नयाँ कम्युनिस्ट पार्टी बनाउन माओवादी छाडेर एमालेलाई साथ – नेता थापा

ओलीलाई समर्थनको आधार नै नेकपा निर्माणको आधार

पोखरा न्यूज ।  नेकपा(एमाले)का नेता मणि थापाले आफूहरू प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपयोग भएको नभई बृहत्तर कम्युनिस्ट आन्दोलनको निर्माणका लागि साथ दिएको बताउनुभएको छ ।

नेता थापाले सोमबार हाम्रा प्रतिनिधिसँग कुरा गर्दै आफूहरू प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट उपयोग नभएको जिकिर गर्नुभयो । उहाँले आफूहरू बृहत्तर कम्युनिस्ट आन्दोलनको पक्षमा रहेको र त्यही प्रक्रियालाई पुरा गर्नका लागि ओलीको साथमा रहेको स्पष्ट पार्नुभयो । ओली र प्रचण्डले शुरु गरेको कम्युनिस्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफूहरूले कुनै राजनीतिक रूपमा गल्ती नगरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो चरणमा जो समर्थन ग¥यौँ । त्यो समर्थनको आधार भनेको नेकपा निर्माणको आधार हो । हामी नेकपा निर्माण गर्न चाहन्छौँ र बृहत्तर कम्युनिस्ट आन्दोलन हामी बनाउन चाहन्छौँ जुन प्रक्रिया केपी ओली र प्रचण्डले शुरु गर्नुभयो । त्यो प्रक्रियालाई पुरा गर्न चाहन्छौँ । त्यो प्रक्रियालाई पुरा गर्ने बाटोबाट हामी हिँडिरहेकाले राजनीतिक रूपमा केही गल्ती गरेका छैनौँ । हामी उपयोग भएको होइन । राजनीतिमा लेनदेन, उपयोग, किनबेच र क्याम्प चेन्ज गर्ने जुन बनिरहेको छ त्यसले राजनीति विकृत गरेको छ । त्यसको पक्षमा हामी छैनौँ । हामी ठिक ठाउँमा छौँ । यहाँ हामी सङ्घर्ष गरेर फेरी नयाँ कम्युनिस्ट आन्दोलनको ध्रुवीकरणमा भएको हुनाले हामी त्यति धेरै चिन्तित छैनौँ ।’

नेता थापाले नेकपा(एमाले)को एकतालाई आफूले जायज र न्यायिक ठान्ने बताउनुभयो । एकताको लागि प्रधानमन्त्री ओलीले वातावरण बनाउनुपर्ने र माधव समूह पनि एकतामा आउनुपर्ने उहाँले बताउनुभयो । एमाले एकताले आफूहरूलाई फरक नपर्ने बताउँदै झनै ठुलो डिबेट कम्युनिस्ट आन्दोलन अगाडी बढ्ने र डिबेटमा भाग लिन आफूहरू तयार रहेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो –‘पूर्व एमाले एक ठाउँमा आउने कुरालाई हामीले जायज र न्यायिक ठान्छौँ । उहाँहरू आउनुपर्छ । त्यसका निम्ति ओलीले राम्रो वातावरण बनाउनुपर्छ र माधव नेपाल समूहले पनि बदलिँदो परिस्थितिलाई बुझेर आफूलाई ध्रुवीकरणको पक्षमा ल्याउनुपर्छ र अरू कम्युनिस्ट घटकहरू पनि एक ठाउँमा आउनुपर्छ भन्ने मूल सिद्धान्तको जगमा हामीले काम गरिरहेको हुनाले उहाँहरू आउँदैमा केही फरक हुँदैन । ठुलो डिबेटबाट फेरी कम्युनिस्ट आन्दोलन अगाडि बढ्छ । त्यो ग्रेट डिबेटमा हामी भाग लिन तयार छौँ ।’

