जिफानको सकारात्मक पहलले गुरुङ फिल्ममा केही सुधार भएको छ : जसु गुरुङ

अस्वस्थ प्रतिस्पर्धा हुँदा गुरुङ फिल्मको दायरा साँघुरो बन्यो

पोखरा न्यूज । स्याङजा जिल्लाको अर्जुनचौपारी लामडाँडामा जन्मिनुभएकी जसमाया गुरुङ जसुको साहित्यिक क्षेत्रप्रति बाल्यकालदेखिनै झुकाव थियो । सानैदेखि होस्टेलमा बसेर अध्ययन गर्नुभएकी उहाँको प्रतिभा लामो समयमा स्कूलमा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रममा मात्र सीमित बन्यो ।

प्रवेशिका परीक्षा पास गरेर २०६१ सालमा उहाँ पोखरा आउनुभयो । जनप्रिय बहुमुखी क्याम्पसमा अध्ययन गर्दै गर्दा डाँफे बाजे भनेर पोखरामा परिचित डाँफेकला मन्दिरका सञ्चालक स्व.क्या. मीनबहादुर गुरुङसँग भेट भयो । त्यतिबेला जसुमा कविता प्रति मोह थियो । कविता भन्ने सिलसिलामा नै उहाँको डाँफे बाजेसँग भेट भएको हो । अनि डाँफै बाजेको सर्पोटले जसुको यात्राले फर्कने अनि फुल्ने मौका पायो । फलस्वरुप डाँफे कला मन्दिरमा नृत्य सिक्दै आफूमा निखारता प्रदान गर्ने अवसर उहाँलाई मिल्यो ।

विस्तारै उहाँले डकुमेन्ट्रीको स्क्रिफ्ट लेख्न तथा विभिन्न ठाउँमा नृत्य सिकाउन थाल्नुभयो । २०६३ सालमा ‘पात भन्दा फूल राम्रो’ गीतमा नृत्य गर्दै उहाँले मोडलिङ क्षेत्रको यात्रा आरम्भ भयो । ‘घान्दुककी ठिटी म त गाउँकै गीत गाउछुँ’ बोलको गीतले उहाँलाई धेरै माझ चिनाउन सघायो ।

गुरुङ फिल्म र विभिन्न म्युजिक भिडियो मार्फत आफ्नो परिचय फराकिलो बनाउदै जानुभयो । उहाँले कोरियोग्राफीको जिम्मा पाएका धेरै गीत चर्चामा रहे । विस्तारै उहाँको यात्रा गुरुङ फिल्ममा समेत जम्न थाल्यो । उहाँले गुरुङ फिल्म नास मु ह्रैगो, जुनीजुनी, च्हचमी, सुराग, गेटपास, जुनीजुनी मा सह–निर्देशनको जिम्मेवारी कुशलतापूर्वक निभाउनुभयो । त्यसपछि गुरुङ फिल्म कर्म क्याँ (कर्मको बाटो) बाट फिल्म निर्देशनमा हात हाल्नुभयो । यो फिल्मले उहाँलाई निर्देशकको रुपमा स्थापित गर्न सघायो । त्यसपछि गुरुङ फिल्म म्ले क्यू उहाँले निर्देशन गर्नुभयो ।

निर्देशन मात्र नभएर उहाँले गुरुङ फिल्ममा अभिनय समेत गर्नुभएको छ । २०६३ सालमा करण गुरुङ गोराको निर्देशनमा बनेको गुरुङ फिल्म ‘टोरा’ मा नायिकाको भूमिका उहाँले निभाउनुभयो । नेपाली कथानक फिल्म संकल्प, माओत्से गुरुङको निर्देशनमा निर्माण गरिएको गुरुङ फिल्म नकै फुँ, राजु गुरुङको निर्देशनमा बनेको गुरुङ फिल्म मिग्ली र नौजंग गुरुङको निर्देशनमा निर्माण भएको गुरुङ फिल्म चोखो माया आदि फिल्ममा उहाँको अभिनय हेर्न पाइन्छ ।

