडियो ल्याउनु भएको थियो । हाम्रो घरमा गाउँलेहरुको रेडियोमा बज्ने गीत सुन्न निकै लाम लाग्थ्यो । म सानै भए पनि त्यो लामले मलाई गीत सुन्न प्रति मोह बढायो । त्यसपछि मैले रेडियो सुन्न थाले पढ्दा होस या घाँस काट्न जाँदा या हलो जोत्दा होस् । त्यसपछि गीत लेखेर होस् या गाएर रेडियोमा यस्तै नाम गुन्जाउन पाए हुन्थ्यो भन्ने मनमा रहर जाग्यो । गीत सुन्थँे अनि त्यस्तै नक्कल गरेर लेख्थेँ । बि.सं. २०४६ को बहुदलीय व्यवस्था स्थापनाका लागि गाउँ गाउँमा सांस्कृतिक कार्यक्रमहरु हुने गर्थे । त्यस ताका आफै गीत लेख्ने, गाउने गरी सांस्कृतिक कार्यक्रम गर्ने गरिन्थ्यो । यसरी गीत लेखन यात्रा शुरु भयो । बि.सं.२०४५,४६ पूर्व बाल्यकालदेखि गीत लेखे तापनि २०५८ सालमा आएर बल्ल ‘पूर्णिमाको रात’ एल्बम बजारमा ल्याए । जसमा ४ गीतहरु थिए । ती गीत मैलेनै रचना गरेको थिए । यसका अलावा दुई गीतमा संगीत र दुई गीतमा आवाजसमेत भरेको थिए । यसरी मेरो औपचारिक सांगीतिक यात्रा शुरु भयो ।

कस्ता गीत रचना मनपर्छ ?

हुनत मैंले सबै खाले गीत रचना गरेको छु । तर सुगम अर्थात् आधुनिक गीत आधुनिक गीतमा पनि जीवन र दर्शनबादी गीत लेख्न औधी मन पर्छ ।
जस्तै : कहिले ओराली झर्छ जिन्दगी, कहिले उकाली चढ्छ जिन्दगी……कहिले सादा कहिले रङ्गिन जिन्दगीको रङ्ग, यसैगरी बिति जान्छ सुख दुख सङ्ग……, आधा जीवन काटियो आधा बाँकी छ, थाहा छैन अझैं कति बाधा बाँकी छ…..।

बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?

बाह्र तेह्र वर्षको उमेर पूर्व गीत संगीत सुन्ने माध्यम रोधी, झाम्रे, भजन, रतौली, खाल आदि जमघटहरु थिए । त्यसपछि घरमै रेडियो हुनाले रेडियो सुन्न थाले । यी सङ्गसङ्गै सिनेमा र सांस्कृतिक कार्यक्रमहरुद्वारा समेत गीतसंगीत सुन्ने गर्दथे ।

तपाईंलाई मनपर्ने गायक, गायिका, रचनाकार, संगीतकार ?

मेरो लागि यो अलि जटिल प्रश्न हो । मैंले सबै खाले गीत सुन्छु । प्रायः सबैका गीत संगीत राम्रो नै लाग्छ । सबै गायक, गायिका, रचनाकार र संगीतकारप्रति उत्तिकै सद्भाव र सम्मानभाव छ । फेरि यहाँको सवालमा जवाफ दिनै पर्दा गायकहरुमा नारायण गोपाल, गोपाल योञ्जन, उदित नारायण झा, रामकृष्ण ढकाल, नारायण रायमाझी, झलकमान गन्धर्व, आदि । गायिकाहरुमा अरुणा लामा, तारादेवी, अन्जु पन्त, हरिदेवी कोइराला, बीमाकुमारी दुरा आदि । रचनाकारहरुमा कालीप्रसाद रिजाल, कुसुम गजमेर, डा.कृष्णहरि बराल, तुलसी घिमिरे, रत्न शम्शेर थापा आदि । र संगीतकारहरुमा रन्जित गजमेर, शम्भुजित बाँस्कोटा, बिबि अनुरागी, आदि ज्यादा मनपर्छ ।

सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?

