साङ्गीतिक क्षेत्रबाट लोकप्रियता कमाउने सपना छ : सुष्मा ठकुरी

दोहोरी साँझलाई पाठशाला बनाउने कोसिस गरे

पोखरा न्यूज । लोक दोहोरी गायिका सुष्मा ठकुरीको जन्म तनहुँ जिल्लाको भिमाद नगरपालिका वडा नम्बर ९ भानुमती अस्पाग्दि भन्ने ठाउँमा भएको हो । बाल्यकाल देखिनै गीतसङ्गीत प्रति रुचि राख्ने उहाँले हालसम्म एक दर्जनभन्दा बढी गीतमा आवाज भरिसक्नुभएको छ ।
उहाँले आवाज भरेको पहिलो गीत ‘एउटा साथी छ’ हो । यो गीत मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको थियो । आवाजमा उहाँलाई सागर विरही र शान्ता परियारले साथ दिनुभएको छ । सुष्मालेनै लय शब्द सिर्जना गरेको यो गीतमा उहाँको अभिनय समेत हेर्न पाइन्छ ।
उहाँका जुन तारा झलमल, हे सानु हे माया, पञ्चेबाजा लगनको महिनाले, ओए बुढा तीज गीत, चालेका पाइला आदि गीत चर्चामा छन् । उहाँका केही गीत भिडियो निर्माणको क्रममा छन् ।

दोहोरी साँझको माध्यमबाट समेत उहाँले आफ्नो प्रतिभा देखाउनुभयो । यसरी प्रस्तुति राख्दा पाएको साथ सर्पोटले उत्साह मात्र थपिएन निखारिने अवसर समेत मिल्यो । विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै दर्शकको माया बटुल्नु भएको छ । उहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल तनहुँ जिल्ला कार्यसमितिको सदस्य समेत हुनुहुन्छ । यसपालि लोक दोहोरी गायिका सुष्मा ठकुरीसँग हामीले साङ्गीतिक यात्राको बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईँको साङ्गीतिक यात्रा कसरी शुरु भयो ?
मेरो साङ्गीतिक यात्रा रहरै–रहरमा सुरु भएको हो । मैले सानै उमेरमा विवाह गरेको थिए । विवाह गरेको एक वर्षमा बच्चाको जन्म भयो । बच्चाले स्कुल पढ्न थालेपछि मेरो समय खाली भयो । र, उमेर छदै केही गर्नुपर्छ भन्ने मेरो मनमा कुरा खेल्न थाल्यो । सानो–ठुलो जस्तो भए पनि जागिर खान्छु भने सिलसिलामा हिँड्दै गर्दा यात्रा साङ्गीतिक क्षेत्रतर्फ मोडिन पुग्यो । यो मेरो रुचिको विषय थियो ।

कस्ता गीत गाउन मन पर्छ ?
म लोकदोहोरी गायिका भएकोले मलाइ लोक तथा दोहोरी गीत नै गाउन मन पर्छ ।

बाल्यकालमा गीतसङ्गीत कसरी सुन्नुहुन्थ्यो ?
बाल्यकालमा विशेष गरी हाम्रो गाउँ घरतिर रेडियो सुन्ने चलन थियो । सोही कारण रेडियो मार्फत नै गीतहरू सुन्ने गर्थे ।

तपाईँलाई मन पर्ने गायक तथा गायिका ?
मेरो लागि म भन्दा अग्रज सबै गायक, गायिका ज्युहरू सम्पूर्ण उत्तिकै महत्त्वपूर्ण हुनुहुन्छ र उहाँहरू प्रति नतमस्तक भएर सम्मान गर्न चाहन्छु । र, अझै मलाई धेरै मन पर्ने गायकमा भगवान् भण्डारी र गायिकामा बिमा कुमारी दुरा हुनुहुन्छ ।

साङ्गीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
धैर्य भएर सङ्घर्ष गर्न सकियो भने साङ्गीतिक क्षेत्रले रोजीरोटी अवश्य दिन्छ । यो मेरो अनुभव समेत हो ।

