सांगीतिक क्षेत्रमा व्यस्तता बढाउदै ममता गुरुङ

नेपाल आइडलले धेरैमाझ चिनाइदियो

पोखरा न्यूज सम्वाददाता । गायिका ममता गुरुङको जन्म पोखराको अर्चलबोटमा भएको हो । विभिन्न प्रतियोगीतामा भाग लिएर आफ्नो प्रतिभाको माध्यमबाट उहाँ संगीतपारखी माझ परिचित हुनुहुन्छ । तेस्रो संस्करणको नेपाल आइडलमा उत्कृष्ट नवौसम्म पुग्नुभएकी ममताको व्यस्तता अहिले ह्वात्तै बढेको छ ।

फलस्वरुप दर्शक श्रोतामाझ निरन्तर उहाँको आवाजमा सांगीतिक कोसेलीहरु आइरहेका छन् । हालसम्म उहाँले आवाज भरेका गीतको संख्या ६० नाघिसक्यो । यसपाली हामीले गायिका ममता गुरुङसँग सांगीतिक यात्राको बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईको सांगीतिक यात्रा कसरी शुरु भयो ?
बाबाले पहिल्यैदेखि संगीत सिक्ने गर्ने भएकोले घरमा सांगीतिक वातावरण थियो । पोखरामा विग एफएमले आयोजना गर्ने विग आइकन प्रतियोगीता हुन्थ्यो । पहिला–पहिला मामाहरुले समेत यो प्रतियोगीतामा भाग लिनुभएको थियो । सोही कारण मलाई समेत प्रतियोगीतामा भाग लिन मनलाग्यो । जसका लागि बाबाले मलाई अञ्जु पन्तले गाउनुभएको एउटा मात्र गीत सिकाउनु भएको थियो । सोही गीत तयारी गरेर पाँचौ विग आइकनको अडिसनमा गए । तर म छनोट हुन सकिन । सुरुमा नै आउट भए ।

आउटभएपछि सेलेक्ट भएर देखाउँछु भन्ने मनमा भयो । अर्को वर्ष फेरि गर्छु भन्दै तयारी गर्न थाले । अनि दोस्रोपटक छैटौ विग आइकनमा अरुणा लामाले गाएको ‘पोहोर साल’ गीत गाउदै अडिसन मार्फत अघिल्लो चरणको लागि सेलेक्ट भए । सेलेक्ट भइसकेपछि अगाडिको राउण्डमा समेत छनोट हुन पाए भन्ने मनमा लाग्थ्यो । जसका लागि एउटा–एउटा गीत गर्दै बाबाले प्राटिक्स गराउदै जानु भयो । सबैभन्दा कान्छी प्रतियोगीको रुपमा म उत्कृष्ट आठसम्म पुगेपनि तहाँबाट अगाडि बढ्न सकिन ।

मैले राष्ट्रिय स्तरको सुरसाला आइडल जुनियर भन्ने प्रतियोगीतामा भाग लिए । यो प्रतियोगीताको टप फाइभ फाइनलिष्ट बनेको थिए । अर्को फस्ट स्कुल कम्पिटिसन थियो । त्यसमा तेस्रो भएकी थिए । गण्डकी तारामा समेत भाग लिए । भारतमा आयोजना भएको सारेगमकोमा भाग लिए । नेपालबाट डाइरेक्ट सेलेक्ट भएर गएको थिए । त्यता अडिसन दिएर आएपछि ठ्याक्कै एसईई भएकोले उता छोडे । तेस्रो संस्करणको नेपाल आइडलमा भाग लिएपछि उत्कृष्ट नौसम्म पुगे । यसरी मैले धेरै प्रतियोगीतामा भाग लिए ।

नेपाल आइडलमा तपाईको लक्ष्य के थियो ?
मेरो उपाधि चुम्ने लक्ष्य थिएन । टप टेनमा पर्छु भन्ने थियो । भोटिङ सुरु भएपछि भोटिङले आउट हुने डर थियो । टप टेनको टार्गेट गरेको म टप टाइनमा पुगे सन्तुष्ट छु । त्यहाँ पुगेपछि केही स्टेप माथि जान पाएको भए भन्ने त हुने रहेछ ।

प्रतियोगीतामा भाग लिएपछिको अनुभव कस्तो रह्यो?
प्रतियागीतामा भाग लिनु भन्दा पहिला गर्ने काम र अहिले गर्ने काममा धेरै परिवर्तन भएको छ । नेपाल आइडल मेरा लागि महत्वपूर्ण बन्यो । पहिला पढाइमा मात्र ध्यान हुन्थ्यो । अहिले रेकडिङहरुमा व्यस्त भएको छु । नेपाल आइडलले धेरैमाझ चिनाइदियो । जसका कारण मेरो आवाजमा धेरै गीत रेर्कड भएर रिलिज भएका छन् ।

कस्ता गीत गाउन मनपर्छ ?
नेपाल आइडलमा आउनुभन्दा अगाडि आधुनिक र सेमि क्यालसिकल गीत मात्र गाउथे । आइडलमा भाग लिएपछि सबै खालका गीत गाउन थाले । त्यहाँको वातावरणले मलाई भर्सस्टाइल बन्न मद्दत ग¥यो । अहिले आधुनिक, सेमी क्यलासिकल, पप, रक, लोक सबै खालका गीत गाएको छु ।

बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?
धेरै जसो गीतहरु बाबाकै मुखबाट सुन्थे । किनकि उहाँले धेरै गीत गाउनुहुन्थ्यो । घरमा दैनिक रुपमा बाबाले रियाज गर्नुहुन्थ्यो । मलाई त्यतिबेला गायनमा धेरै रुचि त लाग्थेन । बरु नृत्यमा बढी रुचि थियो । तर, बाबाले मलाई अगाडि राखेर रियाज गर्नुहुन्थ्यो । सारेगमको सरगम बाबाले भनेकोले थाहा भएको हो । पारिवारिक वातावरणकै कारण अगाडि बढ्न हौसला मिल्यो ।

तपाईलाई मनपर्ने गायक तथा गायिका ?
मलाई सबैजना मनपर्छ । विशेष यो भन्ने छैन । सबै गायक गायिकाले गाउनुभएका एउटा न एउटा गीत मलाई मनपर्छ । बरु आफ्नो आवाजलाई म्याच गर्ने भएकोले मिलन अमात्यको गीत बढी गाए ।

सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
पहिला मलाई स्टुडियो भित्र रेकडिङ गर्दा कस्तो हुन्छ थाहा नै थिएन । गीतमा आवाज भरे बापत पैसा पाउछौ भन्ने पनि ज्ञान थिएन । आइडल अगाडि कभर गीत मात्र गरेको थिए । एउटा फिल्मको लागि गीत गाउन अफर आएर रेकर्ड गरे । तर त्यतिबेला आफ्नै पैसाले पोखराबाट काठमाण्डौ आएको थिए । मलाई पारिश्रमिकको आइडिया नै थिएन । आइडल सकेपछि अफर आउनथाले । अहिले पारिश्रमिक कति लिनुहुन्छ भनेर सोध्नुहुन्छ । म त हजुरलाई जति मनपर्छ आवाजलाई हेरेर चित्त बुझाएर दिनु भनेर भन्छुु । मेहनत गरेको खण्डमा संगीत क्षेत्रमा लागेर बाच्न सकिन्छ भन्ने भएको छ ।

तपाईले देखेको सपना ?
संगीतमा लाग्ने र मिठा गीत दर्शक श्रोतामाझ पस्कने नै मेरो सपना हो ।

नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा ?
हलिउड, बलिउडको गीत भन्दा नेपाली गीत फरक हुन्छ । नेपालीको गीतको आफ्नै महत्व छ । नेपाली गीतमा लोकसंस्कृती झल्केको हुन्छ । आफ्नो मौलीकता पाइन्छ । लोक भाका, लोक दोहोरी हाम्रो सकारात्मक पक्ष जस्तो लाग्छ ।

यात्रा अगाडि बढाउन सहज कतिको छ ?
मलाई अगाडि बढ्न पारिवारिक सर्पोट छ । सोही कारण यात्रा सहज नै बनेको छ ।

निखारता कसरी थप्नु भएको छ ?
घरमा गर्ने रियाज हो । रियाज गरिरहेको छु । अर्को कुरा लाइभ गीत गाउनु र रेकडिङमा गीत गाउनु फरक हुने रहेछ । अहिले गीत गाउने टेक्निक सिक्दैछु । म आफैले धेरै कुरा सुधार गर्नुपर्नेछ । धेरै कुरा सिक्ुन छ । विस्तारै सिक्दै, बुझ्दै निखारिने प्रयासमा छु ।

संगीत क्षेत्रबाट पाएका कुरा ?
सबैको माया पाएको छु । पहिला निश्चित ठाउँमा सिमित थिए । अहिले दायरा फरक भएको छ । आवाज, गीत मनपराउनुभएको छ । सबैको सर्पोट पाएको छु । गीत संगीत र पढाइ सगँसँगै लगेको छु । दायरा फराकीलो बन्दैछ ।

संगीत क्षेत्रबाट गुमाएका कुरा ?
त्यस्तो केही लाग्दैन ।

अबका योजना के छन् ?
अबको योजना भनेको पहिले १२ कक्षाको परीक्षा दिनु छ । म नदीपुर पोखरामा रहेको बालमन्दिर स्कुलमा कक्षा १२ को विद्यार्थी हुँ । १२ पास भएपछि त्यसपछि म्युजिकमा स्नातक गर्ने छु । राम्रो–राम्रो गीत पस्कने समेत मेरो योजना हो । अहिले म काठमाण्डौमा छु । कान्तिपुर टेलिभिजनमा कार्यक्रम समेत चलाउछु ।

अन्तमा के भन्नुहुन्छ ?
सबै जनाले धेरै माया गर्नुभएको छ त्यसको लागि धन्यवाद । आगामी दिनमा यसरी नै माया गर्नुहोला । मेरो आवाजमा नयाँ–नयाँ गीतहरु आइरहेका छन् हेरेर, सुनेर सर्पोट मात्र नभएर सल्लाह, सुझाब समेत दिनुहोला । अवसरको लागि तपाईलाई धन्यवाद ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button