वैकल्पिक सडकबारे छैन योजना

पोखरा न्यूज । विभिन्न ग्रामीण सडकहरुमा हालैको अविरल वर्षपछि गएको पहिराले यातायात सञ्चालनमा कठिनाइ भएको छ । सहश्रधारा, अर्मादीसहित १३ किमी सडक खण्डमा दर्जनौं ठाउँमा पहिरो खसेपछि मङ्गलबारदेखि पर्वतको कुश्मा र बागलुङमा आवतजावत बन्द भएको छ ।

एकअर्का जिल्लाका कार्यालयहरुमा काम गर्ने कर्मचारीले यातायात असुविधाका कारण हाजिर हुन नपाएको गुनासो गरेका छन् । असार मसान्तमा कार्यालयमा कामको चाप बढी हुने हुने बेला कर्मचारीहरु आवतजावत गर्न पाएका छैनन् । कुश्मास्थित सरकारी कार्यालयका कर्मचारी कृष्णराज गौतमले भन्नुभयोे, “काम धेरै थियो, सडक खुल्ने छाँटकाँट नदेखेपछि फर्कन बाध्य भयौँ ।” फोन र इन्टरनेटसमेत नभएपछि जानकारी दिन नपाएको उहाँले गुनासो गर्नुभयो । बुधबार रातिदेखि नै इन्टरनेट र टेलिफोन अवरुद्ध भएपछि बागलुङ, पर्वत र म्याग्दीमा सम्पर्क विच्छेद भएको थियो ।

यो समस्या काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकामा पनि परेको छ । काठेखोलाका अधिकांश कर्मचारी र जनप्रतिनिधिसमेत सदरमुकामबाट जाने आउने गर्छन् । मध्यपहाडी लोकमार्गको बोक्सेमा पनि सडक अवरुद्ध भएपछि जनताको काम प्रभावित भएको छ । “आवतजावत गर्दा पहिराको जोखिम बढेपछि गाडी चलाउन सकिएको छैन”, गाउँपालिका अध्यक्ष अमर थापाले भन्नुभयो, “गाडी राखेर पैदल यात्रा गरिएको छ ।” पैदल यात्रासमेत जोखिमको भएको उहाँले गुनासो गर्नुभयोे ।

काठेखोलाको गाउँपालिका केन्द्रदेखि रेश र लेखानी जाने सडक सातादेखि अवरुद्ध छ । लोकमार्गको बिहुँ खण्डमा पनि दर्जनौँ पहिरो खसेर घण्टौं जाम हुने गरेको छ । अत्यावश्यक काम परेर गलकोट, बुर्तिबाङतर्फ यात्रा गर्नेले पनि सास्ती खेपिरहेका छन् । बागलुङ बजारदेखि कुश्मीसेरा जाने दुईवटै सडक अवरुद्ध छन् । गत वर्ष गलुवाबाट भकुण्डे जाने गरी खनिएको ग्रामीण सडकको पहिराले कालीगण्डकी करिडोर र कुश्मीसेरा सडक भत्केको छ । यो सडक बनेर सामान्य बन्न एक महीना बढी समय लाग्ने बताइएको छ ।

यी पहिरोका विकल्पबारे अहिलेसम्म तालुक आयोजनाले सोच बनाएका छैनन् । यात्रीले सधैँ सास्ती खेप्ने गरेको पर्वतको सहश्रधारा र बागलुङको बोक्सेको विकल्प चाहिने स्थानीयको चासो छ । “वैकल्पिक बाटो भएन भने वर्षात्मा मात्रै हैन, हिउँदमा पनि जनताले दुःख पाउँछन्”, थापाले भन्नुभयोे, “पहिरो नचल्ने गरी विकल्पको बाटो नभई भएन ।”

सहश्रधारा र बोक्सेमा पहिरो कोतरेर सडक बनाउने पद्दतिको विकल्पमा पुल वा बाढी पहिरो सजिलै तर्कने प्रविधि बनाउनुपर्ने उहाँले सुझाव दिनुभयो । सडक अवरुद्ध हुँदा दैनिक रुपमा सञ्चालन हुने एम्बुलेन्स, दमकल, दूध तथा पानीजन्य पदार्थको ढुवानीमा कठिनाइ भएको छ । अवरुद्ध सडक पुनः सञ्चालन गर्नेतर्फ सरोकारवाला निकायहरुबाट कुनै वैकल्पिक योजना अगाडि सारिएको नहुँदा यो समस्या तत्काल समाधान हुने नदेखिएको स्थानीयवासीको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button