गीत गाउँदा आँफैमा आनन्द आउँछः सिताराम पोखरेल

एउटा स्टुडियो खोल्ने सपना छ

पोखरा न्यूज सम्वाददाता । गायक सिताराम पोखरेलको जन्म खोटाङ जिल्लाको सिमपानीमा भएको हो । खोटाङमा जन्मेपनि उहाँले हुर्केको र पढ़ेको विराटनगर तिनिपैनीमा हो । त्यसपछि उहाँको कर्मथलो काठमाडौं बन्यो । नेपाल आयल निगमका पूर्वनिर्देशक समेत रहनुभएका उहाँले नेपाल आयल निगममा ३० वर्षभन्दा बढी समय कार्यरत रही देश र जनताको सेवा गर्नुभयो । हाल उहाँ बत्तीसपुतली, काठमाडौंमा बस्नुहुन्छ ।

सानैदेखि गीत संगीतको क्षेत्रमा रुचि राख्ने उहाँको औपचारिक गायन यात्रा २०४४ सालमा रेडियो नेपालमा भ्वाइस टेष्ट पास भएर भएको हो । हुनत त्यसभन्दा अगाडि नै २०३५ सालमा विराटनगरमा साथीहरुसँग मिलेर व्यान्ड स्थापना गर्नुभएको थियो ।

पोखरेलका २०५८ सालमा खोजीहेरि नै, २०६१ सालमा विनाकारण, २०६४ सालमा स्पार्क, २०६६ सालमा अक्टोबर ४, २०७१ सालमा सम्मान, २०७३ सालमा सम्मान–२, २०७६ सालमा अल्कोहलिक लभ एलबम बजारमा आइसकेका छन् । यी एलबमका कारण संगीत पारखीमा आफ्नो बेग्लै परिचय उहाँले बनाउनुभएको छ । हालसम्म उहाँले २ सयभन्दा भन्दा बढी गीतमा आवाज भर्नुभयो ।

पछिल्लो समयमा उहाँको वेष्ट म्युजिक भिडियो सिताराम पोखरेल नामक भिसिडि एलबम बजारमा आएको छ । जुन भिडियोमा समावेश गीतमा रुवि राणा, सुमी खड्का, निशा अधिकारी, रञ्जना शर्मा, उषा पौडेल, नन्दीता के.सी., अरुणीमा लम्साल, दिपा शाही, सुुमिना घिमिरे, झरना थापा, सुरभी जैनी, मेनुका प्रधान, सुप्रिया कटवाल, अनु शाह, प्रियन्का कार्की, रीमा विश्वकर्मा आदिको अभिनय हेर्न पाइन्छ ।

संगीतकर्मी पोखरेलले अन्नपूर्ण म्युजिक अवार्ड, मोडेल सडस अबार्ड (दुबई), सगरमाथा म्यूजिक अवार्ड, पपुलर सिंगर अवार्ड, रानुदेवी अधिकारी पुरस्कार प्राप्त गर्नुभएको छ । सांगीतिक क्षेत्र मार्फत पुर्‍याएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गर्ने संघ संस्था थुप्रै छन् । उहाँ सामाजिक क्षेत्रमा समेत उतिकै क्रियाशील हुनुहुन्छ । नेपालका अधिकांश ठाउँमा पुगेर आफ्नो प्रस्तुति राख्नुभएका उहाँले भारत, दुबई, कतार, अरब, अमेरिका, बेलायत, नवें, सिंगापुरमा समेत पुगेर आफ्नो प्रस्तुति राख्नुभएको छ । गायनसँगै गीत लेखन र मोडलिङ क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ ।

उहाँ अन्तराष्ट्रिय कलाकार मञ्च, इभेन्ट मेनेजमेन्ट अफ नेपाल, नेपाल भारत विश्व मैत्री संघ, नेपाल सांगीतिक संघ, कलाकार संघ लगायतका धेरैं संघसंस्थामा आवद्ध समेत हुनुहुन्छ । यसपाली हामीले गायक सिताराम पोखरेलसँग उहाँको सांगीतिक यात्राको बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईको सांगीतिक यात्रा कसरी शुरु भयो ?
सानैदेखि गीत गाउँथे । विराटनगरमा स्कुलमा पढ्दा पनि डेस्क ठोकेर गीत गाउँथे । २०३५ सालतिर हामी साथीहरु मिलेर एउटा व्यान्ड खोल्यौं । हामीले सोही समयमानै विराटनगरको अलावा भद्रपुर, राजविराज, तौलिहवा, सिराहा सहित काठमाडौंको राष्ट्रिय सभागृहमा समेत व्यान्ड मार्फत सो गरेका थियौँ । पछि २०३९ सालमा उच्च शिक्षाको लागि काठमाडौं जानुपर्‍यो त्यसपछि व्यान्डले निरन्तरता पाउन सकेन । अनि सोलो गायनमानै अगाडि बढे । २०४४ सालमा रेडियो नेपालमा भ्वाइस टेष्ट पास गरेर ‘सजाइ दियौं जिन्दगीनै मेरो’ बोलको गीत रेकर्ड गराए । यो गीत रेर्कड गरे पछि मात्रै मेरो औपचारिक सांगीतिक यात्रा सुरु भयो ।

