बागलुङको बिकट गाउँमा विद्युत पुग्यो, स्थानीय खुसी

पोखरा न्यूज । बागलुङको विकट गाउँ सल्यानमा केन्द्रीय विद्युत पुगेपछि स्थानीय हर्षित भएका छन ।

बरेङ गाउँपालिका वडा नं ४ सल्यानमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा विस्तार गरी सञ्चालनमा ल्याएपछि स्थानियबासीमा खुसीयाली छाएको छ । केन्द्रीय विद्युत प्रसारणको उदघाटन कार्यक्रममा वडा भित्रका ११ घरधुरी विपन्न परिवारलाई निशुल्क विद्युत मिटर वितरण गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो ।

विपन्न घरधुरीलाई केन्द्रीय विद्युत सेवाबाट बञ्चित हुन नदिन प्राधिकरणको अभियान अन्तर्गत उक्त कार्य गरिएको केन्द्र प्रमुख गोशलीले बताउनुभयो । सल्यानमा केन्द्रीय विद्युतीकरण गर्न प्राधिकरणले ४५ लाख रुपैयाँ खर्च गरेको उहाँले उल्लेख गर्नुभयो । केन्द्रीय विद्युत सेवा सञ्चालनमा आएपछि लामो समयदेखि स्थानीय लघु जलविद्युतको भरमा रहेका सल्यानबासी जनताहरू केन्द्रीय विद्युतको पहुँचमा जोडिएका छन ।

केन्द्रीय विद्युतीकरणको विस्तार र सञ्चालनसँगै वडा भित्रका १ सय २५ घरधुरी प्रतक्ष्य लाभान्वित भएका छन । सल्यानको राँजरुख टोल र कालेशोरा टोलका ६९ घरधुरीले ३ वर्ष पहिले देखि नै बरेङ गाउँपालिका वडा नं ५ सुखौरमा रहेको ट्रान्सफर्मर मार्फत केन्द्रीय विद्युत उपभोग गर्दै आइरहेका छन । योसँगै सल्यानमा पूर्ण रूपमा केन्द्रीय विद्युतीकरण भएको वडा सदस्य जनबहादुर खत्रीले जानकारी दिनुभयो ।

विपन्न परिवारले निशुल्क मीटर बक्स प्राप्त गरेपछि खुसी भएका छन । आर्थिक अभावका कारण आफूहरु विद्युत सेवाबाट बञ्चित हुनु परेको र अब भने जीवनमा विद्युतले उज्यालो प्रदान गर्ने विश्वास व्यक्त गरेका छन । घरमा केन्द्रीय प्रशारणको विद्युत बलेपछि उज्यालो हुनुका साथै मोवाइल चार्ज, रेडियो सुन्न, विद्यार्थीलाई पढन लेख्न सहज हुने स्थानीय सञ्जु विश्वकर्माले बताउनुभयो ।

सल्यानमा केन्द्रीय विद्युत नहुँदा साना उद्योग, व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको र केन्द्रीय विद्युतको सेवा सञ्चालनमा आएसँगै जनताको दैनिकीमा सहजता हुने बरेङ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष लीलबहादुर खत्रीले बताउनुभयो । लामो समयदेखि केन्द्रीय विद्युत बाल्न आफूहरु प्रयासरत रहेकोमा र विद्युत बाल्न सफल भएको उहाँले उल्लेख गर्नुभयो ।

लघु जलविद्युत सञ्चालन गर्दा थुप्रै चुनौतीको सामना गर्नु परेको र अब उक्त समस्या टरेको वडा अध्यक्ष खत्रीको भनाई छ । सो अवसरमा वडा अध्यक्ष खत्रीले नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रलाई आवश्यकता अनुरूप वडामा थ्री फेज लाइन विस्तार तथा व्यवस्थापन सम्बन्धी माग पत्र प्रदान गर्नुभएको छ ।

त्यस्तै विद्युत प्राधिकरणले बरेङ गाउँपालिका वडा नं ५ सुखौराका ५ विपन्न घर परिवारलाई पनि निशुल्क विद्युत मीटर वितरण गरेको वडा अध्यक्ष अमरबहादुर शेरपुजाले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button