अवसर पाए नेपाली फिल्ममा अभिनय गर्नेछु – प्रिती गुरुङ

संस्कार संस्कृतिलाई बुझ्नको लागि गुरुङ फिल्म हेर्नुपर्छ

पोखरा न्यूज । कलाकार प्रिती गुरुङको जन्म कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने सुन्दर गाउँ छुमरुङमा भएको हो । गुरुङ फिल्म ‘साली भेना’बाट अभिनय क्षेत्रमा डेब्यु गर्नुभएको उहाँको अभिनय रहेको दोस्रो फिल्म ‘शिरसुवा’ हो । जुन फिल यतिबेला पोखराको मिडटाउन सिनेमा हलमा प्रर्दशन भइरहेको छ । नियमित हलमा धेरै दिनसम्म प्रदर्शन हुने पहिलो फिल्म बनेको यो फिल्मले दर्शकको साथ पाइरहेको छ ।

शिरसुवा गत फागुन १५ गते शनिबार रानीदेवी पार्टी प्यालेस काठमाण्डौँमा, फागुन २२ गते शनिबार भमरकोट पार्टी प्यालेस वीरेन्द्रचोक रामबजारमा र चैत्र २ गते मिडटाउन ग्यालरीयामा विशेष प्रदर्शन भएको थियो । गत चैत्र ६ गतेबाट यो फिल्म नियमित रुपमा हलमा प्रदर्शन भइरहेको छ ।कलाकार प्रितीले गुरुङ फिल्मका अलावा दुइवटा म्युजिक भिडियोमा काम गर्नुभएको छ । ‘शिरैमा अन्नपूर्ण’ बोलको गाउँ सम्बन्धी गीत र अर्को तीज गीतमा उहाँले अभिनय गर्नुभयो ।

त्यसोत उहाँको बाल्यकालदेखिनै अभिनयमा रुचि थियो । रुचि भएपनि अभिनय कला देखाउने अवसर उहाँलाई त्यतिबेला मिलेन । फुर्सदको समयमा गीत गुनगुनाउने उहाँको बानी छ । मिस तमुस्यो नेपालमा भाग लिदाँ मष्ट पपुलर र भिवर च्वाइसको सवटाइटल उहाँले जित्नुभएको थियो ।छुमरुङमा रहेको प्रिती गेष्ट हाउस एण्ड रेष्टुरेन्टको सञ्चालक रहनुभएकी उहाँलाई कलाकारिता क्षेत्रमा अगाडि बढ्न परिवारबाट सर्पोट छ । गुरुङ फिल्म एशोसिएसन नेपालमा आवद्ध उहाँ व्यवसाय र कलाकारिता क्षेत्रलाई सँगसँगै अगाडि बढ्ने योजना उहाँले बनाउनुभएको छ । यसपाली हामीले उहाँसँग फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईले फिल्म कतिको हेर्नुहुन्छ ?

फिल्म धेरै हेर्छु । रिलिज भएका गुरुङ फिल्म, नेपाली फिल्म, हिन्दी फिल्मी सकेसम्म हेर्ने प्रयास गर्छु ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?

मेरो फिल्म हेर्ने माध्यम हल, मोबाइल र टिभी हो । कहिले हलमा गएर हेर्छु । कहिले घरमानै मोबाइलमा युट्युब मार्फत समेत धेरै फिल्म हेर्छु । यसका अलावा टेलिभिजन मार्फत समेत फिल्म हेर्ने गरेको छुँ । विशेष च्यारिटी सो मार्फत विभिन्न ठाउँमा देखाइने गुरुङ फिल्म समेत हेर्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

घरमा हेर्दा र हलमा हेर्दा धेरै फरक हुन्छ । हलमा फिल्म हेर्दा फिल्ममा प्रयोग गरिएको सबै इफेक्टहरुलाई महशुस गर्न पाइन्छ । फिल्ममा उठान भएको विषयवस्तुलाई नजिकबाट बुझ्ने अवसर हलमा फिल्म हेर्दा मिल्ने गर्छ । सानो–सानो कुरा सजिलै देख्न, बुझ्न सक्छौ । घरमा मोबाइलमा युट्युब मार्फत हेर्दा त्यस्तो अनुभव खासै हुँदैन । घरमा हेर्दा पनि मनोरञ्जन भने मिल्छ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

गुरुङ फिल्म हेर्दा हाँसेको हाँसै गरेका अनुभव छ । गुरुङ फिल्मको कलाकार दलबहादुर दाईको अभिनय रहेको गुरुङ फिल्म हेर्दा हामी खुशी ले गदगद भएर हाँसेको हाँसै गरेका थियौ ।हाम्रो घरमा टिभी थिएन । छिमेकीको घरमा टिभी हेर्न जाने र फिल्म हेर्दै सबैजना हाँस्ने गथ्र्यौ । यसरी टिभी हेर्न पाउँदा रमाइलो लाग्थ्यो ।

हलमा हेरेको पहिलो फिल्म ?

