
पोखरा न्यूज सम्वाददाता । रुपन्देही जिल्लाको बुटबल उप–महानगरपालिका वडा नम्बर ४, आदर्शनगर स्थायी ठेगाना भएका अभिनेता प्रदीप ढकालको जन्म भारतमा भएको हो । उमेरले ५५ वर्ष लागेपनि अभिनय गर्ने उहाँको जोशमा कुनै कमि आएको छैन । विगत २७ वर्षदेखि निरन्तर कलाकारिता क्षेत्रमा सर्घष गर्नुभएका उहाँले उर्वशी, निर्भय, जंगे, शकुन्तला, मुखौटा, फन्को, डिर्भोस, काफल पाक्यो लगायत झण्डै ३० वटा नेपाली फिल्ममा काम गर्नुभएको छ । नाटक, टेलीफिल्म, म्युजिक भिडियोमा समेत काम गर्नुभएको उहाँको सिनेमाबाट नै आफ्नो भविष्य बनाउछु भन्ने जिद्धी मनमा बाँकी नै छ । यसपाली हामीले अभिनेता प्रदीप ढकालसँग फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।
तपाईले फिल्म कतिको हेर्नुहुन्छ ?
फिल्म मेरो लागि अक्सिजन हो । फिल्म लगभग सबै हेरिन्छ । साउथ हेरिन्छ, हिन्दी फिल्म हेरिन्छ, नेपाली त छँदैछ । समय मिल्यो भने हलिउड मुभी पनि हेरिन्छ । वचपनदेखिनै फिल्मको सोखिन थिए ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
अहिले त लकडाउनले गर्दा घरमा नै बसेर अनलाइनबाट नै फिल्म हेरिन्छ । बढी युट्युबबाट हेरिन्छ । आजभोलि स्मार्ट टिभी आएको छ, स्मार्ट टिभी मार्फत ठूलो स्क्रिनमा हेरिन्छ । तर, मुख्य फिल्म हेर्ने मज्जा त मल्टीफ्लेक्समा नै हो । थिएटरमा नै हो । त्यहाँ जस्तो मजा घरमा त आउँदैन । तर अहिलेको माहोलले गर्दा घरमा बसेर हेर्नु परेको छ ।
हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?
हलमा फिल्म हेर्न धेरैजसो एक्लै जान्छु । कसैको साथमा फिल्म हेर्न जान्न किनकि फिल्म हेर्नुको मज्जा एक्लै फिल्म हेर्दा नै हुन्छ । यसरी फिल्म हेर्दा फिल्म शुरुभएदेखि अन्त्यसम्म एकचित्त भएर फिल्म हेर्न पाइन्छ । अध्याँरो तथा बाहिरी आवाजको कोलाहलबाट मुक्त हुने सिनेमाहलमा फिल्मको कथा, पटकथा, गीत, स्क्रिन प्ले, निर्देशन सबै कुरा बुझ्ने मौका पाइन्छ । हामी फिल्मको सोखिन कलाकार भएको नाताले फिल्म हलमा गएर हेर्न छुट्टै खालको मजा आउँछ । यति हुँदाहुँदै समय नपाएर हलमा जान नसकेको खण्डमा भने घरमा हेरिन्छ । घरमा हलमा जस्तो मज्जा हलमा नै हुँदैन ।
बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
धेरै रमाइला क्षणहरु छन् । हामी स्कुलबाट भागेर फिल्म हेर्न जान्थ्यौ । झोला लिएर, ड्रेस लगाएरै फिल्म हेर्न जान्थ्यौ । सन् १९८६ को कुरा हो म दिल्लीमा १२ कक्षामा पढ्दै थिए । अक्षय कुमारको फिल्म हलमा लागेको थियो । त्यो फिल्म हेरिरहेको थिए । त्यतिबेला मैले धेरैजसो फस्ट डे फस्ट सो मार्फत फिल्म हेर्थे । बाल्कोनीमा बसेर फिल्म हेरेको थिए । मध्यान्तर भएपछि बत्ति बल्यो । कोक फ्यान्टा लिएर मानिस आए । चिसो मगाए । खान लागेको थिए । मानिसको हल्ला मच्चियो । अक्षय कुमार, अक्षय कुमार, जोनी लिभर भन्दै । मैले हेरे म बसेको सिटको चार सिट तल अक्षय कुमार र जोनी लिभरले समेत बसेर फिल्म हेरेका रहेछन् । त्यो दिनको अनुभव बडो अचम्मको थियो । पहिलोपटक प्रत्यक्ष फिल्मको हिरो र कमेडीयनलाई हेर्न पाएको थिए ।

हलमा हेरेको पहिलो फिल्म ?
