मणिपालले निकालेका २१ दिने संक्रमित शिशुले पश्चिमाञ्चल अस्पतालमा जिते कोरोना

पोखरा न्यूज । पोखराको मणिपाल अस्पतालले धरौटी बुझाउन नसकेपछि उपचार नगरी निकालेका २१ दिने कोरोना संक्रमित शिशुले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोनालाई परास्त गरेका छन् ।

अस्पतालले मागेको ९० हजार धरौटी र उपचार शुल्क अभिभावकले बुझाउन नसक्दा मणिपालले जेठ १३ गते निकालेका संक्रमित शिशुको सोही दिनदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बाल रोग विभाग प्रमुख एवम् वरिष्ठ बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाको टिमले प्रत्यक्ष निगरानीमा उपचार गरिरहेको थियो ।

गम्भीर अवस्थामा अस्पतालमा ल्याइएका बालकको कोभिड १९ एनसियु आइसोलेसनमा राखेर १८ दिनसम्म उपचार गराइएकोमा दुई दिन अघि कोरोनाको रिपोर्ट नेगेटिभ आएको डा. बास्तोलाले जानकारी दिनुभयो । शिशुले दुई दिनदेखि आमाको दूध खाना थालेको र अक्सिजन समेत दिन नपरेको डा. बास्तोलाले बताउनुभयो ।

‘शिशुलाई हामीले शुरुको ४८ घण्टा सिप्याप मेसिनमा राखेर उपचार गर्‍यौ । त्यसपछि १२ दिनसम्म लगातार हुड बक्स मार्फत अक्सिजन लगाएर उपचार गर्‍यौ, अहिले दुई दिन भयो शिशुलाई अक्सिजन दिन परेको छैन, कोरोना रिपोर्ट पनि नेगेटिभ आयो ’, डा . बास्तोलाले भन्नुभयो । शिशुको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएपछि डिस्चार्जको तयारी गरिएको उहाँले बताउनुभयो ।

शिशु कोरोना मुक्त्त भएपछि खुसी मुद्रामा शिशुकी आमा कामना बुढामगर

‘शिशुले २ दिनदेखि आमाको दूध खान थालेको छ, दिशा – पिसाब नर्मल रूपले गरिरहेको छ, श्वासप्रश्वासको गति पनि लेभलमा छ, भोलिसम्म हेरेर डिस्चार्जको निर्णय गर्छौ ‘, डा. बास्तोलाले पोखरा न्यूजसँग भन्नुभयो । शिशु सँगै कोरोना पोजेटिभ देखिएका शिशुका आमा बुबाको पनि आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको ‘डा. बास्तोलाले बताउनुभयो ।

गम्भीर अवस्थामा अस्पतालमा ल्याइएका शिशुलाई निको बनाउन पाउँदा निकै खुसी लागेको बताउँदै उहाँले अस्पतालका डीन, डाइरेक्टर सहित उपचारमा साथ दिने डाक्टर र नर्सको टोलीलाई आभार व्यक्त गर्नुभयो ।

रोल्पा घर भई पोखराको फूलबारीमा बस्दै आएका शिशुका बाबु जान बहादुर बुढाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आफ्नो बच्चाको निःशुल्क उपचार गराई निको गराएकोमा अस्पताललाई र सहयोगीहरूलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

‘मेरो २१ दिनको छोरालाई पैसा नभएर मणिपालले निकाल्दा आत्महत्या गरौँ जस्तो लागेको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डा. सापहरूले धेरै मेहनत गरेर मेरो छोरा बचाइदिनुभयो । उहाँहरू मेरो भगवान् हो’, बुढाले आँखाभरि आशु पार्दै भन्नुभयो ।

अस्पतालमा छोरासँगै श्रीमती र आफुँले पनि कोरोना जितेपछि खुसी व्यक्त गर्दै जानबहादुर बुढामगर

मणिपालको एन आइसियु वार्डमा भर्ना भएका शिशुमा जेठ १३ गते कोरोना पुष्टि भएपछि मणिपाल अस्पतालले ९० हजार धरौटी र दैनिक २२ देखि २८ हजारसम्म उपचार खर्च तिर्न नसक्ने भन्दै शिशुलाई डिस्चार्ज गरेको थियो ।

तस्बिर : महेन्द्र पराजुली, पोखरा न्यूज

यो पनि पढ्नुहोस् :-

धरौटी बुझाउन नसकेपछि मणिपालले गम्भीर अवस्थाका संक्रमित शिशुलाई निकाल्यो

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button