हलमा हेरको पहिलो फिल्म हिन्दी फिल्म ‘मेरी आशिकी’ हो । यो फिल्म मैले पोखराको बाराही सिनेमा हलमा हेरेको थिए । हलमा हेरेको पहिलो नेपाली फिल्म भने ठ्याक्कै याद भएन ।

मनपर्ने फिल्मी कलाकार ?

मलाई धेरै कलाकार मनपर्छ । सबै कलाकार आफ्नो ठाउँमा अब्बल हुनुहुन्छ । गुरुङ फिल्ममा गगन दाई, बलबहादुर दाई बढी मनपर्छ । नेपाली फिल्ममा पल शाह र वर्षा रावत उत्कृष्ट लाग्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

नेपालीको जनजीवनलाई आधारित रहेर फिल्महरु निर्माण भइरहेका छन् । सन्देशमुलक फिल्म तथा सत्य घटनामा आधारित फिल्म समेत बनेका छन् । दर्शकहरुले सन्देशसँगै मनोरञ्जन र आफ्नो अपनत्व फिल्ममा पाउनुहुन्छ यो सकारात्मक कुरा हो ।

सुधार गर्नुपर्ने पक्ष ?

सबैले उतिकै मेहनत हुर्नभएको छ । प्रविधिको प्रयोग गर्दै नेपाली मौलिक विषयवस्तुलाई फिल्मको माध्यमबाट पस्कनु पर्नेछ । संख्यात्मक रुपमा फिल्म निर्माण गर्नुभन्दा फिल्मको गुणात्मकतामा जोड दिनुपर्छ ।अर्को कुरा म गुरुङ फिल्मको कलाकार भएको नाताले अब गुरुङ फिल्मलाई घर घरमा गएर टिकट बिक्री गर्ने नभई हलमानै गएर फिल्म हेर्ने वातावरण जिफानले बनाएको छ यसमा सबैले साथ दिनुपर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

मलाई फिल्म हेर्दा फिल्म खेलौ भन्ने रहर किन नहुनु भयो । फिल्म हेर्दा फिल्ममा मैले पनि अभिनय गर्न पाए कस्तो हुने थियो भन्ने मनमा हुन्थ्यो तर फिल्म क्षेत्रमानै लाग्छु भन्ने सोचाई मनमा आएन । हुनत त्यो कुरा मेरो पहुँचमा थिएन । आज समय र परिस्थितिले गर्दा म फिल्म क्षेत्रमा आइपुगे । यो सौभाग्यको कुरा हो ।

तपाईको फिल्म यात्रा शुरु भयो ?

मिस तमुस्यो नेपाल २०१६ मा मैले भाग लिएपछि मेरो फिल्म यात्रा सुरु हुने अवसर पाएको हो । उक्त कार्यक्रममा मैले उपाधि जित्न नसकेपनि मष्ट पपुलर र भीवर च्वाइसको सपटाइटल हात पारेको थिए । कार्यक्रममा गुरुङ फिल्मका कलाकार तथा निर्देशकहरुसँग भेट भयो । उहाँहरुले आफ्नो संस्कार संस्कृतिलाई जर्गेना गरेर राख्नुपर्छ भनेर फिल्ममा बोलाउनुहुन्थ्यो । मेरो आफ्नो समय नमिलेको कारणले त्यसबेला काम गर्न पाइन । पछि गुरुङ फिल्म ‘साली भेना’को लागि अफर आयो । सोही फिल्मबाट मेरो डेब्यु भयो । मेरो अभिनयलाई मन पराएको कारण अहिले ‘शिरसुवा’मा समेत काम गर्ने अवसर पाए । स्क्रिफ्ट पढ्ना मन छोएको कारण म यो फिल्म खेल्न राजी भैहालेको थिए ।

अबको यात्रा कसरी अगाडि बढाउनुहुन्छ ?

मेरो छुमरुङमा होटल छ । व्यवसायलाई निरन्तरता दिनु छ । यसको अलावा कलाकारिता क्षेत्रमा समेत अगाडि बढ्ने योजना मैले बनाएको छु । नेपाली फिल्ममा अवसर पाएमा अभिनय गर्ने तयारी गरेको छु । नेपाली फिल्ममा निर्माता निर्देशकले बोलाउनुभयो र मलाई दिने फिल्मको पात्रको भूमिका म सत प्रतिशत निभाउन सक्छु भन्ने भयो र सोही अनुसारको टिम पाए भने म अवश्य काम गर्छु ।

तपाईंले देखेको सपना के छ ?

