अपेक्षाकृत सुधार नभएपनि गति लिदै नेपाली फिल्म

फिल्ममा करियर बनाउन खोज्ने बढ्दै

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । अपेक्षाकृत सुधार हुन नसकेपनि नेपाली फिल्म क्षेत्रले केही न केही गति लिएको फिल्मकर्मीहरु बताउनुहुन्छ । फिल्म मेकिङ शैलीमा सुधार, प्रतिाभवान् कलाकारको लागि अवसर, टिम वर्क, आफ्नोपना, मौलिकता आदि नेपाली फिल्म क्षेत्रको सकारात्मक पक्षहरु हुन् । जसका कारण केही आशा जगाएको उहाँहरुको अनुभव छ ।

फिल्म क्षेत्रमा आफ्नो करियर बनाउन खोज्नेहरुको संख्या बढ्दै जानु समेत यसको सुःखद पक्ष हो । फलस्वरुप फिल्म सम्बन्धी अध्ययन गरेर, तालिम लिएर, अभिनय सिकेर, प्रविधिको ज्ञान लिएर यो क्षेत्रमा आउन थालेका छन् ।

कलाकार प्रदीप ढकाल नेपाली फिल्मको सकारात्मक पक्ष भनेको मेकिङ भएको बताउनुहुन्छ । नेपाली फिल्मको सबैभन्दा सकारात्मक पक्ष भनेको मेकिङ लाग्छ । नेपाली फिल्मको मेकिङजति सस्तो छ त्यतिमा त हिन्दी सिरियल समेत बन्दैन । फिल्म पैसाले बन्दैन फिल्म मानिसको मेहनतले बन्ने हो । कथा कस्तो छ, कलाकार को को छन् भन्नेले समेत फिल्म प्रतिको आर्कषणलाई फरक पार्छ । हामीले जुन चिज देखाउन खोजेका छौँ त्यो राम्रो छ । कम बजेटमा उत्कृष्ट फिल्म बन्नु नै नेपाली फिल्मको सकारात्मक पक्ष हो ।

कलाकार तथा निर्देशक माओत्से गुरुङ नेपाली फिल्म क्षेत्र एउटा उद्योगको रुपमा विकास भइसकेको बताउनुहुन्छ । नेपाली सिनेमा विश्वको केही प्रतिष्ठित फिल्म फेस्टिभलमा पुगिसकेका छन् । सोही कारण फिल्मको माध्यमबाट समेत नेपालको नाम फैलाउन सघाएको छ । यसका अलावा नेपाली फिल्मले मौलिक कथा संगीत अनि कलाकारलाई खोजी कार्य गरेको छ । यो सह्रानीय काम हो । सकारात्मक पक्ष हो । कतिले फिल्मलाई नै करियरको रुपमा लगेका छन् । कतिले यसलाई पेशा बनाएर लागेका छन् । जीवन यसैलाई सुम्पेका धेरै छन् । अर्को कुरा नेपाली सिनेमाका निर्माताहरु बलिउड प्रति निर्भर हुनुपर्ने अवस्था छैन । सबै काम नेपालमा नै हुन्छ । सोही कारण समेत नेपाली फिल्मकर्मी पछिल्ला दिनमा सक्षम बन्दै गइरहेका छन् ।

निर्देशक घनश्याम लामिछाने नेपाली फिल्मले गीत संगीतमा हाम्रो आफ्नै पहिचान बनाएको दावी गर्नुहुन्छ । अब बिदेशी संगीतले सायद नेपाली संगीतलाई बिस्थापित गर्ने सक्दैनन् । हाम्रो आफ्नै कथाहरूले सिनेमामा ठाउँ पाइरहेका छन । बिदेशी सिनेमाका कथा कपि गरिने काम घट्दैछन् । नेपाली सिनेमाका दर्शक समेत बढ्दै हुनुहुन्छ । यसैगरी अर्को सकारात्मक पक्ष भनेको राम्रा–राम्रा मेकर र कलाकारहरुको प्रवेश भैरहेको । डिजिटल बजार विस्तारित हँुदैछ ।

