धेरैपटक ब्ल्याकमा दोब्बर शुल्क तिरेर फिल्म हेरेका छौँ : कुमार पुन

कन्यादान फिल्म मैले तीन पटकसम्म हलमा हेरे

पोखरा न्यूज । लोक गायक कुमार पुनलाई विश्वासनै थिएन कि लोकदोहोरी क्षेत्रमा लागेर प्रगती गर्न सकिन्छ भनेर । हुन त त्यतिबेला उहाँलाई सल्लाह सुझाव दिने कोही भएनन् । रेडियोमा गीत बजेको सुन्दा आफ्नो आवाज पनि रेडियाबाट सुनाउन पाए भन्ने रहर उहाँमा थियो । तर गाउँमा बसेर सम्भव भएन । सांगीतिक क्षेत्रको बारेमा बुझ्ने व्यक्त्ति त्यहाँ थिएनन् । गाँउ छोडेर पोखरा अथवा काठमाण्डौँ पुग्ने साहस उहाँमा आएन । गाउँबाट उच्च शिक्षा अध्ययनका लागि बागलुङ पुग्नुभयोे । त्यहाँ पुगेर आफ्नो प्रतिभा राख्न थाल्नुभयो । त्यसैले त बागलुङमा आयोजना हुने चैते दशै मेलामा तीन पटकसम्म उहाँको समूह प्रथम भयो । यही मेलामा वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेलाई भेट्ने अवसर जुट्यो । उहाँको आवाज सुनेर न्यौपानेले तारिफ मात्र गर्नुभएन । पोखरा आएर सांगीतिक यात्रामा अगाडि बढ्न सुझाए दिनुभयो । फोन नम्बर आदान प्रदान भयो । तर तत्काल पोखरा उहाँ आउुनुभएन । प्रगती गर्न विदेशनै जानुपर्छ भन्दै सबै उहाँका युवा साथी विदेशिए । यसबाट कुमार पुन पनि अछुतो रहन सक्नुभएन । अनि हानिनुभयो थाइल्याण्डतिर । बेला–बेलामा नेपाल भने आउने गर्नुहुन्थ्यो ।

उहाँको जन्म म्याग्दी देविस्थान–३ राजदाङमा बुबा कर्ण प्रसाद र मुमा रनमाया पुनको तेस्रो सन्तानको रुपमा भएको हो । उहाँको बाल्यकालदेखिनै लोक संगीतप्रति कुमारको रुचि थियो । गाउँमा रोधी गायको सुन्ने र हेर्न गर्दागर्दै उहाँले गीत गाउन थाल्नुभएको थिए । २०५१ सालमा बाग्लुङ बुर्तिवाङमा भएको पूर्णिमा मेलामा आयोजित प्रतियोगितामा प्रथम हुनुभयो । यस्ले उहाँमा उत्साह थपियो । यसअघिनै विभिन्न स्थानिय प्रतियोगीतामा भाग लिएर उहाँले पुरस्कार जित्नुभएको थियो ।

थाइल्याण्डबाट २०५७ सालमा नेपाल आँउदा उहाँ पोखरा आउनुभयो । त्यतिबेला गीत रेर्कड गर्ने आँट उहाँले गर्नुभयो । पुरुषोत्तम न्यौपानले लय र शब्द सिर्जना गरेको ‘घर मेरो म्याग्दी देविस्थान’ गीतमा आवाज भरेर उहाँको नेपाली सांगीतिक क्षेत्रमा औपचारिक यात्रा सुरु भयो । त्यसपछि थाइल्याण्ड आउजाउ गर्दै गीतहरु रेकर्ड गर्न थाल्नुभयो । उहाँको गायन शैली तथा टिपिकल भाकाका कारण उहाँको बेग्लै परिचय नेपाली लोक संगीतको क्षेत्रमा हुनपुग्यो । पछिल्लो समयमा उहाँ नेपाली लोक संगीतको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । यसपाली हामीले उहाँसँग सांगीतिक क्षेत्र भन्दा भिन्न फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईंले फिल्म कतिको हेर्नुहुन्छ ?

फिल्म हेर्छु । युवाअवस्थामा बढी फिल्म हेरे । मैले हेर्ने नेपाली फिल्म नै हो । अहिले अहिल कम भएको छ ।

तपाईंको फिल्म हेर्ने माध्यम के हो ?

विगतमा मेरो फिल्म हेर्ने माध्यम हल नै हो । पछिल्ला दिनमा युट्युबमा समेत हेर्छु । टिभीमा कहिलेकाही हेरे ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

हलमा साथीभाईसँग बसेर रमाएर गफ गर्दै फिल्म हेर्दा आनन्द आउँछ । ठूलो पर्दामा फिल्म हेर्दाको मज्जा बेग्लै हुन्छ । घरमा हेर्दा त्यस्तो हुदैन ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

