
पोखरा न्यूज सम्वाददाता । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुदै गएको बताउनुभएको छ ।
शनिबार पुनर्निर्मित ऐतिहासिक धरहराको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्तिहरु कमजोर हुदै गएको बताउनुभएको हो । नयाँ शासकीय व्यवस्थासंगै लोकतन्त्र सुदृढ हुदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरु कमजोर हुदै बताउनुभयो ।
उहाँले भन्नुभयो “लोकतन्त्र सुदृढ हुदै गएको छ । लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु कमजोर हुदै गएका छन् र विभिन्न प्रकारले देश, जनता, विकास, सम्मृद्धि र जनताको सुखसंग मतलब नभएका स्वार्थमा तल्लिन तत्वहरु छटपटाईरहेका छन् ।”
धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उहाँले आआफ्ना घरमा साँझ दिपावली गर्न सबैलाई आव्हान गर्नुभयो । पुर्ननिर्माणका काममा कोभिडले केही असर गरेपनि आवश्यक सर्तकता अपनाउदै सरकारले विकास निर्माणका कामलाई निरन्तरता दिईएको र निरन्तर प्रयासले नै धरहराको पुनर्निमाण सम्पन्न भएको तर्क उहाँले गर्नुभयो । उहाँले महाभुकम्पको समयमा धरहरा भत्किएर जीवन गुमाएका सदस्यको परिवारलाई धरहराको संरचना भित्र कामगर्न पाउने गरि प्रतिपरिवार एक जनाका दरले रोजगारी उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।
वर्तमान सरकारले सम्मृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय अभियान अन्र्तगत कोहि पनि भोकै नरहने गरि नेपाललाई विकसित राष्ट्र बनाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले धरहरा निर्माणले नेपालीले चाहे सबै गर्न सक्छन् भन्ने सन्देश पनि दिएको उल्लेख गर्दै अब राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रुपमा उभ्याउनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले भन्नुभयो “देश हामीले बनाउने हो र हामी बनाउन सक्छौ । नेपाली जाती भिख माग्ने होइन दाता जाति हो र यसलाई दाताको हैसियतमा उठाउनुपर्छ । हामीले हाम्रो राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रुपमा उभ्याउनुपर्छ ।”
आफूलाई आवश्यक पर्ने वस्तुहरुको उत्पादन आफैले गर्नुपर्ने र आयातमुखी नभई उत्पादनमुखी बन्नुपर्ने उल्लेख गर्दै उहाँले त्यही बाटोमा सरकार अघि बढेको बताउनुभयो । सरकारले २०७८ सालभित्र काठमाण्डौको सडकबाट मगन्ते, भिखारी र सडकबालबालिका मुक्तको अवस्थामा पुर्याउने दोहोर्याउनुभयो । उहाँले ३९६ वटा अस्पताल निर्माण सुरु गरिएको, मेलम्चीको पानी काठमाण्डौ आएको, तराईमा सिंचाईका काम लगायत विकास निर्माणका कामहरु भईरहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीले धरहरालाई व्यापारिक कम्प्लेक्सको रुपमा बनाउन लागियो भन्ने भनाइमा सत्यता नभएको भन्दै सबैको साझा विश्रामस्थलको रुपमा धरहरालाई कायम राखिने आश्वासन दिनुभयो । उहाँले भुकम्पको ६ बर्ष पुग्दै गर्दा पुर्ननिर्माणका कामहरु प्रभावकारी ढंगले भएको बताउनुभयो । उहाँ ९३ प्रतिशत व्यक्तिगत घरहरुको निर्माण कार्य सकिएको पनि जानकारी दिनुभयो ।