मोडल तथा अभिनेता मिलन शंकर नेपाली फिल्ममा सुधार हुँदै गएको सुनाउनुहुन्छ । विगतका फिल्ममा भन्दा अहिल नेपाली फिल्ममा धेरै सुधार भएको छ । डिजिटल प्रविधिले गर्दा नेपाली सिनेमाहरु प्राविधिक रुपमा उत्कृष्ट बन्न थालेका छन् । मेकिङको हिसाबले नेपाली फिल्ममा गुणस्तर बढिरहेको छ । पछिल्लो क्रममा बलिउड सिनेमाको लेभलमा नेपाली सिनेमा पुग्न सफल बनिरहेको छ ।

कलाकार शेखर सुवेदी नेपाली फिल्ममा अगाडि बढ्न चाहनेले अवसर पाइरहेको सुनाउनुहुन्छ । नेपाली फिल्ममा नयाँ कलाकारको लागि अवसर धेरै छ । फिल्ममा अभिनय गर्न चाहनेको लागि अडिसन भइरहेको छ । कास्टिङ कलहरु भइरहेको छ । पाँच वर्ष अगाडिसम्म यस्तो हुने थिएन । अवसर पाउन गाह्रो थियो । अहिले बजार समेत पहिलाको तुलनामा ठूलो भएको छ । व्यवसायिक रुपमा ठुला बजेटका फिल्म बनिरहेका छन् । आर्टिस्टिक भूमिको विकास भएको छ । नयाँ–नयाँ अनुहार फिल्म क्षेत्रमा आइरहनुभएको छ । नयाँ विषयवस्तु फिल्म मार्फत आइरहेको छ । समाजमा घटेका घटनामा आधारित फिल्म बनिरहेका छन् । फिल्म क्षेत्रको बारेमा पढेका वा सिकेका निर्देशक, कलाकार, प्राविधिक फिल्म क्षेत्रमा आइरहेका छन् । प्रविधिमा समेत फड्को मारेको छ । पहिला ट्रेडिसनल इकुम्पमेन्टको प्रयोग हुने थियो । अहिले मोर्डन इक्युपमेन्टको प्रयोग भइरहेको छ ।

हाँस्य कलाकार युवराज भण्डारी नेपाली मौलिकता फिल्ममा पस्कनु नेपाली फिल्मको सकारात्मक पक्ष भएको बताउनुहुन्छ । पहिलाका फिल्ममा भन्दा अहिले बन्ने फिल्ममा प्रविधिमा धेरै सुधार भएको छ । नेपाली फिल्म प्राविधिक रुपमा समेत सुधार हुँदै गएका छन् । एनिमेसन चल्न थालेको छ । लगानी बढेको छ । सोही कारण नेपाली फिल्मको भविष्य उज्वल छ ।

कलाकार विश्वास गुरुङ पछिल्लो समय प्रबिधिको विकाससंगै धेरै नेपाली फिल्महरुको मेकिङ शैली प्रभावकारी ढंगले गुणस्तरिय बन्दै गइरहेको सुनाउनुहुन्छ । कथामा आफ्नो मौलिकता खोज्न थलिएको छ । फिल्मी भाषामा भन्नुपर्दा पछिल्लो सुपरहिट फिल्महरु धेरै जसो नेपाली मौलिकता बोकेका फिल्महरु छन् । फिल्म हेर्दा सबै कलाकारहरुको जिवन्त अभिनय देख्न सकिन्छ ।

अभिनेता प्रमोद अग्रहरी टिममा मिलेर काम गर्नु नेपाली फिल्म क्षेत्रको सकारात्मक कुरा भएको सुनाउनुहुन्छ । सबै मिलेर काम गर्छौ । दुःख सुःख भन्ने कुरा यस्तै हो । हामीले बलिउड वा हलिउडसँग तुलना गर्न सक्दैनौ । एउटा सिमित बजेटमा, सिमित ठाउँमा बसेर जसरी काम गरिरहेका छौँ हाम्रो आफ्नो जनसंख्याको हिसाबले, दर्शकको सहभागिताको हिसाबले हेर्दाखेरी हामीले आँटीरहेका छौँ । काम गरिरहेकै छौँ । भाइचार बढी हुन्छ हाम्रो सेटहरुमा । यिनै चिजहरु मलाई मनपर्छ ।

कलाकार धन बहादुर गुरुङ (डिबी) नेपाली फिल्ममा समय अनुकुल परिवर्तन भएको अनुभव सुनाउनुहुन्छ । सबैले फिल्ममा अवसर पाउन थालेका छन् । सबै जातजातिको अनुहार फिल्ममा देख्न पाइन्छ । मौलिक विषयवस्तुमा फिल्म निर्माण भइरहेका छन् । फिल्म खेल्न अनुहार, हाइट भन्दापनि अभिनय गर्ने क्षमता हेर्न थालिएको छ ।

