राजेश हमालले ल्याप्चे लगाएर गरेको एग्रिमेन्ट अझै मसँग छ : निर्माता पोखरेल

पोखरा न्यूज । फिल्म निर्माता किसान पोखरेलको जन्म कास्कीको अर्घौ अर्चलेमा भएको हो । सामान्य परिवारमा हुर्किनुभएका उहाँलाई बाल्यकालदेखिनै फिल्मी क्षेत्रप्रति आर्कषण थियो । कहिले घरमा ढाँटेर, कहिले स्कूलबाट भागेर उहाँ फिल्म हेर्न हलमा पुग्नुहुन्थ्यो । बाल्यकालदेखिको फिल्म प्रतिको मोहकै कारण उहाँ फिल्मी क्षेत्रमा अगाडि बढ्न हौसिनुभयो ।

नेपाली फिल्म ‘कान्छा’बाट उहाँको फिल्म निर्माण क्षेत्रको औपचारिक यात्रा शुरु भएको थियो । उहाँलाई आगो, आगो–२, कालापानी, लालसलाम फिल्मले दर्शकमाझ निर्माताको रुपमा स्थापित गर्न सघाए । उहाँले निर्माण गरेको पछिल्लो फिल्म ‘यो माया कस्तो माया’ हो । एसकेएन ब्यानरमा बनेको यस फिल्ममा निर्देशनसमेत उहाँले गर्नुभयो । पहिले जिम्मा लिनु भएका निर्देशक भुषण आनन्द ठकुरीले बीचमा छोडेपछि बाँकी निर्देशनको काम उहाँले पूरा गर्नुभएको हो । पोखरेल चलचित्र निर्माता संघ कार्यसमितिको सदस्य, चलचित्र कलाकर्मी संघ गण्डकी संयोजक तथा केन्द्रीय सचिवालय सदस्यसमेत हुनुहुन्छ । यसपाली फिल्मकर्मी पोखरेलसँग फिल्मी यात्रासँग सम्बन्धित रहेर केही प्रश्न गरेका छौँ ।

तपाईले फिल्म कतिको हेर्नुहुन्छ ?

बाल्यकालमा असाध्यै फिल्म हेरिन्थ्यो । त्यतिबेला पोखरामा पूर्णिमा हल र कल्पना हल थिए । यताउती पैसा जोरजाम गरेर फिल्म हेरिन्थ्यो । फिल्म अहिले पनि उतिकै हेर्छु ।

तपाईंको फिल्म हेर्ने माध्यम के हो ?

बाल्यकालमा त हल नै थियो । म सानो छदाँ घरमा मात्रै नभएर गाउँमै टिभी थिएन । केहीको घरमा रेडियोसम्म थियो । सोही कारण २ रुपैयाँ, ३ रुपैयाँको टिकट काटेर सबैभन्दा अगाडि बसेर हलमानै फिल्म हेरियो । पछि टिभीमा हेरे । अहिले प्रिमियर सो, च्यारिटी सो र चलेको हिट फिल्म रहेछ भने हलमा गएर हेर्छु । धेरै फिल्म घरमानै युट्युब मार्फत हेरिन्छ । युट्युब उपलब्ध लगभग सबै नेपाली फिल्म हेरेको छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

हलमा र घरमा हेर्दा फरक अनुभूति हुन्छ । हलमा हेर्दा प्रविधिको भरपुर मज्जा लिन पाइन्छ । फिल्म क्षेत्रमा प्रविधिले धेरै फड्को मारेको छ । त्यो अनुभव हलमा जाँदा मिल्छ, घरमा हेर्दा फिल्ममा प्रयोग भएको सबै प्रविधिको महशुस गर्न पाइदैन ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

सानोमा फिल्म हेर्न जाँदा टिकट काट्न असाध्यै गाह्रो थियो । पूर्णिमा हलमा धेरै पटक ब्ल्याकमा टिकट किनेर हेरियो । कल्पनामा हलमा फिल्म हेर्दा ५ रुपैयाँको टिकटलाई १० रुपैयाँ तिरेर हेरे । पछि विन्ध्यवासिनी हल खुल्यो, श्रीकृष्ण हल खुल्यो अनि सहज भयो । तरपनि फिल्म हेर्न टिकट काट्न गाह्रो नै हुन्थ्यो । धेरै पटक व्ल्याकमा टिकट काटेरनै फिल्म हेरियो । राम्रो ठाउँको टिकट महंगो हुने भएकोले हामी सबैभन्दा अगाडि बसेर फिल्म हेर्ने गथ्र्यौ । खाजा खाने भनेको पैसा संकलन गरेर फिल्म हेरिन्थ्यो । एकजना साथी हुनुहुन्थ्यो हरि लामिछाने प्रायः उहाँ र म जान्थ्यौ ।

फिल्म हेर्न आउँदा खानेकुरा खान मन लाग्थेन ?

