६५ करोडकाे लागतमा तीन हजार क्षमताको सम्मेलन केन्द्र निर्माण

पोखरा न्यूज । तीन हजार जना क्षमताको ‘गोदावरी सनराइज’ नामक सम्मेलन केन्द्र ललितपुरकाे गोदावरी नगरपालिका–३ मा निर्माण सम्पन्न गरिएको छ । शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभाग र केसी समानान्तर जेभीबीच विसं २०७६ कात्तिक २० गते सम्झौता भई कात्तिक २१ गतेबाट सो भवन निर्माणका लागि खाडल खन्ने काम शुरु गरिएको थियो ।

केन्द्र निर्माणको काम सम्पन्न भयो, तर सरसफाइ गर्न अनि भवनमा रङरोहन गर्दा कतै लागेका दागहरु हटाउनाका साथै भवन निर्माण गर्न हालिएको स्काफोल्डिङ झिक्ने आदि काम बाँकी रहेको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन निर्माण सम्पन्न भए पनि अझै केही दिनको काम भने हामीले गर्नुपर्नेछ ।”

समानान्तर जेभीले सरकारसँग रु ६५ करोड ८१ लाख ६५ हजार ४५९ मा भ्याटसहित निर्माण सम्पन्न गर्ने ठेक्का लिए पनि त्यसभित्र लिफ्ट हाल्नेलगायतका केही काम गर्ने सम्झौता छुटेकाले पछि पुनः करिब रु १६ करोड थप गरी कूल रु ८१ करोडमा काम सम्पन्न गरिने भएको भट्टले जानकारी गराउनुभयो ।

केन्द्र वरिपरि रहने तीन प्रवेशद्वार अर्थात् ढोकामध्ये एक निर्माण सम्पन्न भए तापनि दुई निर्माणको काम अघि बढी नै रहेको जेभीका साइट इञ्जिनीयर पवन मैनालीले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्र वरिपरि लगाइएका बोटबिरुवाको रेखदेख अनि छरिएर रहेका सामग्री सङ्कलन गर्ने काम भने बाँकी नै छ ।” सो केन्द्रमा ए, बी र सी गरी तीन ब्लक रहँदा ‘ए’ र ‘सी’ भने सम्मेलन केन्द्र प्रवेश गर्ने थलो र ‘बी’ मा तीन हजार क्षमताको सभाकक्ष रहने मैनालीले जानकारी गराउनुभयो । ‘बी’ ब्लकमा हालिने तीन हजार मेचमध्ये केही हाल्न बाँकी रहेकाले सो काम आज दिनभरिमा सम्पन्न गरिने जेभीका साइट इञ्जिनीयर आशिष सिलवालले बताउनुभयो ।

केन्द्र भवनमा मुलुकमै पहिलोपटक ५८ मिटर लामो ट्रष्ट हालिएको भट्टले सुनाउनुभयो । गत वर्ष चैतदेखि फैलिएको कोरोना महामारी अनि त्यसपछि असोज र पुस महिनाभर दुईपटक भएको सातदोवाटो–गोदावरी खण्ड बन्दका कारण समयमै आवश्यक सामग्री ढुवानीलगायतका काम गर्न नपाएकाले तोकिएको समय निर्माण सम्पन्न गर्न नसकिएको भट्टले दुखेसो गर्नुभयो ।

विभाग र समानान्तर जेभीबीच पहिलोपटक विसं २०७६ चैत २४ गतेभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको भए पनि साइटभित्र दुई महिना जति रुख काट्न नपाएको र समय समयमा मौसमले पनि साथ नदिएका कारण तोकिएकै समयमा भवन निर्माण अघि बढाउन ढिलाइ भएको कामदारको मत छ । उक्त केन्द्र निर्माणपछि गोदावरीमै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सकिने भएको छ । सम्मेलन केन्द्रले ६० हजार स्क्वायर फिट अर्थात् २५ रोपनी क्षेत्रफल ओगटेको मैनालीले बताउनुभयो ।

सो तीन हजार क्षमताको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहद्वारा हस्ताक्षरित निमन्त्रणा पत्रमा उल्लेख छ । गत वर्ष कात्तिक १६ गते प्रधानमन्त्री ओलीले सो सम्मेलन केन्द्र निरीक्षण गरी समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button