पोखरा न्यूज । सन्तोष बस्याल पत्रकारितासँगै संगीत क्षेत्रलाई अगाडि बढाइरहेको प्रतिभा हुनुहुन्छ । २०७० सालबाट औपचारिक रुपमा शुरु भएको उहाँको संगीत यात्रा निरन्तर चलिरहेको छ । दर्शक श्रोतालाई लक्षित गरेर गीतसंगीत रेकर्ड निरन्तर गरिरहनुभएको छ । रेकर्ड भएका केही गीत कोरोना कहरका कारण सार्वजनिक हुन सकेका छैनन् ।
पुख्यौली थलो पर्वत जिल्लाको पैयुं गाउंपालिका वडा नम्बर २ त्रिवेणी भएका बस्यालको जन्म भने भारतको चन्डीगढमा भएको हो । बुबा रोजगारीको शिलशिलामा भारत पसेको कारण उहाँको अक्षराम्भ भारतबाटै सुरु भयो । कक्षा ३ मा अध्ययन गर्ने समयमा उहाँ परिवार सहित नेपाल फर्किनुभएको थियो । नेपाल फर्किएपछि बस्यालको बाल्यकाल पुख्र्यौली थलो पर्वतमा नै बित्यो ।
बस्यालको रुचि गीतसंगीतको क्षेत्रमा सानैदेखि थियो । स्कुलमा अध्ययनका क्रममा उहाँले गीत सुनाउने गर्नुहुन्थ्यो । यसरी सांगीतिक कोसेली पस्कदा प्राप्त सर्पोटका कारण उहाँलाई अगाडि बढ्न हौसाउथ्यो ।
उहाँको औपचारिक गायन यात्रा २०७० सालमा मैले तिमीलाई बोलको गीतमा आवाज भरेर भएको हो । पोखरामा आयोजित एलिजा सिङ्गिङ स्टारमा कार्यक्रममा वेष्ट भोकल अवार्ड जितेपछि उहाँलाई यो अवसर आएको थियो । जीवन सुनारको शब्द र संगीतको यो गीतले उहाँलाई धेरै माझ चिनायो । ओम गुरुङसँगको सहकार्यमा गरेको रेशम फिरिरि र सहिमा श्रेष्ठसँगको सहकार्यमा तयार गरिएको ढाट्यो मायाले गीतले सन्तोषको परिचयलाई विस्तार ग¥यो ।
सन्तोषले कानैमा झुम्का गीतमा संगीत भर्नुभएको छ । सहिमा श्रेष्ठको आवाजमा रहेको यो गीतको रचना जेनिसा ठकुरीले गर्नुभएको हो । यस्तै योगेश काजीको संगीत, राम्जी घिमिरेको शब्द अनि सन्तोषको आवाजमा रैछु बैगुनी गीत तयार भयो । दिननाथ बांस्तोलाको शब्द संगीतको दशैं गीतमा समेत उहाँको आवाज सुन्न पाइन्छ । राम्जी घिमिरेको शब्द, एनजे सागर शाहको संगीतमा सन्तोषले आवाज भरेको माछापुच्छ्रे हिमचुलीको गीत तयार भएको छ । अजुदा थापा र सन्तोषको आवाजमा विर नेपाली गीत तयार हुँदैछ । यो गीतको कम्पोज र रचना बस्यालकै हो संगीत संयोजनको जिम्मा सुनिल थापालाई दिइएको छ । आकाश दाहालको शब्दमा बस है पियारी गीत तयार भएको छ । सन्तोष बस्याल र समिक्षा अधिकारीको आवाजमा रहेको गीत एउटै मुटुलाई समेत संगति पारखीले रुचाए ।
नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्य रहनुभएका बस्याल चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको सह–सचिव हुनुहुन्छ । कलाकारिता र पत्रकारिता दुवै क्षेत्रलाई एकसाथ अगाडि बढाउदै उहाँले यात्रा गरिरहुनभएको छ ।
