अडिसन मार्फत छानिएरै फिल्ममा अभिनय गर्न पाए : तुलसी क्षेत्री

गायन क्षेत्र र फिल्मी क्षेत्र दुवैलाई एकसाथ अगाडि लैजान्छु

पोखरा न्यूज । लोक दोहोरी गायिका तुलसी क्षेत्री पछिल्ला दिनमा अभिनय क्षेत्रमा समेत उतिकै सक्रिय बन्नुभएको छ । नेपाली फिल्म अग्निदहनमा अभिनय गर्दै नेपाली फिल्मी क्षेत्रमा उहाँको डेब्यु भएको थियोे । त्यसपछि ‘क्या बात छ’ र ‘यस्तो पो वडाध्यक्ष’मा उहाँले काम गरिसक्नुभएको छ ।

हुनत २०६८ सालमा ‘वैश जोवनमै’ गीत मार्फत सांगीतिक क्षेत्रमा उहाँको औपचारिक आगमन भएको थियो । उहाँका ‘कस्तो होला बोली’, ‘हेराउन जाम हिड’, ‘जवानीले मागेको कुरा’, ‘सम्झना छैन, ‘के मा बस्यो मोहनी’ ‘दील भित्र चित्र’, मनले रोजेको आदि गीत चर्चामा छन् । उहाँको लोक दोहोरी क्षेत्रमा बेग्लै पहिचान बनेको छ । सोही कारण देश विदेशका सांगीतिक कार्यक्रम मार्फत आफ्नो प्रतिभा सुनाइरहनुभएको छ ।

फिल्ममा अभिनय गर्नु भन्दा अगाडि नै म्युजिक भिडियोमा अभिनय गरेर मोडलको परिचयसमेत उहाँले बनाउनुभएको थियो । आँखा झिमिझिमि, साह्रै दुख्यो मन, कस्तो होला बोली, जस्ले पनि ढाट्ने, बाला जोवन, आदि गीतको म्युजिक भिडियोमा उहाँले मोडलको रुपमा अभिनय गर्नु भएको छ । पोखराबाट निर्माण भएको टेली फिल्ममा समेत उहाँले आफ्नो अभिनय क्षमता देखाइसुक्नुभएको छ ।
कास्कीको लाहाचोकमा पिता चन्द्रबहादुर र माता जमुना जिसीको पाँचौ सन्तानको रुपमा जन्मिनुभएकी तुलसाले प्रतियोगितामा भाग लिदाँलिदै स्टेज कार्यक्रममा र दोहोरी साँझमा व्यस्त बन्न पुग्नुभएको थियो । अहिले पनि उहाँ दोहोरी साँझमा आवद्ध हुनुहुन्छ ।

स्कूलमा हुने साँगीतिक कार्यक्रममा गीत गाउने उहाँले गाउँमा तथा स्कूलमा आयोजना हुने कार्यक्रममा सहभागी बनेर केही पुरस्कार जित्नुभयो । यसले उहाँलाई अगाडि बढ्न हौसायो । दिदी पार्वती जिसीको पे्ररणा, सर्पोट र साथले सांगीतिक क्षेत्रको यात्रा सहज बन्यो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की शाखाको उपाध्यक्षसमेत रहनुभएकी गायिका तथा अभिनेत्री क्षेत्रीसँग हामीले यसपाली फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईंले फिल्म कतिको हेर्नुहुन्छ ?

म फिल्म धेरै नै हेर्छु । मलाई फिल्म हेर्न रमाइलो लाग्छ ।

  तपाईंको फिल्म हेर्ने माध्यम के हो ? 

मेरो फिल्म हेर्ने पहिलो माध्यम टेलिभिजन हो । दोस्रो माध्यम सिनेमा घर हो । आजकाल मोबाइलको माध्यमबाट समेत फिल्म हेर्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

रमाइलो त हलमा नै हुन्छ । तर म हलमा भन्दा घरमानै धेरै फिल्म हेर्छु । खास–खास र बिशेष सिनेमा मात्र हलमा हेर्ने गरेकी छु । घरमा सिनेमा हेर्दा समय पहिल्यै छुट्याउन नपर्ने, तयारी समेत केही तयारी नगरीकन हेर्न मिल्ने हुँदा बढी सहज लाग्छ । विशेष सिनेमाहरु चाहिँ फिल्म हलमानै गएर हेर्ने गरेकी छुँ ।

बाल्यकालमा फिल्म हेर्दाको अनभुव ?

फिल्म हेर्न हुरुक्कै हुने थिए । लाहाचोकबाट हिँडेर हेम्जासम्म आइथ्यो । त्यहाँबस चढेर पोखरा आएर फिल्म हेरेर फर्कन्थ्र्यौ । धेरैजसो साथीहरुको ग्रुप बनाएरनै फिल्म हेर्न आउने गर्थे । यसरी फिल्म हेर्दा बेग्लै मज्जा हुने थियो ।

हलमा हेरेको पहिलो फिल्म ?

हलमा हेरेको पहिलो फिल्म हिन्दी फिल्म ‘धड्कन’ हो । नेपाली फिल्ममा पहिलो श्रीकृष्ण श्रेष्ठ र विपना थापाले अभिनय गरेको फिल्म थियो । नाम भने भुले ।

मनपर्ने फिल्मी कलाकार ?