सांगीतिक क्षेत्रमा पनि कुन बिधामा लाग्ने भन्ने कुरा छ । सांगीतिक क्षेत्रका बिबिध बिधा छन् । र कस्तो जीवन बाच्ने भन्ने कुरा समेत छ । अधिकांश गीत संगीतमा लागेर औसत जीवन बाँचिरहनु भएकोछ । संगीतको बिशेष प्राबिधिक बिधा लाग्नेहरु मनग्य पैसा कमाएर कति बिलासी जीवन बाच्नु भएको पनि छ । जस्तो ः म्युजिक एरेन्जर, बाधबादक त्यसैगरी स्टुडियो संचालक, दोहोरी साँझ संचालक, डिजिटल लाइभ दोहोरी आदि । म गीतकार भएको हैसियतले गीत लेखेर जीवन धान्न सकिन्छ त भन्न खोज्नु भएको हो भने ? गीत मात्र लेखेर पकेट खर्च चलाउन सकिन्छ तर आफू र परिवारको जीवन धान्न मुश्किल छ ।

तपाईंले देखेको सपना ?

‘उद्देश्य के लिनु ? छुनु चन्द्र एक’ महाकवि लक्ष्मीप्रसाद देवकोटले भने जस्तै गीत लेखनका साथै साहित्यका अन्य बिधामा पनि कलम चलाएर संसारकै ठूलो पुरस्कार नोबेल पुरस्कार प्राप्त गर्ने सपना छ ।

नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा ?

एक त सांगीतिक क्षेत्र एक उद्योग बनेको छ । धेरैको जीवनयापन यहीबाट चलेको छ । लोकगीत र संस्कृतिलाई श्रब्यदृश्यका माध्यमले जगेर्ना गर्ने काम भइरहेको छ । एक जाति, समाज र भूगोलको गीतरसंगीत र संस्कृति अर्कोसम्म एक आपसमा अन्तरघुलन र बिनिमय भइरहेको छ । त्यसैगरी भनेर, बोलेर वा पढाएर भन्दा पनि मानिसहरुलाई अझैं बढी गीत संगीतद्वारा प्रभाव पार्ने काम गर्न सकिएको छ । जस्तो सुकै घटना वा परिघटना होस कलाकारहरुले भलै आफ्नो सम्पत्ति बेचेर किन नहोस तुरुन्तै गीत बनाएर शिक्षा र सन्देश दिइरहेका हुन्छन । यी नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा हुन ।

नेपाली सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?

आजभोलि नेपाली सांंगीतिक क्षेत्रमा कला भन्दा चर्तिकलाको ब्यापार बढेको छ । यो सारै दुःखद कुरा हो । कला हुनेहरु पर्दा पछाडि छन् भने चर्तिकला देखाउनेहरुले बजार पिटिरहेका छन् । भाइरल हुने होडबाजीमा गीत र भिडियो देख्न र सुन्न नसकिने अश्लिलता र समाजिक सद्भाव खल्बलिने खालका आइरहेका छन् । यसलाई बेलैमा सेन्सरसीप गरेर रोक्न आवश्यक छ ।त्यसैगरी रेकर्ड भएका गीत संगीत सर्जक आफैंले सधैं बचाएर राख्न सम्भव छैन तसर्थ हिजो जे जति रेकर्ड भए आज भइरहेका छन् र भोलि हुने छन् ती सबैलाई संरक्षण गरेर राख्नका निम्ति ‘म्यूजिक लाइब्रेरी’ अति आवश्यक छ । अझै आजभोलि आफ्नो च्यानल चलाउनकै निम्ति बालबालिकाहरुलाई भाइरल बनाउने प्रतिस्पर्धा चलिरहेको छ । पढ्ने लेख्ने सकारात्मक कुरा सिक्ने त्यो बाल सुलभ त्यो मन र उमेरमा मायाप्रेम र बिहेका कुरामा दोहोरी घम्साघम्सी गराइन्छ । राता रात भाइरल अनि केही दिनमा फाल्तु जोक्कर बनाइन्छ । यो गम्भीर बिषय हो । यसलाई पनि बेलैमा सुधार्नु पर्छ ।

आफूमा निखारता कसरी थप्दै आउनुभएको छ ?

