फिल्म क्षेत्रमा अडिसन मार्फत आएकी हुँ: सुमन गुरुङ

निखारता थप्न फिल्म मेकिङ सम्बन्धि अध्ययन गर्दैछु

पोखरा न्यूज सम्वाददाता । स्थायी ठेगाना चितवन भएपनि कलाकार सुमन गुरुङको जन्म भारतको अगरतलामा भएको हो । हाल उहाँ काठमाण्डाै‌मा बस्नुहुन्छ । मिस चितवन २०१७ को उपाधि विजेता उहाँले बेष्ट पर्सनालिटिको सव टाइटल समेत हात पार्नुभएको थियो ।

उहाँको फिल्मी यात्रा गुरुङ फिल्म ‘आँखा भित्रको फूल’ बाट सुरु भएको हो । यो फिल्ममा अडिसन मार्फत छानिनु भएको थियो । सोही फिल्ममा गरेको कामबाट प्रभावित भएर उहाँलाई निर्देशक माओत्से गुरुङले फिल्म ‘शिरसुवा’मा अवसर दिनुभएको हो । जुन फिल्म मार्फत सुमनको चर्चा झनै बढ्न पुग्यो । आफूलाई दिएको भूमिका उहाँले कुशलतापूर्वक निभाउनुभएको छ । लामो समयसम्म दर्शकको माया बटुल्दै नियमित हलमा प्रर्दशन भएको फिल्म बन्दै रेर्कड राख्न ‘शिरसुवा’ सफल भयो । यसले सुमनको मात्र नभएर फिल्म युनिट सबैको चर्चा बढाएको छ ।

दूईवटा गुरुङ फिल्ममा अभिनय गर्नुभएकी सुमनले फिल्मका अलावा भिडियो ६, ७ वटा म्युजिक भिडियोमा अभिनय गरेर आफ्नो प्रतिभा देखाई सक्नुभएको छ । फिल्मी क्षेत्रमानै केही गर्ने उहाँको लक्ष्य छ । जसका लागि अहिले कान्तिपुर फिल्म एकेडेमीमा निर्देशन कक्षा मार्फत आफ्नो क्षमता बढाउदै हुनुहुन्छ । अब छिट्टै नै पढाइ सकेर अभिनय मात्र नभएर निर्देशन क्षेत्रमा लाग्ने योजना उहाँको छ । आफूमा निखारता थपेपछि नेपाली फिल्म उद्योगमा समेत प्रवेश गर्ने लक्ष्य बनाउनुभएको छ । यसपाली हामीले सुमनसँग फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईले फिल्म कतिको हेर्नुहुन्छ ?
फिल्म निकै हेर्छु । मलाई राम्रो ‘कन्टेन’ भएको फिल्म हेर्न मनपर्छ । फिल्मलाई चाहिने सबै विषयवस्तु राम्रो ढाँचाले पस्किएको फिल्मले मेरो ध्यान तान्छ । प्रि–प्रोडक्सनदेखि पोष्ट प्रोडक्सनसम्म आँउदा कतै नचुकेको फिल्महरुले मेरो मन जित्छन् । म कलाकार समेत भएकोले कहिले ज्ञानको लागि त कहिले मनोरञ्जन तथा दिमागलाई शान्त बनाउनको लागि फिल्म हेर्छु ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
कोरोना कहर भन्दा अगाडि पहिलो प्राथमिकतामा फिल्महल नै थियो । पछिल्लो क्रममा सेलफोनको माध्यमबाट नेटफ्लिक्स, युट्युबबाट समेत बढी मात्रामा फिल्म हेर्ने गरेको छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?
हरेक कुराको सकारात्मक पक्ष र नकारात्मक पक्ष हुन्छ । हलमा हेर्दा फिल्मलाई ठूलो पर्दामा देख्न सकिन्छ । यसरी हेर्दा कथा मज्जाले बुझिन्छ । घरमा हेर्दाको अनुभव पनि राम्रो नै हुन्छ । किनकि घरमा फिल्म हेर्दा आफूलाई मन परेको सिन फेरि हेर्न मन लाग्योे अथवा कहिकतै बुझिएन भने दोहोर्‍याएर हेर्न पाइन्छ । अहिले फिल्म मेकिङको बारेमा बुझ्नको लागि मैले घरमा नै हेरिरहेको छुँ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

मैले बाल्यकालदेखिनै कहिल्यै पनि अडियन्सको रुपमा फिल्म हेरिन । कहिले हिरोको पात्रमा आफूलाई राखेर फिल्म हेरे । कहिले हिरोइनको पात्रमा बसेर हेरे । म भएको भए यो सिन यसरी गर्ने थिए भन्दै फिल्म हेरेर फर्किएपछि घरमा आएर प्राटिक्स समेत गर्थे । यो बानी अहिलेसम्म पनि छुटेको छैन ।

