कास्कीगण्डकीमनोरन्जनसमाचार

कोरोनाका कारण समस्यामा पोखराका रेकडिङ स्टुडियो

पूर्ववत अवस्थामा फर्कन समय लाग्ने

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । नेपाली संगीतको उर्वर भूमीको रुपमा परिचित ठाउँ हो पोखरा । पोखरालाई आफ्नो जन्मथलो तथा कर्मथलो बनाएर सांगीतिक यात्रा गर्नेको संख्या उल्लेख्य मात्रामा रहेको छ । पुराना पुस्तादेखि नयाँ पुस्ताका कलाकारको सक्रियताका कारण पोखरा तथा यस आसपासको संगीतलाई माया गर्ने श्रोता दर्शकको संख्या लोभलाग्दो छ । लोक संगीत देखि पप, आधुनिक संगीतसम्म दह्रोगरी आफ्नो उपस्थिती पोखराले देखाउने गरेको छ ।

विगतमा गीत रेकडिङको लागि काठमाण्डौं धाउनुपर्ने बाध्यताले समस्यामा परेका कलाकारलाई अहिले केही सहज भएको छ । किनभने पोखरामा व्यवसायिक रुपमानै अगाडि बढेका रेकडिङ स्टुडियोको संख्या झण्डै १० को हाराहारीमा छ । पछिल्लो क्रममा घरमानै बसेर गीत संगीत तयार गर्ने क्रम समेत रहेकोले होम स्टुडियो सञ्चालन गरेर समेत केही कलाकारले काम गरिरहनुभएको छ ।

तर अहिले कोरोना महामारीका कारण धेरैजसो स्टुडियोमा विगतमा जस्तो काम हुन सकेको छैन । केही स्टुडियो पूर्ण रुपमा बन्द छन् । केही स्टुडियोले सामान्य काम गर्न खोजेका छन् । अधिकांश स्टुडियो अवस्था सामान्य बन्ने र विगतमा जसरी निर्धक्का साथ काम गर्न पाइने आशामा बसेका छन् ।

नमस्ते पोखरा बोर्डकास्टिङ स्टुडियो प्रालिका सञ्चालक छवि सुवेदी यतिबेला नयाँ गीतसंगीत रेकर्ड गर्ने क्रम घट्दो रहेको सुनाउनुहुन्छ । पोखरामा नाम सुनेका चलेका स्टुडियो करिब ७ वटा जति छन होला । तर, आजकल धेरै होम स्टुडियोहरु रहेका छन् । कामचलाऊ काम गर्नेहरु धेरै बढ्दै छन जसले गर्दा चलेका स्टुडियो, कलाकार र एरेन्जरहरु मारमा परेका त छदैछन् साथै श्रोता, दर्शकले भनेजस्तो स्तरिय गीत सुन्न वा हेर्नबाट बन्चीत छन् । यता चलेका कलाकारहरुको र नियमीत गीत संगीतमा लगानी गर्नेहरुको आम्दानीको स्रोत कम भएकोले नयाँ गीतसंगीत रेकर्ड गर्ने क्रम घट्दो छ । अहिले लकडाउनको अवधीमा हाम्रो स्टुडियो लगभग बन्द छ । करिब ८, १० वटा गीतहरु लकडाउन खुलेपछि रेकर्ड गर्ने गरी एरेन्जको काम भईरहेको छ । आउँदो चाड तीजलाई ध्यानमा राखी केही तीज गीतसंगै घाटु, सोरठी, भजन र केही दोहोरी गीत रेकडिङ्गको तयारीमा छन । त्यसैगरी २ वटा नेपाली चलचित्रको भ्वाईस डबिङ्ग केही बाँकी छ । लकडाउन खुल्नासाथ डबिङ्ग टुंगाउने कार्यतालिका छ । यस बिचमा केही समसामयीक गीत रेकडिङ्गको लागि समय मागेपनि कोरोनालाई मध्यनजर गरी जोखीम नलिदा स्टुडियो खुल्ला नगरिएको उहाँले बताउनुभयो ।

डिजिटल स्टार रेकर्डिङ स्टुडियोका सञ्चालक तारानाथ आचार्य यतिबेला तीज गीत रेर्कड गर्न भिड हुनुपर्ने समय भएपनि गएको वर्ष र यो वर्ष स्टुडियो सुनसान बनेको सुनाउनुभयो । आफ्नो स्टुडियोमा विगतमा यो सिजनमा झण्डै ६० वटा तीज गीत रेकर्ड गरेको इतिहास आफूसँग भएको उहाँको दावी छ ।

पोखरामा डिजिटल स्टार रेकर्डिङ स्टुडियो लगायत झण्डै १० वटा गीत रेकर्डिङ गर्ने स्टुडियोहरु छन् । जहाँबाट अलि–अलि काम भइरहेको छ । हामीले मात्रै गरेर हुने काम भएन । पहिले त गीत गाउन आउनेहरु स्टुडियोसम्म आउनुप¥यो । उहाँहरु आएर गीत गाउँदा हामीले माइक मिलाउने, कानमा हेडफोन लगाइदिनुपर्ने हुन्छ । सोही कारण हामी संकटमुक्त छैनौ । सामान्य अवस्था हुँदा हामी स्टुडियो सञ्चालकका लागि यो समय भनेको मानो खाएर मुरी उब्जाउने बेला जस्तै हो । यो समयमा प्रायः तीजगीतहरुनै बढी रेकर्ड हुन्थे । मैले ५० देखि ६० वटा सम्म तीजका गीतहरु रेकर्ड गरेको इतिहास छ । गतवर्ष पनि यसैबेला कोरोना महामारीको चपेटामा परियो र अहिले समेत यही बेलामा यस्तो संकट आइप¥यो । अलि–अली काम त भएको छ । प्रत्यक्ष भेट नहुने कामहरु गरेर जिमेलमा पठाउन मिल्ने कार्यहरु जस्तैः एरेन्ज, बिज्ञापनहरुको काम केही भएको छ । पहिलेको तुलनामा काम शून्य नै छ । पुर्ववत अवस्थामा फर्किनको लागि पुरै महामारीको अन्त्य हुनुपर्छ, नभए गाह्रो हुने आचार्यको भनाई छ ।

पल्स डिजिटल रेर्कडिङ स्टुडियो पोखराका साउण्ड इञ्जिनियर दीपक लामाले आफूहरुको स्टुडियोमा अहिले हल्का अनलाइनबाट मात्र काम भइरहेको बताउनुभयो ।

जे.ई. स्टुडियो पोखराका सञ्चालक वरिष्ठसंगीतकर्मी रामभक्त जोजीजु आफ्नो स्टुडियोबाट यो समयमा समेत केही काम भइरहेको सुनाउनुहुन्छ । अहिलेपनि एरेन्जिङ्गका काम, नयाँ गीतको रेकर्डिङ, गीतको प्रोमोसन र संगीत सिर्जना गर्ने काम गरेको उहाँको भनाई छ ।

यसरी कोरोना महामारीको कारण समस्यामा परेका पोखराका रेकर्डिङ स्टुडियोलाई पुर्ववत अवस्थामा फर्कन समय लाग्ने देखिएको छ । फाट्टफुट्ट काम गरेर मात्र व्यवसायिक स्टुडियो सञ्चालन गर्न अप्ठ्यारो पर्ने सञ्चालकहरुको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button