गुरुङ फिल्ममा निर्देशकका आ–आफ्नै समूह छन्: डिबी गुरुङ

सबैले चिन्ने कलाकार बन्न मन छ

पोखरा न्यूज सम्वाददाता । कलाकार धन बहादुर गुरुङको जन्म रुपा गाउंपालिका वडा नम्बर पाँचमा भएको हो । फिल्मी क्षेत्रमा डिबी गुरुङको नामले परिचित उहाँ हाल पोखरा १२ लाली गुराँस टोलमा बस्नुहुन्छ । लाहुरे परिवारमा हुर्किएपनि उहाँको रहर स्वदेशमानै केही गर्नमा रह्यो । परिवारबाट लाहुरे बन्न गरिएको आग्रह विभिन्न बहाना बनाएर उहाँले टार्नुभयो । कलाकारिताको माध्यमबाट आफ्नो भाषा संस्कृतिको संरक्षण गर्न लाग्नुभएका उहाँले २० भन्दा बढी गुरुङ फिल्ममा अभिनय गर्ने अवसर पाउनुभएको छ । यसका अलावा केही नेपाली फिल्ममा समेत काम गरिसक्नुभएको छ ।

झण्डै १३ वर्षको दौरानमा उहाँले विभिन्न फिल्ममा अभिनय गर्नु भएको छ । उहाँले अभिनय गरेका गुरुङ फिल्ममा आजी, नानु २, म्हि च्याबा, पुन्टे साइला, च्हा च्हमी, एलि, मनकाशी, सुराक, जुनि जुनि, नरे, मनको बाबरी, शिरसुवा, अन्जुली, गेट पास, म्हो, र्मुबे मुसार, सबन मु, म्ले क्यु, युके सुइटर, फिच्यो, नकई फू रहेका छन् । यसैगरी नेपाली फिल्म पुरानो ढुंगा, मिस्टर झोले, कबडी ३, दयारानीमा समेत उहाँले अभिनय गर्ने अवसर पाउनुभयो । केही म्युजिक भिडियोमा समेत काम गर्नुभएका उहाँले फिल्मी क्षेत्रका निर्माता तथा प्रोडक्सन मेनेजरको रुपमा समेत काम गर्नुभएको छ । गुरुङ फिल्म एशोशिएशन नेपाल जिफानमा आवद्ध समेत रहनुभएका कलाकार डिबीसँग यसपाली फिल्मी क्षेत्रसँग सम्बन्धीत केही प्रश्न सोधेका छौँ ।

