नृत्य हुँदै फिल्मी क्षेत्रमा उदाएकी उर्मिला

निखारता थप्दै अगाडि बढ्ने योजना

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । उर्मिला गुरुङको कलाकारिता क्षेत्रको यात्रा नृत्यबाट सुरु भएको हो । सानैदेखि नृत्य क्षेत्रमा रुचि राख्ने उहाँले विभिन्न प्रतियोगीतामा भाग लिनुभयो । यसरी प्रतियोगीतामा भाग लिदाँ प्राप्त भएको सफलता र दर्शकको सर्पोटका कारण उहाँलाई यात्रा अगाडि बढाउन थप उर्जा मिल्न पुग्यो । फलस्वरुप उहाँले यात्रालाई निरन्तरता दिइरहनुभएको छ ।

हुनत २०७० सालमा आयोजित कास्की जिल्ला स्तरीय नृत्य प्रतियोगीता कास्की च्याम्पियनमा द्धितीय भएपछि उहाँको नृत्य यात्रामा नयाँ अवसर सिर्जना हुन पुग्यो । किनकि उहाँको कलाबाट प्रभावित भएर सो प्रतियोगिताको निर्णायक मण्डलमा रहनुभएका सुवास राईले म्युजिक भिडियोमा अवसर दिनुभयो । यसरी पाएको अवसरलाई उर्मिलाले राम्रो सदुपयोग गर्दै आफ्नो क्षमता प्रस्तुत गर्नुभयो । त्यसपछि एकपछि अर्को गर्दै अवसरहरु आउन थाले ।

हालसम्म ५० भन्दा बढी विभिन्न गीतको भिडियोमा उहाँले आफ्नो अभिनय तथा नृत्यकला प्रस्तुत गरिसक्नुभएको छ । कला यात्रा म्युजिक भिडियोमा मात्र सिमित छैन । फिल्म क्षेत्रमा समेत छ । गुरुङ फिल्म आँच्यो (कान्छा) बाट फिल्मी यात्रा सुरु भएको हो । उहाँले गुरुङ फिल्म प्रे सोना, खै ओ म्हिथेबा, तमुस्यो, टुकीमा अभिनय गर्नुभएको छ । नेपाली फिल्म कप्टीमा समेत उहाँले अभिनय गर्नुभएको छ । प्रदर्शन हुन बाँकी रहेको यो फिल्मबाट दर्शकको थप माया पाउने उहाँको विश्वास छ । अब गुरुङ फिल्म र नेपाली फिल्म दुवैतर्फ एकसाथ यात्रा अगाडि बढाउने तयारी उहाँको छ ।

नृत्यमा अगाडि बढ्न उहाँलाई नवसाधना कलाकेन्द्र, हिमाली सांस्कृतिक परिवारको सर्पोट महत्वपूर्ण रहेको छ । यी दुवै संस्थामा आवद्ध भएर समेत उहाँले आफ्नो कला यात्रालाई अगाडि बढाउनुभएको थियो । पोखरामा जन्मिनुभएकी कलाकार गुरुङको पुख्र्यौली गाउँ भने लमजुङ जिल्लाको लम्सीबोट हो । हाल उहाँ पोखरामा बस्नुहुन्छ । आफूमा निखारता थप्दै निरन्तर यात्रा अगाडि बढाउने योजना बनाउनुभएकी कलाकार उर्मिला गुरुङसँग फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न समेत सोधेका छौँ ।

तपाई फिल्म कतिको हेर्नुहुन्छ ?
म फिल्म धेरै जसो हेर्ने गर्छु । यो समयमा झन् कोरोनाको कारणले अझ धेरै हेर्ने भएको छु ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
म नेपाली, गुरुङ र हिन्दी फिल्महरु युट्युवबाट नै हेर्छु । अग्रेजी फिल्म या सिरिजहरू नेटफ्लिक्सबाट हेर्ने गरेको छु । यतिबेला हलमा भने फिल्म हेर्न पाएको छैन ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभुति कस्तो हुन्छ ?
हलमा फिल्म हेर्दाको मज्जा नै छुट्टै हुन्छ. । हलमा जाँदा साथीभाइहरु साथमा हुन्छ । घरमा एक्लै हेर्न त्यति रमाईलो हुँदैन ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
बाल्यकालमा खासै फिल्म हेर्न पाउने थिएन । अर्को कुरा फिल्म हेर्ने माध्यम पनि हुने थिएन । फिल्म हेर्न हलमा नै जानुपर्ने थियो । एकजना दिदी हुनुहुन्थ्यो । उहाँ बिराज भट्ट्को ठूलो फ्यान । उहाँले जहिले पनि फिल्म हेर्न जादा मलाई लिएर जानु हुन्थ्यो । तर हरेक चोटी जाँदा कहिले पर्स, कहिले मोबाईल केहि न केहि हराउनु नै हुन्थ्यो । यहीं कुराहरुले गर्दा त्यतिबेला हलमा फिल्म हेर्न गएको दिनहरु सम्झदा अहिले रमाईलो लाग्छ ।