म मात्र हैन हाम्रो बुबा आमा समेत फिल्मको एकदमै धेरै सोखिन हुनुहुन्थ्यो । धेरैजसो उहाँहरुले समेत फिल्म हेर्नुहुन्थ्यो । उहाँहरुले नै मलाई ‘जय सन्तोषी माँ’ भन्ने धार्मिक फिल्म हलमा हेर्न लैजानु भएको हो । मेरो जन्म भारतको हरियाणामा भएको हो । फरिदाबाद जिल्लामा रहेको गगन थिएटरमा त्यो फिल्म लागेको थियो ।
मनपर्ने फिल्मी कलाकार ?
मलाई मनपर्ने कलाकार धेरै हुनुहुन्छ । बलिउड, हलिउड, नेपाली फिल्मका समेत थुप्रै हुनुहुन्छ । तोकेर नै मेरो मनपर्ने कलाकार भन्न मिल्दैन । किनकि सबै फिल्ममा सबै कलाकारले अब्बल अभिनय गरेको हुँदैन । पछिल्लो फिल्ममा नराम्रो लागेको कलाकार फेरि अर्को फिल्ममा राम्रो लाग्छ । त्यसले गर्दा म कलाकार को भन्दा कलाकारले गरेको काम हेर्छु । कामबाट कलाकारको मुल्याकंन गर्छु । त्यसैले अहिलेसम्म फेवरेट कलाकार यो नै हो भनेर बनाएको छैन ।
नेपाली फिल्मको सकारात्मक पक्ष ?
नेपाली फिल्मको सबैभन्दा सकारात्मक पक्ष भनेको मेकिङ लाग्छ । नेपाली फिल्मको मेकिङजति सस्तो छ त्यतिमात हिन्दी सिरियल समेत बन्दैन । फिल्म पैसाले बन्दैन फिल्म मानिसको मेहनतले बन्ने हो । कथा कस्तो छ, कलाकार को को छन् भन्नेले समेत फिल्म प्रतिको आर्कषणलाई फरक पार्छ । हामीले जुन चिज देखाउन खोजेका छौँ त्यो राम्रो छ । कम बजेटमा उत्कृष्ट फिल्म बन्नुनै नेपाली फिल्मको सकारात्मक पक्ष हो ।

सुधार गर्नुपर्ने पक्ष ?