मैले देखेको सपना भनेको होटल व्यवसाय र फिल्म दुवै क्षेत्रमा स्थापित बन्न सकु भन्ने छ ।

गुरुङ फिल्म ‘शिरसुवा’ मा तपाईंले गरेका अभिनय प्रति दर्शकको प्रतिक्रिया कस्तो छ ?

सबै दर्शकको राम्रो साथ पाएको छुँ । तिमीले राम्रो गरेको छौँ भन्ने प्रतिक्रिया मैल पाएको छुँ । फिल्म एकदमै राम्रो बनेको छ । गुरुङ फिल्ममा अभिनय गरेर आफ्नो संस्कार संस्कृतिको जगेर्ना गर्नु भन्नु भएको छ ।

गुरुङ फिल्म ‘शिरसुवा’ किन हेर्ने ?

फिल्मको माध्यमबाट मानिसको जनजीवनमा पर्ने विषयवस्तुलाई उठाइएको छ । मानिसको जीवनमा धेरै उतार चढाव आउँछन् त्यस्ता उतारचढावलाई फिल्म मार्फत देखाउन खोजिएको छ । आर्थिक समस्यमाको कारण पूरा नभएका बाबा ममीको सपनालाई पूरा गर्न छोराछोरी बाहिर गएपनि फेरि स्वदेशमा नै फर्केर केही गर्नुपर्छ भन्ने कथा फिल्ममा छ । सम्पूर्ण टिमको मेहनतले फिल्म राम्रो बनेको छ । गुरुङ मात्र नभएर आम दर्शकले फिल्म सजिलै बुझ्न सक्नुहुन्छ । कलाकारको मेहनत मात्र नभएर संस्कार संस्कृतिलाई बुझ्नको लागि समेत एकचोटी फिल्म हेर्नुपर्छ भन्छु म ।

‘शिरसुवा’ फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?

‘शिरसुवा’ गुरुङ फिल्म हो । यो भ्रेज मेश्रो फिल्म प्रोडक्सन घान्दु्रकको प्रस्तुतिमा निर्माण भएको हो । फिल्ममा मसँगै विश्वास गुरुङ, सुमन गुरुङ, सुमित गुरुङ, आइतराम गुरुङ, सुरज गुरुङ, सोम गुरुङ, डिबी गुरुङ, रविता गुरुङ, अञ्जु गुरुङ, टीकाराम घले, मन्जु गुरुङ, मौसम गुरुङ, अंशु गुरुङ, कुल बहादुर गुरुङ, शंकर गुरुङ, अतित गुरुङ आदी कलाकारको अभिनय हेर्न पाइन्छ । यसका अलावा अतिथि कलाकारको रुपमा रजनी गुरुङ, विमल गुरुङ, विरवल घले, राजेन्द्र थापा, लक्ष्मी गुरुङलाई फिल्ममा देख्न सकिन्छ ।फिल्मको सिनेमेटोग्राफर सुशान्त प्रजापति रहनुभएको छ । फिल्मको निर्माता बिमल गुरुङ हुनुहुन्छ । कथा पनि उहाँकै हो । माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको फिल्मका गीतमा संगीत धनबहादुर गुरुङ र मनोज गुरुङले भर्नुभएको हो । गीतको रचना विमल गुरुङले गर्नुभएको हो भने एरेन्जको जिम्मेवारी धनबहादुर गुरुङ र तेजेन्द्र गुरुङले पूरा गर्नुभयो । गोरे गुरुङ र लप्सन गुरुङ गीतको कोरियोग्राफर हुनुहुन्छ । फिल्मको पाश्र्व गायक गायिकाको जिम्मा धनबहादुर गुरुङ, सरुन गुरुङ र निशा गुरुङले पूरा गर्नुभएको छ । मेककप आर्टिष्टको जिम्मा सर्मिला गुरुङलाई दिइएको थियो । टाक टुकको सम्पादन, सोम गुरुङ र सुजता गुरुङको सहनिर्देशन रहेको फिल्मको प्रोडक्सन मेनेजरमा डिबी गुरुङ र विनोद घले गुरुङ हुनुहुन्छ ।यो फिल्म पोखराको मिड टाउन सिनेमा हलमा प्रदर्शन भइरहेको छ । हलमा आएर हेरेर प्रतिक्रिया दिनुहोला । तपाईले दिएको प्रतिक्रियाले हामीलाई अगाडि बढ्न सघाउने छ । गुरुङ कलाकार माया, हौसला प्रदान गरिदिनु भन्छु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button