हालसम्म ६० भन्दा बढी गीतको भिडियो निर्देशन उहाँले गर्नुभयो । यी मध्य ३० जति त गाउँ सम्बन्धी गीत छन् । गुरुङ फिल्म एशोशिएसन नेपाल जिफानका विभिन्न समितिमा आवद्ध भएर आफ्नो प्रतिभा देखाइसक्नुभएकी उहाँले पोखराको न्यूरोडमा स्टार स्टुडियो सञ्चालन गरी व्यवसायमा समेत हात हाल्नु भएको छ । व्यवसायसँगै फिल्मी यात्रालाई एकसाथ अगाडि बढाइरहनुभएकी उहाँसँग यसपाली फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईंले फिल्म कतिको हेर्नुहुन्छ ?

हेर्छु, फुर्सदको बेलामा ।

तपाईंको फिल्म हेर्ने माध्यम के हो ?

पहिला त फिल्म हेर्न फिल्महलमानै जानुपथ्र्यो, आजकाल युट्युब मार्फत घरमा समेत हेर्न पाइन्छ । त्यसैले म हलमा प्रत्यक्ष उपस्थित भएर र घरमा प्रविधिको प्रयोग गरेर फिल्म हेर्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

फिल्म हेर्न रमाइलो अनुभूति हलमा हेर्दा हुन्छ । हलमा फिल्म हेर्दा त्यहाँको साउन्ड क्वालिटी, इफेक्टले बेग्लै रौनक ल्याउँछ । अर्को कुरा हलमा फिल्म हेर्दा छुट्टै रमाइलो माहोल हुन्छ, वातावरण बेग्लै हुन्छ फिल्मको भरपुर मज्जा हलमा लिन पाइन्छ । घरमा हेर्दा मुख्यकुरा हलको जस्तो वातावरण हुँदैन । एकचित्त भएर हेर्न गाह्रो पर्छ । फिल्म हेर्दाहेर्दै अर्को काममा लागिहाल्नु पर्ने हुन्छ । फिल्ममा प्रयोग भएको साउन्ड क्वालिटी, इफेक्टलाई घरमा बसेर हेर्दा पूर्ण रुपमा महशुस गर्न पाइदैन ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

बाल्यकालमा फिल्म हेर्दा मनमा धेरै जिज्ञासा हुन्थे । अहिले सम्झदा त्यतिबेला बाल मनोबैज्ञानिक कुराले छोएको थियो जस्तो लाग्छ । आजकल सम्झदा रमाइलो पनि लाग्छ । फिल्म कसरी बन्छ होला, सबै वास्तविक होला है, कसरी मान्छेहरु त्यो पर्दामा बस्छन होला जस्ता कुराहरु मनमा आउथ्यो ।

हलमा हेरेको पहिलो फिल्म ?

फिल्मको नाम त भुले । विन्ध्यवासिनी हलमा हेरेको थिए भन्ने मात्र सम्झना छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

नेपाली फिल्मको सकारात्मक पक्ष भनेको नेपाली परिवेशका कुराहरु, भाषाको विकास, ठाउँको प्रर्वद्धन, युवावर्गलाई रोजगारी, कलासंगीतको विकास र संरक्षण, पहिलेका कुराहरु नयाँ पुस्तामा हस्तान्तरण आदि हो । फिल्मले मनोरञ्जन सँगै सन्देश प्रवाहसगै आफ्नो मौलिकतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सघाउँछ ।

सुधार गर्नुपर्ने पक्ष ?

नेपाली फिल्ममा सुधार गर्नुपर्ने पक्ष केही छन् । मुख्य कुरा भनेको नेपाली फिल्मले आफ्नो मौलिकतामा जोड दिनुपर्छ । हलिउड, बलिउडको नक्कल नगरी नेपाली मौलिकतामा जोड दिन सके नेपाली फिल्म प्रतिको आर्कषण बढ्नेछ । नेपालीपनमा जोड दिई तयार पारिएका स्क्रिप्टमा फिल्म बनाउनुपर्छ । कलाकारले समेत अभिनयमा निखारता थप्दै दर्शकको ध्यान खिच्न अझै मेहनत गर्नुपर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

सानोमा फिल्म हेदा अभिनय गरौला, फिल्म क्षेत्रमा लागौला भन्ने कल्पना पनि भएन ।

गुरुङ फिल्मको अवस्था कस्तो छ ?