तपाईँले देखेको सपना ?
साङ्गीतिक क्षेत्रबाट लोकप्रियता कमाउँछु भन्ने मेरो सपना हो ।

नेपाली साङ्गीतिक क्षेत्रका सकारात्मक कुरा ?
हामी गीत सङ्गीतको बारेमा त्यतिकै विश्लेषण गर्न सक्दैनौ । यो बृहत् कुरा हो । हाम्रो नशा–नशा गीत सङ्गीतले भरिएको छ । जब हामीलाई दुःख पर्छ हाम्रो साथी गीतसङ्गीत बनिदिन्छ । फेरि कति धेरै प्रतिभा भएका कलाकारहरूले देश नछोडी स्वदेशमै स्वर्ग जस्तै जीवन जिउनु भएको छ । साङ्गीतिक क्षेत्रमा भविष्य देखेर हिड्नेहरु संगीत क्षेत्रका माध्यमबाटै खुसी भएर बाच्न सक्नु नेपाली साङ्गीतिक क्षेत्रको सकारात्मक पाटो हो । अर्को कुरा गीतसङ्गीतले हाम्रो लोकसंस्कृतिलाई सबैमाझ चिनाएको छ ।

नेपाली साङ्गीतिक क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?
पछिल्लो समयमा युट्युबकै लागि मात्र नभएर भाइरल देखि लिएर भ्युवर्सको लोभ लालचमा खिचिएका केही लाइभ दोहोरीहरूमा कहीँ–कतै अति अश्लील शब्दहरू प्रयोग गरिएको भेटाउँछु । आफू पनि त्यही क्षेत्रमा सङ्घर्ष गरिरहँदा मन साह्रै दुख्दो रहेछ । केही व्यक्तिहरूले अलिकति छाडापन देखाउनु हुन्छ । सकेसम्म यो कुराको सुधार भएको हेर्न र सुन्न पाए सम्पूर्ण नेपालीहरू आभारी हुने थियौँ ।

आफूमा निखारता कसरी थप्दै आउनुभएको ?
गीत संगीतमा लगाव र झुकाव भएपछि गाउँदा गाउँदै, सुन्दा सुन्दै आफै निखारता थपिँदै जाने रहेछ । विशेष गरी त मैले दोहोरी साँझलाई पाठशाला बनाउने कोसिस गरे । दोहोरी साँझले नै धेरै कुरा बुझ्न, जान्न मद्दत ग¥यो ।

संगीत क्षेत्रबाट पाएका कुरा ?
धेरै अग्रजदेखि समकालीन साथीभाइको माया, दर्शक श्रोताहरूको माया सद्भाव, सम्मान पाएको छु । केही मात्रामा जीवन चलाउने आर्थिक श्रोत समेत मलाई सङ्गीतले नै दिएको हो ।

संगीत क्षेत्रबाट गुमाएका कुरा ?
साङ्गीतिक क्षेत्रको सुरुवात गर्दा केही आफन्तको साथ सर्पोट र सहयोग गुमाएको थिए । अहिले बिस्तारै सबैको मन जित्दै गएको छु ।

अबका योजना के छन् ?
अबका भावी योजना भनेको समेत निरन्तर गीत संगीतमा नै सङ्घर्ष गर्ने हो ।

तपाई त टिकटकमा समेत उतिकै एक्टिभ देखिनुहुन्छ नि ?
हो, टिकटकमा समेत म ठिकै एक्टिभ छु, बिचको समयमा भिडियो पोस्ट नगर्नाले अहिले अलिक भ्युज् कम छ, पहिला एक मिलियन भ्युज् पनि क्रस गरेको थियो ।

अन्त्यमा के भन्नुहुन्छ ?
मेरोबारे यति धेरै कुराहरू सोधपुछ गर्दिनुभएकोमा पोखरा न्यूज प्रति आभारी छु, सधैँभरि यस्तै साथ अनि सपोर्ट पाउँछु भन्नेमा आशावादी छु । अनि सबै जना श्रोता दर्शकलाई मेरा गीत सुनेर, हेरेर प्रतिक्रिया दिन आग्रह गर्छु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button