मलाई प्रायः सबै कलाकार मनपर्छ । यो वा त्यो भन्ने छैन, कथामा मेल खाने कलाकारको अभिनय बढी सशक्त लाग्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

नेपाली फिल्मको सबैभन्दा राम्रो पक्ष भनेको हाम्रो कथाबस्तु हो । अर्को कुरा नेपाली शैलीबाट मनोरञ्जन लिन पाउनु समेत नेपाली फिल्मको सकारात्मक पक्ष हो ।

सुधार गर्नुपर्ने पक्ष ?

सुधार गर्नुपर्ने धेरै छ । फिल्म हेर्दा कलाकारको अभिनयमा नाटकीयपन नआयोस, जीवन्तता देखियोस् । सोही कारण नेपाली फिल्मको कथा र कलाकारको अभिनयमा जीवन्तता अझै बढ्दै जानुपर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

सानोमा फिल्म भनेको के के न हो जस्तो लाथ्यो, हेरिहाल्न मनलाग्थ्यो । मनमा अभिनय गर्ने रहर भएपनि आफ्नो पहुँचको कुरा हैन भन्ने लाग्थ्यो । पछि आफै अभिनय गर्न कस्सिए । फिल्ममा अभिनय गर्ने रहर तथा चाहानाले गर्दा नै अभिनय क्षेत्रको यात्राको शुरूवात भयो ।

अभिनयको यात्रा कसरी शुरु भएको थियो ?

शुरुमा मैले म्युजिक भिडियोमा अभिनय गरेर अभिनय यात्राको शुरूवात गरेकी हुँ । अहिलेपनि आफ्ना म्युजिक भिडियोमा आफै अभिनय गर्ने गरेकी छु । आजकल म्युजिक भिडियो निर्देशकहरुले अरुका गीतका लागि समेत अफर गर्नुहुन्छ । अरुका गीतको भिडियोमा समेत देखिन थालेकी छुँ ।

फिल्ममा अभिनय गर्ने अवसर कसरी जुट्यो ?

नेपाली फिल्ममा अभिनय गर्ने धेरै पहिलेदेखि कै चाहाना थियो । तर, मेसो मिलेको थिएन, अवसरसमेत पाएको थिइन । पछि विस्तारै अफर आउन थाल्यो । कतै निर्माता मन नपर्ने, कुनैमा भूमिका मन नपर्दा केही अवसर फुत्काए । सायद अब आफूलाइ सुहाउने नेपाली फिल्म पाउन्न होला मेरो फिल्म खेल्ने रहर यतिकै होला भन्ने अवस्थामा पुगेको बेलामा फिल्म ‘अग्निदहन’मा अडिसन दिन पुगे । सो फिल्ममा कोविदशरण उपाध्याय दाइको माध्यम बाट अडिसन दिन पुगेकी थिए । अडिसन मार्फत निर्देशक घनश्याम लामिछानले मलाई एउटा रोलमा छनौट गर्नुभयो । नेपाली फिल्ममा अभिनय गर्ने औपचारिक सुरुवात यसरी भयो । यो अवसर सँगै मेरो मनको फिल्ममा अभिनय गर्ने रहरले मुर्तरुप पायो ।

यो फिल्ममा काम गरिसकेपछिको अनुभव नि ?

‘अग्निदहन’ सिनेमा नेपालकै उत्कृष्ट सिनेमा बन्न पुग्यो । यो सन्देशमुलक फिल्म थियो । २०७४ सालमा उत्कृष्ट चलचित्र अवार्डमा ‘अग्निदहन’ पर्न सफल भयो । यो फिल्म मार्फत मेरो परिचय बदलियो । गायिका, मोडलबाट फिल्मको अभिनेता बन्न पुगे । अभिनय गर्दा धेरै कुरा सिक्न पाए । एउटा सफल चलचित्रमा एउटा मुख्य कलाकारका रुपमा जोडिन पाउँदा निकै खुसी लाग्यो ।

त्यसपछि अरु कुन कुन फिल्ममा काम गर्नुभयो ?

‘अग्निदहन’ पछि मेरो फिल्मी यात्राको गती सुरु भयो । त्यसपछि ‘क्या बात छ’ र ‘यस्तो पो वडाध्यक्ष’ मा काम गरे । विभिन्न ठाउँमा विशेष प्रदर्शन मार्फत देखाइएपनि अझै अग्निदहन देशभरका हलमा रिलिज भएको छैन । यो फिल्म चारैतिर प्रदर्शन भएपछि अझै दर्शकको माया पाउने अपेक्षा गरेकी छु । मैले अभिनय गरेका फिल्महरु २०७८ सालमा दर्शक तथा शुभचिन्तकहरुले हेर्न पाउनुहुनेछ । फिल्मबाट अफर आउने क्रम जारी नै छ । यहि हप्ता मात्र एउटा नेपाली फिल्ममा कुरा भएको छ । यो फिल्म पनि २०७८ सालमा छायांकनमा जादैछ ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?

मलाई धेरै फिल्म खेल्नु भन्दा पनि राम्रा फिल्म खेल्न मन छ । त्यसैले म जथाभावी फिल्म खेल्ने मनस्थितिमा छैन । म गायन क्षेत्र र फिल्मी क्षेत्र दुबैलाइ एकसाथ अगाडि लिएर जाने तयारीमा छु । अर्को कुरा म दोहोरी साँझमासमेत व्यस्त छुँ । हालै हामी मिलेर पोखराको न्यूरोडमा ससुराली दोहोरी साँझ सञ्चालनमा ल्याएका छौँ । यो दोहोरीको अनौपचारिक सुरुवात गरिएपनि औपचारिक सुरुवात गर्न बाँकी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button