
पाेखरा न्यूज । पत्रकार दिनेश दाहालकाे कोरोना संक्रमणका कारण आज बिहान निधन भएकाे छ । १५ दिनदेखि उपचाररत दाहालको अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
४० वर्षीय पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहनुभएका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।
विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गर्नुभएको थियो । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।
नेपाल पत्रकार महासंघले स्वर्गीय पत्रकार दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेकाे छ । महासंघकाे काठमाडौं शाखाका सदस्य दाहालकाे निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको छ ।
महासंघका महासचिव राेशन पुरीका अनुसार कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।
पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासचिव पुरीले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्नुभएकाे छ ।





