यस्तो छ एकै परिवारका बुवा, दुई छोरा र छोरीको ज्यान लिने कोरोना संक्रमणको कहानी

पोखरा न्यूज । कोरोना संक्रमणले एक परिवारलाई ठूलो बज्रपात परेको छ । बाग्लुङको बडिगाड गाउँपालिका वडा नम्बर ४ (साविक ग्वालीचौर गाविस) को रेस्मी परिवारका ४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

जलजला गाउँको रेस्मी परिवारमा एक हप्ताको फरकमा बाबु, दुई छोरा र एक छोरी गरी ४ जनाको मृत्यु भएको छ । त्यहाँ कोरोना संक्रमण विवाहपछिको ढोगभेटबाट फैलिएको बताइएको छ । संक्रमणबाट आफ्ना बुवा, दुइ दाजुभाइ र एउटी दिदीको निधन भएको परिवारका साइँला छोरा थमन रेस्मीले जानकारी दिनुभयो  ।

यस्तो छ संक्रमणको कहानी

जलजलाका थमन रेस्मीका छोरा अमितको विवाहपछि वैशाख ११ गते ढोगभेट थियो । बजारमा कोरोना संक्रमणको त्रास बढे पनि गाउँमा कोरोनाको डर अझै पुगिसकेको थिएन ।

विवाहमा आफन्त दाजुभाइ, नातागोता जम्मा भएका थिए । विवाहमा न भौतिक दूरी, न अन्य सावधानी कुनै कुनै कुराको ख्याल गरिएन ।

धुमधामसँग ढोगभेट सकिन नपाउँदै अमितका काका रुपचन्द्रलाई ज्वरो आयो । रुपचन्द्रले रुपन्देहीको सुनौली बुटवल हुँदै जलजलासम्म गाडी चलाउँथे । रुपचन्द्रसँगै विवाह जम्मा भएका एकपछि अर्को व्यक्तिलाई रुघाखोकी र ज्वरो आउन थाल्यो ।

४२ वर्षका रुपचन्द्रलाई ज्वरो, स्वास्वप्रश्वासमा समस्या आएपछि वैशाख १७ गते एम्बुलेन्समा ५ घण्टा लगाएर बाग्लुङको धौलागिरी अञ्चल अस्पतालमा ल्याएर भर्ना गरियो ।

सिकिस्त रुपचन्द्रलाई त्यहीँ पीसीआर जाँच गर्दा उहाँमा कोरोना पोजेटिभ भएको रिपोर्ट आयो । त्यसको भोलि १८ गते रुपचन्द्रका बुवा ८७ वर्षिया बलिभद्रलाई पनि गम्भीर समस्या देखिएपछि बाग्लुङ बजार ल्याइयो ।

बलिभद्रलाई रुपचन्द्रले आफ्नै गाडीमा राखेर विवाह हुनुभन्दा केही दिनअगाडि भैरहवाबाट घर ल्याउनुभएको थियो । बलिभद्रलाई पनि कोभिड देखियो । उपचारकै क्रममा बलिभद्रको २४ गते बाग्लुङमा मृत्यु भयो ।

संक्रमण परिवारमा फैलिएसँगै रुपचन्द्रका दाजु केयरसिंह रेस्मीलाई हेलिकप्टरबाट पोखरा ल्याइयो । रुपन्देहीको भैरहवामा बसाइँसराई गरेका केयरसिंह दाजुको छोराको ढोगभेटका लागि भनेर गाउँ जानुभएको थियो ।

केयरसिंहलाई उपचारका लागि भैरहवास्थित युनिर्भसल, कलेज अफ मेडिकल साइन्समा हेलिकप्टरबाट ल्याउने तयारी गरिए पनि यहाँ बेड खाली नभएपछि पोखरातर्फ लगिएको थियो । केयरसिंहको वैशाख ३१ गते मणिपाल अस्पताल पोखरामा मृत्यु भएको हो ।

विवाहमै सहभागी रुपचन्द्रकी दिदी ५४ वर्षिया धनमाया रास्कोटीको पनि शनिवार (जेठ १ गते) बाग्लुङमै उपचारका क्रममा मृत्यु भएको थमनले बताउनुभयो  ।

‘रुपचन्द्रको गाडीबाटै संक्रमण फैलियो’

संक्रमणबाट एकै परिवारका ४ जनाको मृत्यु भएपछि अहिले जलजला शोकमा डुबेको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले विवाह भोजबाट संक्रमण फैलिएको भन्दा पनि रुपचन्द्रमार्फत संक्रमण फैलिएको हुन सक्ने आशंका गर्नुभयो ।

‘रुपचन्द्रले आफ्नै गाडी रुपन्देहीको सुनौलीबाट बाग्लुङको जलजला रुटमा चलाउँथे,’ पाइजाले भन्नुभयो, ‘उनको आफ्नो पसल पनि छ । शुरूमा बजार जाने आउने रुपचन्द्रले नै गाउँमा संक्रमण ल्याएको हुन सक्छन् । तर, उनी पनि विवाहमा सहभागी भए त्यही कारण विवाह र भोजभतेरबाट संक्रमण फैलियो भनियो ।’

भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि घर फर्किने नेपालीहरूलाई उनले गाउँसम्म ल्याउने गरेको पाइजाको भनाइ छ ।

विवाहमा सहभागी ४७ जनामा संक्रमण’

विवाहमा सहभागी भएका र लक्षण देखिएकाहरूको पीसीआर गर्दा ४७ जनामा कोभिड देखिएको वडा नम्बर ४ का अध्यक्ष प्रेम गलामीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो , ‘परिवारका १७ जनाको र विवाहमा सहभागी सबै गरी ४७ जनामा संक्रमण देखियो । यस घटनाले गाउँमा शोकसँगै त्रास बढेको छ ।’ गाहाले अहिले गाउँलाई सिल गरी संक्रमण रोकथामको पहल गाउँपालिकाले थालेको जानकारी दिए ।

वडा नम्बर ५ का वडाध्यक्ष अर्जुनप्रसाद खरेलले एउटै परिवारका चार जनाको निधनपछि अहिले संक्रमण गाउँभरी संक्रमण फैलिएको आशंका गरिएको बताउनुभयो  ।

अहिले गाउँमा धेरै रुघाखोकी र ज्वरोका बिरामी धेरै भएको उहाँले बताउनुभयो ।

संक्रमणपछि गाउँमा बनाइयो १० बेडको आइसोलेसन

गाउँमा कोरोनाको संक्रमण फैलिएपछि गाउँपालिकाले १० बेडको आइसोलेसन सेन्टर निर्माण गरेको छ । संक्रमितको उपचारको लागि १० बेडको आइसोलेसन सेन्टर बनाइएको पाइजाले बताउनुभयो ।

सहयोग / स्रोत : लोकान्तर कोरोनाले निम्त्याएको बज्रपात : एक साताको बीचमा बुवा, दुई छोरा र एक छोरीले गुमाए ज्यान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button