कास्टिङमा नेपाली फिल्म उद्योग निकै कमजोर छ । कास्टिङ डाइरेक्टरहरु छैनन् । राम्रो कलाकार उद्योगमा छन् । तर राम्रो कलाकार छानेर कुन क्यारेक्टरलाई कुन कलाकार उपयुक्त हुन्छ भन्ने रिसर्च हुँदैन । त्यही काठमाण्डौंमा कलाकार छन् । त्यहींबाट आपसमा काम चलाउछन् । त्यही कलाकारलाई बारम्बार दोहो¥याउछन् । यो नराम्रो पक्ष हो । मेरो एउटै आग्रह छ एक्टर भेरायटी हुनुपर्छ फिल्ममा । कास्टिङ भेरायटी हुनुपर्छ नयाँ–नयाँ कलाकारलाई अवसर दिनुभयो भने पब्लिकले पनि हेर्न रुचाउँछ । त्यही कलाकार आएका छन्, उस्तै फिल्म खेलिरहेका छन् । उद्योग डुब्ने कारण मेरो विचारमा कास्टिङ डाइरेक्टर नभएर हो । अहिले विस्तारै यसमा ध्यान दिइरहेका छन्, यो प्रयाप्त हैन, सुधार गर्न बाँकी नै छ ।
सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
पहिलो फिल्म हेरे देखिनै पर्दामा आफ्नो उमेरको कसैलाई देख्दा मलाई लाग्थ्यो त्यो म नै हुँ भनेर । क्रृषि कपुर मेरो समयमा जवान थिए । मिथुन चक्रवर्ती, धर्मेन्द्र, अमिताभ वच्चन, उहाँलाई देखेर उहाँ भित्र आफुलाई खोज्थे । म हो त्यो क्यारेक्टर भन्ने मनमा हुन्थ्यो । त्यसैले त सधै आफुलाई पर्दामा हेर्न रहर थियो, त्यो पुरा पनि गरे । धेरै फिल्ममा पर्दामा आफुलाई हेरेपछि भने त्यस्तो हुँदैन । पहिलोचोटी आफुलाई पर्दामा हेर्दाको क्षण भने छुट्टै थियो ।
हुनत दिल्लीमा रहँदा ८ कक्षामा पढ्ने समयदेखि स्कुलमा नाटकहरु गर्थे, रंगिलाहरु गर्थे, थिएटर समेत गरे । त्यसपछि मलाई कहिले कसले फिल्ममा मौका दिन्छ होला भन्ने हुन थालयो । किनकि फिल्ममा काम गर्ने तिव्र इच्छा थियो । जब मानिसले दृढ इच्छा राख्छ त्यो अवश्यनै पुरा हुने रहेछ । मेरो जीवनमा समेत पुरा भयो ।

तपाईको फिल्म यात्रा कसरी शुरु भयो ?
म इण्डियामा हुँदा धेरै रामलीला गर्थे, नाटकहरु हुन्थ, पञ्जाबी नाटकहरु हुन्थे, तिनीहरुमा काम गरिन्थ्यो । त्यसपछि नेपाल आए । नेपाल आएपछि फिल्ममा काम गर्ने चाहना बढ्यो । म मिडियामा आवद्ध थिए । मैले बुटवल एफ एममा काम गरे, लुम्बिनी टेलिभिजनमा काम गरे । त्यहाँ एउटा माइला दाइ भन्ने हुनुहुन्थ्यो, बुटबलमा चिनिएको निर्देशक । उहाँल आफ्नो सिरियलमा एउटा इन्स्पेक्टरको क्यारेक्टर गरिदिनुहुोस् भन्नुभयो । मैले सहर्ष स्वीकार गरेर त्यो क्यारेक्टर गरे । त्यो क्यारेक्टर गरेपछि रेडियोमा भन्दापनि मानिसले प्रत्यक्ष आवाज सुन्ने मात्र नभएर एकसाथ हेर्न समेत पाउने भएकोले हेर्ने अभिनय तिरै लाग्छु भन्ने भयो । अनि रेडियो छोडेर अभिनयतिरनै कस्सिए । विस्तारै–विस्तारै मौका पाउदै गए । हालसम्म झण्डै ३० वटा फिल्ममा काम गरिसके ।
यात्रा अब कसरी अगाडि बढ्ला ?