विगत एक दशकदेखि रेडियो अन्नपूर्ण मार्फत सञ्चार क्षेत्रमा क्रियाशील बन्नुभएका उहाँ चार वर्षदेखि परिचय डटकम मार्फत समेत सञ्चारकर्ममा अगाडि बढिरहनुभएको छ । उहाँ सांंगीतिक कलाकार संघ नेपाल कास्की, नेपाल प्रेस यूनियन कास्की, ओम फाउण्डेसन नेपाल कास्की, पोखरेली युवा सांस्कृतिक परिवार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत आदि संस्थामा आवद्ध हुनुहुन्छ ।
यसका अलावा साँझको बेलामा गजल रेस्टुरेन्टमा गीत गाएर आफ्नो प्रतिभा प्रस्फुटन गर्दै थप निखारता थप्दै आउनुभएको छ । विसौनी दोहोरी साँझबाट सुरु भएको उहाँको प्रत्यक्ष गायन यात्रा दौतरी दोहोरी साँझ, फेवा दोहोरी साँझ, हाम्रो दोहोरी साँझ, अन्नपूर्ण गार्डेन रेष्टुरेन्ट, मेलोडि क्याफे, मुग्लान रेष्टुरेन्ट आदिमार्फत लाइभ गीत पारखीका माझ पुग्यो । विभिन्न कार्यक्रममा प्रस्तुति राखेर समेत उहाँ दर्शकमाझ परिचित हुनुहुन्छ । संगीतमा निखारता थप्न उहाँले सिकाइलाई समेत निरन्तरता दिइरहनुभएको छ । पोखरामा बसेर यात्रा अगाडि बढाइरहनुभएका गायक तथा सञ्चारकर्मी बस्यालसँग यसपाली फिल्मी क्षेत्रसँग सम्बन्धीत केही प्रश्न सोधेका छौँ ।
तपाई फिल्म कतिको हेर्नुहुन्छ ?
पहिलेभन्दा पछिल्लो समय फिल्म अलिक बढी नै हेर्न थालेको छु । कोरोना महामारी अघि शुक्रबार नयाँ फिल्म रिलिज हुनेबित्तिकै रेगुलर हेर्ने गर्थे । तर फिल्म हेर्नुभन्दा पहिले कथावस्तुको बारेमा सामान्य जानकारी लिएर मात्र हेर्ने गर्छु ।
तपाईको फिल्म हेर्ने माध्यम के हो ?
नयाँ फिल्म त सिनेमा हलमै गएर हेर्न मज्जा लाग्छ । उसो त मोबाइल र कम्युटर माध्यमबाट समेत युट्युबमा रिलिज गरिएका फिल्महरु हेर्ने गर्छु । सबै भन्दा मुख्य कुरा कथावस्तु मनप¥यो भने मात्र फिल्म हेर्ने मेरो बानी छ ।
हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?
हलमा अत्याधुनिक व्यवस्था गरिएको हुन्छ । साउण्ड सिस्टम पनि उत्तिकै राम्रो हुन्छ । शान्त वातावरणमा हेर्न पाइन्छ । फिल्म अवधिभर अन्त कतै ध्यान जाँदैन । तर घरमा सिमित स्रोत साधनमा फिल्म हेर्नुपर्ने हुन्छ । हेर्दाहेर्दै नेट र बत्ती जाने समस्याले समेत एकाग्र भएर फिल्म हेर्न पाइदैन । फिल्म हेर्नकै लागि शान्त वातावरण घरमा हुँदैन ।
बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
बाल्यकालमा त फिल्म हेरिसकेपछि हिरोको जस्तै अभिनय गर्न मनपथ्र्यो । साथीभाइहरु जम्मा गरी आफु हिरो बन्ने अरुलाई गुण्डा बनाएर फिल्ममा जस्तै अभिनय गर्ने प्रयास गरिन्थ्यो । तर अहिले त्यस्तो छैन । अहिले केवल मनको शान्तिका लागि र मनोरञ्जनका लागि मात्र फिल्म हेर्ने गरिन्छ ।
हलमा हेरेको पहिलो फिल्म ?