तपाइले हलमा पहिलो फिल्म हेर्दाको सम्झना केही छ ?
पहिलो फिल्मको नाम त मलाई थाहा भएन । तर हेर्न गएको अनुभब चाहि छ । दशैंको टिकाको दिन थियो हामी सबै परिवार मिलेर विन्ध्यवासिनी हलमा नेपाली फिल्म हेर्न गएको थियौ । त्यतिबेला एकदमै भिड थियो । त्यसैले बाबाको काँधमा चडेर भित्र पसेको अझै याद छ ।

तपाइलाई मनपर्ने फिल्मी कलाकार ?
मलाई विपिन कार्की असाध्यै मनपर्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष के हो ?
धेरै फिल्महरुले मानिसलाई मनोरन्जनको साथ साथै ज्ञान मुलक सन्देश दिने गर्दछ यो सकारात्मक पक्ष हो ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
अभिनय गर्ने रहर भन्दा पनि मलाई नृत्य गर्ने रहर चाहि हुन्थ्यो ।

फिल्म र भिडियोमा अभिनयको यात्रा कसरी सुरु भयो अब कसरी अगाडि बढ्ला ?
मैले स्कुल लेभलबाट नै नृत्यमा एकदमै रुचि राख्ने थिए । स्कुलबाट प्रतिनिधित्व गर्दै स्कुल लेभलको नृत्य प्रतियोगिता, औद्योगिक ब्यापार मेलाहरु सहित अन्य विभिन्न नृत्य प्रतियोगितामा सहभागी हुने गर्थे । यसरी प्रतियोगितामा भाग लिँदा प्रायः प्रथम, दोस्रो, तेस्रो मध्ये कुनै एक स्थानमा आउने गर्थे । २०७० सालमा कास्की च्याम्पियन भन्ने डान्स रियालिटि सो भएको थियो । कास्की जिल्ला स्तरीय यस प्रतियोगीतामा म दोस्रो स्थानमा आउन सफल भएको थिए ।

सो प्रतियोगितामा सुबास राई गुरु निर्णायक मण्डलमा हुनुहुन्थ्यो । उहाँले मेरो कलालाई मनपराउनु भएर पहिलो पटक मलाई भिडियोको अफर गर्नुभयो । यसरी म्युजिक भिडियो क्षेत्रमा मेरो आगमन भयो । भिडियोमा आएको केही समय पछि खुस बहादुर मामाले गुरुङ फिल्म आँच्यो (कान्छा) फिल्ममा अफर गर्नुभयो । फिल्म क्षेत्रको यात्रा सोही यसरी नै सुरु भयो । केही गुरुङ फिल्म र एउटा नेपाली फिल्ममा अभिनय गरिसकेकी छु । विभिन्न विधाका ५० भन्दा बढी म्युजिक भिडियोमा काम गरे । अब आफूमा भएका कमीकमजोरीलाई निखार्दै यात्रालाई अगाडि बढाउने योजना बनाएको छु । आफ्नो प्रतिभाको माध्यमबाट समाजमा केही न केही योगदान पुर्‍याउने मेरो रहर हो । सामाजिक काम गर्न समेत मलाई मनपर्छ ।

तपाईले देखेको सपना ?
अहिलेको मेरो सपना भनेको आमा बाबालाई संसारकै खुसी दिनु र उहाँलाई सधै सुखी राख्ने रहेको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
मेरो कलाकारिता यात्रामा सर्पोट गर्नुहुने सबैप्रति आभार व्यक्त गर्दै निरन्तर साथ दिनको लागि आग्रह गर्दछु । धन्यवाद ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button