त्यतिबेला १० पैसामा सेतो दुध बरफ पाइन्थ्यो । कतिबेला हाफटाइम हुन्छ र दूध बरफ खाइन्छ भन्ने मनमा हुन्थ्यो । हाफटाइम हुने वित्तिकै दौडिएर गएर दूध बरफ खान्थ्यौ । ती दिन सम्झदा रमाइलो लाग्छ, खुसी लाग्छ ।
पैसा भयो भने एक सुकामा चिया खान पाइन्थ्यो । २ रुपैयाँमा सिंगो फेवा पाउरोटी आउथ्यो । चार,पाँचजनाले बाँडेर चियामा डोबेर पाउरोटी खाइन्थ्यो ।

घरबाट फिल्म हलमा जान अनुमति थियो र ?

कहाँ हुने, घरमा आमालाई थाहा दिने कुरै भएन । थाहा दिए त गाली गर्नुहुन्थ्यो । कहिले स्कूल जानी भनेर झुक्याएर गइन्थ्यो । कहिले स्कूलबाट भागी–भागी घरमा थाहा नै नदिइ फिल्म हेरिन्थ्यो ।

लेखनाथबाट पोखरा हिडेरै जानुहुन्थ्यो की गाडी चढेर ?

बस तथा ट्रकको छतमा चढ्दा पैसा लिदैनथ्यो । डाँडाकोनाक पुलिस चौकीमा गयो । दुबै हातमा चप्पल छिराएर भर्याङ चढेर गएर बसको छतमा सुतिहाल्यो । झोला बोकिएकै हुन्थ्यो । झोलामा एउटा किताब एउटा कापी भने हुन्थ्यो । धेरैजसो त्यसै गरियो । अर्कोकुरा त्यतिबेला वेगनासताल पोखरा पुराना बस चल्थे । पैसा त खासै हुदैनथ्यो । विद्यार्थीलाई एक सुकामा चढ्न पाइन्थ्यो । जाँदा बसमा गएर फर्किदा हलबाट घरसम्म हिड्थ्यौँ ।

स्कूलबाट फिल्म हेर्न जाँदा शिक्षकले गाली गर्नुहुन्थेन ?

थाहा दिदैनथ्यौँ । फिल्म हेर्नस्कूलको क्लास हापेर नै जाने हो । एकजना शिक्षक राजेन्द्र भट्टराई अलि कडा हुनुहुन्थ्यो । उहाँको कक्षा छोड्ने थियनौ । उहाँको पढेपछि हाप्न पाइहाल्थ्यौ । खोजी हुदैनथ्यो । त्यसरी नै फिल्म हेरिन्थ्यो ।

हलमा हेरेको पहिलो फिल्म ?

मैले हलमा हेरको पहिलो नेपाली फिल्म ‘जीवनरेखा’ हो । यो फिल्म मैले कल्पना हलमा हेरेको थिए । त्यसपछि कुसुमे रुमाल, के घर के डेरा, सन्तान लगायतका फिल्म हेरे । हिन्दी फिल्ममा हलमा पहिलोपटक हेरको ‘सरादी’ फिल्म हेरे । यो फिल्म मैले पूर्णिमा हलमा हेरेको थिए ।

मनपर्ने फिल्मी कलाकार ?

मलाई मनपर्ने फिल्मी कलाकार धेरै हुनुहुन्छ । नायकमा राजेश हमाल, नायिकामा करिष्मा मानन्धर, निर्देशकमा नारायण पुरी, संगीतकारमा अर्जुन पोखरेल, शम्भुजित बाँस्कोटा र सचिन सिंह, गायिकामा अञ्जु पन्त, खलनायकमा सुनिल थापा मलाई खास लाग्छ ।

नेपाली फिल्मको सुधार गर्नुपर्ने पक्ष ?

विगतमा हामीले विषयवस्तुमा केन्द्रित भएर फिल्म बनायौ । त्यस्ता फिल्ममा पात्र बोल्दैन, विषयवस्तु बोल्छ । तर अहिले विषयवस्तुभन्दा पात्र प्रधान हुन्छ । डिजिटल प्रविधि आयो । हलिउड, बलिउडका फिल्म यहाँ बसेर हेर्न पाइन्छ । यहाँका फिल्म पनि संसारभरि हेर्न पाउने अवस्था भएको छ । यसरी फिल्म हेर्ने अवस्था हुँदा नेपाली फिल्मले बलिउड, हलिउड फिल्मसँग प्रतिस्पर्धा गर्न सकेको छैन । अब हामीले मौलिक फिल्म बनाउन पर्छ, आफ्नो संस्कृति झल्काउने फिल्म बनाउनुपर्छ जसले नेपाली फिल्म प्रतिको आर्कषण बढाउन सघाउँनेछ । अको कुरा हाम्रो देशमा नीति नभएकै कारण हामी पछि परेका छौँ । राम्रो फिल्म बनायो भने चलाउने कहाँ ? हलमा मानिस आउदैन । अब प्रविधिको प्रयोग गरेर मोवाइलमा चल्ने, हेर्ने र त्यहीबाट आम्दानीहुने फिल्म बनाउनुपर्छ ।

यतिबेला हलमा दर्शक छैनन् कहिलेसम्म यस्तो होला ?