रितिक रोशनको ‘कहो ना… प्यार है’ फिल्म मैले पहिलो पटक हलमा हेरें । त्यतिबेला म सानै थिए । भारतमा बाल्यकालको केही समय बितेकाले त्यहाँ नै मैले उक्त फिल्म हेरेको हुँ ।
मनपर्ने फिल्मी कलाकार ?
नेपालमा त मलाई राजेश हमाल, दिलिप रायमाझी, निखिल उप्रेती, निरुता सिंह, जलशाह, विपना थापा, अरुणीमा लम्साल, सुनील थापा, स्व. श्रीकृष्ण श्रेष्ठ मनपर्छ । उहाँहरुका फिल्म मैले धेरै हेरेको छु ।
पछिल्लो समयका कलाकारमा प्रदीप खड्का, दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, लक्ष्मी बर्देवा, बुद्धी तामाङ, प्रियंका कार्की, रिचा शर्मा, दिया मास्के, अनुप बराल, प्रकाश घिमिरे, माओत्से गुरुङ लगायतका थिएटरबाट आएका कलाकारहरुको अभिनय मन पर्छ ।
अहिले साउथ फिल्म अलिक बढी हेर्ने भएर होला उतातिरका सबैको अभिनय राम्रो लाग्छ । बलिवुडमा त मलाई मनपर्ने सलमान खान, रित्तिक रोशन, साहरुख खान, अमिताभ बच्चन, अमिर खान, ऐश्वर्य राय बच्चन लगायतका कलाकार छन् । उसो त सबैको फिल्म चाहिँ म हेर्ने गर्छु ।
नेपाली फिल्मको सकारात्मक पक्ष ?
पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा लगानी गर्नेहरुको संख्या बढ्दो छ । यसले धेरैलाई रोजगारीको सिर्जना गरेको आभाष हुन्छ । फिल्म क्षेत्रलाई नै व्यवसाय बनाउने निर्माताहरु धेरै हुनुहुन्छ । टेक्नोलोजीमा समेत विस्तारै परिवर्तन हुँदै गएको छ । कलाकारहरु अभिनय पढेर वा थिएटरबाट आएका छन् । जसले गर्दा राम्रा फिल्महरु निर्माण भएका छन् । हाम्रा चलचित्र समेत ओस्कर अवार्डमा सहभागी भएको सुन्न हेर्न पाउँदा खुशी लाग्छ । पहिले पारिवारिक फिल्म मात्र बढी हुने गर्थे भने अहिले विषयगत फिल्म निर्माण हुन थालेको छ । सत्यघटनालाई पनि कथामा परिणत गरी अभिनयका माध्यम प्रस्तुत गर्ने बानीको विकास हुन थालेको छ । यो नेपाली फिल्म क्षेत्रका लागि सकरात्मक पक्ष हो ।
सुधार गर्नुपर्ने पक्ष ?
सुधार त राज्य स्तरबाटै हुनुपर्ने आवश्यक छ । अब फिल्म क्षेत्रमा लागेका कलाकारदेखि प्राविधिकसम्मले यसैबाट आफ्नो परिवार पाल्न सक्ने वातावरणको विकास हुनुपर्छ । कलाकारले अन्य पेशा अवलम्बन गर्नुपर्ने स्थिति नआउँदा नै उचित हुन्छ जस्तो लाग्छ । राम्रो कथावस्तुमा राम्रै लगानी गरेर फिल्म बन्यो भने सबैलाई राम्रो हुन्छ । पैसा छ फिल्म बनाइहालौं न त भनेर कथावस्तु फितलो भएको फिल्मले यो क्षेत्रमा वर्षौ काम गर्नेलाई अप्ठेरोमा पार्न सक्छ । अब नेपाली फिल्महरु डिजिटल माध्यम मार्फत सार्वजनिक हुनुपर्ने आवश्यक देख्छु । कोरोना महामारीले चलचित्र क्षेत्रलाई धेरै पाठ सिकाएको अनुभुति भएको छ । आशा गरौं भोलीका दिनमा हाम्रा चलचित्र पनि नेटफ्लिक्स लगायतका अन्य माध्यम मार्फत समेत हेर्न पाइनेछ ।
फिल्ममा अभिनय गर्ने रहर पलायन?
