थिएटरले बाँच्न सिकाउँछः प्रमोद अग्रहरी

दाइहरुले जर्वजस्ती कलाकार बनाइदिनु भयो

पोखरा न्यूज सम्वाददाता । अभिनेता प्रमोद अग्रहरीको जन्म नवलपरासीको परासीमा भएको हो । बाल्यकालमा नृत्यतर्फ रुचि राख्ने उहाँ मार्सल आर्ट खेलतर्फ उतिकै आर्कषित हुनुहुन्थ्यो । उहाँको कलाकारिता यात्रा म्युजिक भिडियोबाट सुरु भयो । म्युजिक भिडियोमा काम गरेपछि उहाँमा कलाकार बन्ने हुटहुटी बढ्यो । फलस्वरुप कलाकारिताको बारेमा ज्ञान थप्न दिल्लीदेखि मुम्बइसम्म उहाँ पुग्नुभयो ।

भारतको नेसनल स्कुल अफ ड्रामा (एनएसडी) मार्फत उहाँले अभिनयको ज्ञान र अनुभव बटुल्नुभयो । त्यहाँ रहँदा विभिन्न नाटक मार्फत आफ्नो क्षमता उहाँले देखाउनुभयो । भारतबाट नेपालमा फर्किएपछि पुनः उहाँ अभिनयकै क्षेत्रमा क्रियाशील बन्न खोज्नुभयो । नाटकमा मात्र नभएर फिल्मी क्षेत्रमा समेत सक्रिय बन्नु भएका अग्रहरीको कलाकारिता क्षेत्रको यात्रा निरन्तर जारी रहेको छ ।

उहाँले हालसम्म झण्डै २० वटा नेपाली फिल्ममा काम गरिसक्नुभएको छ । कामको हिसाबले ‘गुड वाई काठमाण्डौं’ उहाँको पहिलो फिल्म थियो । रिलिजको हिसाबले ‘उमा’ फिल्म पहिलो बन्यो ।अहिले उहाँ ‘ए’ भन्ने फिल्मको छायाकंनमा व्यस्त हुनुहुन्छ । विभिन्न म्युजिक भिडियो मार्फत समेत आफ्नो अभिनय क्षमता देखाइसक्नुभएको छ । ‘सिंहदरवार’ टेलिफिल्म मार्फत समेत धेरैले चिने । उहाँकै लेखनमा चाँडै फिल्म निर्माण समेत हुने भएको छ । कलाकारिता क्षेत्रका केही महत्वपूर्ण अवार्ड समेत उहाँले जितिसक्नुभएको छ । यसपाली हामीले अभिनेता प्रमोद अग्रहरीसँग फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाई फिल्म कतिको हेर्नुहुन्छ ?
मेरो समग्रमा फिल्म हेर्ने बानी कम छ । म फिल्म हेर्न खासै मनपराउदिन । तर, नेपाली फिल्म भने हेर्छु ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
बाल्यकालमा घरमा भिसिआर भएकोले चक्का ल्याएर फिल्म हेरियो । अक्कल झुक्कल टिभीमा हेरें । बाल्यकालमा बढी फिल्म हलमा नै पुगेर हेरें । अहिले साथीहरुले प्रिमियरमा नै बोलाउनुहुन्छ, प्रिमियर मार्फत नै बढी फिल्म हेर्छु । व्यस्त भएर प्रिमियर मार्फत हेर्ने अवसर मिलेन भने हलमा गएर हेर्छु । युट्युब लगायतका माध्यमबाट भने फिल्म हेर्दिन ।

आफैले फिल्म हेर्दा र अरुले फिल्मको कहानी भन्दाको अनुभूति कस्तो हुन्छ ?
अरुले फिल्मको कहानी भन्दा विश्वास लाग्दैन । किनकि विश्वास आफ्नै आँखाले हेर्दा मात्र गरिन्छ । सोही कारण अरुले भनेको सुन्दा र आफूले प्रत्यक्ष हेर्दा धेरै फरक हुन्छ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
म परासीबाट ९ किलोमिटर सुनौल गएर फिल्म हेर्थे । राजेश हमालको फिल्म ‘अधिकार’ लगायतका फिल्म सुनौल गएर हेरेको थिए । घरबाट ११ किलोमिटर टाढा इन्डियाको बोर्डर गएर समेत फिल्म हेरे । फिल्म हेर्नको लागि गोरखपुरसम्म पुग्थे ।

पढाइ पनि बाहिर बाहिर होस्टेलमा नै भयो । म टेलिभिजनसँग त्यति नजिक भने भइन । बाल्यकालमा हिन्दी सिरियलहरु लगायतका केही कार्यक्रम टिभीमा हेर्थे । घरमा हुँदा कहिलेकाही मन परेको खण्डमा टिभीमा फिल्म समेत हेरिन्थ्यो । तर मलाई टिभी हेर्न गाह्रौ नै हुन्थ्यो । घरमा भिसिआर भएकोले चक्का ल्याएर केही फिल्म हेरियो ।