मेरो प्रतिस्पर्धी म आफै हो । म अरु र अरुको गीत संगीतसङ्ग प्रतिस्पर्धा गर्दिन । श्रोताहरुले मलाई नचिने पनि मेरा केही गीतहरु मन पराइ दिनु भयो । केही गीत केही मात्रामा चलेपछि अब यो भन्दा फरक विषयवस्तुमा अझै चल्ने गरी गीत बनाउनु पर्छ भन्ने हुदो रैछ । यसरी आफसेआफ निखारता आउँदो रहेछ ।

संगीत क्षेत्रबाट पाएको कुरा ?

सबै भन्दा ठूलो कुरा सुमन श्रापित भन्ने परिचय प्राप्त गरेको छु । नाम सङ्गै जोडिएर आउने गीतकार उपाधि पाएको छु । देश बिदेशबाट माया गर्ने थुप्रै शुभचिन्तकहरु पाएको छु । मान, सम्मान र पुरस्कारहरु पाएको छु । धेरैको साथ पाएको छु । अफ्ठ्यारोमा सघाउने हात पाएको छु । यी सब मैंले संगीत क्षेत्रबाट नै पाएको हुँ ।

संगीत क्षेत्रबाट गुमाएको कुरा ?

मैंले संगीत क्षेत्रमा लागेर त्यस्तो केही गुमाएको छैन । गुमाए छु त दुई दशक भन्दा लामो उमेर मात्रै ।

अबका योजना के छन् ?

गायक, गायिका र संगीतकारहरुले म बाट गीत लिएर गीत रेकर्डिङ गर्ने क्रम त चलिरहेकै छ । गीत सङ्ग्रह प्रकाशनको तयारीमा छु । प्रकाशनको लागि प्रकाशक पाएको छु । यसका साथै धर्म, जीवन र दर्शन सम्बन्धी पुस्तक र कविता कृतिको तयारी गरिरहेको छु । म अलि बढी गीतमा केन्द्रित भएको हुनाले अलि फरक ढङ्गले गीतीकर्म र गतिबिधि गरेर गीतलाई यो ढङ्गले पनि प्रस्तुत गर्न सकिन्छ भन्ने गरी केही कार्यक्रम गर्ने तयारीमा पनि छु । कार्यक्रम के र कस्तो भन्ने कुरा यहाँहरुले पछि अवश्य थाहा पाउनु हुनेछ ।

अन्य कुन कुन क्षेत्रमा रुचि छ ?

गीत, संगीत र साहित्य सृजना र बिबिध गतिबिधि बाहेक अन्त त्यति सोच्ने र भुल्ने समय नै हुँदैन । सायद अन्यत्र त्यति धेरै रुचि नभएर होला । बरु पछिल्लो समय आध्यात्मिकता तिर अलि रुची बढिरहेको छ ।

आफ्नो रुचिलाई कसरी पूरा गर्नुभएको छ?

‘जहाँ इच्छा त्यहाँ उपाय भन्छन् ।’ जे चिजमा रुचि छ त्यो पूरा गर्न समय मिलाइन्छ । मिल्छ र रुचि पूरा पनि हुन्छ । रुचि र रहर फरक कुरा हुन । रहरहरु भने ब्यग्रलती थाँती छन् ।

अन्त्यमा के भन्नुहुन्छ ?

यो वार्ताका लागि राजाराम सर हजुरलाई पोखरा न्युजलाई धेरै धेरै धन्यवाद । फरक फरक कोणबाट म र मेरो कर्मको बारेमा बर्षौदेखि यसैगरी अभिब्यक्ति ब्यक्त गर्ने सुअवसर दिइरहनु भएको छ । त्यसैगरी मेरा गीत संगीतहरुलाई रुचाएर मलाई यो गीतकारिताको छबि र उचाई दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शकहरुमा हार्दिक नम्र नमन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button