हो अहिले हलमा दर्शक छैनन् । तुरन्त उकासिने सम्भावना छैन । डिजिटलमा गयो भने केही होला । हललाई २, ४ वर्ष अझै गाह्रो छ । अब प्रविधिलाई प्रयोग गरेर आम्दानी गर्नुपर्छ ।अर्को कुरा दर्शकलाई हलमा तान्न टिकटको शुल्क घटाउन पर्छ । मनोरञ्जन गर्ने माध्यम हलमा नभई घरघरमा हुन थाल्यो । हलमा दर्शक तान्न नयाँ रणनीति बनाउनुपर्छ । अहिले साना बजेटका फिल्मलाई गाह्रो भएको छ ।

तपाईंको फिल्म क्षेत्रको यात्रा कसरी शुरु भयो ?

साथीभाइको लहै–लहैमा फिल्म क्षेत्रमा मेरो आगमन भयो । १७, १८ वर्षको थिए । फेरि भेटौला फिल्मको सुटिङ हुँदै थियो । प्रकाश अधिकारीसँग संगत भयो । फिल्म बनाउने रहर जाग्यो । ४/ ५ जना साथी मिलेर ज्वाला फिल्मस् प्रालि दर्ता गरियो । पोखराको चिप्लेढुंगामा अफिस राखियो । त्यतिबेला म केटाकेटी नै थिए । अब निर्देशक चाहियो, कथा लेख्ने चाहियो ।
नाइट बस चढेर काठमाण्डौ गइयो । प्रकाश थापाको घर पुगियो । साथी हरि तिवारीले प्रकाश थापालाई फिल्म बनाउन भन्दै अलिअलि पैसा जुटाउदै छौँ हजुरले फिल्मको निर्देशन गर्नुपर्याे भनेर प्रस्ताव गर्नुभयो । जवाफमा प्रकाश थापाले तिमीहरु केटकेटी छौ फिल्म बनाउने हो भने बा–आमालाई लिएर आउ भन्नुभयो । म त सोफामा सुनेर बसे । बोलिन । उहाँसँग ‘अधिकार’ भन्ने फिल्मको स्क्रिफ्ट रहेछ । यो लैजाउ बुबा आमालाई भन । ३५ लाख लाग्छ तिमीहरुको नामसाम राखौला भन्नुभयो । हामी हस् भनेर निस्कियौ । यो त नसक्ने काम पो रहेछ भन्ने भयो । अनि साथीभाई लाखापाखा लाए । पछि म कहाँबाट फिल्म क्षेत्रमै लागे । मैले निर्माण गरेको पहिलो फिल्म कान्छा हो । कान्छामा राजेश हमाल, करिष्मा मानन्धर, सुनिल थापा आदि कलाकारको अभिनय थियो ।

त्यतिबेलाका चर्चित कलाकार राजेश हमाल र करिष्मा मानन्धरसँग काम गर्दाको अनुभव नि ?

त्यतिबेला म ४२ केजीको थिए । हेर्दा फुच्चे थिए । अलि परिपक्क हुन दारी पालेको थिए । करिष्मासँग फिल्म एग्रिमेन्ट गर्न जाने कुरा भयो । उ लाजिम्पाट बस्थ्यो । निर्देशक सूर्य बोहरा र म बाइकमा गयौ । करिष्माकोमा जाँदा विनोद मानन्धर पनि त्यही थिए । पप्लु खेल्न थालियो । वियर खाने कुरा भयो । खाम त न त भनियो गोजीमा १० हजार थियो । वियर मगाएर खाइयो । पछि करिष्माजीले खोई एग्रिमेन्ट गर्न प्रोडुसर अझै आउनुभएन भन्नुभयो । सूर्यले उहाँनै हो नी प्रोडुसर भनेर मलाई देखाए । अनि बल्ल करिष्माले मलाई नमस्कार गुर्नभयो ।फेरि राजेश हमालसँग एग्रिमेन्ट गर्नुपर्ने भयो । एग्रिमेन्ट पेपर तेर्साए । एग्रिमेन्ट पेपरमा राजेशले सही गर्नुभयो । मैले ल्याप्चे लगाउनु भने । किनकी म पक्को एग्रिमेन्ट गर्न चाहन्थे । राजेश हामलले ल्याप्चे लगाउनु पर्दैन मैले त आजसम्म ल्याप्चे लगाएकै छैन भन्ने उत्तर दिनुभयो । अनि मैले सोधे तपाईंको नागरीकता छैन र ? नागरीकता त छ नि भन्ने जवाफ राजेशबाट आयो । अनि मैले नागरिकता बनाउँदा ल्याप्चे लगाउनुभएन त भनेपछि बल्ल ल्याप्चे लगाउन राजेश राजी हुनभयो । राजेश हमालले ल्याप्चे लगाएर गरेको एग्रिमेन्ट अझैसम्म मसँग छ ।