हलमा हेरेको पहिलो फिल्म ?
ठ्याक्कै त्यस्तो छैन, सोही कारण मैले हलमा पहिलो फिल्म यो हेरेको थिए भनेर नाम बताउन सकिन । तर टिभीमा ‘परालको आगो’ हेरेको हुँ जस्तो लाग्छ ।

मनपर्ने फिल्मी कलाकार ?
नेपाली फिल्ममा काम गर्ने सबै कलाकार राम्रो लाग्छ । त्यसमध्येमा सौगात मल्ल मलाई उत्कृष्ट लाग्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
सबै मिलेर काम गर्छौ । दुःख सुःख भन्ने कुरा यस्तै हो । हामीले बलिउड वा हलिउडसँग तुलना गर्न सक्दैनौ । एउटा सिमित बजेटमा, सिमित ठाउँमा बसेर जसरी काम गरिरहेका छौँ हाम्रो आफ्नो जनसंख्याको हिसाबले, दर्शकको सहभागिताको हिसाबले हेर्दाखेरी हामीले आँटिरहेका छौँ । काम गरिरहेकै छौँ । भाइचार बढी हुन्छ हाम्रो सेटहरुमा । यिनै चिजहरु मलाई मनपर्छ ।

सुधार गर्नुपर्ने पक्ष ?
सुधार जहाँ पनि गुर्न नै पर्छ । सन्तुष्ट कहिल्यै हुन सकिदैन । सबैजना मिलेर राम्रो गर्न लागिपर्नुपर्नेछ । सबैलाई अपनत्व हुने खालको नेपाली फिल्म बनाउन अगाडि बढ्नुपर्छ । गर्वका साथ भन्न सकौ म नेपाली फिल्मको कलाकार हुँ भनेर । यस्तो खालको टिमले बनाएको हो सबैले हेरौ भनेर भन्ने खालका फिल्म बनाउन सकौं । ती फिल्महरु अन्तराष्ट्रिय बजारमा पुर्‍याउन सकौ । तर, हामी निरास हुनुपर्ने अवस्थामा छैनौ प्रयास भइरहेको छ । हामी सहि ट्रयाकमा छौँ । विस्तारै अपग्रेड गर्दै अगाडि बढ्नुपर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
मलाई कलाकार बन्नु नै थिएन पहिला त । कारण के भने म मार्सल आर्टको खेलाडी थिए । खेलाडी भएको नाताले मार्सल आर्टतर्फ नै बढी रुचि थियो । घरमा आफ्नै व्यापार थियो । भोलिको दिनमा यहीं नै गरिन्छ भन्ने थियो । सोही कारण फिल्म हेर्दा कलाकार बन्ने रहर पलाएन ।

तर सानोमा नाच्ने काम भने गरिन्थ्यो । सौगातले नाटक गरिरहेको हुन्थ्यो म नाचिरहेको हुन्थे । इन्दिरा जोशीले गीत गाउथ्यो । हामी तीनजना चार कक्षासम्म एउटै स्कुलमा पढेको हो । त्यस्तो रुचि थियो । तर कलाकार बन्छु भन्ने थिएन ।

तपाईको फिल्म यात्रा शुरु भयो ?
दाइहरुले जर्वजस्ती कलाकार बनाइदिनुभयो । बुटवलमा एकजना दाइ हुनुहुन्थ्यो विरेन्द्र अग्रहरी । उहाँ गायक हुनुहुन्थ्यो । उहाँले थुप्रै नेपाली फिल्ममा आफ्नो आवाज दिनुभएको थियो । दाइकै एलबम ‘घिन्ताङ’का लागि भिडियोमा खेलिदिुनुपर्‍यो भन्नु भयो । त्यतिबेला सायद म १२ कक्षा पढ्थे । तैले नै खेल्नुपर्छ भनेर मलाई जर्वजस्ती फसाए । मेरो दिमागमा अभिनयको भुत हालिदिए ।

भिडियोमा काम गर्दा जुन टिम थियो उनीहरुले तिमीले अभिनयको बारेमा पढ्यौ भने राम्रो कलाकार बन्न सक्छौ भनेर हौसला दिनुभयो । त्यही हौसलाले मलाई दिल्लीदेखि मुम्बइसम्म पुर्‍यायो । त्यसपछि नेपाल फर्किए । सन् २००९ मा नविन सुब्बा दाइको गुड वाई काठमाण्डौँमा काम गरे । त्यतिबेला ३, ४ महिना फ्रि थिए र एक्टर्स स्टुडियो जोइन्ड गरे । मैले अनुप बरालजीको बारेमा दिल्लीमा सुनेको थिए । उहाँलाई भेट्नुपर्ने थियो । मैले पहिलोपटक भेट्दा ‘ढुंगा खोज्दा देउता पाएजस्तो भयो’ भनेर उहाँलाई भनेको थिए । मेरो पहिलो अडिसन लिने अनुप बराल नैै हुनुहुन्थ्यो । यसरी नै यात्रा सुरु भयो ।