पहिला हिरो र हिरोइनलाई बढी प्राथमिकता दिएर फिल्म हेरेपनि अहिले फिल्मको सबै क्यारेक्टरलाई ध्यान दिदै कथामा बगेर फिल्म हेर्छु । अहिले पर्दामा देखिएको मेहनत मात्र नभएर पर्दा बाहिरको मेहनतलाई समेत बुझ्नको लागि फिल्म हेर्ने गरेको छु । यसरी फिल्म हेर्दा नयाँ ज्ञान लिने अवसर मात्र नभएर रमाइलो समेत लाग्छ ।

हलमा हेरेको पहिलो फिल्म ?
बच्चा देखिनै फिल्म हेर्ने भनेपछि पछ्याएर जाने गर्थे सोही कारण पहिलो फिल्म याद भएन । तर याद पाउने गरेर हेरेको पहिलो फिल्म ‘दूई दिनको पाहुना’ हो ।

मनपर्ने फिल्मी कलाकार ?
मलाई मनपर्ने कलकार निरुता सिंह र दयाहाङ राई हुनुहुन्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
आफ्नै मुलधारका फिल्महरु विस्तारै निर्माण हुन थालेका छन् यो नेपाली फिल्मको सकारात्मक पक्ष हो । अर्कोकुरा पहिला भन्दा फिल्ममा धेरै कुरा सुधार हुँदै गएको छ । फिल्म निर्माणमा नेपालीपना झल्कन्छ । पछिल्लो क्रममा प्रविधिको प्रयोगमा समेत व्यापकता आएको छ । हरेक काममा कुनै सम्झौता नगरी आउटपुट राम्रो दिन खोज्न थालिएको छ । यी सबै नेपाली फिल्मको सकारात्मक पाटो हुन् ।

सुधार गर्नुपर्ने पक्ष ?
अझैपनि प्रतिष्पर्धात्मक ‘वे’ मा नगइकन संख्यात्मक भन्दा गुणात्मक फिल्ममा जोड दिनुपर्छ । फिल्मलाई सहि मार्गमा डोर्‍याउने जिम्मेवारी पाउने फिल्मकर्मी तथा कर्मचारीहरुले आफ्नो कर्म के हो त्यसलाई कसरी निर्वाह गर्ने भने कुरामा अलिकति चासो दिनुभयो भने नेपाली फिल्म सही मार्गमा तिव्र गतिका साथ हिड्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
मनमा अभिनय गर्ने रहर छ भन्ने कुरा पहिलो फिल्म हेर्ने वित्तिकै भएको थियो । त्यतिबेला मेरो रुचिको क्षेत्र अभिनय रहेछ भन्ने महशुस गरेको थिए । सोही कारण यो क्षेत्रमा अगाडि बढ्न हौसीए ।

तपाईको फिल्म यात्रा शुरु भयो ?
फिल्म क्षेत्रमा अडिसन मार्फत नै आएको हुँ । मेरो पहिलो फिल्म ‘आँखा भित्रको फूल’ हो । सोही फिल्ममा गरेको काम देखेर उहाँलाई निर्देशक माओत्से गुरुङले फिल्म ‘शिरसुवा’मा अवसर दिनुभएको हो । अब विस्तारै आफुलाई अझै निखारता थप्नको लागि फिल्म मेकिङ सम्बन्धि अध्ययन गर्दैछु । अग्रजबाट केही कुरा सिक्दैछु ।

तपाईले देखेको सपना के छ ?
आफ्नो रुचिलाई कामम परिवर्तन गर्ने लक्ष्य हो । मलाई अभिनय, निर्देशन आदिमा रुचि छ । मेरो एक मात्र सपना भनेको मेरो पढाईलाई निरन्तरता दिदै मनले आँटेको पूरा गरेर सफल व्यक्ति बन्ने नै हो ।

‘शिरसुवा’ फिल्मबाटकस्तो प्रतिक्रिया पाउनुभयो ?
जतिपनि दर्शकले यो फिल्म हेर्नुभयो उहाँहरुले राम्रो प्रतिक्रिया मात्र नदिएर आगामी दिनमा समेत राम्रो गर्दै जानु भनेर हौसला दिनुभएको छ । उहाँहरुको आर्शीवादका कारण मेरो मनमा थप जोश बढेको छ ।

अन्तमा के भन्नुहुन्छ ?
सर्वप्रथम अवसर दिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद । अनि मेरो बारेमा गरिएको कुराकानी पढिदिने सबै प्रति नमन । सबैको साथ सर्पोट आगामी दिनमा समेत पाउने आशा छ ।
अर्को कुरा म कलाकारिता क्षेत्रमा मात्र नभएर म समाजसेवामा समेत आवद्ध छु । मलाई हरेक क्षेत्रको केही केही न ज्ञान लिन मनपर्छ । सधै सबैजनाको साथ पाउने आशा छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button