हाहाहा… त्यस्तो अहिलेसम्म भएको छैन । तर, अभिनय सिक्ने रहर भने छ । समय अभावले गर्दा व्यवस्थापन गर्न सकिरहेको छैन । थिएटरमा आबद्ध हुने इच्छा छ । कोरोना महामारी पछि अवस्था सहज हुनासाथ अभिनय चाहिँ म सिक्छु ।
फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?
अब हाम्रा फिल्महरु अन्तर्राष्ट्रिय बजारमा पनि बिक्न सक्ने हुनुपर्दछ । साउथ फिल्मले बलिवुडलाई नै धक्का दिएजस्तो यहाँका भाषाभाषीका चलचित्रको लगानी तथा गुणस्तरमा वृत्तिविकास गर्नुपर्ने आवश्यकता देख्छु । खासगरी पोखराबाट बनिरहेका गुरुङ भाषाका चलचित्रका कथाहरुले मन छुन्छ । हिजो समुदायमा मात्र सिमित रहेको चलचित्रलाई गुरुङ फिल्म एशोसियसन जिफानले हलसम्म पु¥याउने सह्रानिय काम गरेको छ । यसको निरन्तरताको कामना गर्दछु । अर्को नेपाली सिनेमाहरु पनि हिन्दीमा डबीङ भएको सुन्दा खुशी लाग्छ । ‘प्रेम गीत ३’ उदाहरणीय चलचित्र बनेको छ । अब लगानीकर्ताले विश्व मार्केटलाई बुझेर लगानी गर्दा नेपाली चलचित्र क्षेत्रलाई नै राम्रो हुन्छ ।
फिल्मी पत्रकारिताको सुरुवात कसरी गर्नुभयो र आजको दिनसम्मको यात्रा कसरी आइपुग्यो ?
फिल्मी पत्रकारिता मात्र भन्दा सबै विषयको पत्रकारिता गर्नुपर्ने बाध्यता हामीलाई छ । पोखरामा बिट पत्रकारिताको विकास अझै भइसेकेको अवस्था छैन । बिटमा मात्रै लेखेर पुग्दैन । तर मैले चलचित्रका समाचारहरु बढी नै लेखिरहेको हुन्छु । मेरो फिल्मी पत्रकारिताको सुरुवात रेडियो अन्नपूर्णमा आबद्ध भएदेखिनै भएको हो । त्यतिबेला लेख्ने कम बोल्ने धेरै गर्थे । रेडियोमा फिल्मी सम्बन्धी कार्यक्रम संचालन गर्दा कलाकारको अन्तर्वार्ता धेरै लिइयो । त्यसपछि चलचित्र पत्रकार संघ कास्कीमा आबद्ध भएपश्चात लेखनमा पनि विकास भएको पाउँछु । आज पनि चलचित्रका समाचारहरु लेखिरहेको छु ।
अबका योजना ?
अब कलाकारिता र पत्रकारितालाई थप परिस्कृत बनाउँदै लैजाने योजना छ । नयाँ–नयाँ गीत संगीत पस्कने तयारीमा छु । र, अर्को कुरा कोरोना महामारी केही साम्य हुनेबित्तिकै कुनै एउटा व्यवसायिक क्षेत्रमा समेत लाग्छु होला । हेरौं अब के हुन्छ ।