ब्रिटिश गोर्खाले फेरी आन्दोलन गर्ने

पोखरा न्यूज सम्वाददाता । बेलायती सेनाका भूतपूर्व सैनिकहरुले फेरी आन्दोलन गर्ने भएका छन् । बेलायती सेनामा रहेका बेलायती नागरिक र नेपाली नागरिकबीच भइरहेको भेदभावका विरुद्ध आन्दोलन गर्दै आएको ब्रिटिश गोर्खाहरुको संघर्ष समितिले पुनः आन्दोलन चर्काउने भएको छ ।

ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त समिति यु.के. नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी विभेदकारी मुद्दा सदाको लागि समाधान गर्न नेपाल सरकार र ब्रिटिश सरकारको ध्यानाकर्षण गराएको छ । पत्रकार सम्मेलनमा समितिका सचिव पुष्पा राना घलेले आगामी मे महिनाको शुरुमै बेलायती सरकारलाई अल्टिमेटम पत्र जाहेर गर्ने र तोकिएको मिति भित्र सकारात्मक जवाफ नआए जुन महिनाको शुरुमा अन्तर्राष्ट्रिय कानूनविदहरुको सम्मेलन गर्ने र जुलाइको पहिलो हप्ताबाट रिले भोक हड्ताल बस्ने बताउनुभयो । त्यसपछि पनि आफूहरुका मागहरुको सुनुवाई नभए अर्को बृहत सत्याग्रह गर्ने र अन्तर्राष्ट्रिय निकायहरुमा मुद्दा दायर गर्न बाध्य हुने बताउनुभयो ।

बेलायती सेनाका भूतपूर्व सैनिकहरुले आफ्नो समान अधिकार प्राप्तिका लागि २०१३ मा १५ दिने सत्याग्रह गरेको थियो । त्यसैगरी २२ मार्च २०१८ मा संयुक्त प्राविधिक प्रतिवेदन सरकारलाई बुझाएको थियो । नेपाल सरकारले पनि ब्रिटिश सरकारलाई १२ फेब्रुअरी २०२० मा वार्ता गर्न पत्र पठाएको थियो तर ब्रिटिश सरकारले कुनै सकारात्मक कदम नचालेकाले आफूहरु फेरी आन्दोलित हुन बाध्य भएको भूतपूर्व गोर्खा सैनिकहरुले बताएका छन् । उनीहरुले अग्रपङ्तीमा रहेर ब्रिटिश स्वार्थको लागि जीवन बलिदान दिने गोर्खा सैनिक माथिको विभेदपूर्ण व्यवहार स्पष्टतथ्य, अपहेलित र खेदजनक भएको समेत बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button