गण्डकी प्रज्ञा प्रतिष्ठान समक्ष जिफानको ६ बुँदे प्रस्ताव

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । गुरुङ फिल्म एशोसियसन नेपाल जिफानले गण्डकी प्रदेशमा स्थापना भएको गण्डकी प्रज्ञा प्रतिष्ठान समक्ष ६ बुँदे प्रस्ताव पेश गरेको छ । गुरुङ समुदायको भाषा कला र संस्कृतिलाई चलचित्रको माध्यमद्वारा प्रस्तुत गर्न अगुवाई गरिरहेको जिफानले प्रतिष्ठानको ध्यान गुरुङ चलचित्र क्षेत्रतर्फ समेत दिनुपर्नेमा जोड दिदैँ प्रस्ताव पेश गरेको हो ।

पेश गरिएको प्रस्तावको पहिलो नम्बरमा जिफानको रोहवरमा वार्षिक राष्ट्रिय तथा अन्तराष्ट्रिय आदिवासी जनजाती चलचित्र महोत्सव गर्ने रहेको छ । दोस्रो नम्बरमा सम्पूर्ण गुरुङ चलचित्रकर्मीहरुको व्यक्तित्व विकास, क्षमता अभिवृद्धि तथा सशक्तीकरण सम्बन्धी गोष्ठी तथा प्रशिक्षणमुलक कार्यक्रमहरु गर्ने रहेको छ ।

यसैगरी गुरुङ चलचित्रकर्मीहरुलाई चलचित्र अध्ययनको लागि विभिन्न देश विदेशमा छात्रवृत्तिको व्यवस्था गर्ने प्रस्ताव तेस्रो बुँदामा राखिएको छ । अर्को बुँदामा नियमित रुपमा गुरुङ चलचित्रहरु हलमा प्रदर्शन गर्दा स्थानीय कर छुट गराइदिने प्रस्ताव गरिएको छ । पाँचौ नम्बरमा भाषा कला र संस्कृतिको आधारमा विशुद्ध गुरुङ चलचित्रलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने प्रस्तावलाई राखिएको छ । र प्रस्तावको अन्तिम नम्बरमा निरन्तर २० वर्ष चलचित्र क्षेत्रमा (संस्कृति, कला) कृयाशिल गुरुङ चलचित्रकर्मीहरुलाई सांस्कृतिक वार्षिक भत्ताकाे व्यवस्था गराउने उल्लेख गरिएको छ ।

प्रतिष्ठानमा निर्माण गर्न लागेको नीति तथा नियमावलीमा जिफानका आवश्यकता र अप्ठ्याराहरुलाई संस्थागत गराईदिने माग सहित आफूहरुले प्रस्ताव पेश गरेको जिफानका अध्यक्ष भोज बहादुर गुरुङले खुलाउनुभयो । जिफान अध्यक्ष गुरुङ सहित कार्यबाहक महासचिव तोल बहादुर गुरुङ (लबसन), कोषाध्यक्ष प्रेम बहादुर गुरुङ लगायत कार्यसमितिका पदाधिकारीहरुले गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची समक्ष ६ बुदें प्रस्ताव–पत्र पेश गर्नुभएको हो ।

प्रस्ताव–पत्र बुझ्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति विखर्चीले जिफानका प्रस्तावलाई अध्ययन गरेर मिलेसम्म सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको प्राज्ञ सभा सदस्य सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । ‘गण्डकी प्रज्ञा प्रतिष्ठानमा चारवटा विभाग रहेको र चलचित्रकर्मीहरु ती विभाग अन्र्तगत नपरेपनि अध्ययन गरेर आवश्यक सहयोग गर्छौ, कलाकारहरुको लागि मिल्नेसम्म प्रज्ञा प्रतिष्ठानले गर्छ । बरु तपाइहरुले पनि भाषा संस्कृतिमा देखिएको विकृतिलाई हटाउनुपर्छ’ कुलपति विखर्चीको भनाई उदृत गर्दै प्राज्ञ सभा सदस्य गुरुङले भन्नुभयो ।

यता जिफानका अध्यक्ष गुरुङले आगामी दिनमा समेत गुरुङ समुदायको चालचलन, रीतिवाज र कला संस्कृतिलाई संरक्षण गर्न आफूहरु खटिने बताउनुभयो । ‘हामीले गुरुङ समुदायको चालचलन रीतिरिवाज र कला संस्कृतिलाई चलचित्रको माध्यमद्वारा संरक्षण र संबर्दन गर्ने मात्र गर्दैनौ । समुदायमा देखिएको कुरीति र विसंगतिलाई चेतनामुलक ढंगबाट पन्छाउदै समृद्धि र अनुशासित समाज निर्माणमा समेत महत्वपूर्ण भुमिका खेल्दै आएका छौँ । सोही कारण प्रतिष्ठानले बोकेको उद्देश्य अनुरुप हामीहरु आगामी दिनहरुमा अझै सकृय र सशक्त ढंगबाट लागिपर्नेछौँ’ अध्यक्ष गुरुङले भन्नुभयो ।

जिफानको टिमले गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सहितको टिमलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफल रहोस् भनी शुभकामना समेत दिएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button