२०५२ सालबाट गुरुङ फिल्मको इतिहास शुरु हुन्छ । गुरुङ फिल्मको अवस्था शुरुवाती समयमा धेरै राम्रो थियो । नयाँनौलो भएकोले समेत गुरुङ फिल्म प्रति आर्कषण केही हदसम्म थियो । बीचमा सकारात्मक प्रतिष्पर्धाको अभाव भयो । सोही कारण अपेक्षाकृत सफलता गुरुङ फिल्मले पाउन सकेन । गुरुङ फिल्मप्रतिको आर्कषण बढाउन तथा अस्वस्थ प्रतिष्पर्धालाई अन्त्य गरेर सकारात्मक उर्जा सञ्चार गर्न २०६५ सालमा गुरुङ फिल्म एशोशिएसन नेपाल जिफानको स्थापना भयो । त्यसपछि हालसम्म जिफानका गतिविधि, सकारात्मक पहलले गुरुङ फिल्ममा केही सुधार भएको छ । तर पूरैै सन्तुष्ट हुन सक्ने अवस्था छैन । अब सबै गुरुङ फिल्मकर्मीले गुरुङ फिल्मको आगामी भविष्य राम्रो बनाउन मेहनत गर्नुपर्छ ।

गुरुङ फिल्म क्षेत्रले आशातित सफलता पाउन नसक्नुको कारण ?

सफलता नपाउनुको मुख्य कारण बजार ब्यबस्थापना हुन नसक्नु हो । आफै–आफैमा अस्वस्थ प्रतिस्पर्धा हुँदा गुरुङ फिल्मको दायरा साँघुरो बन्दै गयो । अर्को कुरा गुरुङ फिल्मको महत्व सबैलाई बुझाउन नसक्नु आशातित सफलता नहुनुको कारण हो । गुरुङ फिल्मका धेरै सकारात्मक पक्ष छन् तर ती पक्षलाई सबैमाझ पुर्याउन नसक्दा गुरुङ फिल्म प्रति दर्शकको चासो बढाउन सकिएन । यि सबै कुरा बुझेर गुरुङ फिल्मकर्मी तथा गुरुङ फिल्म एशोशिएसन नेपाल अहिले अगाडि बढ्न खोजिरहेका छन् । आशा गरौं अब विस्तारै गुरुङ फिल्मले आशातित सफलता पाउनेछ । यसको पहिलो सुरुवात फिल्म हलमा नै गुरुङ फिल्मको प्रर्दशन गर्ने कार्य गरेर शुरु गरिएको छ । २५ वर्षको गुरुङ फिल्मको इतिहासलाई मसिनो गरेर केलाएर अगाडि बढ्न खोजेका छौँ । आशा गरौ केही वर्षमा नेपाली फिल्मको जतिकै दर्शकको माया गुरुङ फिल्मले पाउनेछ ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?

फिल्म भनेको समाजको ऐना हो । आमदर्शकले फिल्म मार्फत मनोरञ्जनका अलावा केही नयाँ कुरा सिक्न पाउन् । त्यसको लागि फिल्म निर्माताले गुणस्तरीय फिल्म दिन सक्नुपर्छ । बजारको अवस्था तथा दर्शकको मागलाई बुझेर फिल्मकर्मीले फिल्म बनाउन अनुरोध गर्दछु । साथै दर्शकलाई नेपाली फिल्म तथा नेपालमा बनेका विभिन्न भाषाभाषीका फिल्मलाई माया गरिदिनु हुन आग्रह गर्दछु । विभिन्न भाषाभाषीका फिल्मले भाषा, रितिरिवाज, संस्कृति तथा मौलिक कथालाई उठान गरिरहेका हुन्छन् । यस्ता फिल्मलाई दर्शकको सर्पोटको धेरै आवश्यकता छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button