फिल्ममा अभिनय गर्ने रहर भएन ?

भयो किन नहुने, सोही कारण मैले पहिलो फिल्म कान्छामा सानो अभिनय गरे । यसको पनि रमाइलो घटना छ । मेरो करिष्मासँगको सिन थियो । फिल्ममा विशाल पहाडी पाइलट र विशाल पहाडीको बैनी करिष्मा हुनुहुन्थ्यो । म डाक्टरको रोलमा दखिने कृुरा भयो । निर्देशक सूर्यले पहिलोपटक करिष्मासँग सर्ट हुँदैछ, तपाई म वियर खाम भनेर भन्नुभयो । थापाथलीमा सुटिङ गर्नुपर्ने, अनि जापानीज रेष्टुरेन्टमा गएर दुईवटा वियर खाइयो । वियर खाएपछि हल्का लाइहाल्यो । सुटिङमा मेरो पालो आयो । डाक्टरको ड्रेसमा थिए । घरमा जाने डाक्टर भएकोले कोट त लगाएको थिइन । भर्खरै खाएको वियरले झुम्म लागेको थियो । फेरि म त करिष्मा भन्दा होचो रहेछु । फर्साद पर्याे । पिर्का राखेर पिर्कामाथि उभिएपछि करिष्मा म भन्दा बल्ल होची हनुभयो । । सूर्यले एक्सन, कट भन्न थाले । मेरो एउटा डाइलग थियो । ‘विशाल तिमी बहादुर पाइलट भएर पनि यति सानो मन गर्छौ, यस्तो मन गर्नुहुन्न’ भनेर डाइलग सहित अभिनय गर्नुपर्ने । २० टेक खाए तर ओके भएन । करिष्मा रिसाउनुभयो । प्रोडुसर यता आउनुसत भनेर बोलाउनुभयो । तपाई मसँग वियर खाएर एक्टिङ गर्ने भन्नुभयो । अनि मैले अहिले खाएको हैन भनेर ढाँटे । पछि सिरियस भएर मुख धोएर आए । अनि अर्को टेकमा ओके गरे । खाना खाने बोलमा करिष्माले तपाई प्रोडुसर नभएको भए के गर्थे भनेर भन्नुभयो । अनि मैले शोखको लागि एक्टिङ गरेको हुँ माइन्टड नगुर्न भने । त्यसपछि मैले आगो २ मा पत्रकारको भुमिकामा समेत अभिनय गरे ।

यो माया कस्तो मायाबाट निर्देशनमा समेत हात हाल्नुभएको छ, फिल्म कस्तो बनेको छ ?

हो निर्माणसँगै निर्देशनमा समेत हात हाले । यो माया कस्तो मायाको छायाकंन दार्जलिङ र काठमाण्डौँमा भएको हो । असाध्यै राम्रो स्क्रिफ्टमा फिल्म बनेको छ । गीत अर्जुन पोखरेलले गर्नुभएको छ । फिल्म राम्रो बनेको छ । यो फिल्मबाट म धेरै आशावादी छु । सुरुमा भुषण आनन्द ठकुरीलाई निर्देशन जिम्मा दिइयो । यो फिल्मको कथा उहाँकै हो । पछि ५० प्रतिशत छायाकंन गरेपछि उहाँ विदेश जानुभयो । उहाँ विदेश गएपनि बाँकी छायाकंन मेरो निर्देशनमा भएको हो ।

यो फिल्ममा कलाकार को को हुनुहुन्छ ?

कलाकार दिवस धिताल, रितु पौडेल, सभ्यता गिरी, लय संग्रौला, तारा केसी, सूर्यमान गुरुङ, युवराज केशरी आदिको अभिनय फिल्ममा हेर्न पाइनेछ ।

फिल्म कहिले प्रदर्शन गर्ने ?

कहिल प्रदर्शन गर्ने निश्चित भएको छैन । हामी सम्पूर्ण रुपमा तयार छौँ । अब राम्रो वातावरण बनेपछि प्रदर्शन गर्ने हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button