पोखरासहित कास्कीभर आजदेखि एलपी ग्याँस आपूर्ति ठप्प हुने

कोरोना खोपको व्यवस्था नभएसम्म आपूर्ति बन्द गर्ने चेतावनी

पोखरा न्यूज ।  कास्कीमा बिहीबारदेखि एलपी ग्याँस आपूर्ति ठप्प हुने भएको छ । सरकारले खोपको प्राथमिकतामा नराखेको भन्दै एलपी ग्याँस विक्रेता संघ कास्कीले बिहीबारदेखि जिल्लाभर आपूर्ति ठप्प पार्ने भएको हो ।

अग्र पङ्क्तिमा रहेका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेपनि जनताको दैनिक जीवन यापनसँग प्रत्यक्ष जोडिएको क्षेत्रलाई सरकारले  बेवास्ता गरेको  संघको आरोप छ । तिनै तहको सरकारलाई खोपमा प्राथमिकतामा राख्न अनुरोध गरिएको भए पनि बेवास्ता गरिएकाले आपूर्ति नै रोक्नु परेको संघका अध्यक्ष बालकृष्ण कोइरालाले बताउनुभयो  ।

खोपको प्राथमिकतामा राख्न जिल्ला स्वास्थ्य कार्यालय, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको भए पनि उपेक्षा गरिएको संघका अध्यक्ष कोइरालाले बताउनुभयो ।

संघले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापन पत्र बुझाउँदै खोपको व्यवस्था नभएसम्म आपूर्ति बन्द गरिने जनाएको छ ।

‘कोरोनाको पहिलो र दोस्रो लहरमा पनि नागरिकको जीवन यापनमा समस्या नपरोस् भनेर रातदिन आपूर्ति कम हुन लिएनौँ । सरकारले अत्यावश्यक पदार्थ भन्छ तर खोपमा प्राथमिकतामा राख्दैन, यो निकै विडम्बनापूर्ण छ,’ संघका सचिव कुशल पौडेलले भने, ‘बाध्य भएर खोपको प्रबन्ध नहुँदासम्म आपूर्ति ठप्प पार्ने निर्णयमा पुग्यौँ ।’

कास्कीमा ५० वटा ठुला र ३ सय साना डिलरबाट दैनिक १५ हजार ग्याँस आपूर्ति हुँदै आएको छ । करिब ८ सय जना मजदुर यो ग्याँस आपूर्तिमा दैनिक खटिने सचिव पौडेलले जानकारी दिनुभयो । कास्कीमा १८ कम्पनीका ग्याँस आपूर्ति हुँदै आएका छन् ।

सरकारको खोपको सुनिश्चित गर्ने बित्तिकै आपूर्ति सहज बनाउने पौडेलले बताउनुभयो । ‘दैनिक उपभोक्तासँग ठोकिनुपर्छ । अस्पतालदेखि सरकारी कार्यालयसम्म आपूर्ति गर्नुपर्छ तर खोप लगाउन सरकारले अत्यावश्यकमा राख्दैन,’ सचिव पौडेलले भन्नुभयो, ‘ जसका कारण दैनिक उपभोक्तासँग जोडिएको यस क्षेत्रले ठुलो जोखिम र असुरक्षा महसुस छ ।’

कास्कीका प्रमुख जिल्ला अधिकारी गौतमले सरकारको ध्यानाकर्षण आफूले पनि गराउने तर ग्याँस आपूर्ति नरोक्न आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button