खेलाडी बन्ने, व्यवसायी बन्ने रहर बाँकी छ कि छैन ?
अहिले छैन । कलाकार बन्ने हुटहुटी बढेपछि खेलाडी, व्यवसाय लगायतका कुरा विर्सिदै गए । अभिनयमा नै केही गर्ने संकल्पका साथ अगाडि बढे । सोही कारण यहीं फिल्डमा करियर बनाउने खोजे ।

अहिलेसम्म कतिवटा फिल्ममा काम गर्नुभयो ?
हासम्म झण्डै २० वटा फिल्मममा काम गरें । कामको हिसाबले गुड वाई काठमाण्डौ मेरो पहिलो फिल्म थियो । रिलिजको हिसाबले उमा पहिलो बन्यो । अहिले ‘ए’ भन्ने फिल्मको छायाकंन भइरहेको छ यसमानै व्यस्त छु । भोमन कटुवाल हुनुहुन्छ यसको निर्देशक हुनुहुन्छ । यो बाहेक केही फिल्ममा अनुबन्ध भएको छु ।

तपाईले देखेको सपना ?
यहीं नै हो । यहीं फिल्डमा काम गर्ने हो । राम्रो काम गर्दै जाउ । सबैको माया पाउँ ।

तपाई त थिएटरबाट आएको कलाकार थिएटर र फिल्ममा कस्तो भिन्नता हुन्छ ?
मलाई थिएटरले बाँच्न सिकाउँछ । हुनत फिल्ममा पनि क्यामरा अगाडि एक्सप्रेसनै गर्ने हो । तर जुन डिसिपिलिन, जुन रेक्सपेक्ट मलाई थिएटरले सिकाएको छ । त्यो कता–कता फिल्ममा पाइदैनकि जस्तो लाग्छ । हुनत थिएटरकै कारण मलाई क्यामराको अगाडि काम गर्न सजिलो भने हुन्छ ।

तपाईको थिएटर अनुभव पनि भन्नु न ?
म थिएटरबाट आएको कलाकार हुँ । भारतमा एनएसडिमा काम गरे । २००७ देखि तहाँ नाटक गरेको थिए । नेपालमा आएपछि एकटर्स स्टुडियोमा पनि काम गरे । मण्डला, सिल्पीमा फ्रिलाइन्सरको रुपमा काम गरिरहेकै हुन्छु । धेरै नाटकमा काम गरिसके । दुईवर्ष भयो नाटकहरु गर्न पाएको छैन ।

तपाईकै स्क्रिप्टमा फिल्म बन्ने तयारी कहाँ पुग्यो ?
स्क्रिप्ट सकायौं । यतिबेला एकदूई वटा फिल्ममा काम गर्दैछु । यो सकेपछि बल्ल मेरो स्क्रिप्टको फिल्म फ्लोरमा जान्छ । जसको लागि कास्टिङ पनि लगभग फाइनल गरिसकेका छौ ।

कस्तो फिल्म बन्ला ?
त्यो तर रमाइलो पो हुन्छ त । तर मैले केही भन्दिन तपाईलाई । केही कुरा सस्पेन्स नै ठीक हुन्छ के । मैल स्क्रिप्ट लेख्दै गर्दा नै कलाकारलाई स्क्रिप्ट पठाइदिएको हुन्थे । उहाँहरुले सुझाब दिुनुहुन्थ्यो । सबैलाई मनपरेको छ कथा । सबैलाई एक खालको इनर्जी आएको छ । आशा गराै राम्रै बन्ला ।

कलाकारिता क्षेत्रबाट पाएको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ ?
म आफूले गरेको आम्दानीबाट खुशी छु । हुनत कोरोनाका कारण बिचमा केही समय काम गरिएन । अहिले ठिकै छ । काठमाण्डौंमा भाडामा बसेर नै सर्घष गरिरहेको छु ।

अन्त्यमा के भन्नुहुन्छ ?
मेरो कुरा दर्शक तथा फ्यानहरुको माझमा पुर्‍याइदिनुभएकोमा धन्यवाद । सबैले सर्पोट गरिदिनुभएको छ खुशी लाग्छ । नेपाली फिल्मका कलाकार, निर्माता, निर्देशक सहित नेपाली फिल्म उद्योगलाई सधै माया र साथ दिनुहोला भन्ने आग्रह गर्दछु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button