मच्छिममा गाउँघर क्लिनिक भवन निर्माण

पोखरा न्यूज । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा गाउँघर क्लिनिक भवन निर्माण भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजनाअन्तर्गत कदम म्याग्दी र गाउँपालिकाको सहयोगमा भवन निर्माण भएको हो । भवनको सोमबार धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो ।

एकतले दुईकोठे भूकम्प प्रतिरोधी क्षमताको भवन बनाउन गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा रु पाँच लाख र परियोजनाले कदम म्याग्दीमार्फत रु सात लाख विनियोजन गरेको थियो । निर्माण सामग्री, फर्निचर खरिद र मजदुरको ज्यालामा गाउँपालिका र परियोजनाको बजेट खर्च भएको छ । जग्गा सम्याउन, पर्खाल लगाउने ढुङ्गा ढुवानी गर्ने काममा १०७ घरधुरीले प्रतिघर चार/चार दिनका दरले श्रमदान गरेको उपभोक्ता समितिका सचिव वीरबहादुर छन्त्यालले बताउनुभयो । भवन निर्माणपछि विद्यालयको कोठा, व्यक्तिका घर र चौतारामा बसेर बालबालिकालाई खोप लगाउनुपर्ने समस्याको अन्त्य भएको छ । हरेक महिनाको एक दिन टोलमा पुगेर सेवा दिने स्वास्थ्यकर्मी र सर्वसाधारणलाई पनि सहज भएको छ ।

सामुदायिक विकास परियोजनामार्फत यसअघि धवलागिरि–६ बुल, वडा नं ४ बगर र वडा नं २ खोरियामा खोप केन्द्रको भवन निर्माण भएको थियो । भवन उद्घाटन कार्यक्रममा जग्गादातालाई सम्मान गरिएको थियो । हजार दिनका आमासँग गाउँपालिका अध्यक्ष कार्यक्रमअन्तर्गत गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चाका आमालाई अण्डा पनि वितरण गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button