
पाेखरा न्यूज । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएकै बेला जुम्लामा खाद्यान्न अभाव भएको विभिन्न राष्ट्रिय सञ्चार माध्यममा समाचार प्रकाशनपछि थप कोटा स्वीकृत भएको छ । जुम्लामा अनुदानको चामल अभाव भएको गुनासो बढेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी गर्ने गरी २५ सय क्विन्टल चामलको थप कोटा स्वीकृत गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा जुम्लाका प्रमुख तिलक सुनारका अनुसार चामल अभावको गुनासोसँगै केन्द्रीय र प्रदेश कार्यालयसँग समन्वय गरेपछि थप कोटा स्वीकृत भएको हो । यसम्बन्धी सबै प्रक्रिया पूरा भएको छ । “अब १०÷१५ दिनमै धनगढीबाट जुम्ला चामल आइपुग्छ”, शाखाका प्रमुख सुनारले भन्नुभयो, “प्रदेश कार्यालयसँग थप पाँच हजार र नेपालगञ्ज, बर्दिया, राजापुरबाट एक÷एक हजार क्विन्टल चामल माग गरिएको छ । कोटा स्वीकृत हुन बाँकी छ । माग गरिएका सबै कोटा स्वीकृत भएपछि आउँदो दसैँ–तिहारमा पनि चामल अभाव हुने छैन ।”
नागरिकलाई कोरोना महामारीमा खाद्यको चामल अभाव नहोस् भनेर नै कम्पनीको जुम्ला शाखाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नियमित बिक्री गर्दै आएको खाद्य संस्थान व्यापार कम्पनी शाखा जुम्लाले जनाएको छ । जुम्लाको वार्षिक चामल कोटा पाँच हजार ६५० क्विन्टल हो । यसमध्ये नौ सय क्विन्टल डोल्पा सर्मी र काईगाउँ डिपो पठाउनु पर्दछ ।
जुम्लाका लागि चार हजार २५० क्विन्टल मात्रै बाँकी हुन्छ । यसले वर्षभरि चामल पुग्दैन । जुम्लाकोट र धापा डिपोमा चामलको कोटा छुट्याएको छ । दुई वटा डिपो गरी दुई हजार क्विन्टल चामल कोटा निर्धारण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा जुम्लाका प्रमुख सुनारले बताउनुभयो ।
जुम्लामा झन्डै २० हजार घरधुरीको एक लाख बढी जनसङ्ख्या छ । यहाँको उत्पादनले बढीमा ६ महिना मात्रै धान्ने गरेको कृषि कार्यालय जुम्लाको तथ्याङ्क छ । बाँकी छ महिना यहाँका स्थानीयवासी खाद्य संस्थान र बजारको चामलले खाद्यान्न पूर्ति गरिँदै आएका छन् ।
तीन स्थानीय तह ‘सिल’
गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमति भएपछि यहाँका तीन स्थानीय तह ‘सील’ गरिएको छ । सिल हुने गाउँपालिकामध्ये कनकासुन्दरी, गुठीचौर र तातोपानी गाउँपालिका सील गरिएको हो ।
यही वैशाख ३० गतेदेखि आगामी जेठ ४ गतेसम्म कनकासुन्दरी गाउँपालिका सील गरिएको छ । यस्तै २९ वैशाखदेखि गुठीचौर गाउँपालिका एक साता सील गरिएको छ भने २८ वैशाखदेखि तातोपानी गाउँपालिका एक साताका लागि सील गरिएको स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईले बताउनुभयो ।
कनकासुन्दरी गाउँपालिकामा २९ जना कोरोना सङ्क्रमति छन् । सङ्क्रमित मध्ये १५ जनालाई हाँडसिंजा स्वास्थ्य चौकीको आइसोलनमा राखिएको स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायले बताउनुभयो । यहाँ पाँच शय्याको अस्थायी कोभिड अस्पताल पनि छ तर अक्सिजन नभएका कारण समस्या भइरहेको छ । अर्काे स्वास्थ्य सुरक्षा सामग्री पिपिईको अभाव छ । उहाँका अनुसार दैनिक चार–पाँच वटा प्रयोग हुने गर्दछ ।
उपाध्यायले भन्नुभयो, “आइसोलेनमा १५ जना कोभिड बिरामी भर्ना छन् । उनीहरु मध्ये दुई÷तीन जनाको स्वास्थ्य अवस्था सहज छ । उपाचारदेखि खानपिनमा पनि २४ सै घण्टा खटिनु पर्ने अवस्था भएकाले हामी आफैँ पनि अस्वस्थ हुँदै गएका छौँ ।” जुम्लामा कोरोना सङ्क्रमतिको १९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही वैशाख ९ गतेदेखि तथ्याङ्कअनुसार जुम्लामा १९९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३०९ जनामा पिसिआर परीक्षण गर्दा १११ जना र यहाँका आठ वटै स्थानीय तहमा ८११ जनाको एन्टीजेन परीक्षण गर्दा ८८ जनामा गरी १९९ जना व्यक्ति सङ्क्रमित भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । सङ्क्रमितमध्ये २६ जना कोभिड बिरामीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार भइरहेको निमित्त अस्पताल निर्देशक डा राजीव शाहले बतानउनुभयो । उहाँका अनुसार १७ जना निको भइसकेका छन् । बाँकी १५६ जना सङ्क्रमित होम आइसोलेसनमा छन् ।
चन्दननाथमा नगरपालिकामा ५२ जना, पातारासीमा ३१ जना, गुठीचौरमा २४ जना, तातोपानीमा चार जना, तिलामा १० जना, हिमा दुई जना सिँजामा सात र कनकासुन्दरी गाउँपालिकामा २९ जना र अन्य ३० जना गरी जम्मा १९९ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।