तपाईले फिल्म कतिको हेर्नुहुन्छ ?
म फिल्म धेरै हेर्ने हेर्छु । आफै कलाकार भएकोले समेत फिल्म बढी हेर्छु । मौलीकता झल्किने तथा संस्कार, संकृतिलाई प्राथमिकता दिएका सत्य घटनामा आधारित फिल्म खेल्न र हेर्नक मेरो रोजाइमा पर्छ । बाल्यकालमा रमाइलोका लागि फिल्म हेर्ने गरेपनि अहिले धेरैजसो फिल्म सिक्नको लागिनै हेर्छु ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
मेरो पहिलो प्राथमिकता फिल्महल नै हो । यसका अलावा घरमा तथा विषेश सो हुने विभिन्न ठाउँमा पुगेर फिल्म हेर्ने गरेको छु । मोबाइलमा पनि उत्तिकै हेर्छु । पछिल्ला दिनमा कोरियन फिल्म, नेपाली फिल्म र हिन्दी फिल्म मोबाइलबाट हेर्ने गरेको छु । मैल फिल्म हेर्नुको लोभ भनेको समय पास गर्नु भन्दा केही न केही भएपनि नयाँ कुरा सिक्नको लागि हुने गर्दछ । सोही कारण फिल्म हेर्न म आर्कषित हुने गर्दछु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभुति कस्तो हुन्छ ?
घरमा एक्लै बसेर हेर्नु भन्दा हलमा आमदर्शकसँग बसेर फिल्म हेर्दा मज्जा हुन्छ । फिल्मलाई नजिकबाट बुझ्ने र दर्शकको प्रतिक्रियालाई नियाल्ने अवसर समेत हलमा मिल्छ । तर सधै हलमा जान सम्भव हुँँदैन । कति फिल्म हाम्रो पहुँचको हलसम्म आइपुग्दैनन् । अनि बाध्यताले घरमानै विभिन्न प्रविधिको माध्यमबाट फिल्म हेर्नुपर्नेहुन्छ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
बाल्यकालमा फिल्म हेर्नुपर्ने तर पैसाको भने अभावनै हुन्थ्यो । त्यो बेला हलमा फिल्म हेर्न गएपछि फिल्म हेर्ने मात्र नभएर खानेकुरा खान समेत मन लाग्थ्यो । पर्याप्त पैसा नहुँदा सस्तो टिकट र सिमित खाजा खाएर फिल्म हेरिन्थ्यो । यसरी फिल्म हेर्दा रमाइलो लाग्थ्यो ।
हलसम्म पुग्न सहज थिएन । नुन तेल बोक्न काम लिएर घरबाट हिडिन्थ्यो । घरबाट दुईघण्टा हिँडेपछि गगनगौडा आइन्थ्यो । तहाँबाट बस चढेर कहिले पृथ्विचोक त कहिले चिप्लेढुंगा झरिन्थ्यो । त्यसबेला प्रायः दिपज्योती हल र विन्ध्यवासीनी हलमा गएर फिल्म हेरियो । हलमा भिड हुन्थ्यो । फिल्म हेरेर जसरी पनि गाउँ फर्कनुपर्ने भएकोले ब्ल्याकमा टिकट काट्नसपर्ने बाध्यता हुन्थ्यो । २, ४ जना साथी मिलेर हलमा पुगिन्थ्यो । घर टाढा भएकोले भोली आएर हेरम भन्ने हुन्थेन । सायद त्यतिबेला स्पेशलको टिकट १६ रुपैयाँ थियो । धेरै फिल्म स्पेशलकै टिकट काटेर हेरियो । नुन तेल किन्ने बहानामानै घरबाट आएकोले घरमा फर्कदा नुन तेल लगायतका सामान बोकेर गइन्थ्यो ।

हलमा हेरेको पहिलो फिल्म ?
नेपाली फिल्ममा ‘साईनो’ हो । हिन्दी फिल्ममा ‘कयामत से कयामत’ थियो ।

मनपर्ने फिल्मी कलाकार ?
मलाई मनपर्ने कलकार माओत्से गुरुङ र दयाहाङ राई हुनुहुन्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
अहिले नेपाली फिल्ममा धेरै सुधार भएको छ । नेपाली फिल्ममा समय अनुकुल परिवर्तन भएको छ । सबैले फिल्ममा अवसर पाउन थालेका छन् । सबै जातजातीको अनुहार फिल्ममा देख्न पाइन्छ । मौलीक विषयवस्तुमा फिल्म निर्माण भइरहेका छन् । फिल्म खेल्न अनुहार, हाइट भन्दापनि अभिनय गर्ने क्षमता हेर्न थालिएको छ । यो नै नेपाली फिल्मको सकारात्मक पक्ष हो ।

सुधार गर्नुपर्ने पक्ष ?
अभिनय, कथा, प्रविधिमा समयानुकुल सुधार गर्दै जानुपर्छ । संख्यात्मक भन्दा पनि गुणात्मक फिल्म निर्माणमा जोड दिनुपर्छ । फिल्म उत्कृष्ट बनोस् भन्नेमा ध्यान दिएर टिम निर्माण गर्न सक्नुपर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर हुने थियो । सोही कारण नै म कलाकारिता क्षेत्रमा आएको हुँ ।

तपाईको फिल्म यात्रा शुरु भयो ?
सुरुमा रहरमानै यो क्षेत्रमा आए । प्रितम गुरुङको निर्देशन रहेको फिल्म ‘आजि’मा एक सिन मात्रको सानो रोल गर्न पाएको थिए । यसरी मेरो अभिनय सुरु भयो । त्यसपछि प्रितम जी कै ‘नानु २’ मा ३, ४ सिनको रोलमा देखिए ।