त्यतिबेला जुन दिन नयाँ फिल्म रिलिज भयो त्यही दिनमा फिल्म हेर्नुपर्ने बानी थियो । एकदमै भिड हुने भएकोले धेरैपटक ब्ल्याकमा दोब्बर शुल्क तिरेर फिल्म हेरेका छौँ । कतिपय अवस्थामा टिकट नपाएर अगाडि बसेर हेथ्र्यौ । प्रायःजसो बालकोनीको टीकट काट्थ्यौ । टेबलमा बसेर पनि फिल्म हेरियो ।
म्याग्दीबाट फिल्म हेर्न भनेर बागलुङ जाने गथ्र्यौ । नयाँ फिल्म चल्ने थाहा हुने बितिकै बाग्लुङ पुग्थ्याँै । घरमा गाली गर्नुहुन्थ्यो तर वास्ता नगरी जान्थ्याँै । पैसा कहिले घरमा जोरजाम गरेर त कहिले साथीभाइसँग सापट मागेरै जोहो गरिन्थ्यो । त्यतिबेला नयाँ फिल्म चलेकोबारे रेडियोमा विज्ञापन आउथ्यो । विज्ञापन सुनेर पहिलो दिननै साथीहरु मिलेर हलमा जाने गथ्यौँ ।बिहानै घरबाट निस्केर फिल्म हेरेर फर्कदा राति हुन्थ्यो । म फिल्म हेर्ने भनेपछि निकै क्रेजी थिए । बागलुङ क्याम्पस पढ्ने क्रममा फिल्म हेर्न पोखरा आउन थाल्यौँ । किनभने पोखरामा धेरै फिल्म बागलुङमा भन्दा पहिला रिलिज हुने थिए ।

हलमा हेरेको पहिलो फिल्म ?

गाउँमा भिडियोहरु बढी हेरियो सानो पर्दामा त्यतिबेला प्रायः वृक्तचित्र हेरियो । पैसा तिरेरै हेरिन्थ्यो । ठूलो पर्दामा हेरेको भनेको बाग्लुङको पूजा चलचित्र मन्दिरमा हो । त्यहाँ हेरको फिल्म कन्यादान हो । कन्यादान मैले तीनपटकसम्म हलमानै हेरे । लाहुरे फिल्म तीन पटक र चिनो फिल्म दुईपटक हलमा हेरे । त्यतिबेला हलमा लागेका नेपाली फिल्म छुटाउने थिइन ।

मनपर्ने फिल्मी कलाकार ?

भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल, करिष्मा मानन्धर, मौसमी मल्ल, मिथिला शर्मा, गौरी मल्ल मलाई मनपर्ने कलाकार हुनुहुन्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

नेपाली फिल्ममा पहिला भन्दा धेरै सुधार भएको छ । प्रविधिमा पनि सुधार आएको छ । सान्दर्भिक कथाहरु आएका छन् । हुनत मलाई नयाँ फिल्म भन्दा पुराना फिल्मको कथावस्तु मनपर्छ । अहिले सामाजिक परिवेशमा आधारित कथा वस्तुमा फिल्म बनेका छन् । समाजलाई शिक्षा दिने खालका फिल्म छन् । पारिवारिक वातावरणमा बसेर हेर्ने खालका फिल्म आएका छन् । सोही कारण सामाजिक विषयवस्तुमा निर्माण भएका फिल्म खोजेरै हेर्छु ।

सुधार गर्नुपर्ने पक्ष ?

केही फिल्मले समाजमा गलत सन्देश दिने, विकृतितर्फ उत्पेरीत गराउने खालका विषयवस्तु समेत समेटेका देखिन्छ । त्यसमा सुधार गर्नुपर्छ । मौलिक विषयबस्तुमा संस्कृतिको जगेर्ना गर्ने खालका फिल्म निर्माण हुनुपर्छ । बालबालिका र युवालाई विकृति विसंगतितर्फ धकेल्न खोज्ने खालका वियावस्तु फिल्ममा राख्नु हुँदैन । फिल्ममा हाम्रौ मौलिकतालाई स्थान दिनुपर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

मलाई फिल्म हेर्दा फिल्म खेलौ भन्ने आँट त आउने थिएन । मैले सक्छु, मैले गर्छु भन्ने रहर मनमा भएन ।

कार्यक्रममा फिल्मी कलाकारसँग तपाईको कतिको भेट भयो ?

थाइल्याण्डमा रहँदा राजेश हमालसँग बैकंकमा कार्यक्रम गर्न पाए । करिष्मा मानन्धर, गौरी मल्लसँग समेत सँगै कार्यक्रम गर्ने अवसर प्राप्त गरे । अन्य केही फिल्मी कलाकारसँग समेत एउटै स्टेज सेयर गर्न पाएको छु । पछिल्लो क्रममा आएका नयाँ पुस्तासँग भने खासै हेलेमेल भएको छैन ।

यतिबेला तपाईको सांगीतिक यात्रा कसरी अगाडि बढिरहेको छ ?

काम भइरहेको छ । अहिले धेरै गीत पेन्डिङमा छन् । केही गीतका भिडयो बनाउन बाँकी छन् । विभिन्न भाइबहिनीको प्रोजेक्टमा आवाज दिएको छु । सबै गीत रिलिज हुनलाई समय मिलेको छैन । विस्तारै माहोल बन्दै जाला । दर्शक श्रोताका लागि मौलिक गीत निरन्तर पस्कने मेरो योजना हो ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?

आज फिल्मी क्षेत्रको बारेमा केही भन्न पाए, खुशी छु । म सबैलाई नेपाली फिल्मलाई माया गरिदिनुहोला भन्न चाहन्छु । अर्को कुरा म लोक गायक भएकोले मेरो गीतलाई माया गरिदिनुहोला भन्छु । मैले सधैँ मौलिक गीत पस्कने जमर्को गरेको छु । कुमारपुन युट्युब च्यानलमा गएर मेरा गीत हेरिदिनुहोला सुनिदिनुहोला र मेरा कमीकमजोरीलाई औल्याइदिनुहोला । साथै सल्लाह सुझाबसमेत दिनुहोला भन्न चाहन्छु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button