नेता थापाले आफूहरू पुरानो पार्टीमा फर्किने सम्भावना नरहेको पनि प्रस्ट पार्नुभयो । पुरानो पार्टी तोडेर नयाँ कम्युनिस्ट पार्टी बनाउनका लागि आइसकेकाले अब पुरानो नभई नयाँ ध्रुवीकरण आवश्यक रहेको उल्लेख गर्नुभयो । पूर्व एमालेको एकतामा पूर्व माओवादीको समूह मिसिँदा कम्युनिस्ट आन्दोलनको मूल प्रवाह हुने भएकाले यसैको ध्रुवीकरणमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘पुरानो ठाउँमा फर्क नसक्ने कुनै सम्भावना छैन । त्यो सम्भावना हिजो पनि थिएन । त्यो सम्भावना तोडेर नेकपा बनाएको स्थिति हो । हामी सबैले पुरानो ठाउँलाई तोडेर नयाँ आन्दोलन अथवा नयाँ कम्युनिस्ट पार्टी बनाउन भनेर आइसकेको हुनाले हामी सबैले तोडेको हो । अब पुरानोमा फर्किने होइन, नयाँको ध्रुवीकरण चाहिँ जरुरी छ । त्यो ध्रुवीकरणको कोर्स कहाँबाट शुरु गर्ने भन्दा खेरी ठुलो जनाधार भएको कम्युनिस्ट पार्टीको केपी ओलीले नेतृत्व गर्नुभाछ, उहाँले नेतृत्व गरेकै पार्टीबाट फेरी नयाँ खालको ध्रुवीकरणको आवश्यकता छ । पुरानोले ध्रुवीकरण गर्न सक्दैन । माओवादीको केन्द्रीकरण र एमालेको केन्द्रीकरणले समस्या समाधान हुँदैन । नेकपाको केन्द्रीकरण अथवा कम्युनिस्ट आन्दोलनको केन्द्रीकरणले मात्रै समस्या समाधान गर्छ ।’

उहाँले प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतको फैसलापछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने सुझाव दिएको उहाँले बताउनुभयो । सर्वोच्चको फैसलापछि पुनर्गठन गर्दा राजनीतिक, कानुनी र नैतिक रूपले सही हुने निष्कर्षसाथ प्रधानमन्त्री ओलीलाई सुझाव दिएको भए पनि प्रधानमन्त्री ओलीको निर्णयमा आफूहरूको असन्तुष्टि नरहेको उहाँले उल्लेख गर्नुभयो । तर प्रधानमन्त्री ओलीले आफूहरूको सहभागिता बिना फरक ढङ्गले राजनीति गर्न चाहेमा राम्रो नहुने पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सर्वोच्चको निर्णयपछि मन्त्रिपरिषद् गठनबारे राजनीतिक, कानुनी, नैतिक रूपले सही हुन्छ भनेर प्रधानमन्त्रीलाई भनेका हौँ । प्रधानमन्त्रीले लिएको डिसिजन स्वीकार गर्छौ भनेको हुनाले हामी यहाँ कन्फ्युजनमा छैनौँ । बालुवाटार कन्फ्युजन छन्, उनीहरूले कन्फ्युजनको राजनीति गर्न खोजिराछन् भने, उनीहरूले भिन्न तरिकाले राजनीति गर्न खोजिरहेका छन् भने पनि त्यो उनीहरूलाई राम्रो हुँदैन । हामीले वैचारिक राजनीति गर्न खोजेको हुनाले हामीलाई कुनै लेनदेनको कुरा छैन । सुझाव नमान्दा असन्तुष्टि पनि होइन ।’

नेता थापाले एमालेभित्र पूर्व माओवादीहरूले पूर्व समूहको रूपमा आफ्नो अस्तित्व नखोजी वाम प्रवृत्ति, राष्ट्रवादी प्रवृत्ति र प्रगतिशील प्रवृत्तिले प्रश्रय पाओस् भन्ने खोजेको बताउनुभयो । उहाँले सबै राजनीतिक विषय सर्वोच्च अदालतमा केन्द्रीकृत हुने स्थितिले देशको राजनीति परिवर्तनको एजेन्डा र परिवर्तनमाथि नै प्रश्न उठाएको पनि बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button