बेनी-जोमसोम सडक दुई सातापछि सञ्चालनमा

पोखरा न्यूज । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दुई सातापछि पुनः सञ्चालन भएको छ । गत असार २४ गतेदेखिको अविरल वर्षाका कारण ७६ किलोमिटर उक्त सडकका विभिन्न ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट गलेश्वर र अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभिरलगायतका स्थानमा पहिराले अवरुद्ध बनेको सडकलाई निर्माण कम्पनी परिचालन गरी पहिरो पन्छाएर सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिब दुई साता सो सडकखण्डमा कुनै पनि सवारी साधन सिधा सञ्चालन हुनसकेका थिएनन् । सडक अवरुद्ध हुँदा मुस्ताङ र उत्तरी म्याग्दीका बासिन्दा बीचबाटोमै अलपत्र परेका थिए ।

सडक अवरुद्ध भएपछि मुस्ताङका लागि नेपाल सरकारले पठाएको कोरोनाविरुद्धको भ्याक्सिन पनि मान्छेले बोकेर नै मुस्ताङ पु¥याएका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । बेनी–जोमसोम सडकखण्डको स्तरोन्नतिमा परिचालन भएका निर्माण कम्पनीलाई परिचालन गरी अवरुद्ध बनेको सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button