
पाेखरा न्यूज । बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएकाे नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधव कुमार नेपालले बताउनुभएकाे छ ।
अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गरिन लागेकाे बारेमा आज सामाजिक संजालमा पूर्वप्रधानमन्त्री नेपालको यस्तो धारणा बाहिर आएको हो । उहाँले मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन नमिल्ने पनि धारणा सार्वजनिक गर्नुभएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीकाे तिव्र आलोचना गर्दै उहाँले गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्नुभएकाे छ ।
सत्तारुढ एमालेमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री नेपाल समूहका वीच बढ्दो विवाद मिलाउन पार्टीका विभिन्न तहका नेताहरु सक्रिय भएको भनिएका बेला सार्वजनिक भनाइ अर्थपूर्ण रहेकाे विश्लेषण गरिएकाे छ । दुइ समूहवीचका भेटघाट र वार्ता सहमतिमा पुग्न नसकेका समाचारहरु यसअघि नै सार्वजनिक भएका छन् ।
“कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो । मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अत: गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।”, पूर्वप्रधानमन्त्री नेपालले संजालमा उल्लेख गर्नुभएकाे छ ।
यसैवीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्नु भएको छ । उहाँले आज विज्ञप्तिमार्फत सरकारले संविधानको मूल मर्म विपरीत संवैधानिक संरचनालाई नै भत्काउने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाउँदै बैठकमा भाग नलिने बताउनुभएकाे हाे ।