मैले म्हि च्याबा, पुन्टे साइला, च्हा च्हमी, एलि, मनकाशी, सुराक, जुनि जुनी, नरे, मनको बाबरी, शिरसुवा, अन्जुली, गेट पास, म्हो, र्मुबे मुसार, सबन मु, म्ले क्यु, युके सुइटर, फिच्यो, नकई फू आदि गुरुङ फिल्ममा काम गरिसके । कथा एउटै खालको भएको कारण केही फिल्म छोडे ।
नेपाली फिल्ममा पुरानो डुंगाबाट अवसर प्राप्त गरे । त्यसपछि मिस्टर झोले, कबड्डी ३, दयारानीमा समेत अभिनय गर्ने अवसर पाए ।

कस्तो रह्यो तपाईको फिल्मी अनुभव ?
धेरै कुरा सिक्न पाएको छु । अनुभवले निखारिने प्रयासमा छु । गर्नुपर्ने र सिक्नुपर्ने धेरै छ । अब धेरै कुरा सिकेर बुझेर अगाडि बढ्छु । ८, १० वटा फिल्म खेल्दा सम्म मैले धेरै कुरा बुझेको थिईन । किनकी रहरै रहरमा फिल्म खेलेको थिए । क्यामराको एगंल थाहा थिएन । स्क्रिफ्ट भन्ने थाहा थिएन । क्यामरा, रोल, एक्सन भनेको छ, मैलै खासै बुझ्ने थिइन । तर अहिले फिल्म, स्क्रिफ्ट, क्यारेक्टरबारे बुझ्न थालेको छु । आफ्नो क्यारेक्टर के हो भन्ने थाहा पाउने गरेको छु ।

२५ वर्षको इतिहास बनाइसकेको गुरुङ फिल्मले आशातित सफलता नपाउनुको कारण के होला ?
गुरुङ फिल्ममा निर्देशकका आ–आफ्नै समूह छन् । एउटा कलकारले एउटै निर्देशक वा टिमसँग फिल्म खेल्ने चलन बढी देखिन्छ । यो गलत हो जस्ता लाग्छ मलाई । कलाकार सार्वजनिक हुनुपर्छ । सबैको हुनुपर्छ भन्ने मेरो बुझाई हो । हामी कलाकार एउटाको मात्र हुनु हुँदैन । मैले १० जना फरक–फरक निर्देशकसँग काम गरिसकेको रहेछु । अझ यो १२, १३ वर्षको दौरानमा संख्यात्मक रुपमा धेरै फिल्ममा आवद्ध भएको म रहेछु । गुरुङ फिल्मले आशातित सफलता पाउन एउटा टिममा मात्र सिमित नबनी सबै मिलेर अगाडि बढ्नुपर्छ । कुनै ठाउँ विशेष तथा समूह विषेशमा मात्र रमाउँदा समस्या भएको हो । अब यसबाट माथी उठ्नुपर्छ । यसको लागि गुरुङ फिल्म एशोशिएशन नेपाल जिफानले सकारात्मक भुमिका निभाउने प्रयास गरिरहेको छ ।

तपाईले देखेको सपना के छ ?

सबैले चिन्ने कलाकार बन्न मन छ । यो सपना पुरा हुन अझै बाँकी छ । फिल्म क्षेत्रमानै निरन्तर लागेर असल सबैले चिन्ने कलाकार बन्न पाउछुकी भन्ने सपना मनमा बोकेको छु । सम्भव होला नहोला भविष्यले बताउला । यही क्षेत्रमा निरन्तरता दिने भनेरनै विदेश पलायन नभइकन आफ्नै ठाउँमा बसेको छु ।

गुरुङ फिल्म किन हेर्ने ?
गुरुङ फिल्ममा भाषा, संस्कार, संस्कृतीको बारेमा जान्न पाइन्छ । अधिकांश फिल्मले मौलीकतालाई ध्यान दिएका छन् । नेपाली संस्कार र संस्कृती जोगाउन तथा जान्नका लागि समेत गुरुङ फिल्म गुरुङ तथा गैरगुरुङ सबैले हेर्नुपर्छ । फिल्म समाजको ऐना भएकोले समाज बुझ्न समेत फिल्म हेर्नुपर्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button