फिल्मको यात्रा निरन्तर अगाडि बढिरेहको छ । कहिलेकाँही बीच–बीचमा ग्याप हुन्छ । सुरुमा मलाई अभिनय गर्न पाए मात्र भन्ने थियो । विना पटकथा फिल्म गरे । निर्देशक को हो, के छ कथा ध्यान दिइन । मतलब नगरी जस्तो भएनि फिल्म गर्ने हो भन्दै रोल पाउने वित्तिकै काम गरिहाले । अहिले आएर ती काममा खासै सन्तुष्टि छैन । किनकि दुई चार फिल्म बाहेक अन्य फिल्मबाट म सन्तुष्ट छैन । सोही कारण अब संख्यात्मक भन्दा गुणात्मकमा जोड दिएको छु । अहिले आएर स्क्रिफ्ट हेर्न थाले, निर्देशक र व्यानर हेर्न थालेको छु । अब वर्षमा २, ३ वटा मात्र फिल्म गर्ने तर राम्रो निर्देशक तथा राम्रो टिमको साथमा मात्र काम गर्ने योजना बनाएको छु । जसले गर्दा आफ्नो अभिनयमा थप निखारता आउन सकोस् । मैले अभिनयलाई सिरियसली लिएर यसलाई नै पेशा बनाएर अगाडि बढ्दैछु ।

तपाईले देखेको सपना के छ ?
मेरो सपना भनेको मेरो मलाई बाल्यकालदेखिनै प्रभाव पारेको कलाकार नसुरुद्धिन शाह, ओम पुरी जस्तैः स्थापित किसिमको कलाकार बन्न चाहन्छु । मरो सपना त्यहीँ हो । सोही क्याटागोरीको कलाकार बन्ने सपना मना पालेको छु । स्थापित कलाकारको सुचिमा आफुलाई राख्न चाहन्छु ।
अर्को कुरा नेपाली फिल्म क्षेत्रमा मेरो आवद्धता सधै रहनेछ । किनकि म अहिले नेपालमानै छु । यदाकदा प्रोजेक्ट आए मात्र भारतमा जान्छु । म बुटबलमा बस्छु । विस्तारै काठमाण्डौ बस्ने विचार बनाएको छु । किनकी बुटवलमा बसेर राम्रो प्रोजेक्ट पाउन गाह्रो छ ।
नेपाली फिल्म किन हेर्ने ?
हाम्रो देश नेपाल हो । हाम्रो राष्ट्रिय भाषा नेपाली हो । अब हामीले आफ्नो मातृभाषामा बनाएको सिनेमा नेपाली भाषी जनता तथा हाम्रै देशका जनताले हेरेनन् भने सिनेमाको विकास हुँदैन, संस्कृतिको विकास हुँदैन, आफ्नो पनि विकास हुँदैन सोही कारण अनिवार्य हेर्नुपर्छ । फिल्म हेर्दा धेरै जानकारी पाइन्छ । लगानी गरेका निर्माता तथा कलाकारलाई अगाडि बढ्ने वातावरण मिल्छ । अहिले नेपाली फिल्म हेर्ने दर्शकका संख्या कमी छ यसलाई बढाउनुपर्छ बल्ल नेपाली सिनेमाको विकास हुन्छ ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?
समग्रमा भन्नुपर्दा फिल्मी क्षेत्र मेरो लागि सबैथोक हो । फिल्म क्षेत्रमा स्थापित बन्ने रहरले धेरै समय, पैसा, जवानी यसैमा खर्च गरेको छु । मैले अरु केही गर्न सकेको छैन भने त्यसको कारण फिल्म हो । मैले फिल्मले गर्दा आजसम्म केही उपलब्धी हासिल गर्न सकिन । साथीहरुले पैसा कमाए घर जोडे, करियर बनाए । बुबा आमाको कुरा मानिन । म भने वचपनदेखि फिल्म क्षेत्रमा नै लागे । किनकि मेरो मन मस्तिष्कमा मात्र फिल्म छ । मलाई यहीं क्षेत्रमा आनन्द आउँछ, सन्तुष्टी मिल्छ । सिनेमा मेरा लागि अक्सिजन हो मलाई जिउँदो रहन समेत फिल्म चाहिन्छ । सबैले साथ सर्पोट गर्नु भएको छ खुसी लागेको छ । आगामी दिनमा समेत यस्तै माया र साथ पाउँ । सिनेमाबाटनै आफ्नो भविष्य बनाउँछु भन्ने जिद्धि मनमा बाँकी छ । बन्छ बन्दैन थाहा छैन । प्रयास जारी नै रहनेछ । अवसरका लागि धन्यवाद ।





