पूर्वतयारीले क्यारेक्टरलाई परिपक्क बनाउँछ

पात्रलाई न्याय गर्न कडा मेहनतको खाँचो

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । नाटकमा अभिनय गर्नु सहज काम होइन । लगातारको मेहनत, दृढइच्छाशक्ति तथा अध्ययनशिल बानीले रंगकर्मीलाई परिपक्क बनाउन सघाउँछ । सबै रंगकर्मीको ध्यान आफ्नो क्यारेक्टरलाई जीवन्तता दिँदै दर्शकको ध्यान खिच्ने रहेको हुन्छ । यसको लागि रंगकर्मीले धेरै तयारी गर्नुपर्छ । प्रत्यक्ष रुपमा दर्शकको अगाडि अभिनय गर्नुपर्ने भएको कारणले गल्ति गर्ने र गल्तिलाई सुधार गर्ने छुट रंगकर्मीले पाउँदैनन् । सोही कारण उनीहरुले निकै सावधानी अपनाउदै नाटकमा आफ्नो भुमिका निभाउने गर्दछन् ।

अभिनयमा निखारता ल्याउन नाटक मञ्चन गर्नुभन्दा पहिले धेरै पुर्व तयारी गर्नुपर्ने हुन्छ । यसरी गरिने पूर्व तयारीले नाटकलाई आर्कषक बनाउँन सघाउँछ । नाटकमा अभिनय गर्ने कलाकारले सधै आफ्नो पात्रलार्ई न्याय गर्ने तयारी गरेका हुन्छन् ।

नाटक गर्नुभन्दा अगाडि कन्सेप्ट, रिहर्सलको कुरा, ब्लकिङको कुरामा राम्रो सँग ध्यान दिइन्छ । बारम्बार प्राटिक्स गरिन्छ । त्यसपछि बल्ल नाटक दर्शकमाझ देखाइन्छ । नाटकको स्क्रिप्ट, निर्देशकले दिएको निर्देशन, डिजाइनरहरुले गरेको सेट डिजाइन, साउण्ड डिजाइन, कस्टुम डिजाइन सहित उहाँहरुले दिनुभएको निर्देशनलाई मनन गर्दै जब खुलेर उसले अभिनय गर्दछ । बल्ल नाटक राम्रो बन्छ । र, दर्शकको माया पाउँछ । पात्रलाई न्याय गर्न कलाकारमा कडा मेहनतको आवश्यकता पर्दछ । सोही कारण आफ्नो क्यारेक्टरलाई परिपक्क बनाउन कलाकारले दिनरात नभनी लामो समयसम्म पूर्व तयारी गर्ने गरेका हुन्छन् । मञ्चन हुनुपूर्व धेरै पटक रिहर्सल गरिन्छ ।

रंगकर्मी पवित्रा खड्का नाटकमा आफूले भुमिका निभाउनुभन्दा पहिले निर्देशकका कुरा सुन्ने गरेको बताउनुहुन्छ ।

सबै भन्दा सुरुमा धेरै म निर्देशकलाई सुन्छु । निर्देशकले कुन मेथोडबाट काम गर्न लागिरहरनुभएको छ । स्क्रिप्ट बेसमा काम गर्न लाउनुभएको छ अथवा इम्प्रोभाइजेसन गरेर ड्रामा बनाउन लाग्नुभएको छ भन्नेकुरा पहिले थाहा पाउने कोसिस गर्छु । यदि इम्प्रोभाइजेसनमा काम गर्न लाग्नुभएको छ भने उहाँको गाइडमा रहेर सिनहरु बनाउदै आफ्नो पात्रलाई कसरी अरु पात्रसँग कनेक्ट गर्न सकिन्छ, सिनवाइज कसरी आफ्नो क्यारेक्टरको व्यागराउण्ड खोज्दै जान सकिन्छ भन्ने कुरामा काम गर्छु । स्क्रिप्ट बेसमा गइयो भने पात्रको बारेमा कति कुराहरु स्क्रिप्टमा खुलाईएको हुन्छ ।

अर्को कुरा पात्रको ‘इनर थर्ट’ कस्तो छ । पात्रको बानि व्यहोरा कस्तो छ । अरु पात्रको बारेमा यो पात्रले कसरी सोच्छ । उसको धारणा के छ । उसलाई के मनपर्छ । के मनपर्दैन भन्ने कुरामा थोरै रिर्सच गर्छु । बाहिरको लुक्स कस्तो देखिन्छ । त्यो कुरामा अलिकति अनुसन्धान गर्छु । स्क्रिप्टमा भएको जस्तै छ की फरक देखिन्छ । कस्तो खालको कपडा लगाउँछ । कस्तो खालको कपाल काट्छ । मोटो छ की पातलो छ । भुमिका निभाउँदा शरिरलाई केही मेन्टेन गर्नुपर्छ कि पर्दैन । यो पात्रले सोसाइटीलाई कसरी हेर्छ भन्ने कुरामा अलिकति रिसर्च गर्छु । त्यसपछि पात्रको इतिहास खोज्छु । कहाँ देखि आयो । कतिवर्षको छ । यसका बाबु आमा के थिए । कहाँ छन् । कति दाजुभाई थिए । यसको ब्यागराउण्ड कस्तो छ भन्नेमा रिर्सच गर्छु । नाटकमा देखिने भन्दा पनि पात्रको बारेमा अरु के के कुरा थप्न सकिन्छ जुन स्क्रिप्टमा मज्जाले खुलाइएको छैन भन्ने कुरामा रिर्सच गर्छु ।

