निःशुल्क महाप्रस्थान यान सञ्चालनमा

पोखरा न्यूज । कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले रु ३० लाखको लागतमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउनुभएको छ ।

निःशुल्करुपमा सञ्चालनको जिम्मेवारी पाउनुभएका धनगढीका सामाजिक अगुवा शिद्धराज पनेरुलाई आज उक्त यानको चाबी हस्तान्तरण गरिएको छ । धनगढीमा मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारका लागि लैजानका लागि महाप्रस्थान यानको नाम दिएर उक्त यान सञ्चालनमा ल्याइएको व्यवसायी हमालले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गरि यान सञ्चालनमा ल्याइएको हो ।” उक्त यान धनगढीवासीमा समर्पित हुने बताइएको छ ।

शव यात्राका लागि अधिकांशले गाडी दिनै नमान्ने समस्याका कारण पनि सम्मानसहित दाहसंस्कारका लागि लैजान सो यानको व्यवस्था गरिएको व्यवसायी हमालको भनाइ छ । यान हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वरजिष्टार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख डा हेमराज पन्तले अभियन्ता हमालले महाप्रस्थान यान सञ्चालन गरेर निकै महत्वपूर्ण काम गरेको बताउनुभयो ।

महाप्रस्थान यान धनगढी उपमहानगरपालिकास्थित मोहना नदी आर्यघाट, गोदावरी नदी आर्यघाट, खुटिया, कञ्चनपुरको महाकाली आर्यघाटसम्म सञ्चालन हुने बताइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button