कस्ता गीत गाउन मनपर्छ ?
मलाई आधुनिक तथा पप गीत गाउन मनपर्छ ।

बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?
बाल्यकालमा रेडियोबाट सुन्ने गर्थे । पछि टेप रेकर्ड आयो । टेप रेकर्ड आएपछि दिदी संगीता थापासँग टेपमा गीत गाए । ‘तेरे विना जिन्दगी से कोई सिकवा नहिं’ साह्रै रोमाञ्चित भएको थियो । त्यो क्षण अझैपनि विर्सेको छैन ।

तपाईलाई मनपर्ने गायक तथा गायिका ?
गायकमा स्वर सम्राट नारायण गोपाल र गायिकामा तारादेवी मलाई खास लाग्छ ।

सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
सकिन्न, सार्है गाह्रो छ । त्यहीं भएर प्रायःजसो गायक संगीतकारले साइड विजनेस गरेका हुन्छन् । अचेल केहीले भने गाडी घर किनेको सुखद समाचार सुन्नमा आएको थियो । बिचमा कोरोनाले सबै चकनाचुर बनायो । अब झनै गाह्रो बन्ने अवस्था बन्दैछ ।

तपाईले देखेको सपना ?
एउटा स्टुडियो खोल्ने सपना छ । जसमा गीत रेकर्डिङ देखि भिडियो मेकिङ सबै होस् । अनि विशेषगरी आर्थिक अभावका कारण अगाडि आउन नसकेका दुर्गम क्षेत्रका ट्यालेन्ट प्रतिभालाई प्लार्टफम दिन सकियोस् । किनकि धेरै प्रतिभा प्लार्टफम नपाएर बाहिर आउन सकेका छैनन् ।

नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा ?
गीत संगीतको माध्यमबाट सबै सेलिव्रेटिको सबै कलाकार, श्रोता दर्शकसँग भेट हुन्छ । अन्तरक्रिया हुन्छ । एक अर्कालाई बुझ्न जान्न पाइन्छ । माया सर्पोट पाइन्छ । अर्को कुरा गीत संगीतमा लागेपछि समाजबाट एउटा बेग्लै खालको इज्जत समेत प्राप्त हुन्छ । जसले संगतिकर्मीलाई अगाडी बढ्न हौसाउँछ । यी सबै नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?
अचेल नानाथरीका गीतहरु आइरहेका छन् । यसरी आउने गीतले सांगीतिक क्षेत्रको भविष्य उज्वल हुँदैन । सस्तो लोकप्रियताको लागि गीत गाउने प्रथा सुधार्नुपर्छ । संगीतकर्मीले सिकेर निखारता थप्दै गीत गाउनुपर्छ । एक्कासी आउने र झट्ट जाने भन्दा लामो समय निरन्तरता दिनुपर्‍यो । अर्को कुरा गीत गाउँमा शब्दमा पनि उतिकै ध्यान दिनुपर्‍यो । यसो गर्न सके नेपाली सांगीतिक क्षेत्रले फड्को मार्नेछ ।

आफुमा निखारता कसरी थप्दै आउनुभएको ?
निखारता थप्ने भनेको अध्ययन र रियाजलेनै हो । बिहान एक डेढ घण्टा रियाज गर्नैपर्छ । सोही कारण रियाज गर्छु । नत्र उमेर बढेपछि स्वरमा पनि बहकाव आउँछ । स्वरलाई नियन्त्रण राख्न साधना गर्नु जरुरी छ । मैले गरिरहेको छुँ ।

संगीत क्षेत्रबाट पाएका कुरा ?
संगीतबाट धेरै कुराहरु पाएको छु । गीत गाउँदा आफैमा आनन्द आउँछ । त्यसको अलावा देश विदेशमा रहनुभएका धेरै संगीतपारखीले चिन्नुहुन्छ । सबैभन्दा मुलभुत कुरा भनेको यो क्षेत्रमा आउने नयाँ कलाकारले सम्मान दिनुुहन्छ । अर्को कुरा सांगीतिक क्षेत्रको संगतले कुलतमा फसिदैन, क्रियटिभ बनिन्छ ।

संगीत क्षेत्रबाट गुमाएका कुरा ?
संगीतबाट मैले केही पनि गुमाएको छैन ।

अबका योजना के छन् ?
अब संगीतले एउटा मोड बदलिएको छ । पछिल्लो क्रममा लोक धुन रुचाउन थालिएको छ । म पनि एकपल्ट ट्रेन चेञ्ज गर्दैछु । जसका लागि पूर्वीय भाकाको गीत तयार हुँदैछ । गीतमा संगीत दीपक शर्माले गर्नु भएको छ ।

अन्तमा के भन्नुहुन्छ ?
नेपाली गीतसंगीतमा पटके तरिकाले नलागौ, सिकौं, निरन्तरता दिउ भन्ने आग्रह गर्छु । अहिले कोरोनाको कहरमा युद्ध भूमिमा गएर जित्ने हैन घरमै बसेर जितिन्छ भनेर सावधानी अपनाउन सबै सुरक्षित रुपमा घरमा बसौ भन्ने आग्रह गर्छु । र, मलाई साथ सर्पोट गर्ने सबै दर्शक श्रोताप्रति आभार प्रकट गर्दै निरन्तर सर्पोटको अपेक्षा गर्दछु । अवसरका लागि धन्यवाद ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button