त्यसपछि लेखकलाई पढ्ने कोसिस गर्छु । लेखक नेपाली हो की विदेशी । उसले कस्तो खालको नाटक वा किताब लेखेको छ । लेखकले सोसाइटीलाई हेर्ने धारणा कस्तो छ । अन्तवार्तामा कसरी कुरा गर्छन यो बारेमा बुझ्ने कोसिस गर्छु । किनकी लेखकलाई अलिकति बुझे भने पात्रमा लेखिएका संवादमा काम गर्न सजिलो हुन्छ । त्यसपछि संवाद घोक्ने काम हुन्छ । संवाद घोक्दाखेरि पहिला सबै पढ्छु । बारम्बार अभ्यास गर्छु । संवादलाई गीतको माध्यमबाट भन्ने कोसिस गर्छु । जस्ले गर्दा मलाई घोक्न मद्दत पुग्छ । स्पिडलाई मेन्टेन गर्दै संवादलाई आफ्नो बनाउने कोसिस गर्छु । आफ्नो विचार, बौद्धिकतालाई कसरी पात्रमा हाबी हुन नदिउ भनेर रोक्ने कोसिस गर्छु । पात्रको इनर्जी के छ । निर्देशक तथा अरु एक्टरसँग छलफल हुन्छ । देखेको, भोगेको तथा काल्पनिक कुरालाई पात्रमा ढाल्दै परिपक्क बन्छु । पात्रसँग रिलेटेड फिल्म हेर्छु, बुक पढ्छु । अरु पात्र भन्दा फरक बन्ने प्रयास गर्छु । बारम्बार स्वर र शारिरिक अभ्यास गर्छु । यसरी गर्ने पूर्व तयारीले आफुले निभाउने भुमिकालाई प्रभावकारी बनाउन सहयोग गर्ने उहाँको तर्क छ ।

यता रंगकर्मी विजय बराल आफूले निभाउने पात्रको बारेमा सम्पूर्ण जानकारी लिएर अभिनय गर्ने गरेको सुनाउनुहुन्छ । सुरुमा निर्देशकसँग बस्ने स्क्रिप्टमा काम गर्ने हुन्छ । नर्मल रिडिङबाट सुरु हुन्छ । त्यसपछि कथावस्तुमा लेखिएको क्यारेक्टर के हो त्यो बुझ्ने काम हुन्छ । निर्देशक तथा लेखकका कुरा सुन्ने गर्छु । त्यसपछि आफूले गर्ने काम थप्ने वा यसो गरौ भन्ने बारे उहाँहरुसँग सल्लाह गर्ने गर्छु । प्रायः क्यारेक्टरहरु नाटकमा लेखिसकिएको हुन्छ । यस्तो खालको चरित्र हुन्छ वा नेचर यस्तो हुन्छ भनेर थाहा पाइसकेको हुन्छ । लेख्ने बेलामा के सोचेर लेख्नुभएको छ बुझने कोसिस गर्छु । त्यसपछि मेरो आफ्नो तरिकाले त्यो क्यारेक्टर भित्र मैल यो कुरा थप्दा अलिकति फरक देखिन्छकी भन्ने सोचले तयारी गर्छु । स्क्रिप्ट पाएपछि एकपटक रिडिङ गरिन्छ । कसैले त्यहाँ भित्र भनिरहेको संवादमा त्यो क्यारेक्टरको सम्बन्ध के रहेछ । यी कुरा सुरुमा छानेर यो क्यारेक्टर यस्तो हुन्छ भनेर एक किसिमको ब्याक स्टोरी तयार गर्ने काम गर्छु । यो राख्ने यो नराख्ने भन्ने कुरा निर्देशकले छान्नुहुन्छ । बाँकी रहेको चिजलाई पोलिस गर्दै जान्छु । नाटकमा के रमाइलो हुन्छ भने हरेक दिन रियल प्ले गर्दा क्यारेक्टरमा राम्रो हुँदै जान्छ । सुरुमा अर्कै–अर्कै लाग्छ । विस्तारै त्यो क्यारेक्टर कुरा बोल्दै जाँदा, सम्बन्धहरु स्थापित हुँदै जाँदा व्यागराउण्ड लगायतका सबै कुराले जोड्दै जाँदा एउटा ठाउँसम्म पुग्छ । यो तरिकाका प्रोसेस मार्फत आफूले अभिनय गर्ने गरेको उहाँले सुनाउनुभयो ।