अभिनेता पुष्पबहादुर खड्का अहिले नेपाली फिल्मको मेकिङमा परिवर्तन आएको बताउनुहुन्छ । पुरानो धारमा बनाइएको केही फिल्मलाई दर्शकले साथ दिएका छैनन् । अहिले डिजिटल प्रविधिले गर्दा फिल्मी क्षेत्र ‘मोर्डनाइज्ड’ भएको छ । हाम्रो ‘लोकेसन रिच’ मात्र हलिउड, बलिउडको तुलनामा पुर्‍याउन सकिएको छैन । उहाँहरुको लगानी र हाम्रो लगानी हेर्दा हाम्रो जुन लगानीमा आउटपुट आइरहेको छ । कुनै फिल्म एउटै लेभलको समेत देखिन्छ । त्यसरी हेर्दा नेपाली फिल्ममा धेरै परिवर्तन भएको छ, विकास भएको छ ।

कलाकार सुमन गुरुङ फिल्म निर्माणमा नेपालीपना झल्कनु खुशीको कुरा हुने बताउनुहुन्छ । पछिल्लो क्रममा प्रविधिको प्रयोगमा समेत व्यापकता आएको छ । हरेक काममा कुनै सम्झौता नगरी आउटपुट राम्रो दिन खोज्न थालिएको छ ।

यता अभिनेता महेश त्रिपाठीको नेपाली फिल्म केही न केही रुपमा नेपाली समाजमा नेपाली फिल्मको अस्तित्व रहनु यस्को सवल पक्ष भएको बुझाइ छ ।
अभिनेता किशान सुनार फिल्म उद्योगमा धेरै जनाले विभिन्न तरिकÞामा रोजÞगार पाएको सुनाउनुहुन्छ । फिल्मको गुणस्तरमा समेत सुधार हुन खोजेको उहाँले सुनाउनुभयो ।

कलाकार विवेक गुरुङ नेपालमा नेपाली फिल्मको क्रेज बेग्लै रहेको दावी गर्नुहुन्छ । फिल्म उद्योगमा कलाकार तथा फिल्मकर्मीले रोजगारी पाइरहनुभएको छ । जीविको पार्जनका लागि आम्दानी गर्ने ठाउँ बनेको छ । अर्को कुरा नेपाली दर्शकले मनोरञ्जन लिने ठाउँ नेपाली फिल्म बनेको छ ।

कलाकार प्रकाश घिमिरे पछिल्लो क्रममा नेपाली फिल्मले आफ्नोपन समात्दैछ । पूर्वीय चिज, पश्चिमेली चिज, टोन तथा भाषामा डिटेलमा काम भइरहेको छ । आफ्नो संस्कृति झल्काउने फिल्म बन्न थालेका छन् ।

कलाकार प्रिती गुरुङ नेपालीको जनजीवनलाई आधारित रहेर फिल्महरु निर्माण भइरहनु सुखद पक्ष भएको सुनाउनुहुन्छ । सन्देशमुलक फिल्म तथा सत्य घटनामा आधारित फिल्म समेत बनेका छन् । दर्शकहरुले सन्देशसँगै मनोरञ्जन र आफ्नो अपनत्व फिल्ममा पाउनुहुन्छ ।

निर्माता तथा निर्देशक शम्भु थापा नेपाली कला, संस्कृतिको जगेर्ना गर्नु, रोजगार र हाल नेपाली बिषय बस्तुमा फिल्म बन्दै जानु सकारात्मक पक्ष भएको तर्क गर्नुहुन्छ । यसका अलावा गुणस्तरमा उपलब्धिमुलक तरिकाले सुधार हुँदै गर्दा देशलाई पनि आर्थिक उन्नतिलाई टेवा पुर्‍याएको छ ।

निर्देशक जसु गुरुङ नेपाली फिल्मको सकारात्मक पक्ष भनेको नेपाली परिबेशका कुराहरु, भाषाको विकास, ठाउँको प्रर्वद्धन, युवाबर्गलाई रोजगारी, कलासंगीतको विकास र सर्मक्षण, पहिलेका कुराहरु नयाँ पुस्तामा हस्तान्तरण आदि भएको बताउनुहुन्छ । फिल्मले मनोरञ्जन सगै सन्देश प्रवाहसगै आफ्नो मौलिकतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सघाउँने उहाँको बुझाई छ ।

पोखरा फिल्म सोसाइटीका अध्यक्ष जीतेश प्रधान नेपाली फिल्मको प्राविधिक पक्षमा धेरै सुधार भएको अनुभव सुनाउनुहुन्छ । पहिलाका फिल्ममा राम्रो भनेको आफ्नो स्थानीय कथा हुने गथ्र्यो । अहिलेका नेपाली फिल्मको राम्रो पक्ष भनेको प्राविधिक पक्ष हो । नेपाली फिल्मको प्राविधिक पक्षमा धेरै सुधार भएको छ ।

गुरुङ फिल्म एशोशिएसन नेपाल जिफानका अध्यक्ष भोजबहादुर गुरुङ सुरुवाती चरणमा धेरै नेपाली फिल्ममा बलिउडको प्रभाव देख्न्थ्यिो भने अहिले नेपाली फिल्ममा मौलिकता देखाउन खोजिएको सुनाउनुहुन्छ । आफ्नो देश, काल, परिस्थिति सुहाँउदो फिल्म बनाउने प्रयत्न भईरहेको छ ।

कलाकार प्रमिला तुलाचन अहिले अभिनय सिकेर, अभिनय सम्बन्धी अध्ययन गरेर फिल्म क्षेत्रमा आउने चलन बढेको र यो राम्रो पक्ष भएको बताउनुहुन्छ । सिकेर आएको कारण अहिलेका धेरै कलाकारको अभिनय निखारिएको छ । पहिला अनुभवको लागि आउने चलन थियो अहिले प्यासनको हिसाबले सिकेर आउने चलन छ ।

फिल्मकर्मी सन्तोष कोन्मे नेपाली फिल्म नै धेरै हदसम्म फड्को मारेको तर्क गनुहुन्छ । बजार विस्तार भएको छ । ढिलै भएपनि आफ्नोपन चिन्न थालेको छ ।

कोरियोग्राफर रोहन नेपाली फिल्म क्षेत्रमा लागेर बाँच्न सक्ने अवस्था सिर्जना हुनु खुशीको कुरो भएको तर्क गर्नुहुन्छ । पहिला फिल्म क्षेत्रमा लागेर बाच्न गाह्रो थियो । अहिले नेपाली सिनेमा क्षेत्रमा लागेर केही गर्न सक्ने बाँच्न सक्ने अवस्था सिर्जना भएको छ । फिल्म मार्फत पहिचान बनाउदै आफु बाच्न सकिन्छ । नेपालमा आर्टिस्टिक मुभीहरु बन्न थालेका छन् । जसले गर्दा हामीले थाहा नपाएका कुराहरुलाई सजिलै तरिकाले थाहा पाउन सकेका छौ । हुनत नेपालमा जानकारी मुलक फिल्म थोरै बनेका छन् । तर जति बनेको छ तिनीहरु रुचाइएका छन् । नेपाली फिल्मले देशविदेशमा फड्को मार्दैछ । अहिले प्रेमगीत–३ फिल्मले हिन्दीमा डविङ गरेर बलिउडमा इन्ट्रि गर्दैछ । नेपाली सिनेमा उद्योगलाई विश्वसामु चिनाउन खोज्ने खालका गतिविधि हुन थालेका छन् ।

निर्देशक नेत्र गुरुङ नेपाली फिल्ममा विस्तारै विकास हुँदै गरेको अनुभव सुनाउनुहुन्छ । आफ्नै घरबाट देखिने कथाहरु, आफ्नै सेरोफेरोका कथाहरुमा फिल्म बनाइदैछ यो सकारात्मक कुरा हो । कथा अनुसारको पात्र खोजिनु, पात्रलाई फिल्मको लागि तयार पारेर मात्र काम गरिनु अहिलेको राम्रो पक्ष हो ।

नेपाली फिल्म क्षेत्रबाट धेरैले नाम, काम र दाम कमाउन सफल हुनु नेपाली फिल्मको सकारात्मक पक्ष भएको निर्माता तथा निर्देशक राजेन्द्र ढकाल बताउनुहुन्छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button