रंगकर्मी सन्दीप श्रेष्ठ नाटकमा अभिनय गर्नुभन्दा पहिले नाटक पढेर नाटकको सेरोफेरो बुझ्ने प्रयास गरेको सुनाउनुहुन्छ । अभिनय गर्नुभन्दा अगाडि नाटक एकपटक पढ्छु । बुझ्ने प्रयास गर्छु । नाटकको सेरोफेरो बुझ्ने प्रयास हुन्छ । नाटक गरेर मैले के गर्दैछु यो भन्नेकुरा महत्वपूर्ण हुन्छ । निर्देशकले यसलाई कस्तो संसारमा देखाउन खोजेको छ । निर्देशकसँग सोध्छु । पात्रको सोसियल पोलिटिकल सिनारियो, इकोनोमिक स्टाटसहरुको बारेमा सकेसम्म बुझ्ने प्रयास गर्छु । ति सबै कुरा बुझेपछि चरित्रको डाइलगमा छिर्छु । रिडिङगर्दा सकेसम्म आफ्नो नेचुरल टोन भन्दा केही फरक टोनमा बोल्ने प्रयास गर्छु । मेरो चरित्रको यो नाटकमा काम के हो भन्ने बुझ्छु । चरित्रले कस्तो बोल्छ, कस्तो लाउँछ खुल्न थाल्छ । यसले पात्रमा ढल्न सहज बनाउछ । स्क्रिप्टमा के भनेका छ हेर्छु । निर्देशकसँग केही कुरा सोध्छु । आफ्नो आइडिया पनि भन्छु । त्यसपछि मेरो अपनत्व क्यारेक्टरमा हुन्छ । फलस्वरुप काम गर्न सजिलो हुने गरेको उहाँले सुनाउनुभयो ।

रंगकर्मी अरुणा कार्कीले आफ्नो क्यारेक्टर थाहा पाएपछि क्यारेक्टरको बारेमा बुझ्न थाल्ने गरेको बताउनुभयो । पहिला म स्क्रिप्ट पढ्छु । आफ्नो क्यारेक्टर थाहा पाइसकेपछि त्यो क्यारेक्टरको बारेमा बुझ्न थाल्छु । जति स्क्रिप्टमा छ त्यो भन्दा अगाडि के भएको थियो त्यो भन्दा पछाडि के हुन सक्छ या कुन समयको हो भन्ने बारेमा सोच्छु । मेरो क्यारेक्टर कुन समयको हो कुन उमेरको हो छुट्याई सकेपछि त्यसलाई तयार गर्न थाल्छु । निर्देशकसँग सोध्छु । उहाँले सोचेको र मैले सोचेको मेल हुन्छ की हुँदैन । किनकी कहिल्यैपनि म कन्फ्युजमा काम गर्दिन । मैले कुन समयको गर्दैछु । त्यो बेलामा के सोचिन्थ्यो होला । त्यसपछि अभिनयमा जान्छु । रिहर्सल गर्दा मेले के दिन सक्छु वा के दिनुपर्छ । आफ्नो क्यारेक्टर महत्व के हो । कति सम्म गर्न पाउँछु भनेर निर्देशक र को–एक्टरसँग छलफल गर्ने गरेको उहाँको भनाई छ ।

रंगकर्मी सरिता गिरीसँग कथा भित्रको पात्रको बारेमा सबै कुरा बुझेर मात्र काम गर्ने गरेको अनुभव छ । स्क्रिप्ट पाइसकेपछि आफ्नो क्यारेक्टरलाई भन्दापनि अरु क्यारेक्टरले कसरी लिएको छ भनेर बुझने प्रयास गर्छु । उनीहरुले मेरो पात्रलाई लिने तरिकालाई बुझ्छु । यसले काम गर्नसजिलो हुन्छ । कथाभित्रको पात्रको बारेमा सकै कुरा बुझेर पात्र काम गर्ने मेरो बानी छ । उहाँले भन्नुभयो ।

रंगकर्मी कमलमणी नेपाल पनि पहिले चरित्रको बारेमा बुझेर अभिनय गर्ने गरेको सुनाउनुहुन्छ । विशेषत म आफुले काम गर्दा जे चरित्र पाउँछु । त्यो चरित्रको बारेमा सबैभन्दा पहिले बुझ्ने गर्छू । मैले गर्ने पात्र कुनै समाज भित्रकै चरित्र हुन्छ । त्यस्ता धेरै समान पात्रको बारेमा बुझेर आफूलाई ढाल्ने प्रयास गर्ने गरेको उहाँले सुनाउनुभयो ।

(क्लब हाउसभित्र रंगमञ्च क्लबमा गरिएको ‘रंगमञ्चमा अभिनेताको पूर्व तयारी’ सम्बन्धी छलफल सुनेपछि)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button